शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाका सांसदले घेरे प्रदेशसभा संसद

बुधबार, २७ असार २०७५, १७ : २२
बुधबार, २७ असार २०७५

जनकपुर–राष्ट्रियसभाका सांसद रामपृत पासवान दलित समुदायका विभिन्न माग राख्दै आज प्रदेश २ को प्रदेशसभा संसद घेराउन गर्न पुगेका छन् । 

दलित लगायत अन्य पिछडिएका समुदायलाई जनसंख्याको आधारमा आरक्षण नदिएको भन्दै उनी संसद भवन घेराउ गर्न पुगेका थिए । दलित सरोकार परिषद्को अगुवाईमा भएको घेराउ कार्यक्रममा सहभागी भएका सांसद पासवानलाई प्रहरीले दुरव्यवहार गरेको दलित अगुवा भोला पासवानले जानकारी दिए ।

प्रदेश २ सरकारले ल्याएको प्रहरी ऐनमा प्रदेश प्रहरी सेवालाई समावेशी बनाउन गरेको आरक्षणको व्यवस्था जनसंख्याको आधारमा नभएको भन्दै दलित सुमदायले विरोध गरेको छ । 

यसरी विरोध गर्दै संसद भवन पुगेका आन्दोलनकारीलाई सम्बोनध गर्दै प्रदेश २ का गृहमन्त्री ज्ञानेन्द्र कुमार यादवले दलित समुदायले उठाएको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

संसदबाट सो ऐनको विधेयक पास भएपनि समितिमा गएको छैन । समितिमा नपठाउने भन्दै मन्त्री यादवले त्यसलाई संशोधन गरेर मात्र पठाउने प्रतिवद्धता जनाएको दलितका अगुवा भोला पासवानले जानकारी दिए । 

प्रदेश २ सरकारले महिलालाई पचास प्रतिशत आरक्षण दिएको छ भने आदिवासी जनजातिलाई १५ प्रतिशत आरक्षण दिएको छ । त्यस्तै, मधेशी समुदायलाई १३ प्रतिशत, दलितलाई सात प्रतिशत, मुस्लिमलाई पाँच प्रतिशत, थारुलाई पाँच प्रतिशत र आर्थिक रुपले विपन्न खस आर्यलाई पाँच प्रतिशत आरक्षण दिएको छ ।  

मधेशमा यी समुदायको जति जनसँख्या छन् त्यसको आधारमा आरक्षण नदिएको गुनासो दलित समुदाय रहेको छ ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार प्रदेश २ मा दलितलाई १७.२९ प्रतिशत आरक्षण कार्यान्वयन भइसकेको छ । तर प्रदेश सरकारले दलितलाई ७ प्रतिशत आरक्षण मात्र दिएको परिषद्को आरोप छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप