बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चार सेलिब्रिटी र उनका क्यान्सरसँगको लडाईंका चार कहानीः मनिषाले भनिन्, ‘यस्तो पीडाभन्दा त मृत्यु सहज’

शुक्रबार, २२ असार २०७५, १० : १२
शुक्रबार, २२ असार २०७५

बलिउड नायिका सोनाली बेन्द्रे क्यान्सरसँग जुधिरहेकी छिन् । सोनालीले अझै आफूलाई कुन क्यान्सर भएको जानकारी दिएकी छैनन् । उनले सोसल मिडियामा आफूलाई हाइग्रेड क्यान्सर भएको जानकारी दिएकी छिन् जसबाट यो अनुमान लगाउन सकिन्छ कि उनको क्यान्सर चौथो स्टेजमा पुगिसकेको छ र यो निकै खतरनाक साबित हुनसक्छ ।

यद्यपी, अहिलेको स्थितीमा क्यान्सरको उपचार सम्भव छ । सोनालीअघि यस्ता केही सेलिब्रिटी छन् जो क्यान्सरसँगको लडाईं जितेर अब सामान्य जीवनयापन गरिरहेका छन् । आउनुहोस्, यिनै सेलिब्रिटीको कहानीबारे पढौंः

मनिषा कोइरालाः

नेपाली मूलकी भारतीय अभिनेत्री मनिषा कोइरालालाई सन् २०१२ मा पाठेघरको क्यान्सर भएको खबर सार्वजनिक भएको थियो । त्यसपछि उनी उपचारका लागि ६ महिनाका लागि अमेरिका गइन् । लामो उपचारपछि सन् २०१५ मा उनी पूर्ण रुपमा क्यान्सरमुक्त भइन् ।

भारतीय समाचार माध्यमसँगको एक अन्तर्वार्तामा उनले क्यान्सरको अनुभव साझा गरेकी थिइन् । मनिषाले भनेकी थिइन्, ‘जब क्यान्सर भएको पत्ता लाग्यो तब मनमा पीडादायी उपचारका लागि डर थियो । यस्तो नाजुक समयमा परिवार र समाजको बिरामीप्रति व्यवहार कस्तो छ, त्यो निकै महत्व राख्छ । केही अनपढ मानिसहरुले क्यान्सर त कर्मको फल हो भन्ने गर्छन् । यस्ता नकारात्मक कुराले बिरामीको दिमागमा लामो समयसम्म डेरा जमाउँछ त्यसकारण वरिपरि सकारात्मक मानिसहरु हुन अत्यावश्यक छ ।’

उनी थप्छिन्, ‘जब क्यान्सर हुन्छ तब लामो उपचार चल्छ, त्यतिबेला तपाईंलाई अब के हुन्छ केह िथाहा हुँदैन । क्यान्सर पूर्ण रुपमा ठिक हुन्छ वा यसले बारम्बार दुःख दिन्छ, त्यो पनि थाहा हुँदैन । क्यान्सर रोगीको स्थिती सधैं अन्योल नै हुन्छ ।’

‘क्यान्सरको उपचारको क्रममा यस्तो समय पनि आयो जब मैले हार मान्न थालिसकेको थिएँ किनभने मलाई यतिधेरै पीडा हुन्थ्यो कि पेनकिलरले पनि काम गर्न छोडेको थियो त्यतिबेला आफूले आमासँग ‘यस्तो पीडा सहनुभन्दा मर्नु जाती’ भनेको थियो । त्यस दिन मेरी आमालाई निकै गाली गर्नुभयो । जब म क्यान्सरमुक्त भएँ तब जीवनप्रति मेरो दृष्टिकोण परिवर्तन भयो । म स–साना कुरामा खुसी खोज्न थालें । सूर्यास्त, सूर्योदय, हावा, पानी विशेषगरी प्रकृति मलाई मनपर्न थाले किनभने मलाई लाग्थ्यो कि यी सब हेर्नका लागि म भोलि जिउँदो रहन्छु वा रहन्नँ ।’

लिसा रेः

इन्डो क्यानडियन नायिका लिसालाई सन् २००९ मा मल्टिपल मायलोमा (ह्वाइट ब्लड सेल्स) को क्यान्सर भएको थाहा भयो तर उनले हार मानिनन् र क्यान्सरविरुद्धको युद्ध जितिन् । एक अन्तर्वार्तामा लिसाले भनेकी थिइन्, ‘क्यान्सरले मेरो जीवन निकै परिवर्तन गरेको थियो । मैले धेरै मानिसहरुको प्रेम र समर्थन पाएँ ।’

आफूलाई क्यान्सर लागेकोमा मानिसहरुले कस्तो प्रतिक्रिया दिने होलान् भनेर निकै चिन्तित भएको उनले बताइन् । उनले भनिन्, ‘तर सबैले मलाई माया र साथ दिनुभयो त्यसकारण म ठिक हुन सकें ।’

स्टेम सेल ट्रान्सप्लान्टपछि लिसाले सन् २०१० मा आफूलाई पूर्ण रुपमा क्यान्सरमुक्त घोषित गरेकी थिइन् । त्यसपछि उनले ‘मेक मायलोमा म्याटर’ नामक एउटा अभियान पनि चलाएकी थिइन् । सन् २०१० मा उनी ‘लिभिङ विद क्यान्सर’ नामको संस्थासँग जोडिइन् जसले क्यान्सर रोगीको मद्दत गर्छ । लिसाले सन् २००१ मा फिल्म ‘कसूर’ मार्फत बलिउड डेब्यू गरेकी थिइन् ।

युवराज सिंहः

सन् २०११ मा भारतीय क्रिकेटर युवराज सिंहलाई क्यान्सर भएको खबरले सबैलाई चकित बनाएको थियो । सन् २०११ मा युवराजले विश्वकप खेलिरहेका बेला उनलाई बान्ता हुने, सास फेर्न समस्या हुने र रिंगटा लाग्ने समस्या देखिएको थियो । खेलपछि जब उनले स्वास्थ्य परिक्षण गरे तब उनलाई फोक्सोको क्यान्सरको पहिलो स्टेज भएको पत्ता लाग्यो । क्यान्सरको उपचारका लागि युवराज अमेरिका गएका थिए त्यहाँ उनको लामो केमोथेरापी चल्यो र क्यान्सरमुक्त भएपछि सन् २०१२ मा भारत आएर सन् २०१२ टी२० विश्वकपमा भाग पनि लिए । युवराजले पनि क्यान्सरसँग हार मानेनन् । पछि उनले क्यान्सरमाथि एक किताब ‘द टेस्ट अफ माइ लाइफ’ पनि लेखे ।

युवराजले एक अन्तर्वार्तामा क्यान्सरबारे भनेका थिए, ‘क्यान्सर भनेको मृत्यु होइन । यससँग डराउनु हुँदैन । तर थाहा हुनेबित्तिकै उपचार सुरु गर्नुपर्छ । मलाई क्यान्सर भएको थाहा हुँदा हुँदै पनि मैले क्रिकेट खेलें, त्यो मेरो गल्ती थियो । डाक्टरले भनेको मानिनँ तर यस्तो अवस्था आउन थाल्यो जब मेरो खेल र स्वास्थ्य दुबै प्रभावित हुन थाले र मसँग उपचार गराउनुबाहेक अन्य कुनै उपाय रहेन ।’

अनुराग बसुः

सन् २००४ मा भारतीय फिल्मका निर्देशक अनुराग बसुलाई रगतको क्यान्सर भएको पत्ता लाग्यो । अनुराग जब फिल्म ‘तुमसा नही देखा’ मा व्यस्त थिए र डाक्टरले उनलाई उनीसँग दुई महिना मात्र बाँकी भएको बताए ।

अनुरागका अनुसार उनी डाक्टरको कुराले निकै डराएका थिए तर उनले क्यान्सरसामू घुँडा टेकेनन् र मृत्युको मुखबाट बचे । पछि अनुरागले क्यान्सरबारे एक अन्तर्वार्तामा भनेका थिए, ‘मेरा परिवार र साथीहरुलाई मलाई क्यान्सरको भएको थाहा थियो । जब म बिरामी थिएँ तब परिवारका सदस्य निकै उदास भएर म भएठाउँ आउँथे तर कसैले पनि मलाई क्यान्सर भएको बताउन हिम्मत देखाउँदैनथे । ’

उनले थपे, ‘एक दिन महेश भट्ट मेरो घर आए र मेरो टाउकोमा हात राखेर रोएर भने, ‘अनुराग तिमीलाई क्यान्सर छ ’ तर मैले हार मानिनँ र उनलाई भनें, ‘यो त रुघा, खोकी, ज्वरोजस्तो हो, त्यो मलाई थाहा छ । म यो सँग लड्छु, तपाईं चिन्ता नलिनुहोस्’ । त्यसपछि डाक्टरले मसँग तीन–चार महिनामात्र बाँकी भएको समेत बताए । मृत्युसँगको पैंठेजोरी कसैलाई पनि मनपर्दैन । मलाई यस्तो रोग लागेको थियो जुन हरेक सेकेन्ड बढ्ने गर्दथ्यो तर मेरो इच्छाशक्ति थियो । म ठिक भएँ र आज तपाईंको अगाडि छु । मेरो परिवारले यो रोगपछि मलाई निकै माया गर्छन् । यो रोगपछि मेरी श्रीमतीले मसँग झगडा गर्न बन्द गरेकी छिन् । ’

अनुराग क्यान्सरमुक्त भएपछि सन् २०१२ मा ‘बर्फी’ जस्तो फिल्म बनाए जसको निकै तारिफ गरिन्छ ।

   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप