बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भासिएको नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्नुको विकल्प छैन

बुधबार, २७ असार २०७५, २१ : १५
बुधबार, २७ असार २०७५

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटनजिक सडक भासिएको ठाउँमा भित्तो काटेर वैकल्पिक मार्ग तयार गर्ने तयारी गरिएको छ । 

सो सडकको आज भूगर्वविद् अच्युत कोइराला नेतृत्वको विज्ञ समूहले अनुगमन गरेको थियो । समूह विस्तृत प्रतिवेदन काठमाडौँ फर्किएर दिने बताइएको छ । 

कोइरालाले भने, ‘सम्भवतः भित्तो काटेर वैकल्पिक सडक निर्माण गर्नुकोे विकल्प छैन ।’ उनका अनुसार ११ मिटर फराकिलो सडकमध्ये आठ मिटर भासिएको छ । भासिएको जति भित्तो काट्नुपर्ने देखिएको उनले बताए । 

कोइरालाले बिहीबार बिहानसम्म नियमित अनुगमन गर्न लगाएको बताउँदै अरु भासिदै गएमा तत्काल भित्तो काट्ने र रोकिएमा भासिएको सडकलाई मर्मत सम्भार गर्न सकिने या नसकिने विषयमा छलफल गरिने जानकारी दिए । 

काठमाडौँ फर्किएपछि यसअघि सो ठाउँमा रक स्वायल एङ्करिन गरेका विज्ञ समूहसँग पनि छलफल गर्ने उनले बताए । मंगलबार बिहानदेखि भासिन शुरु गरेको सो सडकमा भासिने क्रम निरन्तर बढिरहेको छ । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार विसुरालले विज्ञहरुको प्रतिवेदनको पर्खाइमा रहेको बताए । भासिने क्रम जारी रहेकाले भित्तो काट्नुको विकल्प भने नदेखिएको उनले बताए । 

सडक भासिने क्रम बढ्दै गएपछि मंगलबारदेखि नै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सडकको ३० मिटर लम्बाइ र छेउबाट आठ मिटर चौडा भाग भासिएको हो । सो ठाउँमा नौ मिटर कालोपत्र गरिएको छ । कालोपत्रको नदीतर्फ थप दुई मिटर खुल्ला भाग रहेको छ । 

सोही ठाउँमा २०६० सालमा रक स्वायल एङ्करिङ गरिएको थियो । तत्कालीन सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनियर प्रकाश उपाध्यायले सोही क्षेत्रमा त्यतिबेला सडक भासिएर रक स्वायल एङ्करिङ गरिएको बताए । 

भित्तोमा ड्रिल गरी १०÷१५ मिटर रड घुसाएर रडसँगै सिमेन्ट जमाउने र बाहिरी भाग पनि ढलान गरी बलियो बनाउने कामलाई रक स्वायल एङ्करिङ भनिन्छ । सोही ठाउँको रक एङ्करिङले काम गर्न छोडेर वा त्रिशूली नदीले बाटोमुनिको भागमा खोलेर भासिएको हुन सक्ने अनुमान गरिएको छ । 

हाल सो सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सोही सडक हुँदै दैनिक १० हजारको हाराहारीमा सवारी साधन आवातजावत गर्ने गर्दछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप