शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सरकारको नाकैमुनिका बस्तीमा जनता रातभर ‘जाग्राम’ !

शुक्रबार, २२ असार २०७५, १० : ४९
शुक्रबार, २२ असार २०७५

तेजेन्द्र केसी

बुटवल– बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका ४३ वर्षीय ताराबहादुर गुरुङको दुईवटा कोठा भएको एक तले टिनले छाएको घर छ ।

४ जनाको परिवार यही घरमा बस्छन् । दिनभर अटो ई–रिक्सा चलाएर आफ्नो घर खर्च चलाएका गुरुङ तिनाउमा बाढी आउन थालेपछि जाग्राम बस्न थालेका छन् । यो उनको हरेक वर्षको नियती हो ।

‘जब राति पानी पर्छ, बाढीले खोलाको डिल भत्काउँदै घर हान्ने हो कि भन्ने त्रासमा टर्चलाइट बालेर हेर्न जान्छु ।’ बुधबार दिउँसो घरमा अटो रिक्सा चार्ज गर्दै रातोपाटीसगँ गुरुङले भने, ‘तिनाउ कति माथि आयो भन्दै टर्च लाइट बालेर हेर्न पुग्छु । दिउँसो बाढी आउँदा देखिन्छ । रातिमा समस्या हुन्छ । अब वर्षाभर सुत्ने कुरा पनि भएन ।’

२०७३ साउन ११ गते तिनाउ नदीमा आएको बाढीले देवीनगर झोलुङ्गे पुल बगाउँदा उनको घरसहित ७ वट घर बगाएको थियो ।

उनलाई जस्तै तिनाउ नदीमा बाढी आउँदा बुद्धनगर क्षेत्रका सयौँ परिवारमा सधैँ त्रास हुन्छ । उनीनहरूको चिन्ता बाढीले खोलाको डिल भत्काउँदै आफ्नो घर परिवार सत्यनास पार्ला कि भन्ने हो ।

बर्खामा तिनाउ नदीले  बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका तथा रूपन्देहीका दक्षिणका विभिन्न गाउँहरू समस्या पार्ने गर्छ ।

प्रदेश सरकारको नाकैमुनिको बस्ती मानिने बुटवलको सुकुम्बासी बस्तीको केही भाग बगाउने डर छ  ।

यहाँका अधिकांश बस्ती तिनाउ नदी तटमा छन् । नदी तटमै बजार र बस्तीको विकास बढ्दै गएपछि जोखिम पनि उही अनुपातमा बढिरहेको छ । तर पूर्व तयारीमध्येकै नदी तटमा जोखिमपूर्ण तरिकाले बस्ती बस्न नदिनेतर्फ कसैको ध्यान गएको पाइँदैन ।

रूपन्देहीका  १६ मध्ये १२ स्थानीय तहका बस्ती नदी किनारमा छन् । जहाँ तिनाउ नदीको किनारमा सबैभन्दा धेरै बस्ती छन् । तर बस्तीमा कति नागरिक उच्च खोजीम छन्, यकिन तथ्याङ्क जिल्ला दैवीप्रकोष उद्धार समितिसँग छैन ।

उप–महानगरमा वडा नंं १, २, ११, १२ र १३ का केही बस्ती नदी तटमा छन् र जोखिममा पनि । तिलोत्तमा नगरपालिको वडा नं १, ८, ११ जोखिममा छन् । अन्यत्र पनि कतिपय घर खोलासँगै बनेका छन् । तिनाउको पुलको मुनि त बीच खोलामै कैयौं घर ठडिएका छन् । यस्तो अवस्थामा जोखिम बढ्नु स्वभाविक रहेको विज्ञहरू बताउँछन् ।

तिनाउ नदी छेउमा बस्ने अधिकांश गैरसुकुम्बासी रहेको नगरपालिकाका पदाधिकारी बताउँछन् । अव्यवस्थित बसोबास भएकै क्षेत्रमा पूर्वाधार निर्माण गरी नगरपालिकाले लाखौँ रकम खर्चिएको छ ।

चालु आर्थिक वर्षमा मात्रै ८० लाखभन्दा बढी रकम नदीको बग्ने बस्तीमा खर्च भएको छ । बुटवलको बिनापाते, हात्तीसँुड, तिनाउनगर, मजुवा, बुद्धनगर, प्रगतिनगर बाढीको उच्च जोखिमयुक्त क्षेत्र हुन् । यी बस्तीमा बस्ने करिब १५ हजार जनसङ्ख्या उच्च जोखिममा रहेको बताइन्छ ।

बाढीको प्रकोपको इतिहास यस्तो छ  

बुटवलको तिनाउ नदीमा बाढीका त्रास  प्रत्येक वर्ष हुने गर्छ । बाढीले कहिले  घर खेत बगाउने त कहिले खेतीमा क्षति पुर्याएको समान्य नै हो ।

पाल्पाबाट आएको तिनाउ बुटवल उपमाहानगरपालिका, तिलोत्तमा नगरपलिका हँुदै भारत जान्छ ।

तिनाउको पानीको सिंचाइसँगै बेला–बेला ठूला–ठूला विपत्ति पनि ल्याएको छ ।

२०३८ सालमा तिनाउमा ठूलो बाढी आउँदा पूर्वपश्चिम राजमार्ग जोड्ने तिनाउ पुल बगाएको थियो । त्यहीँ तिनाउ नदी फुटेर तिनाउ र दावन बनेको थियो ।

बाढीले दाउरे टोलको एक सय ५० घरधुरी बगाएको थियो । एक सयभन्दा मृत्यु भएको थियो ।

२०५४ सालमा पनि २०६५ सालमा पनि यहाँ बाढी आएको थियो । तिनाउ नदीका बारेमा जानकार इन्जिनियर खेटराज दाहालले तिनाउमा आउने बाढीबारे पूर्व जानकारी हुन नसके ठूलो क्षति पु¥याउन सक्ने बताए । उनले तिनाउ नदीको प्राकृत्तिक बहावलाई नै रोकेर बस्ती बसेपछि जोखिम उच्च रहेको बताए ।

रूपन्देहीका रोहिणी, दानव, तिनाउ, कञ्चन यहाँका ठूलो नदी हुन् । गत वर्षको बाढी बुटवल–१३ स्थित हात्तीसँुढको झोलुङ्गे पुल बगाएको थियो । त्यस्तै नदीको कटानले बुटवल–११ बुद्धनगरमा २० घरधुरी विस्थापित भएका थिए ।

तीमध्ये ७ जनामा मात्र दैवी प्रकोष उद्धार समितिबाट ७ हजारका दरले क्षतिपूर्ति रकम आए पनि बाँकीले पाएका छैनन् । अहिले केहीे दिनदेखि परेको पानी तिनाउको बाहब बढेको छ । तिनाउमा करिब २० वटा खहरे खोला मिसिन्छन् । 

प्रदेश सरकारको तयारी

प्रदेश ५ सरकारले विपद् व्यवस्थापका लागि ६ करोड रकम छुट्याएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले विपद व्यवस्थापनका लागि प्रदेश सरकारले प्रर्याप्त तयारी गरेको बताए ।
प्राकृतिक प्रकोप र विपद्मा परेका नागरिकलाई राहत वितरणका लागि मापदण्ड नै बनाएको छ । प्रदेशिक विपद् व्यवस्थापन कोषको कार्यविधि बनाई काम सुरु  गरेको छ ।  

प्रदेश ५ भित्र पर्ने सबै सम्भावित जोखिमयुक्त क्षेत्रमा राहत र उद्धारका लागि सरकारले मापदण्ड नै बनाएर ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई पत्राचार गरिएको मन्त्री केसीले बताए ।

सुस्ताको समस्या, तिनाउ क्षेत्रको समस्या, तराईको डुबान र पहाडको पहिरोबाट क्षति न्यूनीकरणका उपायका बारेमा सजग रहेको मन्त्री केसीको दाबी छ ।

प्रदेशले सरकारको राहत वितरण मापदण्डअनुसार प्राकृतिक प्रकोपबाट मृत्यु भएमा परिवारले प्रतिव्यक्ति एक लाख रुपियाँ राहत पाउनेछन् भने पशु चौपाया मरेमा ५० हजारदेखि एक लाख रुपियाँसम्म क्षतिपूर्ति दिइने व्यवस्था गरिएको छ ।

यस्तै प्राकृतिक प्रकोपबाट घर नष्ट भएमा प्रतिघरले ३५ हजार वा ३ बण्डल जस्तापाता पाउने केसीले बताए ।

बढी जोखिमयुक्त नदीहरूमा पूर्व सूचना प्राप्त गर्न आधुनिक पूर्वसूचना प्रणाली जडान गरिने छ र यस्का लागि १ करोड ५० लाख रकम छुट्याइएको छ ।

प्रदेश सरकारले विपद व्यवस्थापन सामग्री खरिद र भण्डारणका लागि रु. १ करोड ७६ लाख विनियोजन गरेको छ ।

नगरपालिकाहरूको तयारी

विपत्त व्यवस्थापका लागि केन्द्र  प्रदेश र स्थानीय तह मिलेर समाधान गर्ने रणनीतिअनुसार यहाँ तिनाउ नदीले पार्ने विपत्तको विषयमा पूर्वतयारी  र उद्धारका लागि बजेट छुट्याएका छन् ।

तिलोत्तमा  नगरपालिकामा गतवर्ष नै मेयर  विपद् व्यवस्थापन कोष खडा गरेको थियो । जसमा विभिन्न सङ्घ संस्थाहरूले रकम जम्मा गरेका थिए । अहिले पनि नगर र वडा स्तरीय विपद् व्यास्थापनका लागि समिति  गठन गरिएको छ ।  तिलोत्तमा नगरपालिका प्रेश सल्लाहकार बीपी गौतमका अनुसार उक्त नगरपालिकाका १, ८ र ११ वडामा बढी समस्या छ । गतवर्ष पनि ती वडाहरू बाढीले डुबानमा पारेको थियो ।

बुटवल उपमहानगरपालिकामा प्रकोपको पूर्व तयारी र उद्धारमा प्रयोग हुने सामग्रीहरूको भण्डारणसहितको केन्द्र स्थापना भएको छ । रेडक्रस र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) को सहकार्यमा उक्त केन्द्र स्थापना गरिएको हो ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले प्रकोपको पूर्वतयारीका लागि उपमहानगर गम्भीर भएर लागेको बताइन् ।

उनले यसका लागि छुट्टै केन्द्र नै स्थापना गरेर फोकल पर्सन तोकिएको पनि जानकारी दिइन् ।

उपमहानगर मातहतको केन्द्रमा रेडक्रस, यूएनएफपीए, सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासनलगायत छन् ।

बुटवल उपमहानगरमै उद्धारमा वितरण गरिने त्यस्ता सामग्रीहरूसहितको कन्टेनर राखिएको छन्

राजनीतिक आडमा पुलमुनि बस्ती
पूर्व–पश्चिम राजमार्गअन्तर्गत तिनाउपुलमुनि केही घर छन् ।

ती घरको सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएको छ ।

नगरपालिको अघोषित सहयोगले ती घरको सङ्ख्या वृद्धि भएको हो । जब बाढी आउन थाल्छ अनि ती बस्तीहरूमाथि चासो जान्छ ।

खासगरी अवसरको खोजीमा सहर नजिक बसोबास गर्नेहरूलाई राजनीतिक दलहरूले  संरक्षण गर्दा पुलमुनि बस्तीको विकास भएको छ ।

राजनीतिक दलहरूले भोट बैङ्कका रूपमा यस्ता बस्ती प्रयोग गर्ने गर्छन् । अझ उपमहानगरपालिकाले अतिक्रमण गरेर बसेका बस्ती हटाउनुको सट्टा खानेपानी र बिजुलीको लागि सिफारिस दिने गरेपछि तिनाउको किनार घरैघरले भरिएको हो । 

बुटवल बहुमुखी क्यापसमा पूर्वप्रमुख डा. माधव पन्थीले बाढीको जोखिमा सबैभन्दा धेरै ती बस्ती नै रहेको बताउँछन् । तिनाउले पटक–पटक ठूलोे विपत्ति निम्त्याएको इतिहास छ । अहिले बस्ती खोलाको किनारा र पुलमुनि पुगेकाले ठूलो जनधन क्षति कुनै दिन हुन सक्ने अनुमान उनले लगाए । तिनाउसम्बन्धी अध्ययन गरेका इन्जिनियर खेटराज दाहालले पानी पर्ने क्रम बढ्दै गएकाले यसबारे स्थानीय सरकार र सरोकारवाला बेलैमा सचेत हुनुपर्ने बताए ।

इन्जिनियर दाहालले खोलाको प्राकृतिक बहाव मिचेर घर बनाउनेलाई कारबाही गर्न नसक्दा एक पछि अर्को समस्या थपिएको बताए ।

तिनाउ, सुखौरा, कञ्चन, रोहिणीलगायत खोलाहको बहाव क्षेत्रमा सुकुम्बासीको नामा सयौँ घर बनेको छन् ।

हरेका पार्टीका नेताहरूले आफ्नो भोट बैङ्कका रूपमा सार्वजनिक जग्गा र नदी किनारामा बस्दै आएका बस्ती हटाउन चाहेनन् ।

अहिले विपद् तिनै बस्तीमा आउने खतरा छ ।

कतिपय ठाउँमा त राजनीतिक दलका विभिन्न तहका नेता कार्यकर्ताले जग्गा भागवण्डा गरेर आफन्तका नाममा राखेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप