केन्द्रीय संस्करण

‘५० वर्षदेखि पाटीको बास, चिया बेचेर फेरेकी छु सास’

person access_timeअसार १९, २०७५ chat_bubble_outline0

‘मेरो नाम ?’ उनले भनिन्, ‘थाहा छैन ।’

छेउमै बसिरहेकी छोरीलाई उनले आफ्नो नाम सोधिन् । 

छोरीले भनिन्, ‘राधादेवी राणा ।’ राणा हाँसिन् । उनको हाँसो त्यत्तिकै लोभलाग्दो थियो । ‘यहाँ बसेर चिया बेचे पनि म चानचुने मानिस होइन,’ उनले ठट्टा गरिन्, ‘राणा हुँ राणा ।’ 

नाम र उमेर थाहा नभए पनि उनले चिया बेच्न थालेको २५ वर्ष भयो । त्योचाहिँ आफैंले भनिन् । ‘२५ वर्षअघि यही ठाउँमा २ रुपैयाँ कप चिया बेचेकी थिएँ,’ उनले थपिन्, ‘त्यसपछि क्रमशः ५, १०, १५ गर्दै २० रुपैयाँ पुर्याएँ ।’

चियापसलमा बिहान साढे ४ देखि साँझ सात बजेसम्मै ग्राहक देखिन्छन् । बिहान साढे चारै बजे चिया खान को आउलान् ? ‘नाइट ड्युटी गरेका र बिहानै ड्युटीमा जानुपर्नेले चिया खान्छन्,’ उनले जानकारी गराइन्, ‘खातेपाते पनि आउँछन् । जाडोमा त खुट्टो टेक्ने ठाउँ हुँदैन ।’

दूध चिया बेच्ने उनको पसलमा कालो चिया ‘ब्ल्याक टी’ त्यति पाक्दैन । सुनाइन्, ‘दूधभन्दा पानी महँगो छ ।’ दूधभन्दा पानी महँगो भन्ने उनले पकाएको दूध चिया त्यत्तिकै स्वादिलो छ । दूधमा पानी नहाली चिया पकाएपछि स्वादिलो हुने नै भयो । दूधको मात्रै चिया खान पाइने भएपछि ग्राहकको सानोतिनो भीड नै लाग्छ । चियापारखीलाई सन्तुष्टि दिने मामिलामा उनी इमानदार देखिइन् । १० वर्षदेखि नियमित चिया पिउने राधादेवी राणाका ग्राहकमध्ये एक अभिषेकसिंह थापाले भने, ‘अन्त र आमाले बेच्ने चियाको स्वाद फरक छ । यहाँ चिया खाएपछि खाएजस्तै लाग्छ । अन्तको चियाले त्यस्तो अनुभूति हुँदैन ।’

काठमाडौं उपत्यकामा चियापसल कति छन् कति । त्यही चियापसलमध्ये कतिले ग्राहकलाई सम्झिइरहने बनाएका छन् । त्यसमध्ये राधादेवी राणाको चियापसल पनि एक हो । ‘१ पाउन्ड दूधको ३५ पर्छ,’ उनले पुष्टि गरिन्, ‘३५ रुपैयाँको दूधबाट तीन कप चिया बनाउँछु ।’ एक पोका दूधबाट तीन कप चिया बनाएपछि स्वादिष्ट हुने नै भयो । 

दूधमा पानी नहाली बनाइएको चिया २० रुपैयाँमै पाइन्छ । उनले फाइदाभन्दा सेवालाई ध्यान दिएकी छन् । ‘फाइदा निकाल्ने ननिकाल्ने आफ्नै हातमा छ । धेरै फाइदा निकाल्न दूधमा पानी हाल्नुपर्छ,’ उनले खुसी व्यक्त गरिन्, ‘दूधमा पानी हालेर बनाइएको चिया जहाँतहीं पाइन्छ । त्यस अर्थमा मेरो चियापसल अलि भिन्न छ । ग्राहकलाई दूधमात्रैको चिया ख्वाउन पाउँदा असाध्यै आनन्द लाग्छ ।’ एकपटक उनको चियापसलमा चिया खानेहरू फर्कीफर्की जाने गर्छन् । उनले कमाएको सम्पत्ति त्यत्ति हो ।

पाँच सय रुपैयाँबाट सुरु गरेको व्यवसायले जीविकोपार्जन गर्न पुगेकोमा कम्ती खुसी छैनन् । दैनिक सय कपभन्दा बढी चिया बिक्री भएकै छ । जाडोमा त्योभन्दा बढी हुन्छ । सन्तोष नै सबैभन्दा ठूलो सम्पत्ति हो भन्ने उनलाई थाहा छैन । तर, आफूलाई संसारकै खुसी व्यक्ति हुँ जस्तो लाग्छ रे । किनकि उनलाई कसैको भर र कसैको डर छैन । पसिनाको गीत गाएर खानेलाई त्योभन्दा अरू के चाहियो ? पसिनाको गीत गाउँदै जीविकोपार्जन गर्न हिम्मत हारेको छैनन् । नत्र दुई छोरा र दुई छोरीले आफूसँगै बस्ने अनुरोध गर्दा उनले मानिहाल्थिन् । छोराछोरीले पटक–पटक अनुरोध गर्दा पनि उनी चियापसलमै रमाइरहेकी छन् । भनिन्, ‘अरूको खटनमा बस्न गाह्रो हुन्छ । स्वतन्त्र भएर बस्नुको मज्जा कसरी भनुँ ।’ उनले छोराछोरीका नाति–नातिनीको मुख देखिसकेकी छन् । 

‘धादिङबाट काठमाडौं आउँदै थिएँ । त्रिशूलीको एक होटलमा सबैले चिया पिएको देखें,’ उनले अतीत सुनाइन्, ‘त्यतिबेला आधा र पूरा गिलास चिया पाइन्थ्यो । मलाई पनि खान मन लाग्यो । चिया मागें । तर, खाने तरिका थाहा थिएन । चिया हातमै समातिरहेकी थिएँ । अरूले कसरी खाँदारहेछन् भनेर हेरिरहेकी थिएँ । उनीहरूले खाएपछि मात्रै मैले चिया खाएँ ।’ एकताका चिया खानसमेत नजानेकी उनी हिजोआज चिया बेच्ने ठाउँमा छिन् ।

गर्मी होस् या जाडो । चिया पिउनेको कमी छैन । जाडोको तुलनामा गर्मीमा चिया पिउने केही कम हुन सक्छन् । ‘आगोले पोलेको घाउ, आगोमै सेकाएर निको पार्नू’ भन्ने नेपाली उखान प्रचलित छ । गर्मीमा ‘कोल्डडिङ्क्स’ भन्दा चिया पिउँदा शीतल हुन्छ भन्नेको बाहुल्य छ । हो पनि । त्यही भएकाले चिया पिउनेलाई गर्मी र जाडोले केही फरक पार्दैन । त्यसैले चिया बेचेरै जीविकोपार्जन गर्ने राधादेवी राणाहरू यही व्यवसायमा टिकिरहन सकेका छन् । 

चियापसलेले दैनिक कतिपटक चिया पिउलान् ? ‘दुई गिलास,’ उनले भनिन्, ‘चुरोटचाहिँ तीन बट्टा चाहिन्छ । एक बट्टा सूर्य चुरोटको २ सय १५ पर्छ । तीन बट्टाको कति पर्यो । आफैं हिसाब गर्नुस् ।’ २५ वर्षअघि स्टोभमा चिया पकाएर बेच्ने उनलाई हिजोआज ग्यासमा चिया पकाउँछिन् । त्यतिबेला दूध, मट्टीतेल, चिनी, चियापत्ती सबै सस्तो थियो । अहिले महँगीले तर्साएको छ । तर, उनी तर्सेकी छैनन् । 

सानैमा बाआमा बितेपछि उनी धादिङबाट काठमाडौं पसिन् । यतै बिहे गरिन् । दुई छोरा र दुई छोरी भए । एक छोरा बिते । श्रीमान्ले छाडेपछि पाटीको बास सुरु भयो । पाटीमा बस्न थालेको ५० वर्ष पुग्यो । 

ललितपुरको जाउलाखेल चोकबाट सदर चिडियाखानातिर जाँदा ललितपुर महानगरपालिका ४ नम्बर वडा कार्यालय देखिन्छ । वडा कार्यालयको दायाँपट्टि खेलमैदान छ । खेलमैदानको आडमै पाटी देखिन्छ । उनी त्यही पाटीमा बस्छिन् । पाटीको आडैमा राधादेवीले चियापसल थापेकी छन् । उनलाई टेलिकममा काम गर्ने एक महिलाले बिहान, दिउँसो र बेलुका एकछिन–एकछिन सघाउँछिन् । बर्खामा पानी परिरहन्छ । पानी परेपछि राणाको व्यापार प्रभावित हुन्छ । उनको चियापसलमा ओत लागेर चिया खाने ठाउँ छैन । मौसम सफा हुँदा ग्राहकको उपस्थिति बाक्लै देखिन्छ ।

दाह्री ग्याङका अभिषेकसिंह थापाले राणाको चियापसल पुर्याए । मीठो चिया पाइने पुरानो चियापसलबारे थापाले गुनगान गाए । राधादेवीजस्ता भुँइमान्छेसँग कुराकानी गर्न जाँगर चल्यो । चिया र चियापसलबारे थुप्रै कुराकानी भयो । उनले जीवनका आरोह–अवरोधसमेत सुनाइन् । एकबारको जीवनमा जस्तै दुःख आइपरे पनि कत्ति पनि दुःखी छैनन् । उनले भगवान्सँग प्रार्थना गरिन्, ‘चिया बेच्दाबेच्दै फुस्स सास जाओस् ।’  


 
 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ