केन्द्रीय संस्करण

टिम ओलीको गम्भीर गल्ती– खेल्नुपर्ने टेस्ट म्याच, उत्रिए ट्वान्टी–ट्वान्टीमा

person access_timeअसार २४, २०७५ chat_bubble_outline0

काठमाडौँ– ‘चियरगल्र्स’ सहित मैदानमा देखिने ट्वान्टी–ट्वान्टी क्रिकेटले जति मनोरन्जन दिन्छ, त्यसको तुलनामा एकदिवसीय (वनडे) र पाँच दिने (टेस्ट) म्याच धेरै पछाडि हुन्छन् । लगाव र अनुशासनसहित एकदिवसीय र टेस्ट म्याचमा जसरी खेलाडी मैदानमा उत्रिन्छन्, त्यसको तुलनामा ट्वान्टी–ट्वान्टीका खेलाडीले पनि दर्शककै मनोरन्जनलाई ध्यान दिन्छन् । 

प्रधानमन्त्री केपी ओली र राज्यमन्त्रीसहित उनको २४ सदस्यीय मन्त्रिपरिषद्का सदस्य (खेलाडी) अहिले ट्वान्टी–ट्वान्टी फर्मेटमा मैदानमा छन् । कोही पनि खेलाडीलाई ‘यो स्थिर सरकार हो, योजनाबद्ध तरिकाले केही समय काम गर्छु र प्रभावकारी नतिजा निकाल्छु’ भन्ने ध्यान नै छैन । बरु उनीहरूको दिमागमा विगतका सरकारमा जस्तै नौ–दश महिना काम गर्नेजस्तो हतारो छ । मिडिया प्रपोगन्डा र अशुलीका लागि हुने ओली टिमका ‘बामजर्सी’ वाला खेलाडीका गतिविधिका जे जति सूचना प्राप्त हुन्छन्, त्यसबाट एउटा निष्कर्षमा पुग्न कठिन छैन कि उनीहरूलाई प्रचारका लागि काम गर्न र ‘कलेक्सन’मा हतार छ । नतिजा सरोकारभन्दा बाहिर छ । 

मन्त्रालयका काममा होस् वा प्रचार संयन्त्रमा उनीहरूले ट्वान्टी–ट्वान्टी फर्मेटमा काम गरिरहेका छन् । मन्त्रीले चर्चामा आउन दिने भाषणदेखि उनीहरूका अनुगमनसम्म र मन्त्रालयका विवादित निर्णयसम्मको शृङ्खला हेर्ने हो भने कोही पनि मन्त्रीमा ‘म टेस्ट म्याचको खेलाडी हुँ’ भन्ने मनोविज्ञान देखिन्न । बोलीमा सुशासन, विकास र समृद्धि छ तर मनमा सबै जसो मन्त्रीले ठेक्कापट्टा, सरुवा–बढुवा र अपारदर्शी भेटघाटलाई प्रमुख कार्यसूची बनाए जस्तो देखिन्छ । 

पर्यटन मन्त्री रवीन्द्र अधिकारीले लाउडा काण्डका आरोपीलाई विज्ञसमूहको सदस्य बनाउँदा होस् वा विभिन्न संस्थालाई असारमा ६० करोड वितरण गर्दा मनमा विकास, सुशासन र समृद्धि सोचेका थिए भनेर विश्वास कसरी गर्नु ? काम नगर्ने ठेकदार शारदा अधिकारीलाई एक घण्टा भए पनि समातेर कठघरामा उभ्याउँछुभन्दा गृहमन्त्री बादलमाथि अङ्कुश लगाउने टिम कप्तान ओलीले विकास र समृद्धिको कुरा सोचेका थिए कि प्रचण्डसँगको सम्बन्ध ?

गृहमन्त्रीले एनजीओ र आईएनजीओको काम पारदर्शी बनाउँछु भनेर पत्र काट्दा हुँदैन भनेर रोक्ने टिम कप्तान ओलीले समाजवादको कुरा सोचेका थिए कि पूर्व एमालेका नेता–कार्यकर्ताको रोजगारी र कमाइको कुरा ? सिन्डिकेट तोड्ने अधिकारीलाई सरुवा गर्दा र ठेकेदारमाथि कारवाही नगर्न प्रधानमन्त्रीमाथि दबाब बनाउँदा भौतिक योजना मन्त्री रघुवीर महासेठले विकास र सुशासन सोचेका थिए कि चुनावमा पार्टीलाई गरेको लगानी असुलको चिन्ता ? 

कुरा यति मात्र छैन् । गृहमन्त्री बादलले शान्तिबाटिकामा चुनावी मतपेटिका घनले हानेर फोडेको भुल्दै माइतीघर मण्डलामा प्रदर्शनमा रोक लगाउने निर्णय सुनाउँदा टिम कप्तान ओलीको आदेश पालन गरेका थिए कि आफ्नो विवेक लगाएका थिए ? गृहमन्त्री बादलले गृहप्रशासनको अस्तव्यस्ततालाई सुधार्नुभन्दा पहिला अरू मन्त्रालयमा हस्तक्षेप गरेर चर्चा बटुलिरहँदा केही काम गर्न खोजेका हुन् कि भावी प्रधानमन्त्रीका लागि तयारी सुरु गरेका हुन् भनेर प्रश्न त उठ्छ नै ।

खानेपानी मन्त्री विना मगरले हिमालको पानी खाडी मुलुक पठाउने कुरा गर्दा आधारभूत खानेपानी नपाएको जनताको समस्या सम्झिएकी थिइन् कि थिइनन् ? नदीहरूको पानी तराईका बस्ती बस्तीमा पुर्याउने गफ दिइरहँदा मन्त्री विनाले शुद्ध खानेपानीको अभावसँग जुधिरेहका तराई–मधेसका जनताको घरआगनको ‘रियालिटी’ बुझेकी थिइन् कि थिइनन् ? दशै अगाडि काठमाडौँमा मेलम्चीको पानी वितरण गर्ने घोषणा गर्र्दा उनले ठेकेदार कम्पनीसँगको जटिलतामा ध्यान दिएकी थिइन् कि थिइनन् ? अर्थात टिम ओलीका खेलाडी कसरी बोल्छन्, के बोल्छन्, लेखाजोखा छैन । 

बामगठबन्धनका नेताहरूको मनोविज्ञान र जनताको आशामाथि पानी खन्नाउने बजेट पेश गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पढ्दै गर्दा बामपन्थी राजनीतिको मनोविज्ञान हेरेका थिए कि विगतमा आफूले परामर्शदाता भएर काम गरेका विदेशी वित्तीय संस्थाहरूको पृष्ठभूमि र योजना ? नेकपाकै सांसद सन्तुष्ट नहुने बजेटले देशको दिशा र दशा बदल्न सक्दैन भन्ने कुरा अर्थमन्त्रीले बुझेका थिए कि थिएनन् ? टिम कप्तानका खेलाडी खतिवडा अर्को चुनावमा काँग्रेसका लागि सजिलो हुने खेल खेलिरहेका छन् कि नेकपाका लागि ? नेकपाकै नेताहरूको मनमा प्रश्न उठ्न थालेको छ । 

मिडिया कभरेजका लागि दिनदिनैजसो ‘इभेन्ट’ बनाइराख्ने ऊर्जा मन्त्री वर्षमान पुनलाई टिम कप्तानसँग राम्रो सम्बन्ध नभएको जानकारी होला नै । ‘इगो’को राजनीतिका माहिर कप्तान ओलीले ऊर्जामन्त्रीलाई जस्तै अरू केही मन्त्रीको काममा ‘इन्जोय’ गरेका छैनन् भने यो टिमले जित निकाल्छ भनेर कसरी विश्वास गर्नु ? समयमाथि ‘मजाक’ तथा राष्ट्रिय महत्व र जनसरोकारका विषयवस्तुमाथि मनोरञ्जन दिन चाहने टिम कप्तानले फुटबलको भाषामा ‘इन्जुरी टाइम’मा तथा क्रिकेटको भाषामा अन्तिम ओभरमा आफ्नो पक्षमा नतिजा निकाल्छन् भनेर विश्वास गर्नु कसरी ? टिमसँग सल्लाह नगरी खेलाडीलाई मैदानमा उतार्ने तर आत्मघाती खेल भयो भनेर आलोचनासँग डराउने टिम कप्तानले कसरी खेलाडीको मनोबल उच्च राख्लान् ? तितरवितर मनोविज्ञानमा मैदानमा उत्रने टोलीबाट जितको अपेक्षा गर्नु नै गल्ती हुन सक्छ । 

भन्न त ‘बामजर्सी’ वाला खेलाडीले मजदुर, किसान, श्रमजीवी, शोषित, पीडित, गरिब जनताको हितका पक्षमा व्यवस्थित कार्ययोजना सञ्चालन गर्ने भन्थे । महिला, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम र सबै उत्पीडित जाति र पिछडिएका क्षेत्रका जनताको हक, हित, पहिचान र स्वाभिमानको पक्षमा काम गर्ने नारा बेच्थे । तर सरकार गठनको चार महिनामै देशभित्रै भाँडभैलो भएको खेलाडीले देखिरहेका छैनन् । टिम ओलीको चार महिने काममा जनजीविकाको सवालमा सन्तोष गर्ने केही छैन । तैपनि टिम कप्तान र खेलाडीले भरपुर मनरोन्जन दिने गरी सपनाका कुरा गरिरहेका छन्, कहिले रेलका, कहिले पानी जहाजका । कुरा मजदुर, किसान, श्रमजीवी जनताका छन् तर, टिप्पर दुर्घटनामा परेर मुस्ताङमा ज्यान गुमाएका मजदुरलाई राहत दिने विषयमा समाजवादी सरकार मौन छ । 

टिम ओलीले टेस्ट म्याच खेल्नु थियो । यहीँबाट गल्ती सुरु भयो र ट्वान्टी–ट्वान्टीको फर्मेटमा उत्रियो । फर्मेट बदलेकोसम्म ठिकै थियो । मैदानमा उत्रेर खेलको नियम नै तोड्न थाले खेलाडीले । एम्पायर (जनता) ले  खेलका हरेक सेकेन्ड नोटिस गरेका छन् भन्नेमा खेलाडीलाई ज्ञानै छैन । टिम ओलीका खेलाडीसँग ‘बामजर्सी’ छ । यही ‘जर्सी’ देखाएर उनीहरूले विगतका आफ्ना बाचा भुलेका छन् । खेलको केही समय गुज्रिसकेको छ । टिम कप्तान र खेलाडीले अनुशासति भएर खेल खेल्ने कि कप्तान र खेलाडी परिवर्तन गर्ने वातवरण बनाउने उनीहरूकै काँधमा छ । 

‘बामजर्सी’ वालाले चुनावताका सबै वर्ग, तह र समुदायका जनतालाई समान रूपमा अधिकारसम्पन्न बनाई राष्ट्रिय एकता सुदृढ पार्ने सपना दिन्थे । सुदृढ आन्तरिक एकताका आधारमा राष्ट्रिय स्वाधीनता र हितको रक्षा गर्ने बताउँथे । उत्तर–दक्षिण सन्तुलन मिलाएको टिम कप्तान ओलीको दाबी आइरहँदा देशभित्रै बढ्दै गएको भाँडभैलोमा टिम कप्तानलाई मतलवै छैन । आफ्नै क्लब (पार्टी) भित्र कप्तान र खेलाडीको आलोचना हुन थालेको छ । ‘अधिनायकवाद’को दिशा समातेको भनेर टिम कप्तान ओलीमाथि विपक्षीको लगातार हमला छ । टिम कप्तानले खेलको फर्मेट बदलेपछि विपक्षीलाई दिनदिनै मौका मिलिरहेको छ । 
‘बामजर्सी’का खेलाडीसँग कर्मचारी पर्ख र हेरको रणनीतिमा छन् । उनीहरूलाई सरकारले विश्वासमा ल्याउन पनि सकेको छैन् र काम कठोरपूर्वक गराउन पनि सकेको छैनन् । टिम कप्तान यहाँ पनि चुकेको छ । अझ रमाइलोपक्ष त के छ भने टिम कप्तान ओली आफैले सचिवमार्फत मन्त्रीहरूको ‘चेक’ गर्ने संयन्त्र बनाएका छन् । सामन्य प्रशासन मन्त्री लालबाबु पण्डितले कुनै पनि मन्त्रीलाई अनुकूल हुने गरी कर्मचारी दिएका छैनन् । मन्त्री र कर्मचारीबीच मन्त्रालयमा समन्वय छैन् । कर्मचारीतहमा ऊर्जा नभरी सरकारले कसरी काम गर्ने हो ? 

कुरा यति मात्र कहाँ हो र ? संविधानले मौलिक अधिकारका रूपमा स्पष्ट व्यवस्था गरेको शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुत्ता र आवासलाई आवश्यक कानुन र तदनुरूपको योजना बनाई लागू गर्ने नारा ‘बामजर्सी’वालाकै थियो । राष्ट्रिय शिक्षा नीति र प्रणालीलाई परिमार्जन गर्ने र राष्ट्रको आवश्यकताअनुरूप शिक्षालाई समतामूलक, अनुसन्धानमूलक, व्यावसायिक र गुणस्तरीय बनाइने घोषणा पनि उनीहरूकै थियो । अनि अहिले शिक्षामा जे जति भद्रगोल बनाएका छन्, यी ‘बामजर्सी’ वाला खेलाडीबाट के अपेक्षा गर्नु ? 

समाजवादउन्मुख देशको शिक्षा र स्वास्थ्य सेवा राज्य मातहत ल्याउने गृहकार्य गर्न छाडेर व्यापारीहरूकै हितमा काम गर्ने छवि बनाएका शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई मैदानमा उतारेपछि उनले ‘म्याच फिक्सिङ’ गर्नुमा के अनौठो भयो र ? राज्यले त आज भएका नीति मेडिकल कलेजहरूलाई राज्यको मातहत ल्याउने गरी राष्ट्रियकरण गर्ने दिशामा पो कदम चाल्नुपर्दथ्यो । तर भारतीय विद्यालयलाई नेपालमा वैधानिकता दिने शिक्षामन्त्रीले मेडिकल शिक्षामा ‘म्याच फिक्सिङ’को बाटो समाते । अनि कसरीे जित्छ ओलीको टिमले ? 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणासँगै नेपाली समाजमा युगान्तकारी परिवर्तन भएको मानियो । त्यसपछि संविधान कार्यान्वयन राष्ट्रको मुख्य कार्यभार बन्यो । निर्दिष्ट समयसीमाभित्र सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन हुनुलाई संविधान कार्यान्वयनको महत्वपूर्ण पाटो मानियो । त्यसपछि राष्ट्रको मुख्य कार्यभार तीव्र आर्थिक विकास र सामाजिक न्यायसहितको उच्च स्तरको समृद्धि बन्यो । टीम ओलीले यसलाई नारा बनायो । तर, यसका लागि समय लाग्छ र बढो मिहीन ढङ्गले काम गर्नुपर्छ भन्ने कुरा खेलाडीले बुझ्ने कोशिस गरेनन् । उनीहरूलाई रातारात नतिजा चाहियो । तीव्र आर्थिक विकास र सामाजिक न्यायसहितको उच्च स्तरको समृद्धिका लागि चाहिने कार्यक्रम, मूल कार्यनीति र कार्ययोजना निर्माणमा सामूहिकतामा विश्वास गरिएन । हरेक खेलाडी आआफ्नै तालमा मैदानमा आए । समन्वय गरेनन् । कतिपय मन्त्रीबीच आधारभूत तहको समन्वय छैन । मैले सहयोग गरे भने ऊ सफल हुन्छ कि भन्ने भए मन्त्रीहरूलाई नै छ । मन्त्रीहरूमा द्विविधा छ । सरकारको कामभन्दा पनि मेरो काम भन्ने भावनाले रोगी भैसकेका छन् ‘बामजर्सी’ वाला खेलाडी । यो भविष्यमा टिम कप्तानका लागि चिन्ताको विषय हुन सक्छ । आफ्ना मन्त्रीहरूलाई विश्वासमा ल्याएर काम गर्ने, मन्त्रीहरूलाई परेको बाधा हटाउनेबारेमा टिम कप्तानले पहल नगरेको मन्त्रीहरूको गुनासो छ । टिम कप्तान भन्छन्, ‘मलाई रिजल्ट चाहियो ?’ मन्त्री तनावमा छन् ।  

सामाजिक न्यायसहितको सुसंस्कृत र समृद्ध समाजवादमा जाने र सामन्तवादका अवशेषहरूलाई समाप्त पार्ने घोषणा पनि ‘बामजर्सी’ वालाले नै गरे । तर, खेलाडीभित्र रहेका सामन्तवादी सोचमा परिवर्तन आएन, नत्र आशा गरिएका मन्त्री रवीन्द्र अधिकारीले सुरक्षाकर्मीलाई छाता ओडाउन लगाएर किन सुर्खेतका जङ्गलमा हिँड्थे र ? काम र भूमिकाप्रति खेलाडी सचेत भैदिएको भए सञ्चारमन्त्री किन सम्पत्ति विवादमा तानिन्थे, खेलकुद मन्त्रीले किन भैँसीगोठ उद्घाटन गर्न जान्थे र ? राष्ट्रिय औद्योगिक पुँजीको विकास गर्ने नारा थियो । तर उद्योगी–व्यवसायीसँग यो सरकारको सम्बन्ध राम्रो देखिएन । यस्तो असन्तुलित आर्थिक नीतिले दुई अङ्कको आर्थिक वृद्धिदर कसरी आउँछ ? भन्नेमा खेलाडीसँग विवेक पुगेन् । 

टिम ओलीले टेस्ट म्याच खेल्नु थियो । यहीँबाट गल्ती सुरु भयो र ट्वान्टी–ट्वान्टीको फर्मेटमा उत्रियो । फर्मेट बदलेकोसम्म ठिकै थियो । मैदानमा उत्रेर खेलको नियम नै तोड्न थाले खेलाडीले । एम्पायर (जनता) ले  खेलका हरेक सेकेन्ड नोटिस गरेका छन् भन्नेमा खेलाडीलाई ज्ञानै छैन । टिम ओलीका खेलाडीसँग ‘बामजर्सी’ छ । यही ‘जर्सी’ देखाएर उनीहरूले विगतका आफ्ना बाचा भुलेका छन् । खेलको केही समय गुज्रिसकेको छ । टिम कप्तान र खेलाडीले अनुशासति भएर खेल खेल्ने कि कप्तान र खेलाडी परिवर्तन गर्ने वातवरण बनाउने उनीहरूकै काँधमा छ । 


 

नेत्र पन्थी

नेत्र पन्थी रातोपाटीका समाचार सम्पादक हुन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ