बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पपीडितले यसरी लिनुस् सस्तोमा काठ

मङ्गलबार, २६ असार २०७५, १२ : १०
मङ्गलबार, २६ असार २०७५

तपाईं २०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट पीडित हुनुहुन्छ ? भूकम्पले तपाईंको घर पूर्ण क्षति भएको छ ? अब घर बनाउँदै हुनुहुन्छ ? तपाईंले आफू बस्नका लागि बनाउने घरमा चाहिने काठ सस्तो मूल्यमा दिइरहेको थाहा पाउनुभएको छैन कि ? छैन भने केही सामान्य प्रक्रिया पूरा गरेपछि तपाईंले घर बनाउनका लागि सस्तो मूल्यमा काठ पाउनुहुनेछ ।

भूकम्पबाट आवासीय घर क्षतिग्रस्त भई बस्न अयोग्य भएका घर धनीहरूलाई सहुलियत दरमा काठ उपलब्ध गराउने भन्दै सरकारले निर्णय गर्यो । सरकारको यही निर्णयलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्याविधि बनाई काठ दिने निर्णय गर्यो । भूकम्पबाट प्रभावित उपत्यका बाहेकका जिल्लाहरूमा सोही जिल्लाबाट व्यवस्थापन गर्ने र उपत्यकाका लागि टिम्बर कर्पोरेसन अफ नेपालबाट काठ उपलब्ध गराउने निर्णयअनुसार अहिले काठ वितरण भइरहेको छ । 

उपत्यकामा घर बनाउँदै गर्ने जम्मा २५ प्रतिशत
उपत्यकाबाहेक भूकम्पबाट प्रभावित जिल्लामा करिब ७० प्रतिशत घरको पुनर्निर्माण भइसकेको छ । काठमाडौँ उपत्यकामा भने गएको वर्षबाट मात्रै निजी आवास पुनर्निर्माणको काम सुरु भएको थियो । जसका कारण काठमाडौँमा ज्यादै कम मात्रै घर बनेका छन् । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार उपत्यकाभित्र जम्मा १ लाख ३ हजार ६ सय १६ वटा घर ध्वस्त भई लाभग्राहीको सूचीमा परेका थिए । जसमध्ये काठमाडौँ जिल्लामा ४६ हजार ९ सय ६२, भक्तपुर जिल्लामा २८ हजार ३ सय २ र ललितपुरमा २८ हजार ३ सय ५२ जना लाभग्राहीको सूचीमा छन् । भूकम्पले १ लाख ३ हजार घर ध्वस्त बनाए पनि उपत्यकामा जम्मा ८७ हजार ४ सय ७६ लाभग्राहीले मात्रै आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका थिए । यी घरहरूमध्ये करिब २० प्रतिशतले मात्रै घर पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेकामा करिब २५ प्रतिशतले मात्रै निजी आवास निर्माणको काम सुरु गरेको देखिन्छ । बाँकी घरहरू बन्ने क्रममा नै रहेको छ । 

यस्तो छ काठ पाउने प्रक्रिया 
अहिले सरकारले उपलब्ध गराउने भनेको सहुलियत मूल्यको काठ पाउनका लागि केही प्रक्रिया भने पूरा गर्नुपर्छ । सहुलियत दरमा काठ पाउनका लागि तपाईं भूकम्पपीडित भई प्राधिकरणसँग आवास निर्माणको अनुदान स्म्झौता गरेको व्यक्ति हुनुपर्नेछ । त्यसबाहेक तपाईंको एकाघरका सदस्यको कुनै पनि बस्नयोग्य घर नभएको हुनुपर्छ भने तपाईंसँग लालपुर्जा र नयाँ बनाउने घरको नक्सापास हुनुपर्नेछ । साथमा नागरिकताको प्रतिलिपि पनि समावेश गरी लालपुर्जा, अनुदान सम्झौताको प्रतिलिपि र नक्सापासको प्रतिलिपि राखी जिल्ला वन कार्यालयमा निवेदन दिनुपर्नेछ । 


जिल्ला वन कार्यालयमा निवेदन दिइसकेपछि सो निवेदनमाथि जिल्ला काठ व्यवस्थापन समितिमा छलफल हुनेछ र त्यो निवेदन स्वीकृत हुनेछ । त्यसपछि जिल्ला काठ व्यवस्थापन समितिले क्रमैसँग भूकम्पपीडितलाई निजी आवास निर्माणका लागि काठ उपलब्ध गराउनेछ । काठ उपलब्ध गराउँदा एक परिवारले गोलिया काठ भए ८० क्युफिट र चिरान काठ भए ५० क्युफिट मात्रै प्राप्त गर्नेछ ।
काठमाडौँ उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)को हकमा भने केही फरक प्रक्रिया छ । अन्य जिल्लामा जस्तै नागरिकताको प्रतिलिपि, लालपुर्जाको प्रतिलिपि, अनुदान सम्झौताको प्रतिलिपि र नक्सापासको प्रतिलिपि तथा निवेदन संलग्न गरी जिल्ला वन कार्यालयमा सिफारिस दिनुपर्नेछ । जिल्ला वनमा दिइएको निवेदनमाथि जिल्ला काठ व्यवस्थापन समितिमा छलफल हुनेछ र त्यहाँबाट स्वीकृत गरी टिम्बर कर्पोरेसन अफ नेपालमा पठाउनेछ । टिम्बर कर्पोरेसनले विभिन्न जिल्ला वन कार्यालयहरूबाट आएको निवेदनलाई एकीकृत गरी पालैपालो काठको वितरण गर्नेछ । 

भक्तपुरबाट धेरै निवेदन
उपत्यकामा भूकम्पबाट धेरै घर क्षति भएको काठमाडौँमा हो । तर टिम्बर कर्पोरेसनमा भने भक्तपुर जिल्लाबाट काठको माग गरी धेरै निवेदन परेको छ । भक्तपुरबाट २०७४ को जेठदेखि हालसम्म १ हजार ६ सय ३२ जनाले चिरान काठ माग गरी निवेदन दिएका छन् । उनीहरूमध्ये टिम्बर कर्पोरेसनले ८ सय ४४ जनालाई काठ लिन आउन सम्पर्क गरेको छ । ८ सय ४४ जनालाई सम्पर्क गरे पनि हालसम्म जम्मा ६ सय ३० जनाले प्रतिघर ५० क्युफिटका दरले काठ लगेका छन् । केही व्यक्तिले पनि ४० वा ४५ क्युफिट मात्रै पनि काठ लगेको टिम्बर कर्पोरेसन अफ नेपाल (टीसीएन)का बालकुमारीस्थित डिपो प्रमुख सुरेश रिजालले बताए । भक्तपुरबासीले हालसम्म ३१ हजार ३९ क्युफिट काठ लगेका छन् । 
निवेदन दिएका मध्ये अझै ७ सय ८८ जनालाई सम्पर्क गर्न बाँकी रहेको छ । उनीहरूको पालो आएपछि दर्ता नम्बरका आधारमा सम्पर्क गरी काठ दिइने गरिएको टीसीएनले बताएको छ ।

काठमाडौँका ४ सय १९ ले पाए सस्तोमा काठ
भक्तपुरपछि टीसीएनबाट धेरै काठ लैजाने जिल्ला हो, काठमाडौँ । टिम्बर कर्पोरेसन अफ नेपालको तथ्याङ्कअनुसार जिल्ला वन कार्यालय काठमाडौँबाट हालसम्म (असार २५ सम्म) ९ सय ७२ जनाले काठको माग गरी निवेदन दिएका छन् । काठका लागि निवेदन दिनेमध्ये आधा सङ्ख्या अर्थात् ४ सय ९१ जनालाई काठ लिन आउनका लागि सम्पर्क गरिएको छ । जसमध्ये ४ सय १९ जनाले टिम्बर कर्पोरेसनबाट सस्तो मूल्यमा काठ लगेका छन् । तर अझै पनि ४ सय ८१ जनालाई भने सम्पर्क गर्न बाँकी नै रहेको छ । उनीहरूको पालो आएपछि सम्पर्क गरिने टीसीएनले बताएको छ । 

ललितपुरबाट कम आवेदन
यता उपत्यकाकै अर्को जिल्ला ललितपुरबाट भने काठको माग कम नै आएको छ । जिल्ला वन कार्यालय ललितपुरबाट २०७४ भदौ १५ गते पहिलो पटक ३४ जनाका लागि काठ माग गर्दै निवेदन आएको थियो । त्यसपछि ललितपुरबाट हालसम्म ५ सय ११ जनाले काठ माग गरेका छन् । काठ माग गर्नेमध्ये टीसीएनले ३ सय १३ जनालाई सम्पर्क गरेको थियो । तर ललितपुरमा जम्मा २ सय १५ जनाले मात्रै काठ लगेका छन् । ललितपुरबाट काठ माग गर्नेमध्ये अझै १ सय ४३ जनालाई सम्पर्क गर्न बाँकी रहेको टीसीएनले बताएको छ ।

कम्तीमा ३ महिनामा मात्रै पालो आउने
अहिले उपत्यकामा सरकारी काठको वितरण तथा व्यवस्थापन गर्ने काम टिम्बर कर्पोरेसन अफ नेपालले मात्रै गर्दै आएको छ । कर्पोरेसनको मुख्य डिपो पनि बालकुमारीमा मात्रै रहेको छ । जसका कारण उपभोक्ताले समयमै काठ पाउन सकेका छैनन् । सीमित सवारीसाधन, सीमित कर्मचारी र भण्डारण गर्ने स्थानको अभावका कारण माग जति आपूर्ति गर्न नसकिएको टिम्बर कर्पोरेसन अफ नेपालका महाप्रबन्धक राजु लौडारी बताउँछन् । उनी भनछन्, ‘भूकम्पका कारण अहिले काठको माग गर्नेको सङ्ख्या धेरै छ । तर सीमित कर्मचारी, आफ्नै सीमित सवारीसाधन र भण्डारण स्थलको अभावका कारण माग भए जति वितरण गर्न सकिरहेका छैनौँ ।’

लौडारीका अनुसार अहिले जति माग भएको छ, त्यसको आधा लाभग्राहीलाई मात्रै काठ दिन सकिएको छ । तर अहिले काठ पाउन कम्तीमा ३ महिनादेखि ६ महिनासम्म पालो कुर्नुपर्ने अवस्था छ । तीनै जिल्लालाई समानुपातिक ढङ्गबाट क्रमसङ्ख्याका आधारमा काठ वितरण गरिरहेको लौडारीले बताए । 

साउनमा काठ वितरणमा समस्या हुने
सामान्यतः काठको सङ्कलन कात्तिकदेखि जेठ महिनासम्म हुने गर्छ । वर्षायाम लागेपछि काठ सङ्कलन बन्दजस्तै हुन्छ । पानी, बाढी आदिका कारण असार, साउन र भदौको मध्यसम्म काठको ढुवानीमा समेत समस्या पर्छ । जसका कारण मागको अनुपातमा आपूर्तिमा कमी आउने टीसीएनले बताएको छ ।

बजारभाउको आधा मूल्यमै दिन्छ टीसीएनले चिरान काठ
अहिले काठमाडौँ उपत्यकामा चिरान काठमा औसत मूल्य ५ हजार ८ सयप्रति क्युफिट छ । यो मूल्य काठमाडौँका निजी फर्निचर उद्योगहरूको मूल्य हो । यो मूल्य अग्राख अर्थात् नेपाली सालको काठको मूल्य हो । तर भूकम्पपीडितहरूका लागि भने टिम्बर कर्पोरेसन अफ नेपालले सस्तो मूल्यमै काठ उपलब्ध गराइरहेको छ । टीसीएनले अहिले भूकम्पपीडितसँग लिने काठको मूल्य जम्मा २ हजार ४ सय २५ रुपियाँ हो । तर त्यसमा नेपाल सरकारको १३ प्रतिशत मूल्य अभिवृद्धि कर भने तिर्नुपर्नेछ । भ्याट अर्थात् मूल्य अभिवृद्धि करसमेतको मूल्य जोड्दा भूकम्पपीडितले प्रति क्युफिट जम्मा २ हजार ७ सय ४० रुपियाँ तिरे पुग्छ ।


बजारमा प्रतिक्युफिट ५ हजार ८ सय वा ६ हजार तिर्नुपर्ने भए पनि टीसीएनले भने भूकम्पपीडितलाई लागत मूल्य मात्रै लिएर सहुलियत दरमा काठ उपलब्ध गराएको कर्पोरेसनका महाप्रबन्धक लौडारी बताउँछन् । उनी भन्छन्– ‘भूकम्पपीडितलाई काठ बेच्दा हामीलाई खर्च धान्नसमेत मुस्किल पर्छ । तर भूकम्पपीडितलाई सहुलियत दरमै काठ बेच्दा हामी खुशी छौँ । विपत्तिमा सहयोग गर्नु हाम्रो पनि दायित्व हो ।’

काठ पाउँदा एकदमै खुशी छु : भूकम्पपीडित
सोमबार रातोपाटी टिम बालकुमारीस्थित टिम्बर कर्पोरेसनको डिपोमा पुगेको थियो । डिपोमा काठ लिन आउने भूकम्पपीडितको चाप थियो । भक्तपुरका हरेराम दुलाल पनि टिम्बर कर्पोरेसनमा काठ लिन आएका थिए । दुलाललाई कर्पोरेसनले प्रतिक्युफिट २ हजार ७ सय ४० रुपियाँका दरमा ५० क्युफिट काठ उपलब्ध गराएको थियो । लामो समयपछि काठ पाए पनि दुलाल खुशी थिए । बजार भाउभन्दा आधा सस्तो मूल्यमा काठ पाएपछि मख्ख देखिएका दुलाल भन्दै थिए, ‘घर बनाउन यसले धेरै राहत दिने छ ।’

अहिले आरसीसी मोडलमा ४ कोठा भएको पक्की घर बनाएमा उक्त घरका लागि कम्तीमा ६० क्युफिट काठ आवश्यक पर्छ । ६० क्युफिट काठ बजारबाट किन्ने हो भने यसको मूल्य ३ लाख ६० हजार काठको मूल्य मात्रै पर्छ । तर टिम्बर कर्पोरेसनले सस्तो मूल्यमा उपलब्ध गराउने ५० क्युफिट काठको मूल्य जम्मा १ लाख ३७ हजार पर्छ । जबकि ५०  क्युफिट मात्रै काठ बाहिरबाट किनेपछि यसको मूल्य ३ लाख पर्छ । तर कर्पोरेसनबाट काठ किन्न पाएमा आधाभन्दा बढी फाइदा हुने गर्छ । त्यसकारण कर्पोरेसनमा काठ माग गर्दै निवेदन दिनेको सङ्ख्या बढ्दो छ । 

काठको अनुगमन हुने


भूकम्पपीडितलाई सहुलियत दरमा उपलब्ध गराउने काठको अनुगमन गरिने समेत टीसीएनले बताएको छ । काठ जुन प्रयोजनका लागि जसरी दिइएको छ, त्यसको सदुपयोग भएको वा नभएको बारे अनुगमन गर्ने गरिएको टीसीएनका महाप्रबन्धक राजु लौडारी बताउँछन् । विभिन्न जिल्लामा जिल्ला वनका प्रतिनिधि, जिल्ला प्रशासनका प्रतिनिधि, टीसीएनका प्रतिनिधि आदि गएर अनुगमन गरिरहेको लौडारी बताउँछन् । हालसम्म गरिएका अनुगमनमा कसैले पनि बदमासी गरेको नभेटिएको लौडारी बताउँछन् ।

निर्माण सुरु गर्नुपूर्व नै दिनुस् निवेदन


काठमाडौँ उपत्यकाबासीले निजी घर बनाउन खोज्दै हुनुहुन्छ र त्यसका लागि टिम्बर कर्पोरेसनबाट काठ किन्ने सोच राख्दै हुनुहुन्छ भने तपाईं पहिले नै तयारी गर्नुहोस् । टिम्बर कर्पोरेसनबाट काठ पाउनका लागि कम्तीमा ३ महिना पालोमा बस्नुपर्छ । यो तीन महिना भनेको टिम्बर कर्पोरेसनमा जिल्ला वन कार्यालयले चिठी पठाएपछि हो । सम्बन्धित जिल्लाको जिल्ला वन कार्यालयमा पनि करिब १ महिना रोकिन्छ । यसकारण ४ महिनापछि तपाईंलाई काठ चाहिन्छ भने अहिले नै घरको नक्सा पास गराई जिल्ला वन कार्यालयमा निवेदन दिइहाल्नुहास् । त्यसपछिको करिब ४ महिनामा तपाईंले बजार मूल्यको तुलनामा आधाभन्दा पनि कम मूल्यमा सहुलियत दरमा टिम्बर कर्पोरेसनबाट काठ किन्न पाउनुहुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप