शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युवा भर्सेस अनुभव : दुई अप्रत्यासित टोलीको सेमिफाइनल भिडन्त

बुधबार, २७ असार २०७५, १४ : ४०
बुधबार, २७ असार २०७५

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै सन् १९९८ को विश्वविजेता फ्रान्सले रुसमा जारी सन् २०१८ को विश्वकपको फाइनलमा स्थान बनाउन सफल भएको छ । आज दोस्रो सेमिफाइनलमा इङ्ग्ल्याण्ड र क्रोएसिया भिड्दैछन् ।

यहाँसम्म आइपुग्छन् भनेर सोचेकै थिएन

सन् २०१६ को नोभेम्बरमा गेराथ साउथगेटलाई इङ्ग्ल्याण्डको प्रशिक्षक नियुक्त गरिँदा यसबाट धेरै फुटबल समर्थक उत्साहित थिएनन् । पूर्व प्रशिक्षक साम एलरडायसको विवादपछि उनी सुरक्षित अवतरणका रुपमा मात्र हेरिए । यसअघि उनले अन्डर–२१ को टोलीको नेतृत्व गरेका थिए । उनले सजिलै इङ्ग्ल्याण्डको युवा टोलीलाई छनौट चरण पार गराए, ‘समूह जी’मा बेल्जियमपछि दोस्रो बनाउँदै नकआउट चरणमा पुर्याए । 

नकआउट चरणमा तुलनात्मकरुपमा सजिलो बाटो पाएको यो टोली यति बेला सन् १९९० पछि पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ । र, यतिबेला पूरै राष्ट्र भन्दै छ, ‘फुटबल फेरि घर फर्कदैँछ’ र साउथगेटलाई ‘मसिहा’को रुपमा हेरिँदैछ ।

यता, क्रोएसियाका प्रशिक्षक ज्लाटको ड्यालिच पनि अनपेक्षितरुपमा सफल देखिए । युएईको क्लब अल–एइनमा केही सफल वर्ष बिताएपछि उनले क्रोएसियाको नेतृत्व सम्हाले । ग्रीसलाई प्लेअफमा हराउँदै क्रोएसियालाई विश्वकपमा छनौट गराए । अर्जेन्टिना, नाइजेरिया र आइसल्याण्डसँगै कठिन समूह डीमा रहेको क्रोएसिया अर्जेन्टिनापछि दोस्रो हुँदै नकआउट चरणमा पुग्ने अपेक्षा गरिएको थियो । तर, उनीहरु शतप्रतिशत रेकर्डसहित समूह विजेता बन्दै नकआउट चरणमा पुगे । यसमा अर्जेन्टिनामाथिको ३–० को उत्कृष्ट जीत समावेश छ । 

नकआउटमा राउण्डमा लगातार दुई पेनाल्टी सुटआउटपछि क्रोएसियाले धेरैले असम्भव ठानेको उपलब्धि हासिल गरेको छ – सन् १९९८ मा सेमिफाइनलमा पुगेको टोलीको उपलब्धिको बराबरी ।

ह्यारी केन र डेजान लोभरेनको इतिहास

६ गोलसँगै इङ्ग्ल्याण्डका कप्तान ह्यारी केन सन् १९८६ पछि पहिलो पटक गोल्डन बुट जित्ने पहिलो इङ्ग्लिस खेलाडी बन्ने दाउमा छन् । क्रोएसियाबिरुद्ध केनले यो तथ्यांकमा थप बृद्धि गर्न सक्ने राम्रो कारण छ । केन टोटनहमका लागि खेल्छन् र क्रोएसियाका डिफेन्डर डेजान लोभरेन लिभरपुलबाट खेल्छन् । उनीबिरुद्ध केनको इतिहास सुखद रहेको छ ।

गत अक्टोबरमा लिभरपुलमाथि ४–१ को जीत हासिल गर्दा केनले दुई गोल गरेका थिए । जुन खेलमा लोभरेन ३१ मिनेटमा नै मैदानबाट हटाइएका थिए । त्यसपछि खेल २–२ को बराबरीमा सकिएको थियो । यता, लोभरेन चुनौतीबाट पछि हट्ने खेलाडी होइनन् । प्रतियोगितामा उनले क्रोएसियाको डिफेन्समा राम्रो प्रदर्शन गरिरहेका छन् । उनीसँग आज केनबिरुद्धको त्यो नराम्रो सपना भुलाउने अवसर पनि हुनेछ ।

इङ्ग्ल्याण्डका राजनीतिज्ञहरु उपस्थित नहुने

विश्वकपबाट राजनीति टाढा रहन सक्दैन । विश्वकपको पहिलो खेलमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी अरेबियाका राजकुमार मोहमद बिन सलमानसँगै बसेर फुटबल हेरेको देखिएको थियो । त्यस यता थुप्रै राजनीतिज्ञहरुले विश्वकपमा आफ्नो उपस्थिति जनाइसकेका छन् । तर, त्यो सूचीमा इङ्ग्ल्याण्डबाट कसैको नाम समावेश छैन ।

एक पूर्व जासुसलाई इङ्ग्ल्याण्डमा कथित रुपमा विष दिएपछि इङ्ग्ल्याण्डका राजनीतिज्ञ र राजपरिवारका सदस्यले रुस नजाने निर्णय गरेका छन् । यो घटना रुसले घटाएको इङ्ग्ल्याण्डको आरोप छ । क्रोएसियाका राष्ट्रपति कोलिन्डा ग्राबर किटारोभिच भने विश्वकपमा उपस्थित भइसकेकी छिन् । उनले रुसका प्रधानमन्त्री दिमित्री मेडभेडेभसँगै बसेर रसिया र क्रोएसियाबीचको क्वाटरफाइनल खेल हेरेकी थिइन् ।

लुका : द म्याजिसियन

जब क्रोएसियाका जादुगर मिडफिल्डर लुका मोड्रिच राम्रो खेल्छन्, क्रोएसियाले राम्रो खेल्छ । अहिले उनी राष्ट्रिय टोलीको कप्तान रहेका छन् । उनी टोलीका लागि निकै महत्वपूर्ण खेलाडीको रुपमा रहेका छन् । उनले प्रतियोगितामा दुई गोल गरिसकेका छन् । त्यस्तै, डेनमार्क र रसियाबिरुद्धको पेनाल्टी सुटआउटमा पनि दुई गोल गरेका छन् ।

उनीसँगै बार्सिलोनाका इभान र्याकिटचको प्रदर्शनको बलमा क्रोएसियाले यहाँसम्मको यात्रा तय गरेको हो । तर, ३२ वर्षीय मोड्रिचले रियल म्याड्रिडसँग लामो सिजन खेल्दै प्रतियोगितामा सहभागिता जनाएका छन् भने पछिल्ला दुई खेल क्रोएसियाका लागि थकाउने खालको थियो । आजको खेलमा उनी थकित नभएको होस् भन्ने आशा क्रोएसियाले गरेको हुनुपर्छ ।

इङ्ग्ल्याण्डलाई भाग्यको साथ

यसअघि उल्लेख गरिएजस्तै इङ्ग्ल्याण्डले तुलनात्मक रुपमा सहज यात्रा तय गर्दै विश्वकपको सेमिफाइनलसम्म पुगेको छ । समूह चरणमा बेल्जियमसँगैका भिडन्तबाहेक इङ्ग्ल्याण्ड फिफा बरियतामा रहेका कुनै पनि शीर्ष १५ टोलीसँग नखेली सेमिफाइनलसम्म पुगेको छ ।

यता, इङ्ग्ल्याण्डका समर्थकहरु भन्छन् – हराउने त्यही टोलीलाई हो जो अगाडि आउँछन् । इङ्ग्ल्याण्डले ठीक त्यही गरिरहेको छ । अन्तिम १६ मो पेनाल्टीको श्राप अन्त्य गर्दै कोलम्बियालाई पराजित गर्यो भने क्वाटरफाइनलमा स्वीडेनमाथि जित हासिल गर्यो । 

क्रोएसियाबिरुद्ध इङ्ग्ल्याण्डले राम्रो टोलीको सामना गर्नेछ तर त्यो टोली दुई लगातार एक्सट्रा टाइम र पेनाल्टी सुटआउट पछि थकित रहेको छ । प्रशिक्षक ड्यालिचले आफ्नो टोलीसँग अझै उर्जा बाँकी रहेको बताए पनि युवा खेलाडीले भरिएको उत्साहित इङ्ग्ल्याण्डको टोलीका लागि यो फाइदाजनक पक्ष हुनसक्छ ।

युवा भर्सेस अनुभवी

क्रोएसियाको टोलीसँग भरपुर अनुभव छ भने इङ्ग्लिस टोली विश्वकपको दोस्रो युवा टोली हो ।

क्रोएसियाका १३ खेलाडी लगातार दोस्रो विश्वकप खेलिरहेका छन् भने इङ्ग्ल्याण्डको २३ मध्ये १८ खेलाडी पहिलो पटक विश्वकप खेल्दैछन् । मात्र पाँच जना खेलाडीले यसअघि विश्वकप खेलेका थिए ।

क्रोएसियाका खेलाडीहरुको औसत उमेर २९.१ वर्ष रहेको छ भने इङ्ग्ल्याण्डमा २५.७ वर्ष रहेको छ । शुरुवाती ११ मा क्रोएसियाका ११ मध्ये १० खेलाडी २६ वर्षवा सोभन्दा माथिका रहेका छन् भने इङ्ग्ल्याण्डमा यो संख्या चार मात्र  रहेको छ ।

हेड टु हेड

– यसअघि मुख्य प्रतियोगितामा दुई टोली एक पटक भिडेका छन् । युरो २००४ को समूह चरणमा इङ्ग्ल्याण्ड ४–२ ले विजयी बनेको थियो ।

– दुई टोलीबीच आज आठौँ भेट हुनेछ । यसअघि इङ्ग्ल्याण्डले चार, क्रोएसियाले दुई तथा एक खेल बराबरीमा सकिएको छ ।

– क्रोएसियाले पछिल्लो पटक सन् २००७ को नोभेम्बरमा इङ्ग्ल्याण्डलाई बेम्बलीमा ३–२ गोलअन्तरले पराजित गरेको थियो । योसँगै पछिल्लो पटक सन् २००८ मा छनौट हुन असफल भएको थियो ।

– सातमध्ये पछिल्ला ६ खेल दुई टोलीले बुधबार नै खेलेका थिए ।

क्रोएसिया 

– क्रोएसियाले सन् १९९८ पछि दोस्रो पटक विश्वकपको सेमिफाइनल खेल्दैछ ।

– क्रोएसियाबाहेक सन् १९९० मा अर्जेन्टिनाले मात्र एउटा विश्वकपमा दुई पेनाल्टी सुटआउट जितेको छ ।

– क्रोएसियाको १० मध्ये ३ गोलमात्र सेटपिसबाट गरेको छ ।

– तर, आफूले खाएको चारमध्ये तीन गोल सेटपिसबाट आएको छ ।

– क्रोएसिया पछिल्लो ९ खेलमा अपराजित रहेको छ । पछिल्लो पटक क्रोएसिया सन् २०१७ को सेप्टेम्बरमा टर्कीसँग पराजित गरेको छ ।

– क्रोएसियाका आठ फरक खेलाडीले यो विश्वकपमा गोल गरेका छन् । उनीहरुभन्दा अघि नौ खेलाडीसहित बेल्जियम रहेको छ ।

इङ्ग्ल्याण्ड

– इङ्ग्ल्याण्ड तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ । यसअघि सन् १९६६ र १९९० मा इङ्ग्ल्याण्ड सेमिफाइनलमा पुगेको थियो ।

– इङ्ग्ल्याण्डले मुख्य प्रतियोगिताको पछिल्लो तीन सेमिफाइनल हारेको छ । युरो १९९६ मा जर्मनीबिरुद्ध, सन् १९९० मा पश्चिम जर्मनीबिरुद्ध र सन् १९६८ मा युगोस्लाभियासँग ।

– इङ्ग्ल्याण्डले यो प्रतियोगितामा ११ गोल गर्दै सन् १९९६ मा बनाएको आफ्नो किर्तिमान बराबरी गरेको छ ।

– सन् १९८२ पछि इङ्ग्ल्याण्डले एउटै विश्वकपमा दुई युरोपियन टोलीलाई पराजित गर्न सकेको छैन ।

– इङ्ग्ल्याण्डको ११ मध्ये आठ गोल सेट पिसबाट भएको छ । 

– इङ्ग्ल्याण्डको चार गोल कर्नरबाट आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप