बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शक्तिशाली प्रधानमन्त्री ओलीज्यूलाई पत्र

बिहीबार, २८ असार २०७५, १३ : ३१

जनताले ठूलो आशा र भरोसाले बनाएको तपार्इंको सरकार थोरै समयमा विवादको भुमरीमा फस्ला भन्ने आशा कसैले राखेको थिएन । तपाईंको सरकारले धेरै काम गर्नुछ तर अहिले नै सानोतिनो विवादमा यसरी अल्मलिनु देश र जनताका लागि राम्रो सङ्केत अवश्य होइन ।

तपाईंले नाकाबन्दीमा लिएको अडान र त्यसको समर्थनमा नेपालीहरूले विश्वभर गरेका प्रदर्शनले नाकाबन्दीको पीडालाई बिर्सेर गौरवले छाती फुलाएका थियौँ । रेल र पानी जहाजको आशा देखाउँदा आशाको दीप बालेका थियौँ । घरघरमा ग्यासको पाइप, फलाम र पेट्रोल खानी बन्ने कुरा सुन्दा अब देशबाट युवाहरू विदेशिनु नपर्ने भयो भनेर आशा राखेका थियौँ । अफगानस्थानमा मरेका नेपालीहरूको शरीरलाई तपाईंको ठाडो आदेशमा आप्mनै ध्वजाबाहक जहाजबाट ल्याउँदा आँखाबाट आँशु टप्किएका थिए । किनकि तपाईंले हामीलाई नागरिक बनेको आभाष दिलाउनु भएको थियो । 

यस्तो इतिहास बोकेको शक्तिशाली प्रधानमन्त्रीज्यूले अब म सिमानामा काँडेतार  लगाउँछु, चन्द्रमामा  रकेट पठाउँछु,  मुलुकको राष्ट्रिय अखण्डता रक्षाका लागि जुनसुकै मुलुकहरूमा हवाइ आक्रमण गर्न सक्षम छु भन्दा मेरो देश यो स्तरमा पुग्ने भयो भनेर गौरव गर्थें होला । तर त्यसको साटो काठमाडौँका खाल्टाखुल्टी १ वर्षमा पुरिनेछ,  डा गोविन्द के.सी.को हाजिरी हेरिनेछ र उपकुलपतिलाई एयरपोर्टबाट पक्रेर ल्याऊ भन्दै हुनुहन्छ ।

तपाईं नेपाल राष्ट्रको शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ । तपाईंमा हीनताबोध आउन हुँदैन । हो राष्ट्र गरिब छ तर गरिबी कहाँ छैन ? छिमेकी राष्ट्र भारतमा हेर्नुस् गरिबीको पराकाष्टा । तर ऊ अन्तर्राष्ट्रिय स्तरमा आपूmलाई शक्तिशाली राष्ट्रका रूपमा स्थापित गर्दैछ । यही नै हो, एउटा सरकारले गर्ने दायित्व न कि गरिबी र समस्याहरूभित्र राष्ट्रलाई विलयन गराउनु । गरिबी धन नभएर मात्र हुने होइन, मानसिक रूपले पनि मानिस गरिब हुन्छन् । जनताले तपाईं मानसिक रूपमा गरिब नबन्नुस् भन्ने चाहना राखेका छन् । किनकि धनको कमीबाट हुने गरिबीको उपचार छ तर मानिसक गरिबीको उपचार नहुन सक्छ । 
इतिहासलाई सुगा रटाइ गर्ने होइन, इतिहासबाट पाठ सिकी नयाँ इतिहास बनाउने हो । त्यसैले तपाईंलाई केही इतिहासको याद दिलाउन चाहन्छु ताकि तपाईंले त्यसबाट पाठ सिकी सही जोस, जागरण र विचारले नेपाल र नेपालीका लागि काम गर्नु हुनेछ ।

नेपालको इतिहासमा कुनै पनि व्यक्तिले ५ वर्षको प्रधानमन्त्रीको कार्यकाल पूरा गरेका छैनन् । तपाईंलाई पनि विभिन्न देशीविदेशी शक्तिकेन्द्रहरूले घेराबन्दी गर्दै असफलताको बाटोतिर लग्दै छ । जुन तपाईं स्वयम्ले स्वीकार गरिसक्नु भयो । त्यसैले समयमा नै पार्टीभित्र छलफल गरी निकास निकाल्नुस् ।

पञ्चायतकालमा पञ्चहरूले भन्थे यी मुठीभरका बहुदलवादीहरूले व्यवस्था परिवर्तन गर्न सक्दैनन् । अहिले तपाईं त्यस्तैत्यस्तै बोल्दै हुनुहुन्छ– एउटा जागिरे डाक्टरले बहुमत प्राप्त सरकारलाई धम्की दिने ? इतिहासले के भन्छ ? यसबाट पाठ सिक्नुस् । यो सङ्ख्याको लडाइँ होइन, सत्य र धर्मको लडाइँ  हो । यदि सङ्ख्याले जित्ने भए महाभारत युद्धमा कौरव विजयी हुन्थे होला । कानुनी रूपमा तपाईं ठीक हुनुहोला तर न्याय दिने कुरामा यो ठीक भएन । न्याय उसको विवेकबाट दिइने हो र विवेक अध्ययन अनुभव र व्यावहारिक असल गुणबाट प्राप्त हुन्छ । त्यसैले  विवेक प्रयोग गरेर डा. के.सी.को मागलाई न्याय दिनुस् ।
त्यसैगरी तपाईं विपक्षहरूलाई सल्लाह दिँदै हुनुहुन्छ– गङ्गामाया जस्तो कमजोर त्यान्द्रालाई समाएर आन्दोलन नगर्नुस् । गङ्गामाया त्यान्द्रो होइन, उनी अधर्म र असत्यविरुद्धको शक्ति हो । उनीको शक्तिलाई सञ्चित गर्नुस् । अवश्य नै तपाईंको कार्यकाल सफल हुनेछ ।

केही वर्ष पहिले आख्तियार प्रमुखज्यूको काठमाडौँ विश्व विद्यालयमा हस्तक्षेप र हाल संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई ऐयरपोर्टबाट कुलपतिको आदेशमा पक्रेर ल्याउने प्रकरण प्राज्ञिकहरू व्यक्ति र संस्थामाथिको आक्रमण एकै प्रकृतिका देखिन्छन् । अख्तियार प्रमुखको त्यो कार्य उहाँका लागि अभिसाप बन्यो । यसबाट पनि पाठ सिकौँ ।

अर्कोतिर अनुशासनविना प्रजातन्त्र भीडतन्त्रमा परिवर्तन हुन्छ । भिडतन्त्रले समृद्ध नेपाल बन्न सक्दैन भनेर नै माइतिघर मण्डलामा भीडतन्त्रवादीहरूलाई निषेधाज्ञा जारी गरिएको होला । बरु त्यसको बदलामा निर्माण कम्पनी र सिन्डिकेटधारीहरू माथिको कारवाहीलाई निरन्तरता दिइएको भए समृद्ध नेपाल चाँडो बन्ने थियो कि ?

गिरिजाबाबुका गुणमध्ये मलाई मनपर्ने एउटा गुणमा उहाँ मिडियामा त्यति आउन चाहनु हुन्न थियो । जसले गर्दा यदि कुनै बेला उहाँ मिडियमा बोल्दै हुनुहुन्छ भन्ने थाहा पाएमा सबैजना जिज्ञासाले उहाँको कुरा सुन्थे र उहाँले बोलेका कुराहरूको महत्व पनि राख्थे । पत्रकारहरूले उहाँलाई प्रश्न गर्नुहुन्थो– “गिरजाबाबु तपाईंलाई त एमाले, माओवादीका राजावादीहरूले यस्तो आरोप लगाउँदै हुनुहुन्छ भन्दा उहाँ भन्नु हुन्थ्यो– बाहिर उनीहरू के बोल्छन् मलाई थाहा छैन तर मेरासामु उनीहरूले केही भनेका छैनन् ।”  तर प्रधानमन्त्रीज्यू तपाईं मिडियामा बोल्न र प्रतिपक्षको भनाइमा तुरुन्त प्रतिक्रिया दिन कहिले चुक्नु हुन्न ।

प्रतिपक्षका सबै कुराको जवाफ दिन आवश्यक पर्दैन । त्यसैले गिरिजाबाबुको यो राम्रो बानी तपाईंले सिक्नुपर्छ । बोलेर राजनेता बनिँदैन काम गरेर बनिन्छ । हीरा जुनसुकै स्थानमा राखे पनि चम्किन्छ, उसलाई म चम्किन्छु भनिरहनु पर्दैन । तपाईंका धेरैजसो मन्त्रीहरू म चम्किन्छु भन्दै हिँडेका छन् । नियन्त्रण गर्नुस्, राम्रो हुनेछ ।

अन्त्यमा, तपाईंलाई अधिनायकवाद लाद्न कोसिस ग¥यो, शक्तिशाली बन्न खोज्यो भन्ने आरोप लागिरहेको छ । सिन्डिकेट तोड्न, काम नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्न, नबनेको बाटोघाटो, पुल बनाउन, सिस्टम बसाल्न, भ्रष्टाचार रोक्न, दलाली प्रथा रोक्न, सामाजिक विकृति हटाउन र मानव बेचविखन रोक्न तपाईंलाई जे–जे बन्ने मन छ बन्नुस् । जे–जे रूप धारण गर्नुपर्नेछ गर्नुस् । प्रतिपक्षको विरोधको प्रवाह नगर्नुस् । नेपाली जनताले सधैँ तपाईंलाई  साथ दिइरहनेछ । तर यस क्रममा सत्य, न्याय र विवेकबाट टाढा नपुग्नुहोस् । यो एउटा शुभचिन्तकको कामना हो । तपार्इंले धेरै काम गर्नुछ । सानोतिनो कुरामा नअल्मलिनुस् । अगाडि बढ्नु होला । तपाईंलाई शुभकामना ।
धन्यवाद ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा.डा. ऋषिकेश नारायण श्रेष्ठ
प्रा.डा. ऋषिकेश नारायण श्रेष्ठ
लेखकबाट थप