शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्सबिरुद्ध उरुग्वे : एमबाप्पेलाई रोक्लान् गोडिनले ?

शुक्रबार, २२ असार २०७५, १३ : ५६
शुक्रबार, २२ असार २०७५

एजेन्सी । जारी विश्वकपको पहिलो क्वाटरफाइनल खेलमा आज नेपाली समयअनुसार ७ बजेर ४५ मिनेट जाँदा उरुग्वे र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ । निश्चित छ, यस खेलको समाप्तिसँगै एउटा पूर्वविजेता विश्वकपबाट बाहिरिनेछ । 

सन् १९३० मा पहिलो विश्व विजेता उरुग्वेले सन् १९५० मा पनि विश्वकप उपाधि जितेको थियो । फ्रान्स सन् १९९८ को विश्वविजेता हो । 

एमबाप्पे विरुद्ध डिएगो गोडिनको लडाइँ 

१९ वर्षका फ्रेन्च फरवार्ड कालियन एमबाप्पे अवश्य पनि आजको खेलका प्रमुख आकर्षण हुन् । अर्जेन्टिना विरुद्ध अन्तिम १६ को खेलमा टोलीलाई ४–३ को जीत दिलाउने क्रममा उनले दुई गोल गरे । तीव्र गतिमा दौडने उनको क्षमतालाई रोक्न अर्जेन्टिना डिफेन्स असफल हुँदाकै परिणाम थियो, एमबाप्पे चम्किएको खेलमा मेस्सी निराश हुनु । यी खेलाडी निकै शक्तिशाली देखिएका छन् । विपक्षीलाई छक्याउने खुबी पनि उस्तै राम्रो छ । 

यस्तोमा उनले आज उरुग्वेका कप्तान डियगो गोडिनसामु परीक्षा दिनुपर्नेछ । एथलेटिको म्याड्रिडबाट व्यवसायीक फुटबल खेल्ने गोडिन ला–लिगामा विश्वचर्चित खेलाडीलाई रोक्न माहिर छन् । ३२ वर्षका सेन्टर ब्याक गोडिन वर्तमान पुस्ताकै उत्कृष्ट डिफेन्डरमध्ये एक मानिन्छ । जारी प्रतियोगिताका चार खेलमा उरुग्वेले एकमात्रै गोल व्यहोरेको छ ।  गोडिनले पक्कै पनि एमबाप्पेलाई कम स्पेस दिनेछन्  र उनलाई खुलेर खेल्न अहसज बनाइदिनेछन् । गोल गर्नका लागि एमबाप्पेले पहिले गोडिनको चुनौती सामना गर्नुपर्नेछ । 

काभानीको अभाव हुनसक्छ 

अन्तिम–१६ मा पोर्चुगल विरुद्ध दुबै गोल एडिन्सन काभानीले गरे । तर उरुग्वेको दुर्ग्भाय यही खेलमा घुँडामा चोट लागेपछि आजको खेल उनी खेल्ने÷नखेल्ने अनिश्चित छ । यस्तोमा अर्का फरवार्ड लुइस सुआरेजमाथि दबाब बढ्नेछ । जारी प्रतियोगितामा सुआरेज र काभानीको अग्रपंक्तिको जोडीलाई सबैभन्दा खतरनाक मानिएको छ । काभानीले ३ र सुआरेजले २ गोल गरेका छन् । 

दबाबमा पाउल पोग्बा 

ठूला खेलमा स्वभाविक प्रदर्शन गर्न नसकेको आरोप पाउल पोग्बामाथि लाग्ने गरेको छ । आजको खेलमा त्यसैले पनि उनी दबाबमा हुनेछन् । समुह सीमा रहेको फ्रान्सले समुह चरणमा औसत प्रदर्शन गर्दा पोग्बा पनि औसत नै देखिएका थिए । 

तर अर्जेन्टिनाविरुद्ध भने उनले निकै उत्कृष्ट खेले र गोलका लागि अवसरहरु सिर्जना गरे । विपक्षीले खुला स्पेस दिनासाथ यी खेलाडी आक्रमणमा उत्रिहाल्छन् र उनलाई रोक्न गाह्रो छ । आजको खेलमा डिफेन्सिभ मिडफिल्डर ब्लाइसी माटुइडीले नखेल्ने भएकाले पोग्बाले पनि आक्रमणभन्दा डिफेन्समा ज्यादा ध्यान दिनुपर्ने हुन्छ । माटुइडीले दोहोरो पहेँलो कार्डका कारण आजको खेल गुमाउने भएका हुन् । 

कस्तो तथ्य कस्तो ?

उरुग्वेले समुह एबाट तीन खेल जित्दै दोस्रो चरणमा स्थान बनाएको हो । समूह सीबाट अघि बढेको फ्रान्सले दुई खेल जित्यो भने एक खेल बराबरी खेल्यो । अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिना तथा उरुग्वेले पोर्चुगललाई पाखा लगाए । 

उरुग्वेले खेलेका पछिल्ला ७ अन्तर्राष्ट्रिय खेलमा लगातार जित हासिल गरेको छ । फ्रान्सले पछिल्ला १६ खेलमध्ये एक खेलमात्रै हारेको छ । यी दुई टोलीबीचको हेड टु हेड नतिजामा उरुग्वे अघि छ  । दुई टोली ७ पटक अन्तर्राष्ट्रिय फुटबलमा भिडेका छन् । त्यसमा विश्वकपमा खेलेको तीन खेल पनि समावेश छ । विश्वकपमा दुई खेल गोलरहित बराबरीमा टुंगिएको छ भने एक खेल उरुग्वेले जितेको छ । तर, उरुग्वेले जित निकालेको सन् १९६६ को विश्वकपमा थियो । समग्रमा ७ खेलमा उरुग्वेले २ पटक जितेको छ भने ४ खेल बराबरीमा टुंगिएको छ । १ पटक फ्रान्सले जितेको छ । 

दुई टोलीबीच पछिल्लोपटक सन् २०१३ मा भएको मैत्रिपूर्ण फुटबलमा उरुग्वे १–० ले विजयी भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप