केन्द्रीय संस्करण

सशक्तीकरण र सामाजिक रूपान्तरणका लागि सहजीकरण

person access_timeअसार २२, २०७५ chat_bubble_outline0

विकासका लागि स्थानीय स्रोतहरूको पहिचान, प्रयोग र संरक्षण गर्ने काम महत्वपूर्ण काम हो तर सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीय समुदायको संलग्नता आवश्यक हुन्छ । स्थानीय विकासका सन्दर्भमा त्यहाँको आवश्यकता स्थानीय समुदायलाई थाहा हुन्छ । स्थानीय समुदायले नै स्थानीय स्रोतको पहिचान, संरक्षण र परिचालन गर्न सक्ने विकास प्रकृया दिगो हुन्छ ।

स्थानीय ज्ञान सीपमाथि विश्वास गर्नु, उनीहरूले पनि गर्न सक्छन् भन्ने विश्वास गर्नु र स्थानीय तरिकालाई प्राथमिकतामा राखेर विकास निर्माणका योजना छनौट प्रकृयादेखि नै स्थानीय समुदायको सहभागिता खोज्नु र उनीहरूले तयार पारेको योजना कार्यान्वयनमा उनीहरू नै सहभागिता हुने वातावरण निर्माणविना विकास दिगो हुनै सक्दैन । यस दिशामा सरकारी तथा गैरसरकारी प्रयास र प्रयत्नहरू अघि बढ्नु आवश्यक छ । 

विकास प्रकृयालाई रणनीतिक योजनामा जोड्ने र गरेका विकास प्रयत्नलाई परिणाममा आधारित गरेर जाने हो भने नेपालको विकासलाई गति दिन सकिन्छ । मानिसहरूमा ज्ञान, सीप र स्रोत र उनीहरूकै सङ्गठनमा विश्वास गरेर मात्रै विकासलाई दिगो बनाउन सकिन्छ । विकास अरूले गरिदिनुपर्छ भन्ने मानिसमा रहेको धारणामा परिवर्तन ल्याउनका लागि उनीहरूलाई सङ्गठित रूपमा सशक्त बनाउनु आवश्यक छ । 

मानिसहरू मिलेर सामूहिक रूपमा छलफल गर्ने, निष्कर्ष निकाल्ने, योजना बनाउने र कार्यान्वयन गर्दै त्यसको मूल्याङ्कन गर्दै अघि बढ्ने हो भने विकासका लागि हामी आफैसँग हाम्रा वरिपरि धेरै स्थानीय स्रोतहरू रहेका छन् । हामीमा हाम्रा लागि हामी आफै भन्ने भावना जाग्ने हो भने दिगो विकासका लागि कुनै विश्व विद्यालयमा सिद्धान्त पढ्नु पर्दैन । हाम्रा आफ्नै अनुभव र सिकाइहरूले विकास अभियानलाई तीव्र बनाउन सकिन्छ । समुदायमा रहेका सामुदायिक समूहबाट हामीले दिगो विकासका बारेमा धेरै सिक्न सक्छौँ ।

मानिसहरूलाई उनीहरूभित्र रहेको उर्वरशीलताले सिञ्चित गराउनका लागि, म पनि गर्न सक्छु भन्ने गराउनका लागि, आफ्नो जीवनको विश्लेषण गराउनका लागि, म को हुँ ? मैले गरे भने के हुँदैन ? भन्ने कुराको बोध गराउने प्रयास र प्रयत्न गरिन्छ, तब लाग्छ, साच्चै मानिसहरू भित्र शक्ति छ । ऊर्जा छ र उनीहरूले गर्न सक्छन् भन्ने कुरा सजिलै उनीहरूलाई मनाउन गाह्रो त छ । तर असम्भव भने छैन । काम गर्दै जाँदा, छलफल विश्लेषण गराउँदै जाँदा, मानिसहरू आफ्नो शक्तिलाई चिन्न थाल्छन् । आफू र आप्mनो समुदायको बारेमा विश्लेषण गर्दै व्यक्तिमा अन्तरनिहित क्षमता चिन्न थाल्छन् र गरे सकिन्छ भन्ने विश्वास जाग्न थाल्छ । त्यसपछि उनीहरू एक्लै होइन, सामूहिक रूपमा, सङ्गठित रूपमा कामको थालनी गर्छन् । 

आफू किन गरिब ? किन सीमान्तकृत ? किन कमजोर ? किन अरू मात्रै धनी ? किन आपूm मात्रै स्रोतविहीन ? म किन गर्न नसक्ने ? मैले चाहे भने गर्न सकिन्छ ? के म नेपाली नागरिक होइन, किन ममाथि विभेद ? के मेरो सम्मानित र मर्यादित रूपमा बाँच्न पाउने अधिकार छैन ? जस्ता धेरै प्रश्नहरूको  विश्लेषण गर्न थाल्ने अवस्थाले विकल्पविहीनता हट्छ । आलोचनात्मक चेतनाको विकास हुन्छ र मानिस आफ्नो जीवनप्रति उत्साही बन्न थाल्छन् । 

विकास के हो ? यो किन चाहिन्छ ? यो कसले गरिदिने हो ? के विकास गर्ने ठेक्का सरकारको मात्रै हो ? स्थानीय निकायको मात्रै हो ? के मैले मेरो ठाउँको विकास आफै गर्न सक्दिन ? विकासका लागि वरिपरि स्रोतसाधनहरू छैनन् ? जस्ता प्रश्नहरूको जवाफ खोज्दै जाँदा विकास निरन्तर चलिरहने प्रकृया हो, विकासले मानिसको जीवनमा सहजता ल्याउनुपर्छ । आफ्नो जीवनमा सहजता ल्याउने कुरा मैले आफै थाल्दा के बिग्रिन्छ ? जस्ता सकारात्मक सोचको विकास हुन थाल्दछ । 

आफ्नो विकास आफै भन्ने सकारात्मक सोच र चिन्तनको विकाससँगै मानिसहरूले आफ्नो घर अगाडिको खाल्डो पुर्न, बिग्रिएको धारा मर्मत गर्न, पानीको कुवा सफा गर्न, बाटो र घर आँगन सफा गर्न र आपूmले दिसा गर्ने चर्पी निर्माण गर्नका लागि गाविस नगरपालिकाको बजेट चाहिने अवस्थावाट मुक्त हुन थाल्दछ र आफै काम गर्नका लागि तयार भएका थुप्रै उदाहरणहरू छन् । 

स्थानीय समुदायका समस्याहरूको पहिचान विश्लेषण र विकल्पहरू खोजी खोलामा बाँसको पुल निर्माण गर्ने, बाटोको खाल्डो पुर्नका लागि माटो भर्ने वा ग्राभेलिङ गर्ने, घरमा चर्पी निर्माणका खाल्डो निर्माण गरी काठका प्यानहरू राख्ने, बाटोका वरिपरि नाली खन्ने, सामुदायिक समूहका घरहरू निर्माण गर्ने, विद्यालयको सरसफाइ गर्ने, विद्यालयमा अभिभावक, विद्यार्थी, शिक्षकका बीचमा अन्तरक्रिया गरी विद्यालयको पढाइमा सुधार गर्ने, सामुदायिक वनहरूको निर्माण तथा वृक्षरोपण गर्ने, खानेपानीका धाराको मर्मत, कुवाको मर्मत तथा सरफाइ, व्यक्तिगत तथा सामुदायिक सरसफाइ गर्ने, तरकारी खेती, नगदेबाली, बाख्रा, कुखुरा, बङ्गुरपालन, गाईपालन जस्ता कामहरू मार्पmत स्थानीय समुदायको जीविकोपार्जनमा सहजता ल्याउने कुरामा उनीहरू दृढतापूर्वक लागेका छन् ।

स्थानीय समुदाय आफैले सामुदायिक समूहमा बचत सङ्कलन गर्ने, सदस्यहरूलाई विभिन्न आयआर्जनका क्षेत्रमा न्यून ब्याजमा ऋण लगानी असुली गर्ने जस्ता कामहरूबाट धेरै समुदायका मानिसहरूले घुम्तीपसल, चमेना पसल, विभिन्न पशुपक्षीपालन गरेर जीविकोपार्जनलाई सहज बनाउने अभ्यास गरेका छन् । उनीहरू आफैले आफ्नो बचत नै परिचालन गरेर काम गरेकाले इमानदारिता छ, काम गर्ने जोश र जाँगर छ । सिकेका अनुभव सिकाइहरूको आदान प्रदान गर्ने कामले उनीहरूमा एउटा विश्वास सिर्जना गरेको छ ।

विकासका भौतिक पूर्वाधारहरू निर्माणका लागि स्थानीय स्रोतहरू मात्रै पर्याप्त नहुन सक्छन् तर स्थानीय स्रोतहरूको पहिचान र परिचालनबाट नहुने वा नपुग्ने स्रोतहरूका लागि मात्रै बाह्यस्रोतको खोजी गर्नुपर्छ । सबै स्रोतसाधनहरू सरकार वा अन्य सङ्घसंस्थाहरूले दिएपछि मात्रै विकास गरौँला भन्ने चिन्तनबाट मुक्त नभएसम्म विकासले गति लिन सक्दैन । त्यस्तो विकास दिगो पनि हुन सक्दैन । विकासका लागि सबैभन्दा पहिले मानवीय विकास आवश्यक छ । मानिसहरूका चिन्तन, धारणा र विचारमा परिवर्तन नआएसम्म गरिने भौतिक पूर्वाधारहरूको विकासले दिगोपना ल्याउन सक्दैन भन्ने मान्यतालाई आत्मसाथ गरेर सामुदायिक समूहमा सङ्गठित मानिसहरू अघि बढिरहेका छन् । 

सामुदायिक समूहहरूका गतिविधि, क्रियाकलापहरू तथा उनीहरूले व्यवहारमा प्रयोग गरी जीवनलाई सहज बनाउन गरिएका उत्तम अभ्यासहरूको आदान प्रदान गर्दै विकासलाई जनकेन्द्रित बनाउनका लागि आवश्यक अन्तरक्रिया मार्पmत सामाजिक रूपान्तरणको अभियानलाई अघि बढाउनका लागि हाम्रा साझा तथा सामूहिक प्रयासहरूबाट एकअर्कोले सिक्ने वातावरण सिर्जना गर्दछ ।

आम नागरिकहरू उत्पादन प्रणालीसँग जोडिने, आफ्ना लागि आफै उत्पादन गर्ने र ताजा तथा पोषणयुक्त खाद्यान्न खाने बानीको विकास गर्नका लागि सबै नागरिकहरूको सहभागिता र सचेतना दुवै आवश्यक छ । उत्पादन प्रणालीलाई समष्टिमा व्यवस्थित बनाउने योजना र त्यसको कार्यान्वयनविना हाम्रो परनिर्भरता घट्नै सक्दैन । परनिर्भरताबाट अन्तरनिर्भरतातिर लाग्ने हो भने नेपालीहरूले अभियानका रूपमा सामूहिक खेती प्रणाली, सामूहिक अभियानहरूमा सँगसँगै मिलेर अघि बढाउन आवश्यक छ । यसका लागि सामुदायिक समूहहरूको साझा अभियानले ठूलो योगदान गरेको छ ।

मानिसलाई भौतिक विकासभन्दा पहिले मानवीय विकास आवश्यक छ ।  निर्माण गरिएका कुवाहरू बन्द भएका छन् । सरकारी र अन्य गैरसरकारी संस्थाले उपलब्ध गराएका बोरिङहरूमा पानी आउँदैन र काम नलाग्ने अवस्थामा छन् । काम त भयो तर त्यसको सदुपयोग हुन सकेन । मानिसहरूले यो हाम्रो हो, हामी आफैले त्यसको संरक्षण गर्नुपर्छ भन्ने कुरा बुझ्दै नबझी प्राप्त भएका स्रोतहरूको संरक्षण र उपयोग हुन सकेन । 

समुदायका मानिसहरूले आफैले मिलेर बनाएका कुनै पनि सुविधाहरूको उपभोग र तिनीहरूको संरक्षणमा उनीहरू आफै जुट्ने र आफ्नो ज्ञान सीप  र श्रमको लगानी गरेका कारण मानिसहरूमा अपनत्व र स्वामित्वको भावना जाग्छ र विकासमा जनसहभागिताको लहर सिर्जना हुन सक्छ । विकासका लागि जनसहभागिता आवश्यक छ । दिगो विकासका लागि साझा र सामूहिक प्रयत्न आवश्यक छ भन्ने सन्देश हाम्रो सामुदायिक समूहहरू, मूल समितिहरू र समुदायमा आधारित संस्थाका प्रयासहरूले स्पष्ट पारेको छ । 

विकासका लागि स्थानीय रूपमै पर्याप्त स्रोतसाधनहरू छन् । समस्याको ठीक पहिचान, विश्लेषण र उपयुक्त विकल्पको छनौटको आवश्यकता छ । त्यसका लागि साझा र सामूहिक प्रयत्न, सङ्गठित अभ्यास आवश्यक छ । यो एक दिन वा एक वर्ष गरेर पूरा हुँदैन । यसका लागि नियमित अभ्यास आवश्यक छ । श्रम गर्ने, मिहिनेत गर्ने मानिसहरूको सम्मान गर्ने कुरा प्रमुख हो । काम गर्ने, मिहिनेत गर्ने मानिसहरू अपहेलित, अपमानित हुने अवस्थाको अन्त्य आवश्यक छ । सामाजिक रूपान्तरणको अभियानमा सामूहिक सङ्कल्प, प्रतिबद्धता र सामूहिक कार्यप्रणालीमा विश्वास आवश्यक छ । यसका लागि साझा सामुदायिक प्रयासहरू आवश्यक छन् ।

समुदायमा बस्ने मानिसहरूको विचार, धारणा र चिन्तनमा एकरूपता हँुदैन । फरक फरक खालको संस्कृति, आर्थिक, सामाजिक हैसियतमा रहेका समुदायका मानिस सबैलाई एकै पटकमा विकासका सन्दर्भमा परिचालन वा सहभागी गराउन आफैमा कठिन काम हो । मानिसहरूले आफैले गर्दै आएका अभ्यासबाट सिक्दै जाने हुँदा कतिपय समुदायमा मानिसहरू उपभोक्ता समितिको सदस्य हुनु भनेको कमाउने राम्रो अवसरका रूपमा बुझ्छन् । 

समुदायका मानिसको यही नकारात्मक बुझाइले सरकारी तथा गैरसरकारी निकायमा निश्चित मानिसको पहुँच स्थापित भएको हुन्छ । उनीहरू कागजी प्रकृया मिलाउन खप्पिस हुन्छन् । सरकारी तथा गैरसरकारी निकायमा कर्मचारी प्राविधिकहरूलाई कसरी रिझाउने र आफ्नो उद्देश्य पूरा गर्ने भन्ने ध्याउन्नबाहेक विकास निर्माणका परियोजनाहरू गुणस्तरीय बनाउनेभन्दा पनि खल्तीमा कसरी आउन सक्छ भन्ने मान्यतामा हिँडेका हुन्छन् ।

कतिपय समुदायका मानिसहरूले तत्काल फाइदा खोज्छन् । आज के पाइन्छ भन्ने जिज्ञासा राख्छन् र केही नपाउने जवाफपछि उनीहरू किन सहभागी हुने भन्ने प्रश्न उठाउँछन् र छलफल, अन्तरक्रिया र बैठकहरूमा उपस्थित हुन मान्दैनन् । परिणाम के हुन्छ भने टाठाबाठाहरूले अवसर छोपिरहन्छन् र उनीहरूको पहुँच स्वतः स्थापित हुन पुग्छ ।

 सीमान्तीकृत समुदायका मानिसहरूको धारणामा परिवर्तन नआएसम्म उनीहरू जहिले पनि सबै खाले अवसरहरू गुमाइरहेका हुन्छन् । एक त उनीहरू असङ्गठित रूपमा रहेका छन् । आर्थिक सामाजिक अवस्था कमजोर रहेका कारण उनीहरूमा एक खालको डिप्रेसनहीन भावना जीवित छ । बाँचेर के गर्ने, केही गर्न सकिँदैन, भाग्यले यस्तै गरेको छ जस्ता सङ्कुचित अवस्थामा रहेका हुन्छन् । उनीहरूमा विद्यमान रहेको यही अवस्थाको अन्त्यका लागि उनीहरूमा हामी गर्न सक्छौँ भन्ने आत्मबलको विकास गर्नु अहिलेको प्रमुख चुनौती हो । 

यही पृष्ठभूमिमा गैरसरकारी संस्था सहकर्मी समाज सुर्खेत सीमान्तकृत समुदायलाई सामुदायिक समूहमा सङ्गठित गर्दै उनीहरूमा आफ्नो समस्याको पहिचान गर्ने, विश्लेषण गर्ने र समाधानका विकल्पहरूको खोजी गर्दै स्थानीय साधनस्रोतहरूको अधिकतम परिचालन गरी मानिसहरूको जीवनमा सहजता ल्याउने अभियान, दिगो विकास प्रकृया र अभ्यास विगत दुई दशकदेखि निरन्तर रूपमा गरिरहेको छ ।
champha.bhandari@gmail.com


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ