बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारका कर्मचारीमा ‘ग्यास्ट्रिक’ र ‘हाई ब्लड प्रेसर’को समस्या

मङ्गलबार, १९ असार २०७५, १६ : २७
मङ्गलबार, १९ असार २०७५

काठमाडौं–सिंहदरबारमा सरकारले स्थापना गरेको हेल्थ डेस्कमा उपचारका लागि आउने सरकारी कर्मचारीमा अधिकांश ग्याष्ट्रिक र उच्च रक्तचापको समस्या पाइएको छ । 

 गत फागुन १५ गतेदेखि स्वास्थ्य मन्त्रालयले सिंहदरबार हाताभित्र स्थापना गरेको हेल्थ डेस्कमा उपचार गराउन जाने कर्मचरीहरुमा यस्तो समस्या देखिएको हो । 

हेल्थ डेस्कमा दैनिक तीन÷चार जना देखि दश/बाह्र जनासम्म कर्मचारी उपचारका लागि जाने गरेका छन् । उपचारका लागि जाने कर्मचारीको रक्तचापको जाँच गर्दा अधिकांशमा उच्च रक्तचापको समस्या रहेको डाक्टर विनिता जोशीले रातोपाटीलाई जानकारी दिइन् । यसबाहेक रक्तचापका अवस्था बुझ्न, टाउको दुख्ने, झाडापखाला लगायतका समस्या भएकाहरु पनि उपचारका लागि जाने गरेका छन् । 

अस्पतालमा रहेको ओपीडिमा पाउने सेवा उक्त डेस्कले दिने गरेको छ । डेस्क स्थापना भएपछि सुरुका दिनमा बिरामी कर्मचरीको चाप  दैनिक बीस÷बाइस जना हुने भएपनि अहिले भने कम भएको उनले बताइन् । 


यो हेल्थ डेस्कमा उपचारका लागि सबै तहका कर्मचारीहरु पुगेपनि अहिलेसम्म कुनै मन्त्री भने पुगेका छैनन् । 

सिंहदरबारको हेल्थ डेस्कमा हरेक दिन वीर अस्पतालको इर्मजेन्सी शाखामा कार्यरत एकजना डाक्टर आउने गरेका छन् । हेल्थ डेस्कमा आकस्मिक अवस्थाका विरामीलाई उपचार गर्नका लागि आवश्यक औषधी, एकजना डाक्टर, एकजना नर्स, एकजना अहेव र कार्यालय सहयोगीको व्यवस्था गरिएको छ । 

हेल्थ डेस्कमा विरामीको आकस्मिक अवस्थामा उपचारका लागि अक्सिजन सहितको ‘बेड’ का साथै आवश्यक औषधीको व्यवस्था गरिएको छ । तर पछिल्लो समय हेल्थ डेस्कमा पर्याप्त औषधी भने छैन । 

सिंहदरबार भित्र कार्यरत सरकारी कर्मचारी आकस्मिक रुपमा विरामी भएमा प्राथमिक रुपचारका लागि हेल्थ डेस्कको स्थापना गरिएको थियो । बिरामीको अवस्था अनुसार हेल्थ डेस्कले एम्बुलेसन्स बोलाएर अस्पतालमा रिफर गर्ने समेत व्यवस्था छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप