सुशासनको नयाँ इतिहास रचना गर्छुः प्रधानमन्त्री ओली
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको ध्येय पूरा हुने बताएका छन् । ‘सामाजिक एकता, सहिष्णुतालाई अझ कसिलो र दरिलो बनाउँदै राष्ट्रिय एकता बलियो बनाउने छु,’ उनले भने, “म दाग र धब्बारहितरुपमा काम गर्छु, भ्रष्टाचार अनियमितता शब्द सुन्न पनि सक्दिन, सुशासनको नयाँ इतिहास रचना गर्छु, राष्ट्र निर्माणको महाअभियानमा सरकार जुटेको छ ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई आज यहाँ अर्पण गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले जनताले दिएको बहुमतका आधारमा सरकार थिति र विधिमा चल्ने बताउँदै कसैको लहड, जिद्दी र अराजकतन्त्रले लोकतन्त्रलाई कहिल्यै भलो नगर्ने बताए ।
सरकार सबै राजनीतिक दललाई साथ सहयोग लिइ विश्वासमा चल्ने बताउँदै उनले सामाजिक न्याय र समानतासहितको समाजवादी लोकतन्त्रले मात्र विपन्न जनताको जीवनस्तरमाथि उक्लिने धारणा व्यक्त गरे । प्रधानमन्त्री ओलीले लोकतन्त्रमा जनता भोकै र नाङ्गै पर्नु हुँदैन, यसमा सरकार सचेत रहन आग्रह गरे ।
‘जीवनभर लोकतन्त्र ल्याउन लड्ने व्यक्ति र पार्टी जनताको दिएको आदेशअनुसार प्रधानमन्त्री हुँदा कसरी लोकतन्त्र खतरामा पर्छ ?’ उनले प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले आफूले प्रधानमन्त्री पद सम्हालेको दिन देखिनै आलोचना समालोचना हुन शुरु गरेको उल्लेख गर्दै स्वच्छ आलोचनादेखि आफू नडराउने र नतर्सिने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले नेपाल र भारत, नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको चर्चा गर्दै छिमेकीसित नयाँ सम्बन्ध स्थापित भएको बताए ।
युवालाई प्रोत्साहन र पाकालाई सम्मान सरकारले गर्ने चर्चा गर्दै उनले वि.सं २०५१ मा आफू मन्त्री हुँदा शुरु भएको स्रष्टा सम्मान कार्यलाई विस्तारसमेत गरिएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले कला, साहित्य, भाषाले देशको समृद्धिलाई सहयोग गर्ने चर्चा गर्दै भाषा, संस्कृति, कला देशका ऐना भएको दाबी गरे ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भाषा, साहित्य, कला तथा संस्कृतिको उन्नयन गर्दै समृद्ध नेपाल, सुखी नेपाली लक्ष्य पूरा गर्ने ध्येय मन्त्रालयको रहेको बताए ।
‘प्रतिपक्षलाई पेलेर होइन, साथ र सहयोग लिएर सरकारले काम गर्छ,’ उनले भने ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगा उप्रेतीले पुरस्कारका लागि स्रष्टा चयन गर्दा मापदण्ड बनेको जानकारी दिए ।
भगत सर्वजित प्रतिष्ठानका अध्यक्ष छविलाल विश्वकर्माले ओझेलमा परेका स्रष्टालाई बाहिर ल्याई सम्मान गर्ने परम्पराले स्रष्टाका आत्मविश्वास बढेको बताए ।
सम्मानित व्यक्तित्व विनय कसजुले स्रष्टा सम्मानले कला र साहित्यको श्रीवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका २ सचिवलाई थप जिम्मेवारी तोक्ने निर्णय
-
अस्ट्रेलियाका इङ्लिस पञ्जाब र भुवनेश्वर कुमार बेंगलुरुमा, बिक्री भएनन् शाई होप
-
नेपालमा पहिलो पटक लिक्वीफाइड नेचुरल ग्यास आयात गर्ने अनुमति, एलपी ग्यासभन्दा सस्तो
-
इन्डियन प्रिमियर लिग मेगा अक्सन : वासिङ्टन सुन्दर गुजरात र साम कर्रन चेन्नईमा आबद्ध
-
पञ्जाबले सात करोडमा किन्यो दक्षिण अफ्रिकाका मार्को यानसेनलाई, क्रुणाल पाण्ड्या बेंगलुरुमा
-
मानव तस्करी प्रकरणमा लिलाबल्लभलाई उन्मुक्ति