शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वर्षाको भेलले ७ बालबालिकाको मृत्यु, एक जना सेती नदीमा बेपत्ता

शनिबार, ३१ असार २०७४, १७ : ३४
शनिबार, ३१ असार २०७४

काठमाडौं– वर्षाले गर्दा विभिन्न ठाउँमा आएको बाढी र भेलमा डुबेर ७ बालबालिकाको मृत्यु भएको छ । काठमाडौं, संखुवासभा, कैलाली, सिरहा, कास्की, गोरखा र तनहुँमा भएको छुट्टाछुट्टै घटनामा सात बालबालिकाको मृत्यु हुनुका साथै एक पुरुष बेपत्ता भएका छन् । 

काठमाडौंको चौमती बस्ने झम्कनाथ फुयालकी छोरी ११ वर्षीया बिनिता फुयालको तार्केश्वर नगरपालिका–११ नेपालटारस्थित महादेव खोलाले बगाएर मृत्यु भएका छ । 
यस्तै, संखुवासभाको खाँदवारी नगरपालिका–९ बाङगे टोल डेरा गरी बस्ने भोजपुरका भीमबहादुर कुमालको छोरा ४ वर्षीय कुशलको खेल्ने क्रममा सोही ठाउँस्थित जयराम कुमालको इँटा भिजाउने पोखरीमा डुबेर शनिबार विहान मृत्यु भएको छ ।

यस्तै, कैलालीको जानकी गाउँपालिका–१ दुर्गौली बस्ने शेरबहादुर थापाको १८ महिनाको छोरा पुष्प थापाको पनि घर अगाडिको कुलोमा डुबेर मृत्यु भएको छ ।
आफ्नै कलको पानी जम्ने खाल्डोमा डुबिरहेको अवस्थामा शनिबार फेला परेका सिरहा नगरपालिका २१ बस्ने सुलिन दासको छोरा ३ वर्षीय अजित दासको जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, कास्कीको पोखरा लेखनाथ महानगरपालिका–३२ मझुवास्थित माटो निकाल्न खनेको खाडलमा पानी जम्मा भएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर तनहुँ, शुक्लागण्डकी नगरपालिका–२ कोत्रे बस्ने लेखबहादुर गुरुङको छोरा १५ वर्षीय उज्जल गुरुङको शनिबार मृत्यु भएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाकै वडा नम्बर १४ बिपि मार्ग बस्ने देवराज गुरुङकी छोरी ६ वर्षीया सायरा गुरुङको पानीट्याङकीमा डुबेर मृत्यु भएको छ । 
यस्तै, गोरखा गण्डकी गाउँपालिका–८ सिउरेनीटार घ्यालचोक बस्ने हरिमान श्रेष्ठको छोरा १० वर्षीय संदीप श्रेष्ठको बुढीगण्डकी नदी र त्रिशुली नदीको दोभानमा पौडी खेल्ने क्रममा नदीले बगाएर मृत्यु भएको छ । नदीमा बग्दै गरेका सन्दीपलाई स्थानीयले उद्धार गरी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी धादिङ लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।     
 
यता, तनहुँको ब्यास नगरपालिका–१४ मास्दीघाटस्थित सेती नदीमा नयाँ झोलुङगे पुल बनाउनको लागि लठ्ठा तान्ने क्रममा हाल नाम, थर, वतन नखुलेका चितवन घर बताउने पुरुष शुक्रबार सेती नदीमा खसेर बेपत्ता भएका छन् । उनको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी बुलेटिनमा उल्लेख छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप