बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी डलर सर्वाधिक महंगो हुँदा नेपाली रुपैयाँ इतिहासकै कमजोर, अर्थतन्त्रमा कस्तो असर गर्ला ?

शुक्रबार, २२ असार २०७५, ११ : २६
शुक्रबार, २२ असार २०७५

काठमाडौं–अमेरिकी डलर हालसम्मकै महंगो भएको छ । यसको मतलब नेपाली रुपैयाँ हालसम्मकै कमजोर हो । शुक्रबारको विनिमयदर अनुसार एक अमेरिकी डलर खरिद गर्न १ सय १० रुपैयाँ ६२ पैसा खर्च गर्नुपर्छ । 

राष्ट्र बैंकका अनुसार एक डलरको खरिददर १ सय १० रुपैया २ पैसा हो भने बिक्रिदर १ सय १० रुपैयाँ ६२ पैसा हो ।  लगातार बढ्न थालेको डलरको भाउ शुक्रबार सर्वाधिक महंगो भएको छ । 

पूर्व गर्भनर समेत रहेका अर्थविद् दीपेन्द्र बहादुर क्षत्री हाम्रो जस्तो अर्थतन्त्र भएको देशमा डलरको भाउ महंगो हुँदा त्यसले समग्र अर्थतन्त्रमा नराम्रो असर गर्ने बताउँछन्  । क्षत्री  नेपालको अहिलेको बजेट भन्दा व्यापार घाटा बढी हुन लागिसकेको अवस्थामा डलरको भाउ बढ्दा आयातमुखी अर्थतन्त्र भएको देश झन् थला पर्न सक्ने बताउँछन् ।  

अर्थविद् क्षत्री  रेमिट्यान्स पठाउने नेपालीका लागि भने यसले फाइदा हुने बताउँछन् । तर रेमिट्यान्स भन्दा व्यापार घाटा उच्च रहेको अवस्थामा नेपाली रुपैयाँको अवमूल्यनले समग्र अर्थतन्त्रलाई असर गर्न सक्ने विज्ञहरु बताउँछन् । 

नेपाली मुद्रा भारतीय मुद्रासँगको स्थिर विनिमयदरका कारण भारतीय मुद्रा कमजोर हुने वित्तिकै त्यसको सिधा असर नेपाली रुपैयाँमा पर्न जान्छ । अहिले एक डलर बराबर भारतीय ६८.९५ रुपैयाँ छ । झण्डै दुई वर्ष अगाडि एक अमेरीकी डलर एक सय १० रुपैयाँ २८ पैसा सम्म पुगेको थियो । डलर महंगिदा नेपालको भारतीय स्थिर विनिमयदरलाई पुनरावलोकन गर्नुपर्ने माग उठ्ने गरेको छ । कच्चा पेट्रोलियम पदार्थको मूल्य बृद्धिका कारण भारतीय मुद्राको अवमूल्यन भएको जनाइएको छ ।  

डलरको बृद्धिले आयातमुखि अर्थतन्त्र झन् शिथिल हुँदै जाने
नेपाल आयात मुखी अर्थतन्त्र भएको देश हो । व्यापार निकासी प्रवद्र्धन केन्द्रका अनुसार साउनदेखि बैशाख सम्म (१० महिनामा ) नेपालको वैदेशिक व्यापार १० खर्ब ४९ अर्ब रुपैयाँ भएकोमा  आयात मात्रै ९ खर्ब ८३ अर्ब रुपैयाँ छ भने निर्यात ६६ अर्ब रुपैयाँ मात्र छ । 

यसको मतलव नेपालमा ९३.७ प्रतिशत वस्तु तथा सामाग्री आयात हुन्छ भने ६.३ प्रतिशत मात्र निर्यात भएको छ । यसकारण डलरको भाउ बढेसँगै  हरेक सामानको मूल्य बृद्धि भएर आउँछ ।
 नेपालीहरु झन मूल्य बृद्धिको मारमा पर्ने देखिन्छ ।  उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा डलरको भाउँ महंगिदा उद्योगी व्यवसायीलाई पनि समस्या पर्ने बताउँछन् । कतिपय उद्योगको लागि चाहिने कच्चा पदार्थ विदेशबाटै ल्याउनुपर्ने भएकाले लागत बढ्न सक्ने बताउँछन् । 

तर, निर्यात बढाउँन सके यसले फाइदा दिने उनको तर्क छ । राष्ट्र बैंकका अनुसार बैशाख सम्ममा मूल्य बृद्धिदर ४.१ प्रतिशत छ । 

विप्रेशण र निर्यातमा फाइदा 
नेपाल राष्ट्र बैकका अनुसार बैशाखसम्ममा ६ खर्ब ६ अर्ब  रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स भित्रनेक्रम बढेको अवस्थामा भने डलरको मूल्य बृद्धिबाट फाइदा लिन सकिनेछ । 

 वस्तु तथा सेवा बिक्रिको आयमा बृद्धि हुनेछ भने पर्यटनन क्षेत्रको आय पनि बढ्नेछ ।  निर्यात बढाउन सके डलरको मूल्य बृद्धिको फाइदा लिन सकिने छ । अहिले नेपालले ६६अर्बको सामान मात्र विदेश निर्यात गरेको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप