बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हामी पूरै ‘हाइटेक’ बैङ्क भइसकेका छौँ :  लिलाप्रकाश सिटौला, सीईओ, कृषि विकास बैङ्क

मङ्गलबार, २६ असार २०७५, १५ : ००
मङ्गलबार, २६ असार २०७५

कुनै समय खराब ऋण र लगानीयोग्य रकमको अभावले थिलथिलो भएको कृषि विकास बैङ्क यतिबेला समृद्धिको चरणमा छ । सरकारी बैङ्क भनिने कृषि विकास बैङ्कमा नेपाल सरकारको ५१ प्रतिशत लगानी छ । मुख्यतः कृषिक्षेत्रमा काम गर्ने भन्दै २०२४ सालमा स्थापना भएको बैङ्क यतिबेला विकास बैङ्कबाट परिवर्तन भई कमर्सियल बैङ्क बनिसकेको छ । राष्ट्र बैङ्कमा फस्ट क्लास अफिसर भएर काम गरिसकेका लिलाप्रकाश सिटौलाले सीईओको जिम्मेवारी सम्हालेपछि कृषि विकास बैङ्कले आफ्नो परम्परागत छविलाई परिवर्तन गर्दै ‘हाइटेक’ छवि बनाएको छ । अत्याधुनिक बैङ्किङ प्रणाली, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ र कोर बैङ्किङ प्रणालीमा प्रवेश गरिसकेको बैङ्क ग्राहक माझ भने अझै पनि विकास बैङ्ककै छविमा छ । आखिर कृषि विकास बैङ्कले किन आफू अपडेट भएको जानकारी ग्राहकलाई दिन सकेन ? कृषि विकास बैङ्क किन अन्य निजी बैङ्कजस्तै देखिँदैन ? के कृषि विकास बैङ्क उत्कृष्ट बैङ्क बन्न सक्छ ? प्रस्तुत छ, कृषि विकास बैङ्कमा सीईओ लिलाप्रकाश सिटौलासँग रातोपाटीकर्मी दन ढुङ्गाना टुना भट्टले गरेको कुराकानी  

–यहाँले कृषि विकास बैङ्कलाई नेपालकै उत्कृष्ट वाणिज्य बैङ्क बनाउने बताउनुभएको थियो । के साँच्चिकै कृषि विकास बैङ्क देशकै उत्कृष्ट वाणिज्य बैङ्क बन्यो त ?

कृषि विकास बैङ्क नेपालको उत्कृष्ट वाणिज्य बैङ्क बन्ने लगभग अन्तिम चरणमा छ । मैले केही एक्सन प्लानहरू बताएको थिए र ती प्लानलाई निष्कर्षमा पुर्याउँछु भनेको थिएँ र हामी निष्कर्षमा पुग्ने चरणमा छौँ । खासमा कृषि विकास बैङ्कलाई आधुनिकीकरण गर्ने मेरो सोच थियो । त्यहीअनुसार बैङ्कलाई आधुनिक बैङ्कको रूपमा अगाडि बढाएको हुँ । कमर्सियल बैङ्कहरूले दिने सबैखाले सेवा सुविधा हामीले पनि दिएका छौँ । जस्तैः ई–बैैङ्किङ, मोबाइल बैङ्किङ, डेबिट–क्रेडिट कार्डलगायत आईपीसी, ईसीजीको सुविधा दिएका छौँ । साथै आईपीओ, एफपीओ खरिद बिक्रीका लागि सी–आस्वा सेवा पनि दिएका छौँ । 

सुरक्षाको हिसाबले कमर्सियल बैङ्कले भन्दा सुरक्षित बैङ्किङ सुविधा हामीले उपलब्ध गराएका छौँ । सुरक्षा विशेषता भएका नयाँ नयाँ प्रविधि हामीले भित्र्याइसकेका छौँ । कृषि विकास बैङ्कको पुरानो समस्या भनेको आईटीको थियो । आईटी पोलिसी बनायौँ र आईटीलाई आर १६ कोर बैङ्किङ सिस्टम (सीबीएस) मा विकास गरिसकेका छौँ । कर्मचारी व्यवस्थापनमा पनि हामीले ठूलै फड्को मारेका छौँ । नयाँ पुस्तालाई अवसर दिनुका साथै पुराना कर्मचारीलाई स्तर वृद्धिका लागि नयाँ नयाँ तालिम दिने कार्यलाई तीव्र पारेका छौँ । कर्मचारी व्यवस्थापनमा पारदर्शी भएका छौँ । भर्खरै मात्र आठ सयजना नयाँ कर्मचारीको नियुक्ति गरेका छौँ । करियर डेभलपमेन्ट अनि प्रोमसनका कुरामा हामीले विशेष ध्यान दियौँ । अब हामीकहाँ इन्टरनल कन्ट्रोल सिस्टममा कुनै पनि समस्या छैन । सबैभन्दा ठूलो समस्या हिसाब मिलानको थियो त्यो पनि हामीले यो आर्थिक वर्षबाट पूर्णरूपमा समाधान गर्दैछौँ । राष्ट्र बैङ्कको नीतिअनुसार नीति नियम बनाएर रिस्क म्यानेजमेन्ट, विजनेस कन्टिन्युटी प्लान, लिक्विडिटी, इन्टरनल अडिट पोलिसी, क्रेडिट पोलिसी, गाइडलाइन पूर्ण रूपमा तयार भएर बोर्डले पास गरी लागू पनि भइसकेका छन् । यसले गर्दा आन्तरिक रूपमा हामी बलियो बनेका छौँ । 

–यसको मतलब तपाईंहरू विशुद्ध कमर्सियल बैङ्कका रूपमा परिवर्तन भइसक्नुभएको छ ?

हो, विकास बैङ्कको अवधारणालाई परवर्तन गरी हामी पूर्ण रूपमा वाणिज्य बैङ्कको लयमा छौँ । बैङ्कका सबै शाखालाई सीबीएस प्रणालीमा ढाली सकेका छौँ । बैङ्कको पूर्ण सिस्टमलाई पनि अडिट गरिरहेका छौँ । बैङ्कले व्यापार बिस्तारलाई पनि तीव्र पारेको छ । बैङ्कको आम्दानी धेरै राम्रो बढेको छ । हामीले एलसी (प्रतित पत्र), ग्यारेन्टी (बैङ्क जमानत), विदेशी मुद्रा लेनदेनलगायतको कार्य गरेका छौँ । साधारण सभालाई निरन्तरता दिएका छौँ । अब कृषि विकास बैङ्कलाई हामीले विशुद्ध कमर्सियल बैङ्क बनाइसकेका छौँ । 

अर्को महत्वपूृर्ण कार्य भनेको एनपीएल (नन् पर्पmर्मिङ लोन) घटाउन सफल भएका छौँ । म कृषि विकास बैङ्कको सीईओ भएर आउँदा ६.८५ प्रतिशतमा रहेको एनपीएल आज (असार२४) सम्मको तथ्याङ्क हेर्दा २.२६ प्रतिशतसम्म ल्याउन सफल भएका छौँ । नाफा बढाएका छौँ । २० प्रतिशतको प्रतिफल दिन सफल भएका छौँ । म मेरो प्रतिबद्धता अनुसारको कार्यलाई पूर्णता दिन सफल भएको छु । कृषि विकास बैङ्कले सडक निर्माण गरी सकेको छ, अब राम्रोसँग गाडी चलाएर गन्तव्यमा पुग्ने हो । 

–कृषि विकास बैङ्कलाई पूर्ण व्यावसायिक बैङ्क त बनाउनुभयो, अन्तर्राष्ट्रिय स्तरको प्रविधि पनि भित्र्याउनुभयो । के यो कुरा जनतालाई थाहा छ ?

बैङ्कलाई चिनाउन बजारीकरणको आवश्यकता पर्दछ । यो बैङ्कलाई कृषि क्षेत्रको मात्र बैङ्क भनेर चिनिएको थियो । जसले कृषकलाई मात्र ऋण दिन्छ भन्ने मानसिकता थियो । अब त्यो होइन, कृषि विकास बैङ्क नेपालको सबैभन्दा ठूलो कमर्सियल बैङ्क हो । नेपालमा रहेका अन्य कमर्सियल बैङ्कले गर्ने सबै कृयाकलाप यो बैङ्कले पनि गर्छ भनेर हामीले बजारीकरणका विभिन्न उपकरणहरूको प्रयोग गरेका छौँ । मास मिडियाको प्रयोगदेखि ब्रान्ड एम्बेस्डर नियुक्त गरेका छौँ । विभिन्न जनचेतनामूलक कार्यहरू गरेका छौँ । हिजो नदेखिएको कृषि विकास बैङ्क आज देखिएको छ । हिजो नसुनिएको कृषि विकास बैङ्क आज सुनिएको छ । कृषि विकास बैङ्कले ठूला ठूला व्यावसायिक घरानाहरूलाई भित्र्याउन सफल भएका छौँ ।

वित्तीय बजारमा भएका अन्य व्यावसायिक बैङ्क तथा वित्तीय संस्थाको प्रतिस्पर्धी बैङ्कका रूपमा हामी खडा भइसकेका छौँ । यी सबैको प्रचारप्रसारमा हामीले जोड दिएका छौँ । प्रदेशहरूमा हाम्रा प्रतिनिधिहरू मार्फत जनसमक्ष लिएर गइरहेका छौँ । वित्तीय साक्षरतालाई व्यापक बनाएका छौँ । वित्तीय साक्षरताकै लागि भनेर देशैभरका सबै शाखा कार्यालयलाई छुट्टै बजेटको व्यवस्था पनि गरेका छौँ । 

–कृषि अनि विकास मात्र भनेर चिनिएको बैङ्कलाई व्यावसायिक बनाउनुभयो भनेर थाहा पाउने आधार के–के होलान् ? कृषि विकासको नाम किन परिवर्तन गर्नु भएन ?

नाम परिवर्तनको कुरा पनि उठेको हो तर हाम्रो परम्परागत ग्राहकको सङ्ख्या ठूलो छ । हामीले एकैचोटि आफ्नो परम्परालाई पूरै परिवर्तन गर्न सक्दैनौँ । यो गर्नु उचित पनि होइन । यसलाई परिमार्जन गर्ने हो । हाम्रो मास अझै पनि कृषि विकास बैङ्कमा नै अभ्यस्त छ । हाम्रो कार्य र प्रभावले कृषि विकास बैङ्क भनेर चिनायो यसलाई परिवर्तन गर्नभन्दा सेवामा गुणस्तर वृद्धि गरी बजारमा प्रतिस्पर्धामा जान उचित ठानेर हामी अगाडि बढ्यौँ । हाम्रो फोकस पनि कृषिमा नै हो । हामी आधुनिक प्रणालीलाई प्रयोगमा ल्याउने र आफ्नो अस्तित्वलाई बचाउने पक्षमा छौँ । सरकारी स्वामित्वको बैङ्क भएकाले पनि तुरुन्तै लोगो, नाम परिवर्तन गर्ने सहजता पनि छैन । केही परिवर्तन गर्न पर्यो भने पनि जनताबाट अनुमोदन गर्नुपर्ने हुन्छ । कृषि विकास बैङ्क भनेर नै चिनिएकाले पनि नाम परिवर्तनलाई हामीले प्राथमिकतामा राखेका छैनौँ । नाम भन्दा पनि कामलाई हामीले महत्व दिएका छौँ । 

–कर्मचारीको व्यवस्थापन कसरी गर्नुहुन्छ ? सरकारी बैङ्कमा क्षमतावान कर्मचारीको अभाव, नयाँ प्रविधिसँग टाढा र ग्राहकसँगको व्यवहार रुखो हुने गरेको गुनासो सुनिन्छ के भन्नु हुन्छ ?

कर्मचारीमा क्षमता नभएको भन्ने होइन, समय सापेक्ष स्किल छैन भने हामीले स्किल डेभलपमेन्टका लागि विभिन्न तालिम दिने कार्य गछौँ । हामीले निरन्तर जस्तो कर्मचारी भर्ना, कर्मचारीको स्तरोन्नति गर्ने कार्य गरि नै राखेका छौँ । दुर्गम जिल्लादेखि सुगमसम्ममा कर्मचारीलाई स्थानान्तरण गर्ने कार्य गरिरहन्छौँ । कर्मचारीको व्यवहारको कुरामा यदि त्यस्तो भएमा उनीहरूलाई व्यक्तिगत व्यवहारमा सुधारका लागि विभिन्न वर्कसपमा सहभागी गराउने अथवा कार्वाही गर्नेसम्म पनि हुनेछ ।  

–देश कृषिप्रदान भए पनि कृषिमा लगानी जोखिमयुक्त छ पनि भनिन्छ ? कृषि क्षेत्रको विकासलाई मध्यनजर गरेर खोलिएको बैङ्क व्यावसायिक हुनुको पछाडिका कारण के होला ?

कृषि विकास बैङ्कको प्रतिस्पर्धाको क्षेत्र कृषि नै हो । हाम्रो उद्देश्य अहिले पनि कृषि क्षेत्रको विकास गर्ने नै हो । फाइदाभन्दा कृषिमै अभ्यस्त भएकाले सन्तुष्ट छौँ । अहिले पनि ३४ प्रतिशतको पोर्टफोलियो कृषिमै छ । अहिलेको बजेटमा पनि ४० प्रतिशत बजेट कृषिमै छुट्याउने योजना बनाएका छौँ । हाम्रो प्रतिस्पर्धाको क्षेत्र भनेको नै कृषि हो । नयाँ आर्थिक वर्षमा पनि कृषिमा केन्द्रित हुनुपर्छ भनेर नयाँ नयाँ कर्यक्रमहरू ल्याउँदैछौँ । हामी व्यावसायिक हुनुको अर्थ कृषि क्षेत्रलाई छोड्नु होइन कि यसलाई आधुनिकीकरण र व्यावसायीकरण गर्दै लैजानु हो । अझ कृषि क्षेत्रको विकासका लागि क्षेत्रगतरूपमा (सातै प्रदेशमा) लगानी वृद्धि गर्ने सोचमा छौँ ।

–कृषिमा कति लगानी गर्नु भएको छ ?

कृषिमा मात्र ३४ अर्ब लगानी गरेका छौँ । अन्य वाणिज्य बैङ्कले ५ देखि १० प्रतिशत मात्र लगानी गर्ने भनिरहँदा हामीले ३४ प्रतिशत लगानी कृषिमा मात्रै गरेका छौँ । यसलाई अझै बढाउँदै छौँ । कृषि विकास बैङ्कले कृषि क्षेत्रलाई नै बढी प्राथमिकता दिन्छ । तर कृषिमा प्राथमिकता दिने भनेको कृषिमा मात्रै केन्द्रित रहने भनेको होइन । अन्य वाणिज्य बैङ्कले दिने सबै सुविधा कृषि विकास बैङ्कले पनि दिन्छ । यसले कृषिमा ऋण लगानी गर्ने मात्रै होइन, निक्षेप सङ्कलन गर्ने, व्यापार व्यावसाय तथा उद्योगहरूमा लगानी गर्ने सबै काम यो बैङ्कले गर्छ । 

–कृषि विकास बैङ्कले शाखा विस्तारलाई कसरी लिएको छ ? कहाँ कहाँसम्म पुग्नुभयो ?

नेपालका बैङ्कहरूमध्ये सबैभन्दा बढी शाखा हाम्रा छन् । २५५ वटा शाखा कार्यालय सञ्चालनमा छन् भने अरू पनि खुल्ने क्रममा छन् । यो आर्थिक वर्षमा हाम्रा २७५ वटा शाखा पुग्नेछन् । हरेक स्थानीय निकायमा शाखा कार्यालय पुर्याउन लागि परेका छौँ । हामी आक्रामक ढङ्गले अगाडि जान भन्दा पनि नेपाल सरकारको प्राथमिकताको क्षेत्रमा हामी जानुपर्ने हुन्छ ।  व्यावसायिक भन्दा पनि प्राथमिकताका क्षेत्रलाई हामीले ध्यान दिने गरेका छौँ । अन्य वाणिज्य बैङ्कहरू जान नसकेका दुर्गम जिल्ला, जस्तो कालिकोट, जाजरकोटसम्म हामी पुगेका छौँ । यातायात, बिजुली, टेलिफोनसम्म नपुगेको ठाउँमा पनि कृषि विकास बैङ्क पुगेको छ । सरकारले स्थानीय स्तरमा बैङ्क जानुपर्छ वित्तीय सेवा दिनुपर्छ भनिसकेपछि हामीलाई जान्न भन्ने छुट छैन । हामी सरकारी स्वामित्वको बैङ्क भएकाले पनि हरेक स्थानमा हामी पुग्नेछौँ । किनभने यो बैङ्कको सामाजिक उत्तरदायित्व पनि हो । 

–सरकारले हरेक स्थानीय तहमा वाणिज्य बैङ्क पुग्नुपर्ने र हरेक नेपालीको बैङ्क खाता अनिवार्य भनेको छ । यहाँहरूले पनि ‘एक घर एक खाता’ अभियान सञ्चालन गुर्नभएको छ । यो अभियानमा कृषि विकास बैङ्क कत्तिको सफल छ ?

कृषि क्षेत्रमा सबैभन्दा बढी आबद्धता भएको बैङ्कको नाताले र देशभर शाखा सञ्जाल फैलिएको नाताले बैङ्कसँग कतै न कतै सबै जनता कनेक्ट हुन् भन्ने हाम्रो निरन्तरको प्रयास हो । चाहे त्यो सेयर होल्डर, चाहे त्यो ऋणी वा रकम जम्माकर्ताको रूपमा होस् । कुनै न कुनै रूपमा हामीसँग जोडिउन् भन्ने अभियान हाम्रो हो । यो अभियानलाई सार्थकता प्रदान गर्न सेवा विस्तार गर्ने, वित्तीय साक्षरता विस्तार गर्ने  कार्य गरेका छौँ । जति धेरैको खाता खोल्न सफल भयौँ त्यति नै वित्तीय प्रगाढता बढ्छ, आर्थिक मध्यस्थता वृद्धि हुन्छ र आर्थिक कारोबार बढ्छ । जनता कहीँ न कहीँ बैङ्कसँग जोडिन्छन्, यसले वित्तीय पारदर्शिता बढाउँछ । 

–स्मार्ट बैङ्किङको अवधारणालाई कसरी लिनुभएको छ ?

स्मार्ट बैङ्किङ हामीले सुरु गरिसकेका छौँ । एटीएम सेवालाई पनि विस्तार गरेका छौँ । अझ भन्ने हो भने क्यासलेस सोसाइटीको विकासका कुरा आइरहँदा मोबाइल बैङ्किङलाई बढावा दिइरहेका छौँ । साथै सबै ठाउँमा प्रयोग गर्न मिल्ने भिसा कार्डको विकास गरेका छौँ । जस्तो, भारतमा पनि हाम्रो कार्ड चलाउँन सकिन्छ । स्मार्ट बैङ्किङको अवधारणालाई विकास गर्दै जनतामाझ पुर्याउने योजनामा छौँ । ग्रामीण क्षेत्रमा केही समस्या भए पनि यसलाई कसरी अभ्यस्त बनाउने भनेर योजना बनाउँछौँ । घर घरमा मोबाइल बैङ्किङबारे वित्तीय साक्षरता अभियान नै चलाउने योजनामा हामी छौँ । परम्परागत हिसाबमा चलेको बैङ्क अत्याधुनिक बैङ्किङ सेवामा रूपान्तरण हुन केही समय त लाग्छ तर पनि हामीले सेवालाई समयअनुसार परिमार्जन गर्दै लगिरहेका छौँ । 

–निक्षेप सङ्कलनको अवस्था कस्तो छ ? ग्राहकहरू ऋण लिनुपर्दा सरकारी बैङ्कमा जाने तर निक्षेप सङ्कलन गर्न स्थानीय बैङ्कमा जाने प्रवित्ति हाबी छ भनिन्छ नि ?

अहिलेको मुख्य चुनौती नै यही हो । ऋण लिनुपर्दा हामीकहाँ आउने तर डिपोजिटका लागि भने अन्यत्र जाने प्रवृत्ति अझै छ । हामी ऋण दिने मात्र होइनौँ, हामीले राम्रो व्याजदरमा निक्षेप सङ्कलन पनि गर्छौँ । अहिले हेर्ने हो भने सबैभन्दा बढी व्याजदर हामीले नै दिएका छौँ । सेभिङका लागि विभिन्न ग्राहक योजना अनुसारका व्याजदर निर्धारण गरेका छौँ । सरकारी बैङ्क भएर पनि हामीले फिक्सड डिपोजिटमा ११ प्रतिशत दिएका छौँ । अहिले पनि केही दुर्गम क्षेत्रमा कृषि विकास बैङ्क सेभिङका लागि भन्दा पनि लोनकै लागि भन्ने मानसिकता नभएको होइन, यसलाई हामीले सुधार गर्दै लैजाँदै छौँ । 

अझै हाम्रा केही कार्यालयहरू सीबीएस (कोर बैङ्किङ सोलुसन) पद्धतिमा आबद्ध भइसकेका छैनन् । कतिपय शाखा अझै पनि विकास बैङ्ककै अवधारणमा चलि नै रहेका छन् । जसले ल्यान्डिङ मात्र गर्छ तर डिपोजिट लिँदैन । म सीईओ भएर यहाँ आउँदा ८४ वटा शाखा कार्यालय सीबीएसमा थिए भने अहिले २२० शाखालाई सीबीएसमा लगिसकेको छु । हिजो हामीसँग १५० कार्यालयहरू बैङ्किङ थिए भने अहिले २३० कार्यालयले कमर्सियल बैङ्किङ गर्न थालेका छन् । हामी रूपान्तरणको चरणमै छौँ । हामीले अन्य बैङ्कभन्दा राम्रो अवस्थामा सेवा दिइरहेका छौँ, दिँदै छौँ । 

–सरकारी बैङ्कले किन राजस्व सङ्कलनको कार्य नगरेको होला ? सरकारले सरकारी कारोवारको लागि निजी बैङ्कलाई किन रोज्यो ?

कृषि विकास बैङ्कले सरकारी कारोबार गर्दैनथ्यो । तर म यहाँ आएपछि सरकारी कारोबार सुरु गरेँ । हामीलाई ग्रामीण क्षेत्रको सरकारी कारोवारलाई मात्र स्वीकृति दिएको छ । त्यसमा पनि कमर्सियल बैङ्कहरूले उछिनेको छ । बैङ्कमा देखिएको अस्वस्थ प्रतिस्पर्धामा हामी संलग्न हुन चाहन्नौँ । सरकारले पहिले त कृषि विकास बैङ्क वाणिज्य नभएकाले पनि निजी क्षेत्रलाई दियो । तर अब हामी वाणिज्य बैङ्कको अवधारणामा आइ नै सकेका छौँ । अन्य प्रतिस्पर्धी बैङ्कको तुलनामा हाम्रो सेवा सुविधामा कुनै कमी छैन । सरकारी कारोबार गर्न सरकारी बैङ्कले अवसर पाउनुपर्छ भन्ने हाम्रो माग हो । हामीले पहल पनि गरिरहेका छौँ । हामी सक्षम छौँ भनेर प्रचार प्रसार पनि गरेका छौँ । हामीले विभिन्न सार्वजनिक स्थलहरू जस्तोः हस्पिटलमा काउन्टर राखेर सेवा दिएका छौँ । केही स्थानीय निकायमा सरकारी कारोवार पनि सुरु भइसकेको छ । 

–बैङ्कहरूमा तरलता अभाव छ भन्छन्, कृषि विकास बैङ्कमा तरलताको अवस्था कस्तो छ ?

कृषि विकास बैङ्कमा तरलताको कुनै समस्या छैन । कृषि विकास बैङ्कमा मात्रै होइन, अन्य बैङ्कमा भएको समस्या पनि तरलता अभाव होइन, निक्षेप सङ्कलनमा कमी हो । राष्ट्र बैङ्कले बैङ्कको चुक्ता पुँजी बढाए पनि सीसीडी रेसियोमा परिवर्तन नगर्दा लगानीयोग्य रकमको अभाव हो । बैङ्कहरू निक्षेप फिर्ता दिन सक्षम छन् तर सीसीडी रेसियो ७९ भन्दा नाघ्न नहुने भएकाले लगानीयोग्य रकमको अभाव भएकै थियो । 
यद्यपि अहिले भने त्यो समस्या पनि हटिसकेको छ । कृषि विकास बैङ्कसँग प्रशस्त मात्रामा लगानीयोग्य रकम छ । निक्षेप सङ्कलन वा ऋण लगानीमा अहिले केही समस्या छैन । 

–कृषि विकास बैङ्कलाई जनताको बैङ्क भन्न सकिन्छ ?

हो, कृषि विकास बैङ्क जनताकै बैङ्क हो । किनभने यहाँ देशका सबै जनताले निक्षेप सङ्कलन गर्न सक्छन्, ऋण लिन सक्छन्, व्यापार र व्यवसाय विस्तार गर्न सक्छन् । अन्य वाणिज्य बैङ्कले ५ लाखभन्दा सानो ऋण लगानी नै गर्दैनन् तर हामीले ५० हजारको ऋण पनि दिएका छौँ । जनताका सानाभन्दा साना काममा पनि हामीले वित्तीय सहयोग गरेका छौँ । कृषि क्षेत्रमा सस्तो ब्याजदरमा ऋण लगानी गरेका छौँ । जनताको सहजताका लागि नै बैङ्क लागिपरेको छ । हामी सानाभन्दा साना व्यवसायमा पनि लगानी गर्छौँ ।


त्यसबाहेक यो बैङ्कमा किसानहरूकै लगानी बढी छ । त्यसकारण पनि किसान, साना व्यापारी र साना व्यवसाय गर्नेहरू हाम्रा प्रमुख ग्राहक हुन् । यद्यपि हामीले ठूला व्यापारिक समूह, उद्योगहरूमा पनि ऋण लगानी, निक्षेप सङ्कलन गर्ने गरेका छौँ । यो बैङ्कमा सरकारको ५१ प्रतिशत लगानी छ । सरकारको लगानी भनेको पनि जनताकै लगानी हो । त्यसकारण यो बैङ्क जनताको बैङ्क हो ।

–तर कृषि विकास बैङ्क भन्नेवित्तिकै आउट डेटेट स्टाफ, अस्तव्यस्त बैङ्किङ, सुस्त सेवा भन्ने सोच त अझै पनि हाबी छ नि ?

यो कुनै समयको सोच र यथार्थ थियो । तर अहिले हेर्नुभयो भने हामी धेरै अपडेटेड भइसकेका छौँ । मैले अघि नै भनेँ, हामी कोर बैङ्किङ प्रणालीमा गइसकेका छौँ । हामीले ८ सय जना नयाँ कर्मचारी भर्ना गरेर स्मार्ट स्टाफ ल्याएका छौँ । उनीहरू योङ र इनर्जेटिक छन् । काउन्टरमा हात कमाउने कर्मचारीहरू अब छैनन् । 

अरू बैङ्कमा पनि म गएको छु, त्यहाँ आधा घण्टा, एक घण्टा लाइनमा बस्नुपर्ने अवस्था मैले देखेको छु । तर कृषि विकास बैङ्कमा जानुभयो भने करिब पाँच दश मिनेटमै तपाईंले चेक साट्न पाउनुहुनेछ । ८, १० वर्ष अगाडिको सोचमा अहिले तपाईंको परिवर्तन आउनै पर्छ । अहिले छिटो सेवा दिने बैङ्कमा कृषि विकास बैङ्क पर्छ । बैङ्कमा नगई यस्तो सोच राख्नु गलत हुन्छ । हामी पूरै हाइटेक प्रविधिमा गइसकेका छौँ । कृषि विकास बैङ्क उच्च प्रविधियुक्त बैङ्क, क्षमतावान कर्मचरीको बैङ्क बनिसकेको छ ।

– मतलब अब नाक खुम्च्याउनुपर्ने अवस्था छैन ?

विल्कुल छैन । हामी पूरै एड्भान्स भइसकेका छौँ । कुनै कुनै शाखामा केही समस्या छन् । जस्तो रङ्गीचङ्गी शाखा नहुनु, शौचालय सफा नहुनु वा राम्रो नहुनु, खानेपानीलगायतको केही समस्या होलान् । अझ अर्को समस्या भनेको आफ्नै भवन नभएका शाखामा पार्किङको समस्या थियो । यी समस्यालाई समाधान गर्न भन्दै हामीले १० वटा शाखा स्थान्तरण गरिसकेका छौँ । यसको मुख्य कारण भनेको पार्किङ पनि हो । अहिले सहरी क्षेत्रमा बैङ्कको मुख्य समस्या भनेको पार्किङकै समस्या हो । हामी सहरीक्षेत्रका सबै शाखामा पार्किङको व्यवस्था गर्ने प्रयास गरिरहेका छौँ । 
त्यसैगरी हामीले हाम्रा शाखाहरूलाई आकर्षक बनाउन पनि लागिपरेका छौँ । निजी स्तरका बैङ्कले दिने अत्याधुनिक सुविधा मात्रै होइन, सेवा पनि दिन हामी लागिपरेका छौँ । हामी चाँडै नै देशकै उत्कृष्ट बैङ्क बन्दै छौँ ।

–उत्कृष्ट बैङ्क बनाउने भन्दैगर्दा तपाईंका शाखा कार्यालयहरूको कार्यसम्पादन त्यति राम्रो छैन भन्छन् । एउटा सानो ऋण लिनुपरे पनि महिनौँसम्म फाइल अड्काइन्छ । यसको व्यवस्थापन कसरी हुन्छ ?

सरकारी बैङ्क भएकाले ऋण लगानीका सम्बन्धमा विविध पाटा हेर्नुपर्ने हुन्छ । केही प्रक्रियागत समस्या पनि छन् । जस्तो कि शाखा कार्यालयहरूले क्षेत्रीय कार्यालयबाट स्वीकृति लिनुपर्छ । त्यसले गर्दा केही ढिलो हुन सक्छ । यद्यपि हामी यसलाई पनि सुधार गर्दैछौँ । हामी छिटोभन्दा छिटो सेवा दिने गरी काम गर्दैछौँ । नहुने कुरालाई छिट्टै हुँदैन भन्ने तर हुने कामलाई समय नलगाउने गरी हामी काम गर्दैछौँ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप