शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संस्थापनलाई चुनौति दिँदै असन्तुष्ट पक्षले बोलायो महाधिवेशन

बुधबार, २७ असार २०७५, १६ : १५
बुधबार, २७ असार २०७५

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघभित्रको विवाद थप उग्र बन्दै गएको छ । अध्यक्ष नैनसिंह महरको कार्यशैलीको विरोधमा रहेको महामन्त्री कुन्दन काफ्लेसहितका  असन्तुष्ट समूहका नेताहरुले एकलौटी रुपमा १२ औं महाधिवेशनको मिति नै घोषणा गरेपछि विवाद थप उग्र बन्दै गएको हो । 

बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै असन्तुष्ट समूहले आगामी साउन २३ देखि २५ गतेसम्म  काठमाठौंमा महाधिवेशन गर्ने तय गरिएको जानकारी दिएको छ । 

यसैबीच रामचन्द्र पौडेल समूहका नेविसंघ केन्द्रीय उपाध्यक्ष प्रकाश राणा नेतृत्वको समूहले महाधिवेशन गर्न लागेको केन्द्रीय सदस्य पुनम लामाले जानकारी दिइन् । उनले आज बाल्मिकी क्याम्पसमा बसेको ८७ सदस्यद्धारा हस्ताक्षरित बैठकले सो निर्णय गरेको जानकारी दिइन् । 

असन्तुष्ट समूहको बसेको केन्द्रीय समिति बैठकले  अध्यक्ष नैनसिंह महरले गरेका मनोनयन खारेज  गरेको घोषणा समेत गरेको छ ।  विधान बमोजिम रिक्त २२  जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको मनोनयन केन्द्रीय समितिको बहुमत बाट निर्णय गरिने पनि बैठकले निर्णय गरेको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । 

उनका अनुसार महाधिवेशन सम्पन्न गर्नका लागि नेविसंघले साउन ३ देखि मतदान नहुँदासम्मको लागि कार्यतालिका समेत तय गरेको छ । 

योसँगै लामो समयदेखिको नेविसंघको विवाद थप पेचिलो बनेको छ । 

यसैबीच बहुमत केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठकको निर्णय गर्दै एकलौटी रुपमा असन्तुष्ट समूहले गरेको महाधिवेशनको घोषणापछि धेरैले नेविसंघ गम्भीर मोडमा पुगेको भनि टिप्पणी गरेका छन् । 

मुल पार्टीमा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौला खेमा सशक्त रुपमा बाहिर देखिएको बेला विद्यार्थीमा भने  देउवा र देउवाविरोधी खेमाका रुपमा देखिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप