शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी ठग्छन् ‘प्लस टु’ कलेजले

शुक्रबार, २२ असार २०७५, ११ : १२
शुक्रबार, २२ असार २०७५

काठमाडौँ । चितवनकी श्रेया अर्याल २०७३ सालको असारमा एसईईको नतिजा प्रकाशन भएलगत्तै प्लस टु कलेजको खोजीमा लागिन् । 

एसईईमा ए प्लस अङ्क प्राप्त गरेकी श्रेया राम्रो प्लस टुको खोजीमा लागिन् । ३ दशमलव ८५ जीपीए ल्याएकी श्रेया अब्बल स्तरकी विद्यार्थी हुन् । 

उनले विभिन्न प्लस टु कलेजहरूमा इन्ट्रान्स दिइन् । सबैजसो कलेजमा उनको नामसमेत निस्कियो । 

अब बेला भयो भर्ना गर्ने । श्रेयाको अभिभावकले छुटको कुरा गरे । विभिन्न कलेजहरूले आआफ्नो छुटको फेहरिस्त दिए । 

बागबजारस्थित केएमसी कलेजले श्रेयालाई ६९ प्रतिशत छुटको ललिपप देखायो । कुल १ लाख १५ हजार वार्षिक शुल्क लाग्नेमा त्यसको ३१ दशमलब प्रतिशत अर्थात् जम्मा ३६ हजारमा पहिलो वर्षको सबै शुल्क पूरा हुने कलेजले बतायो । 

तर कलेजले अर्को एउटा शर्त पनि तेर्सायो कि कलेजको आन्तरिक परीक्षामा अहिलेकै जस्तो अङ्क प्राप्त गर्नुपर्नेछ । 

एसईईमा ए प्लस ल्याउने विद्यार्थी अब्बल विद्यार्थी नै भए पनि सधँै त्यही अनुपातमा अङ्क आउँछ भन्ने हुँदैन । कलेजको आन्तरिक परीक्षामा पनि उस्तै नतिजा नआए चौथो महिनाबाट पूरै शुल्क तिर्नुपर्ने भनेपछि श्रेयाका अभिभावकले उनलाई केएमसी कलेजमा भर्ना गरेनन् । 

श्रेयाकी आमा भवानी अर्यालले श्रेयाका लागि अर्को कलेज खोज्न थालिन् । 

काठमाडौंमा सामान्य जागिर खाएर बसिरहेका श्रेयाका परिवारले उनको अध्ययनमा चर्को खर्च गर्न सक्ने अवस्था थिएन । 

त्यसपछि केही सस्तो कलेज खोज्दै उनीहरू पुगे निस्ट कलेजमा । 

निस्ट कलेजले यसरी ठग्यो विद्यार्थी

वनस्थली बस्ने भएकाले लौनचौरमा रहेको निस्ट कलेज श्रेयाका लागि सहज पनि थियो । त्यसपछि उनीहरू पुगे निस्ट कलेजमा भर्नाका लागि । एसईईमा राम्रो अङ्क ल्याएकी श्रेयाको मार्कसिट देखेर कलेज पनि लोभियो ।  

उनलाई चाँडोभन्दा चाँडो भर्ना गर्न कलेजले दबाब दिइरह्यो । निस्ट कलेजले प्रतिवर्ष १ लाख १० हजार शुल्क लिने गरेको बतायो । तर श्रेया अब्बल विद्यार्थी भएकाले उनलाई ‘हेभी डिस्काउन्ट’ दिने ललिपप देखाइयो । 

श्रेयालाई पहिलो वर्ष जम्मा २० हजारमा अध्यापन गराउने भन्दै कलेजले श्रेयाको भर्ना लियो । श्रेयाले अध्ययनमा आफूले सक्दो मिहिनेत गरिन् र कक्षा ११ को परीक्षा दिइन् । 

तर कक्षा १२ को भर्ना लिने समयमा सुरुवातमै श्रेयाको अभिभावकसँग निस्ट कलेजले ३५ हजार रकम माग गर्यो । 

श्रेयाकी आमा भवानी अर्यालले पहिलो वर्ष जम्मा २० हजार तिरेर पढेकाले दोस्रो वर्ष पनि जम्मा २० हजारमै पढ्न पाउनुपर्ने शर्त राखिन् ।

तर कलेजले ‘डिस्काउन्ट पहिलो वर्षका लागि मात्रै’ भएको भन्दै दोस्रो वर्षमा पूरै शुल्क तिर्नुपर्ने अड्डी राख्यो ।

कक्षा ११ मा २० हजार, १२ मा १ लाख १० हजार

भवानीले कलेजका प्रिन्सिपल माधव बरालसँग पनि कुरा गरिन् । बरालले पहिलो वर्षको डिस्काउन्ट दोस्रो वर्षमा नहुने भन्दै फिर्ता पठाइदियो । बरु अहिले आफूसँग भएको जति पैसा दिन भन्दै कक्षा ११ को नतिजामा कलेजका कुल विद्यार्थीमध्ये टप १०० मा परे छुट दिने बरालले बताए । 

जब कि पहिलो वर्ष भर्ना गर्ने समयमा कक्षा ११ को नतिजामा राम्रो अङ्क अर्थात् विशिष्ट श्रेणी ल्याए पहिलो वर्षको जस्तै छुट पाउने बताइएको थियो । भवानीले केही उपाय नभए पनि पहिलो किस्ताबापत ३० हजार तिरेर श्रेयाको भर्ना गराइन् । 

वैशाखमा भर्ना गराएकी भवानीलाई दशैंअगाडि कलेजले शुल्क तिर्न आउन ताकेता गर्यो । भवानीले फेरि त्यही कुरा बताइन् । तर उनको माग सुनुवाइ भएन र फेरि पनि रेडिमेड जवाफ आयो, कक्षा ११ को नतिजा राम्रो भए छुट दिइने । त्यसपछि भवानीले दशैंलगत्तै अर्को ३५ हजार तिरिन् । 

पुसमा कक्षा ११ को नतिजा प्रकाशन भयो । श्रेयाले फिजिक्सबाहेक अन्य विषयमा राम्रै अङ्क हासिल गरिन् । तर १ हजार ३ सय विद्यार्थी रहेको निस्ट कलेजको ‘टप १००’ मा पर्न सकिनन् श्रेया । जसका कारण श्रेयाको शुल्क दोस्रो वर्ष पूरै अर्थात् १ लाख ५ हजार नै तिर्नुपर्यो । सामान्य जागिर खाने श्रेयाको बुबालाई कलेजको चर्को शुल्क तिर्न असम्भवजस्तै भए पनि उनले बाध्य भएर त्यो शुल्क तिर्नुपर्यो । 

धादिङका दिलिप अधिकारी पनि २०७४ सालमा राम्रो अङ्कका साथ एसइई परीक्षामा उत्तीर्ण भए । विभिन्न कलेज चहारेर अन्त्यमा उनी पनि निस्ट कलेजमै भर्ना भए । किनकि निस्ट कलेजले दिलिपलाई ४० प्रतिशत छुट दिने बतायो । 

दिलिपलाई प्रतिवर्ष ९९ हजार शुल्क लाग्ने बताइएको थियो । त्यसको ४० प्रतिशत छुट हुँदा दिलिपका अभिभावकले पहिलो वर्ष ६० हजार शुल्क भर्नाको समयमा तिरे । तर ६० हजार भने पनि ल्याब र अन्य शुल्क जोडेर दिलिपका अभिभावकसँग कलेजले पहिलो वर्ष ७० हजार असुल गर्यो ।

वैशाखको अन्तिममा कक्षा ११ को परीक्षालगत्तै कलेजले दोस्रो वर्षमा फेरि भर्ना सुरु गर्यो । कलेजले दिलिपका अभिभावकसँग भर्नाबापत अहिले नै ३० हजार शुल्क लिइसकेको छ । पहिलो वर्ष पाएको छुट दिलिपले दोस्रो वर्ष पाएका छैनन् । उनलाई पनि श्रेयालाई जस्तै ललिपप देखाइएको छ, कक्षा ११ को नतिजा राम्रो गरे छुट दिने ।

कक्षा ११ को नतिजा करिब पुसमा आउँछ । त्यस समयसँग कलेजले विद्यार्थीसँग करिब ७० प्रतिशत रकम असुल गरिसकेको हुन्छ । 

त्यसपछि विद्यार्थीको नतिजा राम्रो आएमा बाँकी रकम छुट दिने वा यो र त्यो बहाना देखाएर बाँकी रकम पनि असुल गर्ने गर्छ । 

बागबजारको केएमसी कलेजमा पढ्ने बालाजुकी प्रतीक्षा खनाल (नाम परिवर्तन) को अवस्था पनि उस्तै छ । कक्षा ११ को भर्ना गर्दा जम्मा ३५ हजार तिरेकी प्रतीक्षाले कलेजको आन्तरिक परीक्षामा राम्रो गर्न नसकेको भन्दै पूरै शुल्क तिर्न बाध्य पारियो । 

प्रतीक्षाले पहिलेको सहमतिविपरीत चौथो महिनाबाट १ लाख ५ हजारले हुन आउने रकमको किस्ता तिर्न सुरु गर्नुपर्यो । प्रतीक्षाकी आमा भन्छिन्, ‘पहिले यो र त्यो डिस्काउन्ट हुन्छ र यस्तो हुन्छ भन्छन् । तर जब विद्यार्थी भर्ना हुन्छन्, अनि यो भएन र त्यो भएन भनेर थप शुल्क उठाउन थाल्छन् । कोट लगाउने ठगहरू छन् कलेजमा त ।’

कक्षा ११ को डिस्काउन्ट कलेजको ‘कमन कन्सेप्ट’ (बिजनेस पोलिसी) मात्रै

अहिले प्लस टु कलेजहरूको ‘कमन कन्सेप्ट’ हो यो । विद्यार्थी भर्ना गराउनका लागि कक्षा ११ मा हेभी डिस्काउन्ट दिने र त्यो विद्यार्थी कक्षा १२ मा पुगेपछि यो वा त्यो बाहाना बनाएर उनीहरूसँग पूरै शुल्क असुल गर्ने कलेजले पोलिसी हुने गरेको छ ।

अधिकांश अभिभावकले कक्षा १२ मा यो डिस्काउन्ट पाइन्छ कि पाइँदैन भनेर पनि सोध्दैनन् । अभिभावकले नसोधेमा त्यसको जवाफ दिइरहनु परेन र कक्षा १२ मा पूरै शुल्क असुल गर्न पाइयो । कोही अभिभावकले कक्षा १२ को शुल्कको बारेमा सोधेमा उनीहरूको रेडिमेड जवाफ हुन्छ, आन्तरिक परीक्षा वा कक्षा ११ को परीक्षामा राम्रो गरेमा छेट पाइन्छ । तर अधिकांश कलेजको यो बिजनेस पोलिसी मात्रै हो । 
बसुन्धरास्थित एक कलेजका सञ्चालकका अनुसार प्लस टु कलेजको यो ‘कमन पोलिसी’ नै हो, राम्रा विद्यार्थी तान्नका लागि कक्षा ११ मा धेरै छुट दिने । अधिकांश कलेजले दिने छुट र पहिलो वर्ष लिने पैसाले कलेजको खर्च पनि धान्दैन । 

तर कलेजले आफू घाटामा गएर अरू कुनै विद्यार्थीको उद्धार गरेको होइन । पहिलो वर्षको घाटा पूर्ति गर्ने मात्रै होइन, दोस्रो वर्षमा सबै जोडेर प्रशस्त नाफा कमाउन सबै शुल्क जोडिन्छ र पहिलो वर्ष २० हजार तिर्ने विद्यार्थीका अभिभावकबाट दोस्रो वर्ष १ लाखको हाराहारीमा शुल्क असुल गर्ने गरिन्छ । 

१२ मा चर्को शुल्क लिनु अपराध : शिक्षा सचिव

यता शिक्षा मन्त्रालयका सचिव खगराज बराल पनि कक्षा १२ को चर्को शुल्क लिनु अपराध भएको बताउँछन् । 

कक्षा ११ मा २०÷२२ हजारमा पढाउने तर कक्षा १२ मा लाख लाख रकम लिनु गलत भएको भन्दै अब त्यसबारे खोजविन गरिने सचिव बरालले बताउँछन् । 

अहिले कक्षा ११ र १२ पनि विद्यालय शिक्षा नै भएकाले अब कति शुल्क लिने भनेर सम्बन्धित स्थानीय निकाय तथा शिक्षा शाखाबाट स्वीकृति लिनुपर्ने बराल बताउँछन् । 

यदि कसैले कक्षा १२ मा अत्यधिक शुल्क लिन्छ भने त्यस्ता कलेजलाई छानविन गरी कारवाहीको दायरामा ल्याइने पनि सचिव बरालले बताए । 

ऐन र कानुनमा जे–जे लेखिए पनि अहिलेको प्लस टु कलेजको अराजकता र ठगी हुन् यी । 

कक्षा ११ मा विद्यार्थी पाउन शतप्रतिशतसम्म छुट दिने तर कक्षा १२ मा पुगेपछि ढाड सेकिने गरी असुल गर्ने प्लस टु कलेजहरूको कमन पोलिसी हो । अब कक्षा ११ को भर्ना गर्ने बेलामा नै कक्षा १२ मा लाग्ने कुल शुल्क कति हो भनेर सम्झौता नगरे कक्षा १२ मा अभिभावकको ढाड सेकिने निश्चित छ ।

प्लस टु कलेजले यो वा त्यो बाहाना बनाएर विद्यार्थी र अभिभावकलाई ठग्ने भएकाले पहिले नै स्पष्ट सम्झौता नगरे कक्षा १२ मा पुगेपछि लाखको बिटो बोकेर भर्ना गर्न जानुपर्ने हुनसक्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप