शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी चलाउनुअघि यी कुरामा ध्यान दिनुहोस

शनिबार, ३१ असार २०७४, १० : ३०
शनिबार, ३१ असार २०७४


शिवकुमार श्रेष्ठ कीर्तिपुर मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर  
लामो वा छोटो जस्तोसुकै यात्रामा निस्कँदा पनि सवारीचालकले सामान्य कुरामा ध्यान नपुर्‍याउँदा कहिलेकाहीँ पूरै यात्रा खल्लो पनि हुन सक्छ । विशेषगरी सिकारु तथा भर्खरै लाइसेन्सप्राप्त चालकले यस्ता विषयमा ख्याल गर्नुपर्छ । सवारी चलाउँदा नयाँ चालकले ध्यान दिनुपर्ने विषयबारे कीर्तिपुर मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरका सञ्चालक शिवकुमार श्रेष्ठका सुझाब यस्ता छन् स्

सवारी स्टार्ट गर्नुभन्दा पहिले लुब्रिकेन्ट र पानीको मात्रा सही छरछैन, परीक्षण गर्नुपर्छ ।

इन्जिन स्टार्ट गरेपछि कम्तीमा पनि ५ मिनेटजति त्यत्तिकै छाडिदिनुपर्छ । जसले गर्दा इन्जिनका सम्पूर्ण पार्टस्मा इन्जिन आयल पुगी इन्जिनको आयु बढाउन सघाउ पुग्छ ।

सवारी चलाउनुपूर्व सिट मिलेको छ÷छैन, हेर्नुपर्छ । लुकिङ ग्लास सफा गरी स्पष्ट देखिने गरी मिलाएर सिटबेल्ट बाँध्न भुल्नु हुँदैन ।

गाडी चलाउँदा सडकमा राखिएका विभिन्न ट्राफिक चिह्न तथा लेनलाई विशेष ध्यान दिनुपर्छ । विशेषगरी नयाँ चालक यस्ता चिह्नप्रति सजग हुनैपर्छ ।

सवारी चलाउन पार्किङ या गेटबाट बाहिर निकाल्दा होसियार भई सकेसम्म अन्य व्यक्तिलाई पनि हेर्न लगाउनुपर्छ ।

यदि एक्लै हुनुहुन्छ भने बिस्तारै अगाडि राम्रोसँग हेरेर दायाँ–बायाँको लुकिङ ग्लासमा पनि ध्यान दिनुपर्छ ।

मोडमा सवारी चलाउनुपर्दा जता मोड्नुपर्ने हो, त्यसको विपरीत दिशातिर केही च्यापिसकेपछि मात्र मोड्नुपर्छ । मोड्दा पनि जतातिर मोड्ने हो, त्यतैको लुकिङ ग्लास हेरेर मात्र स्टेरिङ घुमाउनुपर्छ । त्यस्तो वेला अन्य सवारीले ओभरटेक गर्दै छ भने दुर्घटना पनि हुन सक्छ ।

सडकमा सवारी चलाउँदा दुईवटा गाडीबीच निश्चित दूरी कायम राख्नुपर्छ । सामान्यतया यस्तो ग्याप दुई सेकेन्डमा पार गर्ने दूरीबराबर राख्दा राम्रो हुन्छ । त्यस्तै, अगाडिको सवारीको पछाडिको टायर देखिने गरी दूरी कायम गर्नु राम्रो हुन्छ । गाडीको गति जति बढी छ दूरी पनि त्यति नै बढी गर्नु राम्रो हुन्छ ।

सवारी पनि स्थानअनुसार फरक तरिकाले रोकेर राख्नुपर्ने हुन्छ । पार्किङ गर्दा उकालो भएमा अगाडिको गेयर तथा ओरालो भएमा ब्याक गेयरमा राख्न भुल्नु हुँदैन । आवश्यकताअनुसार ओत राख्ने तथा समतलमा पनि ह्यान्ड ब्रेक लगाउन भुल्नु हुँदैन ।

अन्य सवारीलाई साइड दिँदा दायाँतर्फ साइडलाइट बाल्ने प्रचलन छ । त्यो गलत हो । जहिले पनि साइड दिँदा देब्रतिरको साइडलाइट बाल्ने र सँगसँगै हातले इसारा गर्दा राम्रो हुन्छ । साइड दिँदा स्पिड कम गर्दै लुकिङ ग्लास हेरेर बायाँ साइड च्याप्न भुल्नु हुँदैन ।

सवारी चलाएर रोक्दा एक्सिलेटर थिचेर घ्यारघ्यार गर्दा ब्याट्री चार्ज हुन्छ भन्ने विश्वास छ । यो राम्रो होइन । यसको सट्टा स्टार्ट गरेर केही समय छाड्दा उत्तम हुन्छ ।

प्रत्येक तीन सेकेन्डमा रुम मिरर हेनुपर्छ भन्ने मान्यता छ । यस्तो बानी कायम गर्दा पछाडिको सवारीको गतिविधि थाहा पाउन सजिलो हुन्छ । 


नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप