शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा भन्दा पैसा अन्तै जान थाल्यो : नेप्सेका सीईओ चन्द्रसिंह साउदसँगको अन्तरवार्ता

बुधबार, २० असार २०७५, ११ : १३
बुधबार, २० असार २०७५

लामो समयदेखि घट्न थालेको सेयर बजार अझै पनि बौरन सकेको छैन । विशेषगरी सेयर बजारले बाम गठबन्धनको (हालको नेकपा) सरकार आएयता गति लिन सकेको छैन । त्यसमा पनि अर्थमन्त्रीका रूपमा डा. युवराज खतिवडाको आगमनसँगै सेयर बजार निरन्तर घटिरहेको छ । लगानीकर्ताहरूले सेयर बजार घट्नुमा अर्थमन्त्री पनि कारण रहेको आरोप लगाउँदै आएका छन् । बजेटले केही सम्बोधन गर्ला र बजार बढ्ला भनेर पर्खेका लगानीकर्ता अन्ततः बजेटले पनि केही गर्न नसकेको भनिरहेका छन् । पुँजी बजारलाई अर्थतन्त्रको ऐना पनि मानिने गरिन्छ । तर नेपालको सेयर बजार यतिखेर निरन्तर घट्दो क्रममा छ । अझै पनि लगानीकर्तामा नेप्सेले अनलाइन ट्रेडिङ र मार्जिन लेन्डिङ पूर्ण रूपमा सञ्चालनमा ल्याएपछि बजारमा रौनक देखिने विश्वास छ । सेयर बजारको  पछिल्लो अवस्था, अनलाइन ट्रेडिङ, मार्जिन लेन्डिङ, नेप्सेले गरेका र आगामी दिनमा गर्ने सुधारका कामलगायतका विषयमा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदसँग रातोपाटीका लागि एलिजा उप्रेतीले गरेको कुराकानीको अंश :

पछिल्लो समय सेयर बजारमा देखिएको अस्थिरतालाई यहाँले कसरी मूल्याङ्कन गरिरहनु भएको छ ?
पछिल्ला दिनहरूमा बजारमा सेयरको मागभन्दा आपूर्ति बढी देखिएको छ । दोस्रो बजारमा हकप्रदको बहार छ र यो पनि नबिकेर लिलामीमा सेयर सस्तो पाइएको छ । धेरैवटा नयाँ कम्पनी पनि बजारमा आएका छन् । सस्तोमा सेयर पाएकाले अलिकति बढी पैसा मार्जिन हुने वित्तिकै  सेयर बेचेर फेरि त्योभन्दा सस्तो सेयर किन्न खोज्नेहरू पनि बढेको देखिएको छ । यसैको असर अहिलेको सेयर बजारमा देखिएको हो । सेयर बजारमा जोखिम छ । बैङ्कमा १४ प्रतिशतसम्म ब्याज पाइरहनुभएको छ भने सेयरमा जोखिम लिन नचाहनेहरू त्यो सेयर बेचेर रकम मुद्दती निक्षेपमा राख्न थाले । 

राजनीतिक स्थायित्वको अवस्था आएको छ । पाँच वर्षका लागि सरकार बनेको छ, यसले गर्दा लगानीकर्ताले नयाँ लगानीका क्षेत्र पनि खोज्न थालेको देखिएको छ । कृषिफार्म खोल्ने धेरै बढिसके भन्ने अहिले तपाईं आफै देख्न सक्नुहुन्छ  । व्यावसायिक कृषि खेतीमा आकर्षण बढेको छ । उद्योगतिर पनि पैसा गएको छ । यसकारण बजारमा इन्डेक्स घटिरहेको अवस्था हो । अरू कारण त म केही पनि देख्दिनँ । अहिले केही कर्मर्सियल बैङ्कको सेयर डेढ दुई सयमा पनि पाउन थालेको छ ।  नयाँ कम्पनीहरू खुलेसँगै लगानीकर्ताको पैसा पनि त्यतैतिर जान थालेको छ । यद्यपि, बजारमा पैसा चलायमान नभएको भने होइन । केही दिनअघि मात्र एउटा माक्रोफाइनान्सको आईपीओमा मागभन्दा धेरै गुणा बढी आवेदन परेकाले पनि सेयर बजारमा लगानीकर्ताको रुचि छ भन्ने पुष्टि गर्छ । तर अहिले लगानी गर्ने धेरै विकल्पहरू भेटिन थालेको भने पक्कै हो । विगतमा पनि ११ सयको इन्डेक्स गएर २९०/९२ सम्म पुगेकै हो । तर बजार अब परिपक्व भएकाले यो ग्याप धेरै दिन रहँदैन ।  नयाँ अनलाइन सिस्टम आएपछि सेयर बजार अझ परिपक्व हुन्छ  ।

 

अनलाइन ट्रेडिङको परीक्षण तपाईंहरूले गरेर अहिले केही ब्रोकरले त्यसको परीक्षण गरिरहेका छन् । परीक्षणमा अनलाइन ट्रेडिङ कस्तो पाइएको छ ?
अनलाइन ट्रेडिङको परीक्षणको काम नेप्सेले एक चरणमा सकेको हो । अहिले ५ वटा ब्रोकरमार्फत परीक्षण भइरहेको छ । विस्तारै लगानीकर्ताले पनि प्रयोग गरिरहेका छन् । परीक्षणमा धेरै ठूलो कमेन्ट छैन । हामीलाई चाहिने सिस्टमअनुसार अन्तर्राष्ट्रिय स्तरको सिस्टम बनाउने कम्पनीले बनाएकाले बजारमा यो भएन, त्यो भएन भन्ने गुनासो आएको छैन ।  जति कमेन्ट आन्तरिक टिमले गरेको थियो, त्यस्तै बाहिरकाले पनि कमेन्ट गरेका छन् । उनीहरूले भन्नुभन्दा पहिले नै हाम्रो करेक्सन भइसकेको हुन्छ ।

अनलाइन ट्रेटिङ पूर्ण रूपमा लगानीकर्ताले कहिले प्रयोग गर्न पाउँछन् ?
साउन १ गतेदेखि पुरानो सिस्टम र नयाँ सिस्टमलाई समानान्तर रूपमा लाइभमा लैजान्छाँै । युजर एसेप्टेन्स टेस्ट (यूएटी)को पनि हामी काम गरिरहेका छौँ । अन्तर्राष्ट्रिय कुनै संस्थाले यसको अडिट गर्दैछ ।  उसको प्रतिवेदन आएपछि मात्र हामी पुरानो सिस्टमलाई झिकेर नयाँ सिस्टममा काम गर्छौं । यूएटी नभई बजारमा प्रयोग गर्न दिन मिल्दैन । 

मर्जिन ट्रेडिङको काम कति अगाडि बढ्यो ?
मार्जिन ट्रेडिङको कार्यान्वयनका लागि राष्ट्र बैङ्कले हामीलाई सैद्धान्तिक सहमति दिइसकेको छ । हामीले कार्यविधि पनि बनायौँ । अब त्यो ब्रोकरसमक्ष पुग्छ र ब्रोकरले निश्चित मापदण्ड पूरा गरेपछि हामीले अप्रुभल दिन्छौँ । तर हामीले मात्र गरेर नहुने भएकाले राष्ट्र बैङ्कबाट सम्बन्धित ब्रोकरले पनि स्वीकृति लिनुपर्छ । 

राष्ट्र बैङ्कको हायर पर्चेजसँग सम्बन्धित विषय जस्तै करिब करिब त्यसैअनुसार जान्छ । लिस्टेड कम्पनीलाई ५० प्रतिशतसम्म ऋण दिन सक्छन् । तर यसलाई वर्गीकरण गरिएको छ । सेयर किन्ने कम्पनीको ग्रेडअनुसारको ऋण लगानीकर्ताले पाउँछन् ।

तपाईं नेप्से आउनुभएको नौ महिना पूरा भएको छ । तपाईंको आगमनले सेयर बजारले के पायो ? आफ्नो कामको मूल्याङ्कन आफै गर्दिनुस् न ? 
पुरानो सिस्टम, नियम कानुनको कामलाई नयाँ बनाउने, मार्जिन ट्रेडिङको कामलाई अगाडि बढायौँ, लिस्टिङसँग सम्बन्धित विनियमावलीहरू आउने क्रममा छन् । अग्राधिकार सेयरको हिस्सा पनि ड्राफ्ट बनाएर पठाइसकेका छौँ । अनलाइन ट्रेडिङका लागि म आउँदा यहाँ पाँचवटा मोडल मात्र पास भएको थियो । अहिले १६ वटै मोडल पास भएर पूर्णरूपमा अनलाइन सिस्टम तयार भएको छ । नेप्सेसँग सम्बन्धित लगानीकर्ता दर्ता भए । पुँजी बजारलाई अगाडि बढाउन के–कस्ता विज्ञ छन् भनेर उनीहरूको रोस्टर तयार भएको छ । केही होमवर्क पनि गरेका छौँ । क्यापिटल मार्केट, डेरिभेटिभ मार्केटमा, ओटीसीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा होमवर्क हुँदैछ । आन्तरिक काममा इन्डेक्स, सबइन्डेक्स छुट्याउने काम भयो, जसअन्र्तगत विकास बैङ्कबाट माइक्रो फाइनान्सलाई छुट्यायौँ । 

बिमामा पनि जीवन र निर्जीवनलाई छुट्टा छुट्टै सबइन्डेक्स बनाउने भन्नुभएको थियो, काम कति अघि बढ्यो ?
बिमामा पनि जीवन र निर्जीवनको सबइन्डेक्स छुट्याइसकेका छौँ । अब त्यसलाई कार्यान्वयनमा ल्याउन बाँकी छ ।  तर यो प्राक्टिकल्ली बजारमा आउन केही दिन लाग्छ ।  अबको एक, दुई हप्तामा बजारले पाउँछ ।

ओटिसी मार्केटको (ओभर दी काउन्टर) सुधारको लागि के गर्दै हुनुहुन्छ ?
नेपालमा दर्ता भएका जेजति पब्लिक लिमिटेड कम्पनी छन्, ती कम्पनीको सेयर खरिदबिक्री गर्दा  नेप्सेको विन्डोमार्फत जानुपर्छ । त्यसैगरी नेप्सेमा सूचीकरण नभएका, सूचीकरणबाट हटेका सबै पब्लिक कम्पनीको सेयर खरिद बिक्री गर्दा ओटीसीमार्फत कारोबार हुनुपर्छ । कतिपय भएका पनि छन् । कतिपयमा कम्पनी रजिस्टारको कार्यालयसँग सम्पर्क गरेर अगाडि बढ्छाँै । नेप्सेमा नयाँ सिस्टम आएपछि अहिलेको पुरानो सिस्टमलाई ओटिसी मार्केटमा प्रयोग गर्छौं । जसरी स्टक मार्केटमा सूचीकृत कम्पनीको करोबार उपत्यकाबाट पनि हुन्छ, त्यसैगरी ओटीसीको पनि कारोबार नेपालका सबै ठाउँबाट गर्न मिल्ने माहोल सिर्जना गर्छौं ।

तर तपाईंहरूले त सकभर सबै पब्लिक कम्पनीहरू सूचीकृत हुन भनेर सोहीअनुसार कदम चाल्नुपर्ने होइन र ?
हामीलाई त सबै कम्पनीहरू सूचीकृत भएकै राम्रो हुन्छ तर नेपालको ऐन, कानुनअनुसार सबै कम्पनी पब्लिकमै जानुपर्छ भन्ने छैन । हामीले त  सकेसम्म सूचीकृत भएर आउनुहोस् भन्ने हो, नभए पनि ती कम्पनीहरू ओटीसीमार्फत आउनुपर्छ भन्ने हो । यसले लगानीकर्तालाई नै राम्रो हुने हो । ओटीसीमा दर्ता भएका कम्पनीको सेयर कारोबार आकल झुकल हुन्छ । 

आगामी दिनमा सेयर बजार कस्तो होला ?
सेयर बजार आगामी दिनमा पारदर्शी हुन्छ । प्राइमरी बजारको पहुँच राम्रो छ । दोस्रो बजारको अलि कम छ । अब सबै ठाउँमा यसको पहुँच पनि बढ्छ । नेपालको पुँजी बजारमा जो जुन ठाउँमा छन् सोही ठाउँबाट सेयर कारोबार गर्न पाउँछन् । यो सँगसँगै अन्य प्रोडक्ट पनि बजारले उपभोग गर्न पाउँछ । सेयर कारोबार निश्चित ठाउँका सहरी क्षेत्रमा हुने गरेको छ । यसको दायरा बढाउन पायो भने डिमान्ड र सप्लाइको मिसम्याच  हट्न सक्छ । केही समयपछि सेयर बजार विस्तारै माथि जान्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप