शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दिलबहादुर घर्ती बचाउन साउदीबाट आठ लाख सहयोग

मङ्गलबार, २६ असार २०७५, १६ : ५३
मङ्गलबार, २६ असार २०७५

काठमाडौं– ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन साउदी अरबका नेपालीहरुले आठ लाख रकम संकलन गरेका छन् ।
आदिवासी जनजाति महासंघ, साउदीका पूर्व अध्यक्ष तथा समाजसेवी हुम सुनारीमगरको नेतृत्वमा साउदीमा क्रियाशील संस्थाहरु पारिवारिक समाज नेपाल, नेपाली प्रवासी समाज, एनए मिडिया लगायत साउदीमा रहेका नेपालीहरुले दिलबहादुर घर्तीको जीवन रक्षाका लागि आठ लाख २७ हजार एक सय १८ रुपियाँ संकलन गरेका हुन् ।
साउदी अरबमा संकलित रकम नेपाल मगर संघले मंगलबार पत्रकार सम्मेलन गरेर ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’ मूल समितिलाई हस्तान्तरण गरेको छ । योसँगै समितिमा ४० लाख रकम संकलन भएको छ । 
संकलित रकम मगर संघका अध्यक्ष नवीन रोकामगर र नेपाली प्रवासी समाजका पूर्व अध्यक्ष रामप्रसाद सापकोटाले ‘दिलबहादुर घर्ती बचाउनका लागि ब्लडमनी संकलन अभियान’ मूल आयोजक समितिका सदस्य तथा दिलबहादुरकी पत्नी मनिका बुढालाई हस्तान्तरण गरेका हुन् । 
रोल्पा नगरपालिका–१०, रोल्पा घर भएका दिलबहादुर विगत दुई वर्षदेखि साउदीको जेलमा छन् । उनले चलाएका ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन आउँदा साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाइ मृतकका परिवारलाई २ लाख २५ हजार रियाल करिब ६५ लाख रुपैया) क्षतिपूर्ति दिन फैसला गरेको छ । साउदीस्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा अदालतले गत चैत २२ गते पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई ६५ लाख तिर्नैपर्ने भएको हो ।
दिलबहादुरको जीवन रक्षाका लागि मूल समितिको नाममा खोलिएको खातामा ४० लाख रकम जम्मा भएको छ । सोमबार साउदी अरबबाट प्राप्त रकमसहित बैंक खातामा ४० लाख पुगेको मनिका बुढाले जानकारी दिईन् । ‘४० लाख पुग्यो, अझै २५ लाख बाँकी छ,’ उनले भनिन्, ‘सहयोग अझै उठ्नेमा आशावादी छु ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप