शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रङ्ग लगाएर टिलिक्क वीर अस्पताल : व्यवहार र काम गर्ने शैली पुरानै (भिडियोसहित)

बिहीबार, २१ असार २०७५, १४ : २१
बिहीबार, २१ असार २०७५

काठमाडौं–धुस्रो–फुस्सो रहेको नेपालको जेठो अस्पताल वीर अस्पतालको भित्ताहरु अहिले टलक्क टल्किएको छ । अस्पताल भित्रका कोठाहरुमा नयाँ रङ्को चमकता मात्र छैन, ठाँउ–ठाँउमा आकर्षक चित्रहरु पनि कोरिएका छन् । हास्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे सुन्तलीको पहल र मिहेनतपछि अस्पतालले मुहार फेरेको त छ तर अस्पतालको शैली भने फेरिएको छैन । 
बिहिबार बिहान ६ नबज्दै बिरामीहरु वीर अस्पतालको आँगनमा भेला हुन थाले ।

बन्द टिकट काउन्टर कोठाको ढोका अगाडि बाहिरै उनीहरु लाइन लागे । झन्डै डेढ घण्टाको लाइन पछि टिकट काउन्टर कोठाको ढोका खुल्यो । साढे ७ पछि पुन बन्द रहेको ओपिडी काउन्टर अगाडि बिरामीको लाम लाग्यो । 

टिकट काट्ने लाममा बिरामी बालबालिका, यूवायूवती देखि बृद्ध बृद्धाको उपस्थिति उल्लेख्य थियो । 

ओपिडी टिकट काउन्टरको भित्तामा टाँसिएको सूचनामा लेखिएको थियो–‘ओपिडी काउन्टर खुल्ने समय बिहान ८ बजे देखि २ बजेसम्म।’ टिकट लिने र पैसा बुझाउने ६ वटा काउन्टरका प्वालमा ‘बन्द’ लेखिएको एउटा बोर्ड राखिएको थियो ।  

तर बिहान ८ बजे खुल्नुपर्ने काउन्टर खुल्न झन्डै साढे ८ बज्यो । 

लाम बसेको ठाँउबाट सिसाको बार पारी कर्मचारी आउन लागेको देखिए । 

काउन्टरभित्र ढिलो गरी आइपुगेका कर्मचारीलाई देख्नेबित्तिकै बिरामीहरु छिटो टिकट दिनुप¥यो भन्दै कराउन थाले । टिकटका लागि बसेको लाइन भद्रगोल थियो । जेष्ठ नागरिक, अपाङ, अशक्तका लागि छुट्टै काउन्टर राखिएपछि उनीहरु त्यहाँ बस्न सक्ने अवस्था थिएन । 

सर्भर बिग्रियोः बिरामीको अभिलेख राखिएन, सित्तैमा बाँडियो टिकेट


८ बजे पाउनुपर्ने टिकेट साढे ८ सम्म पनि वितरण भएन । कर्मचारीले कम्प्युटरको सर्भर बिग्रिएकोले केही ढिलो हुने बताएपछि बिरामीको भिड आक्रोशित हुन थाल्यो । बिहान ६ बजेदेखि लाइन लागेका केही बिरामी उभिन नसकेर भूँईमा बसिरहेका थिए । 

बिरामीको एउटा समूह आक्रोशित भएपछि कर्मचारीले बिरामीको नाम उमेर केही नलेखी बिरामी जाने कोठाको छाप लगाएर ओपिडी टिकेट दिन थाले । बिरामी आफैले टिकेटमा आफ्नो नाम ठेगाना र उमेर लेखेर डाक्टर भेट्न हिँडे  । 

ओपीडी काउन्टरमा पहिले टोकन लिएर टिकट काट्ने व्यवस्था थियो तर अहिले हटाइएको रहेछ । केही बिरामी कुरा गर्दै थिए–‘गगन थापा स्वास्थ्य मन्त्री भएको बेला टिकट काट्न सजिलो थियो ।’
टिकटको मूल्य २० र ७५ रुपैयाँ भएपनि कर्मचारीले टिकटको पैसा पनि लिएनन् र बिरामीको अभिलेख पनि राखेनन् । कतिपय बिरामी डायरीमा लेखेर राख्न भनिरहेका थिए तर उनीहरुले आफै नाम लेखेर जान भने । 

टिकटमा लागि लाम लागेका बिरामीरुले यसो भने–
पारस गौतम, थानकोट

म रुघा खोकी र ज्वरो भएर आउकोले उपचार गराउन आएको, लाइन बसेको ३ घण्टा भयो । सरकारी काममा ज्यादा लापरवाही गर्छन्, बिग्रेको कम्युटर अघिल्लो दिन बनाएर नराख्ने अनि बिरामीलाई अनावश्यक दुख दिने काम गर्छन् । गैह्र जिम्मेवारपूर्ण काम गर्छन् । सर्वसाधारणको स्वास्थ्य प्रति कोही पनि गंभिर छैनन् यहाँ । पहिला आँउदा पनि यहाँ यस्तै थियो, धेरैबेर लाइनमा बस्नुपर्छ । उनीहरुको आफन्त वा चिनेका मान्छे छन् भने भित्र–भित्र छिटो सेवा पनि हुँदोरहेछ । हामी सर्वसाधरण घण्टौँ लाइनमा लाग्नुपर्छ । सेवा सुविधा भनेको यस्तै हो । 

रेणुका रोका, दहचोक


म पेटको समस्या भएर उपचारका लागि आएको । लाइनमा बसेको डेढ घण्टा भयो । यस्तै हो सरकारी अस्पताल । सुधार गर्दै जस्तो पनि लाग्छ, भद्रगोल छ । उनीहरुले कम्प्युटर बिग्रेको भनिरहेका छन् । अहिले बनाँउछन् कि के गर्छन् । 

समुन्द्र नगरकोटी, बालाजु 

 


म मेरो ममीको उपचारका लागि आएको ।  बिहान ६ बजे आएको अहिले ९ बज्न लाग्यो लाइनको लाइनमा छु । सबैभन्दा ठूलो कुरा भनेको जवाफदेहिता हो, समस्या छ भने सम्बन्धित मान्छे आएर समाधान दिनुप¥यो नि त । सेक्युरिटी गार्डले बिहान ७ बजेदेखि हेरिरहेको छु भनेर हुँदैन नी, सेक्युरिटी गार्डले सर्भर बनाउने कुरा हो र ? यदी सिस्ष्टम बिग्रिएको छ भने आइटी सम्बन्धी मान्छे ल्याउनुप¥यो । मुख्य कुरा अस्पताल प्रशासनको जवाफदेहिता भएन । म यो अस्पतालमा पहिलो पटक नै आएको हो । सरकारी अस्पतालमा जहाँ गयो त्यहाँ मेरो झगडा पर्छ, टिचिङ गयो त्यस्तै हुन्छ, यहाँ आयो यस्तै नै छ । 

राम कार्मी, कोटेश्वर 


श्रीमती बिरामी भएर टिकट काट्न आएको तर अहिले सिष्टम बिग्रियो भनेर टिकट पाएको छैन । म पहलो पटक यो अस्पताल आएको हुँ । बिहान ६ बजेदेखि लाइनमा बसिन्छ, साढे ८ बजे आएर यीनीहरु सिष्टम बिग्रेको छ, के के बिग्रिएको छ भनेर बहानाबाजी गरेर बस्छन् । साँच्चै नै बिग्रिएको हो भने पहिला सुचना निकाल्नुपथ्र्यो हैन भने यतिबेला आएर यस्तो र उस्तो भन्न हुँदैनथ्यो । 
कान र टाउकोमा समस्या भएर पाटनबाट उपचारका लागि आएकी राममाया श्रेष्ठले बुधबार डाक्टर अप्रेशनमा गएकोले बिहिबारका लागि फिर्ता पठाएको बताइन् । 
यसअघि ओपिडीमा लाइन लाग्न नपर्ने, टोकन पद्धती भएपनि यतिबेला भने कार्यान्वयन भएको छैन । 

वीर अस्पतालका एक कर्मचारीले भने–‘बेला बेला सर्भरका कारण टिकेट वितरणमा समस्या पर्ने गरेको छ  । त्यस्तो बेला बिरामी आक्रोशित भएपनि निुःशुल्क टिकेट दिने गरिएको छ ।’
वीर अस्पतालमा रोगको प्रकार अनुसार ओपिडिमा २० रुपैया र ७० रुपैयाका दुई प्रकारका टिकेटको व्यवस्था रहेको छ । 

अस्पतालको रेकर्ड शाखाका अनुसार यहाँ हरेक दिन औषसमा १७ सय हाराहारी बिरामी उपचारका लागि आँउने गरेका छन् । आइतबार र सोमबार भने २ हजार बढी बिरामीको चाप हुने गरेको छ । 
हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप