शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्याण्डः जसलाई असम्भव भनियो त्यो अभियान अन्ततः पूरा भयो

बुधबार, २७ असार २०७५, ०८ : ०५
बुधबार, २७ असार २०७५

बीबीसी

‘हामीलाई थाहा छैन यो चमत्कार हो वा विज्ञान या अरु केही । सबै १३ जना अब गुफाबाट बाहिरिएका छन् ।’

थाइल्याण्डको अन्धकार, बाढी पसेको र अत्यन्तै साँघुरो बाटो भएको गुफामा १८ दिनदेखि फसेका १२ फुटबल खेलाडी र उनीहरुका प्रशिक्षकलाई सुरक्षित बाहिर निकाल्ने अभियानमा जुटेका थाई नौसेका शब्द हुन् यी ।

गत जून २३ तारिखदेखि गुफामा फसेकाहरुलाई बाहिर निकाल्ने अभियानमाथि संसारको ध्यान केन्द्रित थियो ।

बच्चालाई सुरक्षित बाहिर निकालिएको खबरको थाइल्याण्ड र संसारभरीका करोडौं मानिसहरु व्यग्रताका साथ प्रतिक्षा गरिरहेका थिए ।

यो अत्यधिक मुश्किल स्थितमा मानवीय आशा र हौसलाको जीतको कहानी हो ।

अभियान पूरा भएपछि चियांग राय प्रान्तका गभर्नर नारोंगक ओसोटानकोर्नले यसमा संलग्न टीमलाई ‘संयुक्त राष्ट्र टीम’ बताएका छन् ।

बालकहरुलाई सुरक्षित निकाल्ने अभियानमा थाइल्याण्डको नौसेना र वायुसेनाका साथै ब्रिटेन, म्यान्मार, लाओस, अष्ट्रेलिया, अमेरिका र जापानसमेत थुप्रै देशका विशेषज्ञ लागीपरेका थिए ।

गुफा नजिकै बस्ने स्थानीयले उद्दारकार्यमा जुटेका स्वयंसेवकका लागि खाना बनाए र गोताखोरको कपडा पनि धोइदिए ।

संसारभरबाट आएका विशेषज्ञ गोताखोरले आफ्नो ज्यान जोखिममा राखेर बालक र उनीहरुका प्रशिक्षकको खोजी गरे । साथै लामो र जटिल अभियानपछि उनीहरुलाई अन्ततः सुरक्षित बाहिर निकाले ।

गुफा बाहिर अहिले उत्सवको माहौल छ तर धेरैले यो अभियानमा ज्यान गुमाएका स्वयंसेवी गोताखोर समन गुनानलाई पनि याद गरिरहेका छन् ।

थाइल्याण्डको सरकारले अब उनको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्नेछ ।

पुनः एकजुट भयो टीमः

गुफाबाट बचाइएका सबै खेलाडी र उनीहरुका कोच अब अस्पतालमा एकसाथ छन् । आइबार चार बच्चालाई गुफाबाट निकालेर अस्पताल पुर्याइएको थियो । सोमबार अन्य चार खेलाडीलाई निकालेर अस्पताल पुर्याइयो र मंगलबार बाँकी भएका चार बालकहरु र उनका प्रशिक्षकलाई सुरक्षित अस्पताल पुर्याइएको छ ।

यससँगै उनीहरुले आफ्नो अभियान सफलतापूर्वक पूरा गरेका छन् जसलाई सुरुवातमा असम्भव मानिएको थियो । अस्पतालमा रहेका बीबीसी संवाददाता निकल बिकेका अनुसार उद्दार गरिएका बच्चाका परिवार अस्पतालमा छन् ।

यद्यपी, अहिलेसम्म परिवारलाई उनीहरुसँग भेट्ने अनुमती दिइएको छैन । कतिका परिवारले आफूलाई विश्वास नलागिरहेको बताए भने कतिले आशा गर्न कहिले पनि नछोडेको बताए । सबैको अनुहारमा चम्किलो मुस्कान छ ।

पहिलो आठ बालकहरुको उपचारमा खटेका डाक्टरले उनीहरुको अवस्था ठिक भएको जानकारी दिए । यद्यपी, दुई हप्ताभन्दा बढी समयका लागि अँध्यारो गुफामा बस्दा पुगेको मानसिक क्षतीको असरबारे पनि परिक्षण हुनै बाँकी छ ।

संसारभरीबाट ओइरियो बधाईः

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अभियान पूरा भएपछि थाई नौसेनालाई बधाई दिँदै लेखे, ‘अमेरिकाको तर्फबाट १२ बालकहरु र उनीहरुका कोचलाई सुरक्षित जोखिमपूर्ण गुफाबाट बाहिर निकालेकोमा थाई नौसेनालाई बधाई । यो कति सुन्दर पल हो – सबै स्वतन्त्र भएका छन् । उत्कृष्ट काम ।’

यस्तै जर्मनकी चान्सलर एंगेला मर्केलका प्रवक्ताले ट्वीट गरे, ‘धेरै कुरा प्रशंसनीय छ – बहादुर बालकहरु र उनीहरुको प्रशिक्षकको दृढता, उद्दारकर्मीको क्षमता र दृढ संकल्प ।’

साथै, बेलायती प्रधानमन्त्री टेरिजा मेले पनि उद्दारकर्मीलाई बधाई दिँदै ट्वीट गरिन्, ‘थाइल्याण्डको गुफामा फसेकालाई बचाउन सफल भएकोमा प्रशन्न छु । संसारको नजर यसमा नै टिकेको थियो र हामी यो अभियानमा संलग्न मानिसहरुको बहादुरीलाई सलाम गर्छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप