आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बच्चालाई गुफामा लैजाने कोच ‘हिरो’ कि ‘जिरो’ ? थाइल्याण्डमा सुरु भयो बहस

शुक्रबार, २२ असार २०७५, १२ : ३२
शुक्रबार, २२ असार २०७५

माई साई /एपी

१२ किशोरसहित थाइल्याण्डको गुफामा फसेका युवा कोचको एकतर्फ आलोचना भइरहेको छ भने अर्कोतर्फ उनको तारिफ गर्नेहरुको भीड उत्तिकै छ ।

थाइल्याण्डका केही मानिसहरुले कोचका कारण किशोरहरु आज गुफामा फसेको बताइरहेका छन् भने कतिले कोचको रोहबरमा नै आजसम्म किशोरहरु जीवित रहन सफल भएका छन् भन्ने तर्क दिएका छन् ।

२५ वर्षका एकापोल चान्थावंग ११ देखि १६ वर्षबीचका किशोरको समूह ‘वाइल्ड बोर्स’ का असिस्टेन्ट कोच हुन् । अधिकारीका अनुसार एकापोलले नै समूहका किशोरलाई जुन २३ मा उक्त गुफामा लिएर गएका थिए । अत्यधिक वर्षाका कारण गुफाभित्र पानी भरियो र सबैजना त्यही अड्किए ।

हराइरहेको समूहलाई गत सोमबार अधिकारीले खोजी गर्यो । बच्चाहरु कमजोर त देखिए तर उनीहरु सुरक्षित थिए । अब यी किशोरहरु भएठाउँ खाना पुर्याइएको छ र एक डाक्टर पनि उनीहरुसँगै छन् । बचाउ दल उनीहरुलाई अझै पनि गुफाबाट कसरी सुरक्षित निकाल्ने भन्ने प्रयासमा छन् ।    

थाइ पुलिस अधिकारीले एकापोलमाथि लागेको लापरवाहीको आरोपलाई खारेज गर्न अस्विकार गरेको छ ।

‘हामीले सुरुमा यो घटनाको सुक्ष्म अनुसन्धान गर्नुपर्छ,’ माई साई पुलिस स्टेशनका प्रमुख कोम्सान सार्डले भने ।

बैंकक पोष्टले एकापोलले बच्चाको सुरक्षा गरिरहेको एक रिपोर्टमार्फत जानकारी दिएको छ । यसमा लेखिएको छ, ‘एकापोलले बच्चालाई लगातार पानी पिलाए । उनले बाढीको पानी नभई गुफाका पर्खालबाट खसिरहेको पानी बच्चाहरुलाई पिलाए । यतिमात्र होइन, उनले आफूसँग भएको सिमित खानेकुरा बच्चालाई बाँडिदिए ।’

एक थाई नेवी सीलले सनूक नामको वेबसाइटलाई दिएको जानकारी अनुसार एकापोलको स्थिती अन्य किशोरभन्दा खराब थियो । सीएनएनले पनि यस्तै रिपोर्ट छापेको छ । एकापोलले बच्चालाई शान्त राख्न र भोकबारे नसोच्नका लागि ध्यान गराए । एक अन्य रिपोर्ट अनुसार एकापोल अनाथ हुन् र उनले आफ्नो आधा जीवन मन्दिरमा बसेर बिताएका छन् ।

उक्त समूहका प्रमुख कोच, नापारात गुन्तावंगले भने, ‘एकापोलसँग किशोरहरुलाई सुरक्षित राख्ने आत्मविश्वास थियो त्यसकारण मैले गुफाभित्र हाइकिङ गर्ने अनुमती दिएँ । ’

‘उनले बच्चाहरुलाई निकै माया गर्छन्, उनले जहिले उनीहरुको निकै ख्याल राख्छन् र समूहसँग निकै नजिक छन्,’ नापारातले भने ।

थाइल्याण्डमा सोसल मिडियामा एकापोलको विषयमा बिचारको बाढी आइरहेको छ । बैंकक पोस्टले कोचको विषयमा पैदा भएको यो वैचारिक मतभेदमाथि एउटा खबरलाई हेडलाइन दिएको छ, ‘हराइरहेका बच्चाः हिरो वा जिरो ?’

प्रधानमन्त्री प्रायुत चान–ओ–चाले सर्वसाधारणलाई कुनै पनि निष्कर्ष निकाल्न हतार नगर्न आग्रह गरेका छन् ।

‘यो एउटा यस्तो मुद्दा हो जुन मानिसहरुले निकै नजिकसँग नियालिरहेका छन्, त्यसकारण यसमा पहिले नै धेरै नाटक गरिसकिएका छन्,’ उनले थाई मिडियालाई भने । ‘उनीहरु मानसिक रुपमा पनि ठिक छन् कि छैनन् भन्ने कुरामा जोड दिन आग्रह गरिरहेको छु । मैले त्यहाँ फसेका १३ जना हिरो हुन् भनेर भनेको छैन ।’

‘अहिले उनीहरुलाई सुरक्षित तरिकाले गुफाबाहिर कसरी निकाल्ने भन्ने बारे सोच्नुपर्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप