शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विस्थापितहरुलाई सहयोग गर्न राष्ट्रसंघको आग्रह

मङ्गलबार, २६ असार २०७५, १५ : ४४
मङ्गलबार, २६ असार २०७५

एजेन्सी– विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कारण आ–आफ्नो देशबाट विस्थापित हुन बाध्य भएका नागरिकलाई आवश्यक सहयोग गर्न र कुनै पनि किसीमको दुर्व्यवहार नगर्न संयुक्त राष्ट्रसंघका महासचिवले आग्रह गरेका छन् । 

महासचिव एन्टोनियो गुथ्रेसले विस्थापन हुनु तथा शरणार्थीका रुपमा बाहिरिनु मानिसको बाध्यता भएकोले यस्तो अप्ठेरोमा परेका नागरिकलाई आवश्यक सहयोग गर्न आग्रह गरेका हुन् । 

सन् २०१७ को अन्त्यसम्ममा ६ करोड ८५ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । 

यसरी आफ्नो देश या इलाकाबाट विस्थापित हुने सर्वसाधारणमा प्रायः म्यानमार र सिरियाका धेरै रहेका छन् । सन् २०१७ को अन्त्यसम्ममा विश्वभरबाट विस्थापित हुने व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा ३० लाखले बढेको हालै सार्वजनिक गरिएको सो प्रतिवेदनमा जनाइएको छ । 

महासचिव गुथ्रेसले हालैमात्र म्यानमारबाट भागेर बङ्गलादशेको कोक्स बजारमा शरणार्थीका रुपमा बसिरहेका रोहिङ्ग्या शरणार्थीको शिविर भ्रमण गरेका थिए । 

त्यस भ्रमणका क्रममा उनले ती शरणार्थीहरुले आधारभूत खाना र बासको अभावमै अत्यन्तै कष्टपूर्ण जीवन बिताउन बाध्य भएको तथ्य देखेको बताएका थिए । 

म्यानमारको सेनाले नै ज्यादति गरेपछि ती शरणार्थी भागेर बङ्गलादेश पुगेका हुन् । हाल त्यहाँ करिब ८ लाख शरणार्थी रहेका छन् । 

उनले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ– विश्वमा शरणार्थी तथा आफ्नै देशभित्र पनि विस्थापित नागरिकले निकै दयनीय जिवन बिताउन बाध्य भएका छन्, उनीहरुलाई आवश्यक सहयोग र समन्वयका लागि म सबैसँग आग्रह गर्दछु । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप