सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्याण्डः गुफाबाट निकालिएका बच्चाबारे उनका आमा–बुवालाई  किन जानकारी दिइएन ?

मङ्गलबार, २६ असार २०७५, १२ : १६
मङ्गलबार, २६ असार २०७५

बीबीसी

जुन कामका लागि महिनौं लाग्न सक्थ्यो, त्यो केही दिनभित्रै पूरा हुने आशा पलाएको छ । त्यो पनि पूर्ण सफलताका साथ । थाइल्याण्डका उद्दारकर्मी र गोताखोरले यो पुष्टि गरिसकेका छन् ।

त्यहाँको दुर्गम गुफामा फसेका एक फुटबल प्रशिक्षकसहित १२ बच्चामध्ये अहिलेसम्म आठजनालाई सफलतापूर्वक बाहिर निकालिसकिएको छ र अन्य पाँचलाई बचाउनका लागि कम्मर कसिएको छ ।

यी बच्चालाई बचाउनका लागि थुप्रै धेरै व्यक्ति स्वतःस्फूर्त रुपमा लागिपरेका छन् । ३८ वर्षका गोताखोर समन गुननले नौसेनाबाट अवकाश लिइसकेपछि पनि स्वेच्छाले यो मिसनका लागि हात बढाए ।

बच्चाका लागि अक्सिजनको ट्याङ्की पुर्याउन गएका गुनन फर्कने क्रममा बेहोस भए । पछि उनको मृत्यु नै भयो ।

अन्धकार, वर्षा, अक्सिजनको कमी र यस्ता अनगिन्ती समस्याका बीच बाढी पसेको गुफाबाट यी बच्चाहरुलाई सुरक्षित निकाल्न सजिलो छैन र थाइल्याण्डलाई थाहा छ कि अहिले संसारको पूरा ध्यान आफूमाथि अडिएको छ ।

ठूलो सफलता तर हल्ला छैनः

आठ बच्चालाई यति चाँडै सुरक्षित बाहिर निकालिसक्दा पनि थाइल्याण्डको सरकार र मिडियाले यसको ‘त्यति धेरै’ हल्ला गरेको छैन ।

उद्दारकर्मीको सुरुवाती सफलता र राम्रो खबरपछि थाइल्याण्ड प्रशासन निकै सतर्क छ । बचाइएका आठ बच्चाको पहिचान पूर्ण रुपमा गोप्य राखिएको छ ।

यी बच्चाबारे उनीहरुका आमा–बुवालाई पनि बताइएको छैन । अर्थात्, अहिलेसम्म आठ बच्चाहरुलाई बाहिर निकालिएको भन्ने थाहा छ तर यी बच्चाहरु को हुन्, यसबारे कसैलाई थाहा छैन ।

यस्तो किन गरियो ?  बीबीसीको थाई सेवाका अनुसार यसका तीन कारण हुनसक्छ ।

३८ वर्षका गोताखोर समन गुनन

सम्मानः

उद्दार अभियानको नेतृत्व गरिरहेका नारोंगसक ओसोटानकोर्नले उद्दारकार्यको पहिलो चरण ‘सोचेभन्दा धेरै सफलता’ का साथ सम्पन्न भएको जानकारी दिए ।

यी बच्चाको पहिचान खुलाइएको छैन । उनीहरुको आमा–बुवालाई पनि यसबारे जानकारी दिइएको छैन । परिवारको सम्मानका लागि यस्तो गरिएको बताइएको छ ।

थुप्रै स्वयंसेवी संस्था हराइरहेका बच्चाहरुको परिवारलाई मद्दत गर्न अग्रसर भएका छन् ।

उनीहरुका लागि चन्दा संकलन गरिएको छ । स्वयंसेवीहरुले उनीहरुको खानपिन र मनोवैज्ञानिक मद्दत पनि गरिरहेका छन् ।

धेरैजसो बच्चाहरुका आमा–बुवाले उद्दारकार्यमाथि निगरानी राख्नका लागि आफ्नो जागिरबाट छुट्टी लिएका छन् ।

सूचनामाथि नियन्त्रणः

थाइल्याण्डका अधिकारले बच्चासँग सम्बन्धित कुनै जानकारी लिक नहोस् भनी पूर्ण सावधानी अपनाइरहेका छन् । यसका दुई कारण छन् ।

खबर लिक हुँदा उद्दारकार्यमा बाधा आउन सक्छ र अफवाह फैलिन सक्छ । बच्चाको परिवार र उनीहरुको समवेदनालाई ध्यानमा राखेर पनि यो निर्णय गरिएको हो ।

उद्दार क्याम्प वरिपरि फोनसमेत लैजान प्रतिबन्ध गरिएको छ । सूचनाानगि यसरी नै नियन्त्रण गरिएको छ ।

निकै सिमित मानिसहरुले मात्र त्यहाँ फोन लैजाने अनुमती पाएका छन् र उद्दार क्याम्पबाट आइरहेको खबरलाई पनि केही विशेष व्यक्तिसँग मात्र साझा गरिएको छ ।

अधिकारीलाई मिडियाबारे पनि चिन्ता छ । उद्दारकार्यका प्रमुख नारोंगसकले आइतबार मिडियाको एक वर्गको आलोचना गरेका छन् र केही पत्रकारले आवश्यकताभन्दा बढि जानकारी जुटाउनका लागि पुलिसको रेडियोमा दखल दिएको र ड्रोन्सको समेत प्रयोग गरेको आरोप लगाए ।

यस्तै, बच्चाका आमाबुवाले उद्दारकार्यमा संलग्न समूह र अधिकारीको निर्देशनलाई पूर्ण रुपमा पालना गरिरहेका छन् र गोप्य बनाउन मद्दत गरिरहेका छन् ।

आभारः

थाइल्याण्डमा लोकप्रिय भनाई छ – जसले तपाईंलाई मद्दत गरिरहेका छन्, उहाँहरुबाट थप मद्दत मागेर अपमान नगर्नुहोस् ।

यही कारण बच्चाका आमा–बुवा आफ्ना बच्चाबारे जति जानकारी पाइरहेका छन्, उनीहरु त्यतिमै सन्तुष्ट छन् ।

उनीहरुलाई राम्रोसँग थाहा छ कि उद्दारकर्मी र अन्तर्राष्ट्रिय समुदायले बच्चालाई सुरक्षित बाहिर निकाल्न पूरा कोसिस गरिरहेका छन् । त्यसकारण यी कोसिसप्रति आभार जताउँदै उनीहरु उद्दारकर्मी र अधिकारीको निर्देशन पालना गरिरहेका छन् ।

थाइल्याण्डका मानिसहरु उनीहरुको विनम्रता र सम्मानजनक व्यवहारका लागि परिचित छन् । यतिबेला बच्चाका आमा–बुवा जे गरिरहेका छन्, त्यो थाइल्याण्डको त्यो संस्कृतिको प्रतिक हो जसमा मानिसहरु कुनै प्रश्न नसोधि मद्दत स्विकार गर्छन् ।

११ देखि १७ वर्ष उमेर समूहका बच्चाहरु एक ट्रेनिङ ट्रिपको क्रममा थेम लुआंग गुफामा फसेका थिए । ९ दिनपछि उनीहरु त्यहाँ फसेको पत्ता लागेको थियो । उनीहरु २३ जूनदेखि यहाँ फसेका छन् र आज बचाउ अभियानको तेस्रो दिन हो ।

उद्दार गरिएका बच्चाहरुलाई अहिले अस्पतालमा भर्ना गरिएको छ । गुफामा बाँकी बच्चा र प्रशिक्षकको स्वास्थ्य ठिक भएको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप