मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीज्यू सच्चिन सुरु गरिहाल्नोस्

मङ्गलबार, २६ असार २०७५, ०९ : ०५
मङ्गलबार, २६ असार २०७५

नेपालमा अहिले आशा लाग्दा प्रधानमन्त्रीका रूपमा उदाई कार्यभार सम्हाल्नुभएका सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू तपाईंलाई हेक्का छ कि छैन, तपाईं यस देशको विकास र समृद्धिका लागि प्रधानमन्त्री बन्नुभएको छ । यस अर्थमा पनि तपाईं कुनै दल र गुटको प्रधानमन्त्री बन्ने होइन ।  समग्र देशकै प्रधानमन्त्री बन्ने हो । तपाईंप्रति नेपाली जनताको धेरै भरोसा रहेको छ र यही भरोसामा टेकेर तपाईंको दललाई वा बाम गठबन्धनलाई यस पटक जनताले परीक्षण गर्नका लागि करिब दुई तिहाइ मतका साथ सबै तहका सरकारमा पु¥याएका छन् । अब बाँकी जीवनभर तपाईंले अरूका कुरा छाडेर निर्धक्कसाथ अर्जुन दृष्टि देशको आर्थिक विकास र समृद्धितर्फ केन्द्रित गर्नुपर्ने हुन्छ । तपाईंसामु आएका चुनौती, बाधा र व्यवधानहरू चिर्दै एक मात्र सङ्कल्प विकास र समृद्धि तपाईंको मन मुटुमा हुनुपर्दछ । देशमा राजनेताको खडेरी परिरहेको अवस्थामा नेपालको इतिहासमै अमर नाम लेखाउन यस पटक तपाईं चुक्नु हुँदैन । तपाईं पनि यस्तो सहज वातावरण बनेको अवस्थामा चुक्नुभयो भने नेपाली जनतालाई नेपालका नेताहरूप्रति घृणा जाग्ने छ । नेपालको राजनीतिमा कहिल्यै दल र नेतृत्वलाई मौका मिल्ने छैन र सारा नेपालीहरूमा वितृष्णा जाग्ने छ । यस अर्थमा पनि सबैको साख जोगाउने जिम्मा तपाईंकै काँधमा आएको छ । अतः तपाईं यति शक्तिशाली प्रधानमन्त्री बन्नुभएको छ कि तपाईंले नेपालको इतिहासमै यस्तो मौका पाउनुभएको छ । अतः प्रधानमन्त्रीज्यू, तपाईंले कुनै हालतमा पनि कसैको दबाबमा काम नगर्नुहोस् । तपाईंलाई दुई तिहाइ मत प्राप्त भएकै छ । अब केवल राम्रो काम मात्र गर्नुहोस् । तपाईंको मन्त्रीमण्डलको आकार बन्दै गर्दा सुरुवातमा जुन लक्षणहरू देखिएका थिए, ती निकै प्रशंसनीय थिए र जनताले खुला दिमागले समर्थन गरेका थिए । तपाईंले मन्त्रालयको आकार १८ मात्रै बनाउने र चुस्त मन्त्रीमण्डल बनाउने जुन प्रण गरेर निर्णय गर्नुभएको थियो । त्यो कदम निकै राम्रो मानिएको थियो र त्यसको निकै प्रशंसा पनि भएकै हो । तर तपाईंले पछिल्ला दिनमा गर्नुभएको काम आलोचनापूर्ण रहेको छ । यी कामहरू देख्दा कतै सूर्यमा ग्रहण लाग्न थालेको त हैन भन्ने लक्षण देखापर्न थालेकाले यो आलेख लेख्न सुरु गर्नुपर्ने बाध्यता आइलाग्यो ।

प्रधानमन्त्री ओलीज्यू, तपाईंले भरखरै गर्नुभएका केही निर्णयहरू र चालेका केही कदमहरूप्रति आम नेपाली जनताको तर्फबाट असन्तुष्टि रहेको स्मरण गराउन चाहन्छु । तपाईंले विगतको प्रधानमन्त्री कालमा नेपालको इतिहास नै रच्ने गरी ६ जना उपप्रधानमन्त्रीसहित जम्बो मन्त्रीमण्डल बनाउनुभएको कुरा जगजाहेर छ । मन्त्रालयहरूको आकार बढाई राज्यकोषलाई घाटा पु¥याउने काम गर्नुभयो । त्यो पनि मनन योग्य नै छ । यस्ता कामले तपाईंको उचाइ बढाएको थिएन, बरु निकै घटाएको थियो । यस्ता कुराहरूबाट पाठ सिकेर सच्चिदै जानुपर्नेमा कहीँ कतै तपाईं चिप्लिँदै त हुनुहुन्न ? त्यतिबेला सरकार टिकाउन र आसेपासेलाई जागिर खुवाउन चालेको कदम तपाईं आफ्नै लागि घातक बनेको कुरा बिर्सिनुभयो र ? जतिवटा उपप्रधानमन्त्री र मन्त्री बनाए पनि त आखिर तपाईंको सरकार टिकेन र ९ महिनामै विघटित भयो, उपलब्धि शून्य भयो र बढी आलोचित पनि भयो । केही वर्षअघि भएको यस्तो कुरा बिर्सिसक्नुभयो र ? तपाईंले त काम गर्ने हो, कसैलाई विवादमा आएर जागिर खुवाउने होइन । तपाईंलाई त्यसो गर्नुपर्ने कारण के छ र ? सबैले योग्यता र क्षमताका आधारमा जागिर खाइहाल्छन् नि । यसै पनि तपाईंले यस पटक दुई तिहाइ मतका साथ प्रधानमन्त्री बनिसक्नुभएको छ ।

प्रधानमन्त्रीज्यू, तपाईंले भरखरै चालेका कदम गलत मात्र छैनन्, कालान्तरमा तपाईंको पार्टीलाई घात पु¥याउने मात्र होइन कि राष्ट्रघाती पनि बन्न सक्छन् । दुई तिहाइ मतका साथ सरकार गठन गर्ने चाहनाअनुसार सरकार गठन गर्नुभयो । अब यसलाई जोगाएर लैजान सके तपाईंलाई राम्रो हुनेछ ।

अब अविश्वासको प्रस्तावसमेत २ वर्षसम्म ल्याउन नपाइने संवैधानिक व्यवस्था पनि छ भने तपाईंलाई केको डर लाग्यो र तपाईंले गलत कदम चाल्न सुरु गरिसक्नुभयो ? राम्रो काम गर्दा कसैले टिक्न दिएन भने पनि त दुई वर्षको अवधि आरामपूर्वक सरकार चलाउन विश्वास लिई सक्नुभएको छ । मेरो विचारमा तपाईंले पाएको यो दुई वर्षको अवधिलाई पूर्ण सदुपयोग गर्नुहोस् । तपाईंले सही काम गर्दै जानुभयो भने तपाईंलाई असहयोग गर्ने तत्वहरू वा व्यक्तिहरूको हिसाब किताब गरेर न्यायिक फैसला गर्न त जनता छँदैछन् नि, तपाईंलाई किन चिन्ता ? तपाईंले त काम गर्नुस् मात्र काम । तपाईंलाई असाध्यै सहयोग गर्ने र धोका नदिने मित्रहरू सम्मिलित सल्लाहकार समूह बनाउनुुस् र सबै निकायको निगरानी गर्दै अघि बढ्नुस् । तपाईंले त जायज कुराको मात्र व्याख्या गरिदिनुस् र कसैलाई इच्छा भए सरकारमा आउन ढोका खुला छ भन्नुस् न, तपाईंलाई के फरक पर्छ र ? गलत काम नगर्ने र गलत सोच नराख्ने हो भने त तपाईं सबैको प्रिय त्यसै पनि त बन्न सक्नुहुन्छ नि । जसरी चीनमा सी जिनफिङ अहिले शक्तिशाली बनेका छन् र उस्तै परे आजीवन राष्ट्रपति बन्न सक्छन् । तपाईंमा पनि के कमी छ र त्यस्तो बन्नमा ?

प्रधानमन्त्रीज्यू, तपाईंले भरखरै चालेका कदम गलत मात्र छैनन्, कालान्तरमा तपाईंको पार्टीलाई घात पु¥याउने मात्र होइन कि राष्ट्रघाती पनि बन्न सक्छन् । दुई तिहाइ मतका साथ सरकार गठन गर्ने चाहनाअनुसार सरकार गठन गर्नुभयो । अब यसलाई जोगाएर लैजान सके तपाईंलाई राम्रो हुनेछ । तपाईंले दुई तिहाइ मत ल्याएर थप शक्तिशाली भई संविधान संशोधन गर्दै अघि बढ्ने मनशाय राख्नुभएको होला । त्यस्तै सम्बन्ध चिसिएको मधेसी दललाई सरकारमा ल्याई न्यानो अनुभूति गर्न खोज्नुभएको होला यो दुवै काम गलत होइन । तर यसैका लागि गलत निर्णयहरू गरी देशलाई भड्खालोमा लैजान खोज्न सुरु गर्नुभयो भने ती चाहिँ गलत हुन् । गलत कदमको सुरुवात मन्त्रालयको सङ्ख्या बढाउने र मन्त्रीमण्डल भीमकाय बनाउने सोच नै तपाईंका लागि सुरुवाती गलत कदम हुन् । थाहा छ, यतिबेला देशमा मन्त्री र मन्त्रालयहरूको सङ्ख्या कति छ ? यति सानो देशमा गठन भएका विभिन्न तहका सरकारहरूको खर्चले के देशलाई धान्न सक्छ ? त्यसमाथि केन्द्रीय सरकारमा धेरै मन्त्रालय र धेरै मन्त्रीहरू किन चाहियो ? यसले देशलाई कहाँ पु¥याउँछ हेक्का राख्नुभएको छ ? यसैगरी पार्टीभित्रको किचलो मिलाउने नाममा अनेक खालका सम्झौता गर्न थाल्नु पनि राम्रा खालका लक्षण होइनन् । त्यस्तै, प्रतिपक्षी दललाई सदैव महत्व दिई अघि बढ्नुपर्नेमा त्यसो नगरी अलि बढी नै पेल्न थालेजस्तो देखिएको छ, जुन गलत कदम हो । फलेको हाँगो जहिले पनि निहुरिन्छ र फलेको हाँगोमा मात्र आकर्षण हुन्छ भन्ने कुरा व्यवहार र बोलीबाटै देखाउनुपर्दछ प्रधानमन्त्रीज्यू । 

प्रधानमन्त्री ओली अलि बढी राजसी ठाँट देखाउने खालका रहेछन् भन्ने कुरा विभिन्न अवसरहरूमा देखिने गरेको छ । यसलाई अन्यथा नलिनुहोला । दुई चारवटा उदाहरण नै दिने हो भने पनि तपाईंले आफ्नो जन्मदिन मनाउँदाको ठाँट निकै खर्चिलो र अनावश्यक थियो । तपाईं भारत र चीन भ्रमणमा जाँदा आउँदाको दृश्य पनि त्यस्तै थियो । चीनमा जाँदा तपाईंले राज्यको खर्च बढाउनुभयो र सरकारी स्वामित्व रहेको विमान प्रयोग गर्नुभएन । तपाईंको कार्यालयमा अलि बढी चिया खर्च र स्वागत सत्कार खर्च हुने गरेको पनि सुनिन्छ । मोदी भ्रमणमा अनावश्यक खर्च गर्नुभयो जसबाट धेरै दिन आलोचित पनि बन्नुभएको थाहै होला । तपाईंको बानी अन्य नेताहरूको भन्दा केही फरक नै रहेछ । तपाईंले केक काट्ने संस्कृतिलाई अलि बढी नै प्राथमिकता दिनुहुँदोरहेछ, जुन दुई चारवटा घटनाहरूले पुष्टि गरिसकेका छन् । 

अतः प्रधानमन्त्रीज्यू, तपाईंले अबका दिनमा समेत यस्ता सुझावहरू ग्रहण गर्ने बानी बसाल्नु हुनेछ र गलत काम तथा निर्णयहरू जसले देश र जनताको हित गर्दैनन् त्यस्ता कामहरू गर्नुहुने छैन भन्ने तपाईंको यस शुभचिन्तकको पूर्ण विश्वास छ ।

प्रधानमन्त्रीज्यू, अहिलेका केही दिनदेखि तपाईं बढी नै आलोचित बन्नुप¥यो । कारण के भने तपाईंले अनावश्यक र विषय प्रसङ्गविना नै निषेधित क्षेत्र तोक्नुभयो र प्रतिपक्षीलाई राम्रो विरोधका लागि जागिर दिनुभयो । डा. गोविन्द केसीलाई बढी नै भन्नुभयो र आन्दोलनको सामना गर्नु परिरहेको छ । बजेट राम्रो ल्याउनुभएन, कुनै उत्साह कोही कसैमा आएन । देउवा सरकारका सबै राजनीतिक नियुक्तिका निर्णय खारेज गरेर अब केही समय नेपालमा बहसको र विरोधको बीजारोपण गर्नुभयो । यो कदम सही वा गलत भन्ने कुरा त भविष्यले बताउला तर अहिलेलाई नराम्रो नै भयो । तपाईंका कार्यकर्तामा चुनावताका आएका जोस जाँगरहरूलाई जगाइरहन असक्षम हुनुभएको छ । किनकि चुनावमा बोलेका दुई चारवटा कुरा पनि अहिले पूरा हुन सकेनन् । बजेटमार्फत कुनै पनि आश्वासनहरू पूरा गर्नतर्फ ध्यान दिनुभएन । पार्टी एकीकरण गरी कम्युनिस्टको एकमना सरकार बनाउन त सफल हुनुभयो तर तल्लो तहसम्म कार्यकर्ताको भावनाको एकीकरण गर्न, भातृ सङ्गठनहरू निर्माण गर्न पर्याप्त ध्यान दिन सक्नुभएको छैन । किनकि तपाईंलाई पार्टीको अध्यक्ष पनि बन्नु छ र सरकारको नेतृत्व पनि गर्नु नै परेको छ । त्यो रोगी शरीरले कता कता भ्याउनुहुन्छ ? एकजना मान्छेले नै भएभरका पदहरू ओगटी बस्दा कतै पनि प्रभावकारी काम हुन नसक्ने कुराको हेक्का तपाईंलाई छ छैन ? के आफूले काम गर्न नसक्ने वा नभ्याउने भएपछि अरू सक्षम नेताहरूलाई हस्तान्तरण गर्दा हुनेथिएन र ? यस पटक त तपाईंले देश बनाउन कसिनुपर्ने हो प्रधानमन्त्रीज्यू । तर कुम्लो बोकी ठिमीतिर जस्तो पो हुनथाल्यो त ।  

प्रधानमन्त्रीज्यू, खै सुन काण्ड कता सेलायो ? यातायातको सिन्डिकेट कहाँनेर पुगेर रोकियो ? तुइनमुक्त नेपालको कल्पना खै कता हरायो ? काम नगर्ने ठेकेदारको कारवाही के हुँदैछ ? समुद्रमा पानीजहाज, काठमाडौँमा रेल, सुविधा सम्पन्न बाटोघाटो, मेट्रो रेल आहा कति मिठा कुरा । यस्ता कुरा मात्र गरेर बस्ने कि तत्काल देखापरेका समस्या समाधानतिर लाग्ने प्रधानमन्त्रीज्यू ? अब त कम बोल्ने र बढी काम गर्ने बेला भएन र ? अब यस्ता कुरा पुनः चार वर्षपछि आउने चुनावमा गरौंला, अहिलेलाई सक्ने जति मात्र काम गरे कसो होला ? बाढी प्रकोपको समय छ, रोगव्याधिको समय छ, औषधी छैन, पुराना अधुरा कार्यहरू पूरा हुन सकेका छैनन्, जनताहरू भोकभोकै छन्, खुला आकाशमुनि छन्, बाटोघाटोको अवस्था बिजोग छ, पुलहरू जीर्ण छन्, आयोजनाहरू भताभुङ्ग छन् । जताततै बेथिति छ । कसैले कसैलाई टेर्ने अवस्था छैन, हरेक क्षेत्रहरू विवादित छन् तर खै त प्रधानमन्त्रीको ध्यान त कता हो कता । किन यस्तो भइरहेछ प्रधानमन्त्रीज्यू जवाफ दिन सक्नुहुन्छ ?    

अतः प्रधानमन्त्रीज्यू, तपाईंले अबका दिनमा समेत यस्ता सुझावहरू ग्रहण गर्ने बानी बसाल्नु हुनेछ र गलत काम तथा निर्णयहरू जसले देश र जनताको हित गर्दैनन् त्यस्ता कामहरू गर्नुहुने छैन भन्ने तपाईंको यस शुभचिन्तकको पूर्ण विश्वास छ । यस्तै दूरदृष्टिका साथ यहाँको आगामी सत्ता सञ्चालन त्रुटि रहित रहोस् । यहाँको कार्यकाल ऐतिहासिक र सफल रहोस् । यहाँले देखेका र कल्पना गरेका सपनाहरू पूरा हुन सकून् भन्ने शुभकामना दिन चाहन्छु । 

कावासोती—८, नवलपुर
(लेखक मध्यविन्दु बहुमुखी क्याम्पस कावासोतीका प्राध्यापक हुनुहुन्छ)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरनाथ पाण्डे
नरनाथ पाण्डे
लेखकबाट थप