शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डो टु युभेन्टस : रियलमा नेतृत्व परिवर्तनको समय ?

बिहीबार, २१ असार २०७५, ०९ : १६
बिहीबार, २१ असार २०७५

एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिड छाडेर युभेन्टस जाने चर्चा यतिबेला ब्यापक छ ।

मिडिया रिपोर्टका अनुसार रियलले करीब १० करोड युरोमा रोनाल्डोलाई बिक्री गर्ने तयारी गरिरहेको छ ।

३३ वर्षीय स्टार खेलाडी ४ सय ५१ गोलसहित रियलका सर्वाधिक गोलकर्ता हुन् ।

तर, उनको ढल्दो उमेरसँगै गत सिजन ला लिगा च्याम्पियन बार्सिलोनाभन्दा १७ अंकले पछि परेको रियलको टोलीमा ब्यापक फेर बदल गर्नु पर्ने भएको कारण क्लबले उनलाई बेच्ने मनस्थितिमा पुगेको बताइएको छ ।

गत मेमा मात्र रोनाल्डोले रियलसँग पाँचौ पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

किएभमा लिभरपुलमाथि हासिल गरेको जीतसँगै रियलका प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडिसेका छन् भने स्पेनका पूर्व प्रशिक्षक जुलेन लोपेटेगुईले नेतृत्व सम्हालेका छन् ।

पछिल्लो केही वर्ष रोनाल्डोको भविष्यबारे ब्यापक चर्चा हुने गरेको छ यसमा उनको र क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजबीचको सम्बन्धमा पनि प्रश्न गरिने गरिएको छ ।

यदी यो स्थानान्तरण सफल भए युभेन्टसले अर्जेन्टिनी फरवार्ड गोन्जालो हिग्वाइनलाई किन्न खर्च गरेको क्लब रेकर्ड ९ करोड युरोको किर्तिमानलाई तोड्ने छ ।

रियलले सन् २००९ मा रोनाल्डोलाई म्यान्चेस्टर युनाइटेडबाट ८ करोड पाउण्डमा किनेको थियो ।

हरेक सिजनको अन्त्यमा रोनाल्डो रियलमा खुसी नभएको समाचार आउने गरेको छ । तर, हरेक पटक रोनाल्डोको तलबमा बृद्धि गरेसँगै यो समस्या समाधान हुने गरेको छ ।

त्यही भएर च्याम्पियन्स लिगको उपाधि जितेपछि रोनाल्डोले असन्तुष्टिको संकेत व्यक्त गर्दा धेरैले यो विषयलाई गम्भिर रुपमा लिएका थिएनन् ।

तर, यसपटक भने रोनाल्डोले साँच्चै रियल छाड्ने चर्चा भइरहेको छ ।

क्लबले उनलाई रोक्न कम्तिमा सार्वजनिक रुपमा केही पहल गरेको देखिँदैन र अध्यक्ष पेरेजले रोनाल्डोबाट फाइदा लिने यही सही समय भएको ठानेको आशंका गरिएको छ ।

३४ वर्ष पुग्न लागेका खेलाडीका लागि युभेन्टसले १ सय मिलियन युरो तिर्न तयार भए पेरेजका लागि यो ठूलो व्यापारिक सफलता हुनेछ ।

उता, नेयमार बर्नेबाउ आउने चर्चा पनि लामो समयदेखि चलिरहेको छ । रोनाल्डोले क्लब छाडे उनको स्थान उनी फिट हुने क्लबको विश्वास रहेको छ ।

दुवै अर्को सिजनसँगै देखिए ड्रेसिङ रुपमा दुई स्टार खेलाडीको ‘दम्भ’ का कारण तनाव सृजना हुने अनुमान गरिएको छ र अन्ततः एक जनाले बाटो छाड्नुपर्ने हुन्छ ।

नेयमारलाई किन्न नसके पेरेजले पीएसजीका अर्का स्टार कायलिन एमबापेमाथि पनि नजर राखिरहेका छन् । विश्वकपमा उनको प्रदर्शनबाट पक्कै पनि पेरेज आकर्षित भएको हुनुपर्छ ।

उता, युभेन्टसका लागि रोनाल्डोको तलब प्रमुख समस्या बन्न सक्छ । किनभने अहिले युभेन्टसमा सबैभन्दा धेरै आम्दानी गर्ने हिग्वाइन भन्दा रोनाल्डोको तलब चार गुणाले बढी छ ।

युभेन्टस रोनाल्डोलाई भित्र्याउन इच्छुक छ र रोनाल्डोको एजेन्टसँग कुरा पनि गरिरहेको छ । तर, यो स्थानान्तरण त्यति सजिलो भने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप