बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता हाउभाउ देखाउने बच्चा अस्वस्थ हुन सक्छन

शनिबार, ३१ असार २०७४, १६ : ०२
शनिबार, ३१ असार २०७४

डा विष्णुरथ गिरी बालरोग विशेषज्ञ कान्ति बाल अस्पताल 

ठूलो मान्छे केही अस्वस्थ भएमा वा बिरामी भएमा तुरुन्त थाहा पाउन सकिन्छ । उसलाई भएको असहज तथा अस्वस्थताबारे व्यक्ति आफैँले पनि भन्न सक्छ । जसले गर्दा तत्काल उपचार पनि गर्न सजिलो हुन्छ । तर, सानो बच्चा बिरामी भएको थाहा पाउन भने निकै समस्या हुन्छ । बच्चाको हाउभाउ, खाना खाने तरिका तथा शारीरिक अवस्था हेरेर उसको स्वास्थ्य अवस्थाबारे अनुमान गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा बच्चा बिरामी भएको थाहा पाउन नसक्दा निकै संवेदनशील अवस्थामा पनि पुगेको हुन्छ । बच्चालाई के भएको हो भन्ने कुरा थाहा पाउन तथा अस्वस्थ अवस्था पत्ता लगाउने केही उपायबारे बालरोग विशेषज्ञ डा। विष्णुरथ गिरीको सुझाब यस्तो छ स्

समान्य अवस्थामा जस्तो बच्चा फुर्तीसाथ खेलेन भने केही भएको छ भन्ने अनुमान लगाउनुपर्छ । पहिलेभन्दा बच्चाको हाउभाउ, प्रतिक्रियामा परिर्वतन भयो भने बच्चा बिरामी छ कि भन्ने शंका गरेर स्वास्थ्य परीक्षण गराउनुपर्छ ।

बच्चा सामान्य अवस्थाभन्दा धेरै रोयो भने पनि अस्वस्थ भएको हुन सक्छ । त्युस्तै, बच्चा रोएन भनेर ज्ञानी छ भनी ढुक्क हुनुहुँदैन । लामो समयसम्म पनि बच्चा नरोइकन या कुनै प्रतिक्रिया नजनाइकन निरन्तर सुतिरहन्छ भने पनि पनि बच्चामा केही समस्या भएको हुन सक्छ । यसरी नरोई आनन्दले सुतिरहन्छ भनेर बच्चालाई उपचार नगरी घरमै राखिरहनुहुँदैन । यसले पछि ठूलो समस्या निम्तिन सक्छ । त्यसैले चाँडै अस्पताल लानुपर्छ ।

बच्चाले आमाको दूध चुस्न सकेन भने बच्चा बिरामी हुन सक्छ । बच्चालाई सास फेर्न अप्ठ्यारो भयो, लगातार कोखा हानिरह्यो भने बच्चा बिरामी हुन सक्छ ।

बच्चाको नाकको पोरा फुल्यो भने पनि बच्चा अस्वस्थ हुन सक्छ । बच्चाको शरीर नीलो हुनु, एक्कासि बेहोस् हुनु, लगातार वान्ता गर्नु, वान्ता भएर पिसाब कम जानु बच्चा गम्भीर बिरामी हुनुका लक्षण हुन् । यस्ता लक्षण देखिनासाथ तत्काल अस्पताल लानुपर्छ ।


नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप