मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्यटनमन्त्री रवीन्द्र अधिकारीका ४ महिनाका ५ विवाद !

आइतबार, २४ असार २०७५, १७ : ००
आइतबार, २४ असार २०७५

काठमाडौँ । तत्कालीन संसदको विकास समितिको सभापति हुँदा सरोकारवाला पक्षलाई समितिको बैठकमा बोलाएर झाँको झारेर पठाउने गरेका एक सांसद अहिले आफै मन्त्री बनेका छन् ।

सरकार, मातहतका निकाय र सरोकारवाला पक्षका विकासका कामलाई नियाल्ने र खबरदारी गर्ने भूमिकामा रहेका युवा नेता रवीन्द्र अधिकारी अहिले  संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री छन् । 

मन्त्रालय सम्हालेको ४ महिनामा मन्त्री अधिकारी पछिल्लो समय विभिन्न विषयमा आलोचित बन्न थालेका छन् । 

चुनावका बेला माला लगाएर किसानको गोठमा गाई दुहेर चर्चमा आएका अधिकारी मन्त्री भएपछि सुरक्षाकर्मीलाई छाता ओडाउन र आफ्नो कोट बोकाउन लगाएपछि पनि विवादित बनेका थिए । 

विवाद नम्बर १ : अन्धाधुन्ध ६० करोड बाँडियो  

आर्थिक वर्ष सकिन लाग्दा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले विभिन्न सङ्घ–संस्थालाई मन्त्रीस्तरीय निर्णयबाट मन खोलेर करोडौँ रुपियाँ ‘दान’ गरे । यसरी दान दिएका संस्थाहरू पार्टी निकटका नेता, कलाकार, साहित्यकार निकटका छन् भने आफ्नो निर्वाचन क्षेत्र निकटका पनि छन् । देश र जनताको भलाइका लागि काम गर्नेभन्दा पनि अधिकांश झोले सङ्घ संस्थाहरूलाई मनलाग्दी पैसा बाँढे ।

असारको पहिलो साता ८७ र जेठको अन्तिम सातामा ४४ गरी १ सय ३१ संस्थालाई पैसा बाँढेका हुन् । विभिन्न नेताका नाममा खुलेका एउटै संस्थालाई करोडभन्दा माथिको रकम दिए । नेताका नाममा खुलेका संस्थाहरूलाई मात्रै १५ करोड हाराहारी रकम बाँढे । 

सरकारले पारदर्शिता र सुशासनको नारा बोके पनि कहिल्यै आर्थिक पारदर्शिता नगर्ने सङ्घसंस्थालाई बिनामापदण्ड रकम बाँढिएको हो । सङ्घ संस्थाहरूलाई पुँजीगत अनुदानको नाममा ठूलो परिमाणको रकम बाँढेपछि उनको आलोचना बढेको हो । 

विवाद नम्बर २ : होटल हायातको सेयरको विवाद  

काठमाडौंको चुच्चेपाटी बौद्धमा रहेको तारागाउँ विकास समिति र निजी क्षेत्रको संयुक्त लगानी रहेको होटल हायतको सेयर बिक्रीमा उनको भूमिका रहेको भन्ने विषयमा विभिन्न अनलाइन मिडियामा समाचारहरू आए । तर त्यसमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै मन्त्रालयका प्रवक्ता मार्फत खण्डन गर्न लगाए । 

नेपाल सरकारले अर्बांै रुपियाँ लगानी गरेको होटल हायात भारतीय व्यवसायीहरूको कब्जामा छ । होटल सधैँ घाटामा गएको देखाएर सरकारी सेयर नै कब्जा गर्ने रणनीतिमा लागेका उनीहरूलाई मन्त्रीले नै सहयोग पु¥याउन लागेको समाचार प्रकाशित भएको थियो । 

सो होटलमा सरकारले १ सय ५० रोपनी जग्गा लगानी गरेबापत ४९ सालमा नेपाल सरकारलाई ३९ प्रतिशत सेयर प्राप्त भएको थियो तर अहिले घटाएर ९ प्रतिशतमा सीमित पारिएको छ । 

निजी साझेदारले गरेको फट्याइँको अध्ययन गर्न तारागाँउ विकास समितिका अध्यक्ष नारदकुमार लुइँटेलको अध्यक्षतामा बनाइएको समितिले निजी क्षेत्रबाट लगानी गरेका भारतीय नागरिक राधेश्याम सर्राफ र दिनेशलाल तथा सुरेशलाल श्रेष्ठले २० अर्ब हाराहारीको सम्पत्ति हडप्न लागेको उल्लेख गरिएको थियो । सरकारी सम्पत्ति गुम्न लागेको यो विषयमा मन्त्री अधिकारीले खासै चासो दिएका छैनन् । बरु निजी साझेदारसँगै मिल्ने गरेको आरोप लाग्ने गरेको छ । 

विवाद नम्बर ३ : लाउडाका आरोपित नै विज्ञ समूह सदस्य 
मन्त्री अधिकारीले भ्रष्टाचारको क्षेत्रमा बहुचर्चित लाउडा विमान काण्डका अभियुक्तलाई नै नागरिक उडड्यन विज्ञका रूपमा नियुक्त गरेपछि उनको आलोचना सुरु भएको हो । सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाका आरोपितलाई आफ्नो सल्लाहकार बनाएका मन्त्री अधिकारीले अब उनकै सल्लाहअनुसार काम गर्नेछन् । 

नागरिक उड्डयनका क्षेत्रमा विज्ञता हासिल गरेकाहरूको विज्ञ समूह अर्थात थिङ्क ट्याङ्क ग्रुप गठन गर्ने क्रममा विवादित छविका हरिभक्त श्रेष्ठलाई एटीएम तथा हवाई कानुन विज्ञका रूपमा नियुक्त गरिएको हो । तत्कालीन शाही नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष रहेका उनीलाई लाउडा विमानको भाडा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा ३८ करोड ९७ लाख जरिमाना माग गरेको थियो । 

उनीसँगै अन्य २० जनाको टोलीलाई विज्ञ सल्लाहाकारका रूपमा नियुक्ति गरिएको छ । गत चैत २७ गते मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मन्त्रीलाई राय सुझाव दिनका लागि सो समूह गठन गरेको जनाइएको छ । 

विवाद नम्बर ४ : जहाँ पुग्यो, त्यही विमानस्थल बनाइदिने आश्वासन 



मन्त्री भएपछि रवीन्द्र अधिकारीले विमानस्थल भएको जिल्लामा विमान सञ्चालन गर्ने आश्वासन दिँदै आएका छन् । तर त्यहाँको पूर्वाधारको अवस्थालाई भने कुनै ख्याल गरिएको छैन । बाग्लुङको बलेवा, इलामको फाल्गुनन्द, आछामको साँफेबगर, गुल्मीको रेसुङ्गामा उनी आफै सहभागी विमानको परीक्षण उडान पनि गराए । तर त्यहाँको भौतिक पूर्वाधार भने विमान उडाउनका लागि उपयुक्त नभएको नागरिक उड्डयन प्राधिकरणका कर्मचारी नै बताउँछन् । गुल्मीको विमानस्थल धुले मैदान छ भने इलाम तथा बाग्लुङको विमानस्थल पनि गतिलो छैन । त्यहाँ तत्काल विमान जाने अवस्था नभए पनि मन्त्रीले चर्चा कमाउनका लागि गरेको भन्दै आलोचना भइरहेको छ ।   

विवाद नम्बर ५ : अङ्गरक्षकलाई छाता 

गत महिना सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल खोज्नका लागि मन्त्री अघिकारी सुर्खेतका सम्भावित ठाउँको स्थलगत अवलोकनमा लागि हिँडेका थिए तर पानी प¥यो । पानी परेपछि सुरक्षाकर्मीले उनलाई छाता ओडाए । पानी रोकियो, हिँड्दा उनलाई गर्मी भयो । त्यसपछि उनले आफ्नो कोट फुकालेर नेपाली सेनाबाट खटिएमा सुरक्षाकर्मीलाई कोट बोकाए ।

यसबारेको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । धेरैले युवा नेता रवीन्द्र अधिकारीबाट यस्तो अपेक्षा नगरेको भन्दै दुःख व्यक्त गरे भने उनले शामन्ती शैली देखाएको भन्दै आलोचिनासमेत भयो । यसबारेमा उनले अहिलेसम्म सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप