शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के काँग्रेस आन्तरिक अधिनायकवादको समस्यामा छ ?

आइतबार, २४ असार २०७५, ०८ : १८
आइतबार, २४ असार २०७५

काठमाडौं– प्रदेश र सङ्घीय चुनावका लागि तत्कालीन एमाले र माओवादीले चुनावी गठबनन्धन बनाएपछि अर्थात् गत असोज १७ यता काङ्ग्रेसका हरेक नेताहरू आफ्ना भाषणमा अधिनायकवाद शब्द प्रयोग गर्न छुटाउँदैनन् । 

अझै केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार बनेपछि त उसले गरेका हरेकजसो निर्णयलाई काङ्ग्रेसले ‘अधिनायकवाद’को सङ्केतका रूपमा व्याख्या गर्दै आएको छ । तर कम्युनिस्ट सरकार र सत्तारुढ दललाई ‘अधिनायकवादी’ विल्ला भिराउने काङ्ग्रेसले आफैभित्र वर्षौंदेखि ‘जब्बर’ बनेको ‘अधिनायकवाद’को जालो भने तोड्न सकेको छैन ।

काङ्ग्रेसका धेरै नेताहरूले पार्टी सभापति शेरबहादुर देउवा ‘अधिनायकवादी’ बनेको पटक पटक भन्दै आएका छन् । उनीहरूले देउवा सभापतिमा निर्वाचित भएयता पार्टीको विधान उल्लङ्घन गरेर ‘अधिनायकवादी’ बनेको भन्दै त्यसलाई सच्याउन दबाबसमेत दिइरहेका छन् । 

तर, उनीहरूको यो दबाबलाई देउवाले अर्को महाधिवेशनसम्म विधानको पालना गर्ने भनेर पन्छाउँदै आएका छन् । त्यसो त काङ्ग्रेस पार्टीको विधान नमान्नेमा देउवा पहिलो व्यक्ति भने होइनन् ।

यसअघि गिरिजाप्रसाद कोइरालादेखि सुशील कोइरालालेसमेत विधानलाई एकातिर थन्क्याएर पार्टी सञ्चालन आफ्नै ढङ्गले गर्ने गरेको आरोप नखेपेका भने होइनन् । 

‘वर्षांैदेखि पार्टी यसरी नै चल्दै आएको छ । हामीमा यस्तो जब्बर स्वभाव भइसक्यो कि यो परिवर्तन गर्नै जरुरी छैन ।  त्यसकारण यो प्रवृत्तिले अराजकता र अन्यौलता बढाइदिएको छ । हामीलाई निस्प्रभावी बनाएको छ । कहिलेकाहीँ यो प्रवृत्तिले सही मार्ग पनि देला तर बहुसङ्ख्यक समयको यस्तो निर्णयले सबैभन्दा बढी क्षति पार्टीलाई नै दिएको हुन्छ’, काङ्ग्रेस नेता गगन थापाको तर्क छ ।  

पहिला हेरौँ काङ्ग्रेसभित्रका केही घटनाक्रम, जसलाई पार्टीभित्र ‘जब्बर अधिनायकवाद’ भन्ने गरिन्छ । 

समृद्धि र बिकास छाडेर किन भैरहेको छ ‘अधिनायकवाद’ को बहस ?

घटना नम्बर १
गत असार ५ गते चितवनको भरतपुरमा  काङ्ग्रेसको भ्रातृसङ्गठन नेपाल दलित सङ्घले प्रदेशस्तरीय भेला राख्यो । दुई दिन चलेको सो भेलालाई पार्टी सभापति शेरबहादुर देउवा र नेता गगन थापालाई वक्ताका रूपमा राखिएको थियो ।

कार्यक्रमको अघिल्लो दिन सभापति देउवाले ‘वक्तामा क–कसको नाम छ ?’ भनेर सोधे । आयोजकले जवाफ दिए ‘सभापतिज्यू र नेता गगन थापा ।’ 

प्रतिउत्तरमा देउवाले भने ‘गगन थापा बोलाउने भए म आउदिनँ ।’ आयोजक झसङ्ग भए । 

कुरो बुझ्दा थापा देउवा विरोधी भएकाले त्यो कार्यक्रममै सहभागी नहुने निर्णय गरेको आयोजकले बल्ल थाहा पाए र गगनलाई नआउन भनियो । त्यसपछि मात्रै देउवा उक्त कार्यक्रममा जान सहमत भए । गगन देउवा गएको दिन नभई अर्को दिन कार्यक्रममा गएर बोलेको आयोजक संस्थाका एक नेताले रातोपाटीलाई बताए । 

घटना नम्बर २
असार ५ गते नै हेटौँडामा ७७ वटै जिल्लाका सभापतिहरूको भेला राखियो । भेलामा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मात्र बोल्न दिने देउवाकै आग्रहमा पहिलो निर्णय भयो र त्यही अनुसार पार्टीले विज्ञप्ति नै जारी गर्यो । 

तर कार्यक्रमको उद्घाटनका बेला देउवाले आफ्नातर्फका नेताहरू विजय गच्छदार, विमलेन्द्र निधीलगायतलाई बोल्न लगाए । जब कि अरू नेतालाई बोल्न दिँदा आफ्नो चर्को विरोध हुने देखेका देउवाप्रति असन्तुष्ट कृष्ण सिटौला, प्रकाशमानसिंह लगायतका नेताले भेला नै बहिष्कार गर्न पुगे । 

घटना नम्बर ३
काङ्ग्रेसको १३औं महाधिवेशन ०७२ चैतमा सम्पन्न भयो । महाधिवेशन सम्पन्न भएको २ महिनाभित्र पार्टीका सबै (४२ वटा ) समिति गठन गर्नुपर्ने काङ्ग्रेसको विधानमा प्रष्ट छ । 

तर साढे दुई वर्ष हुन लाग्दा पनि ती समिति एउटै बनाइएको छैन । त्यति मात्रै होइन, देउवाले विधान विपरीत गठन गरेको संसदीय समिति र केन्द्रीय कार्य सम्पादन समिति गठन गरे । 

त्यसको पार्टीमा व्यापक विरोध भयो र गत चैतमा सम्पन्न केन्द्रीय समिति बैठकमार्फत ती समिति खारेज गरेको मौखिक घोषणा भयो तर माइन्युट गरिएन । 

घटना नम्बर ४
काङ्ग्रेसमा कुनै छलफल नै नगरी सभापति देउवाले सोसलिस्ट इन्टरनेसनलको समानान्तर अभ्यास गर्नेगरी खोलिएको प्रोग्रेसिभ एलाइन्समा सहभागिता जनाउने निर्णय निर्णय गरे । देउवाको उक्त व्यक्तिगत निर्णयकै आधारमा गत असार १५ र १६ गते ललितपुरमा प्रोग्रेसिभ एलाइन्सको सम्मेलन राखियो । 

यो थाहा पाएपछि देउवाको उक्त एकल निर्णयको विरोधमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला लगायतले चर्को विरोध गरेपछि उक्त कार्यक्रमा देउवा सहभागी नभए पनि प्रकाशशरण महतलगायतका नेता सो कार्यक्रममा सहभागी भए । 

बीपीले काङ्ग्रेसलाई सोसलिस्ट इन्टरनेसनलसँग संलग्न गराएयता काङ्ग्रेस सोसलिस्ट इन्टरनेसनलमा सक्रिय रहँदै आएको छ । अहिले पनि देउवा त्यसको सदस्य छन् । एउटा समूहको सदस्य रहिरहेका बेला अर्काको सदस्य हुन पाइँदैन । तर देउवामा यो नियम लागू भएन । 

एकल निर्णय नै कारक

काङ्ग्रेस अहिले बामपन्थी नेतृत्वको सरकारलाई अधिनायकवादीको संज्ञा दिइरहेका बेला काङ्ग्रेसभित्रैको ‘अधिनायकवाद’ चाहिँ कति जब्बर छ भन्नेमा माथिका यी केही प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ता सयौँ घटना छन्, जो काङ्ग्रेसको विधि विधान र नियामावली विपरीत सभापति शेरबहादुर देउवाले गरेका एकल निर्णय ।

‘सरकार र सत्तापक्षलाई अधिनायकवादी चरित्र देख्ने हाम्रो पार्टी पहिला शुद्धीकरण हुन जरुरी छ । त्यसका लागि देउवासँग पहिलो चरणको छलफल भएको छ, अन्य सङ्घर्ष जारी छन् । हामी देउवा वा कसैको कुनै पनि किसिमको निरङ्कुशता सहँदैनौँ’, नेता केसीले रातोपाटीलाई बताए । 

जसको काङ्ग्रेसभित्र चर्को विरोध पनि भइरहेको छ । तर देउवा आफ्ना गल्ती सच्याउनुको साटो थप्दै गएका छन् । तर काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भने सभापति देउवाले पार्टीमा अधिनायकवाद नलादेको बरु अब पार्टीभित्रका असनतुष्ट पक्षलाई पनि समेटेर पार्टीलाई एक ढिक्का बनाएर लैजान नेताहरू तयार भइसकेको दाबी गर्छन् । उनी भन्छन्– कसले के भन्यो भन्दा पनि अब कसरी अघि बढ्ने र विधानको कसरी परिपालना गर्ने भन्ने बहस महत्वपूर्ण हो, यसमा सबै नेताहरू प्रतिबद्ध हुनुहुन्छ ।’

अरू के–के छन् त देउवाका स्वेच्छाचारी निर्णय

–काङ्ग्रेसको विधानमै महाधिवेशन सम्पन्न भएको २ महिनामै सबै समितिलाई पूर्णता दिनुपर्ने प्रावधान छ । तर २ वर्ष बित्दा पनि देउवाले पूर्णता दिएका छैनन् । पार्टीका ४२ वटा विभाग अझै खाली  छन् ।

–महाधिवेशन भएको २ वर्षपछि मात्रै पदाधिकारी चयन । 

–विधानविपरीत संसदीय समिति १७, २२ हुँदै २४ सदस्यीय गठन ।

–केन्द्रीय कार्य सम्पादन समिति २९ हुनुपर्ने ३० सदस्यीय निर्माण ।

–महासमितिको बैठक हरेक वर्ष बोलाउनुपर्नेमा २ वर्षसम्म एक पटक पनि नबोलाएको ।

–सुशील कोइरालाको कार्यकालमा पार्टीमा जम्मा गरेको ८ करोड रुपियाँ २ करोडमा झारेको । निर्वाचनमा टिकट वितरण गर्दा पार्टी सदस्य नै नभएको व्यक्तिलाई टिकट दिएको ।

–विनोद चौधरी र सूर्यबहादुर केसीबाट करोडौँ रकम लिएर टिकट दिएको, जसले गर्दा पार्टीका निष्ठावान नेता कार्यकर्तामा चरम निराशा पैदा हुँदा निर्वाचन परिणाम उल्टो आएको । 

–पार्टीमा छलफल नै नगरी सोसलिस्ट इन्टरनेसनलको सदस्यता लिएकै अवस्थामा प्रोग्रेसिभ एलाइन्सको सदस्यता लिएको  । त्यसको पार्टीमै चर्को विरोध भएको ।

– केन्द्रीय कार्यसमितिको निर्णयविपरीत सुजाता कोइरालाबाहेकलाई निर्वाचनमा समानुपातिकबाट ११ जनालाई उम्मेदवार बनाएको ।

सच्चिएलान् देउवा ?
त्यसो त केन्द्रीय समितिदेखि जिल्ला भेलासमेतले नेतृत्व सच्चिन जरुरी भएको निष्कर्ष निकाल्यो । कि त देउवा सभापतिबाट हट्नुपर्ने ? कि सच्चिनुपर्ने भन्दै पार्टीमा व्यापक दबाब सिर्जना गरियो । यसमा युवा नेतादेखि पौडेल समूह, सिटौला समूह र प्रकाशमान सिंह समूह एकै ठाउँ उभिए । देउवाविरुद्ध यस्तो दबाब बढेपछि देउवाले नेतृत्व नछाड्ने बरु सच्चिने झिनो सङ्केत पनि देखाए । जुन सङ्केतलाई विरोधीहरूले आफ्नो आंशिक जितका रूपमा लिए । ‘सभापति देउवा केही सच्चिन खोजेको हो कि जस्तो देखिएको छ तर पूरै सच्चिएको अवस्था होइन,’ काङ्ग्रेस केन्द्रीय सदस्य तथा देउवा इतरका नेता गुरुराज घिमिरेको बुझाइ छ । तर देउवा कहिलेसम्म सच्चिने भन्ने तिथिमिति एकिन छैन । यसले गर्दा काङ्ग्रेसभित्रको विवाद थप झाँगिदै गएको छ । तर काङ्ग्रेसभित्रको आन्तरिक विवाद भुसको आगो जस्तै फैलिए पनि मैदानमा भने पोखिएको छैन । कारण हो– सत्तापक्षका पछिल्ला केही निर्णय । 

काङ्ग्रेस नेता अर्जुननरसिंह केसीका अनुसार पार्टीभित्रको आन्तरिक सङ्घर्ष जारी छ । ‘सरकार र सत्तापक्षलाई अधिनायकवादी चरित्र देख्ने हाम्रो पार्टी पहिला शुद्धीकरण हुन जरुरी छ । त्यसका लागि देउवासँग पहिलो चरणको छलफल भएको छ, अन्य सङ्घर्ष जारी छन् । हामी देउवा वा कसैको कुनै पनि किसिमको निरङ्कुशता सहँदैनौँ’, नेता केसीले रातोपाटीलाई बताए । 

सभापति देउवा पक्षका नेताहरू पनि अर्को समूहले लगाएका आरोपमा सत्यता रहेको स्वीकार्छन् ।

देउवा निकट मानिएका नेता दिलेन्द्रप्रसाद बडु  १३औँ महाधिवेशनपछि पार्टी सञ्चालनका क्रममा सभापतिबाट केही कमजोरी भए पनि अब त्यसलाई सुधार्दै जान देउवा तयार भइसकेकाले यो विषयलाई धेरै नउचाल्न सुझाव दिन्छन् ।  जब कि अरू नेतालाई बोल्न दिँदा आफ्नो चर्को विरोध हुने देखेका देउवाप्रति असन्तुष्ट कृष्ण सिटौला, प्रकाशमानसिंह लगायतका नेताले भेला नै बहिष्कार गर्न पुगेका थिए ।

 रातोपाटीसँग बडुले भने, ‘निर्वाचनका बेलादेखि केन्द्रीय समिति र जिल्ला सभापतिहरूको भेलासम्ममा पार्टीमा यो विषयबारे छलफल भएको हो । जिल्ला सभापतिको भेलाले नै अब पार्टीलाई विधानसम्मत अघि बढाउने भन्ने निर्णय र प्रतिबद्धता आइसकेको छ अब विस्तारै पार्टी विधानको परिपालना गर्दै अघि बढ्छ ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप