केन्द्रीय संस्करण

एसईई नतिजा र विद्यार्थी मनोविज्ञान

person access_timeअसार १९, २०७५ chat_bubble_outline0

नतिजा मनोविज्ञान

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको चहलपहलले कलिला भाइबहिनीमा सकारात्मक तथा नकारात्मक दुवै खाले सोचलाई मलजल गराएको छ । मुलुकभरि कतै नसोचेको नतिजा त कतै राम्रा विद्यार्थीले समेत तल्लो स्तरको नतिजा प्राप्त गरेका कारण अनेकौँ अड्कलबाजी भइरहेकै छन् । परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको परीक्षामा नियमिततर्पm कुल चार लाख ५१ हजार ५३२ जना तथा एक्जाम्टेडतर्पm २५ हजार १३८ जना र प्राविधिकतर्पm आठ हजार ९०६ परीक्षार्थीको सहभागिता रहेको तथ्याङ्कलाई सार्वजनिक गरेको थियो । सोही तथ्याङ्कलाई हेर्दा ३.६५ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको सङ्ख्या १४ हजार २३४, प्राविधिकतर्पm ५३८ जना यो स्तरीकृत अङ्क ल्याउन सफल रहेको तथ्याङ्क रहेको पाइयो । यसको अर्थ ६० हजार अर्थात् १२ प्रतिशत विद्यार्थीले मात्रै ए प्लस ल्याएका छन् । यस पटक ए तथा ए प्लस ल्याउने विद्यार्थी सङ्ख्या १३ प्रतिशत मात्रै रहनुले शैक्षिक गुणस्तरीयतामा उस्तो स्तरोन्नति भयो भन्न सक्ने अवस्था रहेन । गत वर्षको तुलनामा ए ग्रेडमा अलिकति सुधार देखिएको भए पनि यसभन्दा तलको स्तरमा ह्रास नै आएको देखिन्छ । अझ १३ प्रतिशत विद्यार्थीले यस पटक डी ग्रेड ल्याउनु भनेको गत वर्षको तुलनामा ११ प्रतिशतले बढी हुन जान्छ । यस्तै गरेर १.६५ देखि २ जीपीए ल्याउने विद्यार्थी सङ्ख्या १ लाख बढी रहेको तथा दुई जीपीएभन्दा कम ल्याउने लगभग ४० प्रतिशत रहेको पाइन्छ । अक्षराङ्कन पद्धतिको परीक्षा प्रणालीले अनुत्तीर्ण नगराउने भनेको भए पनि सी ग्रेड अर्थात् जीपीए २ (१.६५ प्रतिशत) नल्याउने विद्यार्थीले माथिल्लो तहमा अध्ययन गर्न नपाउने व्यवस्था छ भने अङ्गे्रजी र गणितमा न्यूनतम् सी प्लस तथा सामाजिक र नेपालीमा न्यूनतम् डी ग्रेड ल्याउनुपर्ने प्रावधान छ । यसरी हेर्दा सी ग्रेड ल्याउने विद्यार्थीले पुनः परीक्षा लेखेर आफ्नो स्तर बढाउन सक्ने भए तर कुल ५१ हजारभन्दा बढी विद्यार्थीले भने ११ कक्षामा भर्ना हुन नपाउने रहेको देखिन्छ । 

हरेक परीक्षालाई विश्वसनीयता र वैधताको मापनबाट गुणस्तरीय छ छैन भनी हेर्नुपर्ने हुन्छ । यस पटकको नतिजा प्रकाशनमा सफ्टवेयरको कमजोरी तथा प्रयोगात्मक अङ्क जोड्नलाई समस्या हुँदा नतिजामा फरक परेको भन्ने कुरामा पक्कै परीक्षा नियन्त्रण कार्यालयको कमजोरी रहन गएको देखिन्छ । एउटै विद्यार्थीले तीनवटासम्म नतिजा प्राप्त गरेका कुरा पेचिला बन्न पुगे । देशव्यापी चासो र चर्चामा रहने यो स्तरको परीक्षाका देखिएको यस्तो खाले समस्यामा कार्यालयले संवेदनशील बन्नुपर्ने हो । बरु एक दिनपछि नतिजा प्रकाशन गरे पनि फरक नपर्ने हो तर यस पटकको नतिजामा आएको अचम्मको नतिजाले विद्यार्थी र सरोकारको परीक्षाप्रतिको पारदर्शिता र विश्वसनीयता नै घटेको भान हुन पुगेको प्रतिक्रियालाई सुन्दै आइएको छ । अत्यन्तै कमजोर सहपाठी साथी र रातोदिन मिहिनेत गरी घोटिएका मेधावी विद्यार्थीले पनि उही ग्रेड ल्याएका धेरै घटनालाई हेर्दा लापरवाही भयो भन्नुमा अत्युक्ति नहोला नै । विद्यार्थी र विद्यालयलाई प्रायः आफ्नो विद्यार्थी र साथीको स्तर र मिहिनेतको बारेमा थाहा हुन्छ नै । यद्यपि परीक्षा र मिहिनेतको अवमूल्यन हुँदा परीक्षा पद्धति र एसईई नतिजाको सिङ्गो स्तरप्रति नै जनविश्वास घट्ने सबै खाले कार्यलाई हतोत्साहित गर्नेबारेमा सरोकार सबैले आत्मसमीक्षा गर्नु आवश्यक छ । 

विद्यार्थीको श्रम र मिहिनेतको उचित मूल्याङ्कन गर्ने विषयविज्ञको व्यवस्थाबारे अब हरेक प्रदेशद्वारा मनन गरिनु आवश्यक छ । नतिजा प्रकाशनमा देखिएका त्रुटि र क्षमतालाई तुलना नै गर्न नमिल्ने सहपाठीसँगको समान नतिजा आउँदा मेधावी विद्यार्थीको उत्साहमा विश्वासघात भएको देखिन्छ । राम्रा विद्यार्थीले कमसेकम चाहेको र पाउनुपर्ने प्राप्ताङ्कमा ठगिनु पक्कै पनि व्यवस्थामा देखिएको त्रुटि नै हो ।

वास्तवमा एउटै परीक्षा केन्द्रमा कुनै कोठामा अत्यन्तै कडा नियममा परीक्षा हुने र अर्कोमा खुकुलो हुने खालका घटना भएका कुरा विद्यार्थीले सुनाउने मात्र होइन, हामीले माथिल्ला तहमा पनि नभोगेका होइनौँ । परीक्षा र लेखाइको मापनसँग जोडिने मनोवैज्ञानिक पक्षको विषयलाई संवेदनशील ढङ्गले केलाइनु जरुरी छ । परीक्षा हलको वातावरण, परीक्षा गार्डको व्यवहार, प्रश्नपत्र तथा थप कापी दिनमा लगाइएको समयजस्ता ससाना पक्षले परीक्षामा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । अर्को पक्षमा विद्यार्थीको स्वास्थ्य अवस्था, पढ्नका लागि पाएको अवसर र शिक्षकले सिकाएका ज्ञानको शैली, विद्यालयले दिएका वातावरणलगायतका लुकेका र हामीले यादै नगरेका कतिपय पक्षले विद्यार्थीमा मनोवैज्ञानिक झापड हानेको हुन्छ । कापी जाँचकीको मनोविज्ञान र लगनले प्राप्त नतिजामा सक्दो प्रभाव पारेकै हुन्छ । एउटा विषयको शिक्षकले अर्को विषयको कापी जाँचेका घटना पनि नसुनिने गरेका होइनन् । आफन्तवाद र नियम विपरीत हुने गरेका लापरवाहीले कापी जाँच्नेभन्दा कापीमा पैसाको स्वरूपलाई देख्न थाल्ने हो भने त्यहाँ विद्यार्थीको परिश्रम र देशको लगानीको पक्कै पनि अवमूल्यन भएको हुन्छ । संविधानतः माध्यमिक तहसम्मलाई निःशुल्क बनाउन सरकारले तलब, भत्तालगायतमा खर्च गरेको हुन्छ । कुल बजेटको १० प्रतिशत रकम शिक्षामा खर्चन आनाकानी गरेको अवस्थामा आगामी परीक्षालाई कक्षा ८ को जिल्ला स्तरीय, कक्षा १० को प्रदेश स्तरीय र कक्षा १२ को केन्द्रीय अर्थात् देशव्यापी स्तरबाट सम्पन्न गर्न लागेको बुझिन्छ । 

विद्यार्थीको श्रम र मिहिनेतको उचित मूल्याङ्कन गर्ने विषयविज्ञको व्यवस्थाबारे अब हरेक प्रदेशद्वारा मनन गरिनु आवश्यक छ । नतिजा प्रकाशनमा देखिएका त्रुटि र क्षमतालाई तुलना नै गर्न नमिल्ने सहपाठीसँगको समान नतिजा आउँदा मेधावी विद्यार्थीको उत्साहमा विश्वासघात भएको देखिन्छ । राम्रा विद्यार्थीले कमसेकम चाहेको र पाउनुपर्ने प्राप्ताङ्कमा ठगिनु पक्कै पनि व्यवस्थामा देखिएको त्रुटि नै हो । एक जना अङ्ग्रेजी पढाउने शिक्षिकाले भन्नुभयो, “मेरा विद्यार्थीहरूमा सी ग्रेड ल्याउनेले पनि ‘ए’ ल्याएको छ तर ‘ए प्लस’ ल्याउनुपर्नेको पनि ए नै आएको छ । यो कस्तो शिक्षकले कापी जाँचेको होला । कि सालाखाला नम्बर दिएर पठाएको हो, मैले त बुझ्नै सकिनँ ।” यसर्थ भाषागत विषयमा जाँचकीको लगन र मनोविज्ञानले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । नेपाली विषयमा युवावर्गले अलि नम्बर दिन कञ्जुस्याइँ नगरेको पाइन्छ । यसर्थ नेपालीमा जीपीए ४ आउनु ठूलो कुरा मानिन्छ । सामाजिक विषयमा राजनीतिगत ज्ञान र दैनिक समाचारका कुरामा विद्यार्थी वर्गले चासो नगरेकाले समस्या आएको देखिन्छ । अर्को पक्ष नेपाली र सामाजिक विषयलाई गाह्रो हुन्छ भन्ने भावनाले प्रत्यक्ष प्रभाव पारेको पाइन्छ । धेरैजसो विद्यालयले सबैभन्दा बढी लगानी गणित विषयकै अध्यापनमा लगाएको हुन्छ किनकि गणितमा हिसाब मिलाएमा राम्रो नतिजा आउँछ । तर अब भने सबै विषयलाई उत्तिकै मान्यता दिनुपर्छ भन्ने मान्यताको विकास भएको सकारात्मक अनुभवलाई बोध गर्न सकिन्छ ।

विद्यार्थीको कोणबाट हेर्ने हो भने परीक्षा भवनभित्रको वातावरण तथा लेख्नका लागि दिइने थप समय अवधि र अन्य सबैखाले वातावरणले नतिजामा धेरै ठूलो प्रभाव पार्दो रहेछ । मलाई राम्ररी याद छ, बल्खुद्वारा लिइने (प्राइबेट) मास्टर डिग्री प्रथम वर्षको परीक्षा दिने क्रममा के.के. कलेज, बानेश्वरमा सेन्टर थियो जहाँ एक जना कलिलो भाइलाई गार्ड राखिएको थियो । उनको रवाफिलो व्यवहार र धम्की मात्र होइन अनैतिक दादागिरीको कारण परीक्षा दिनबाटै हतोत्साहित हुनुपरेको थियो । उनले एकजना परीक्षार्थीले चिट चोरेको निहुँलाई लिएर लामो समय कापी खोसेर फिर्ता नदिने मात्र गरेनन् परीक्षार्थीको आग्रहलाई अस्वीकार गर्ने क्रममा प्रवेश कार्ड नै च्यातिदिएका थिए । ती परीक्षार्थीको हात समातेर लछार्दै बल्खुमा कम्प्लेन गर्न च्यालेन्ज गरेको दृश्य साँच्चै अनैतिक प्रकृतिको थियो । सोही गार्डले अर्की एकजना परीक्षार्थीलाई चिट चोरेको भन्ने विषयमा भएको वादविवादका क्रममा उनले परीक्षा हलमै कापी च्यातेर रुँदै बाहिरिएको घटनाबाट अपरिपक्वता र अनैतिक लाञ्छनासमेत हुने गरेको उदाहरणलाई केलाउन सकिन्छ । यसर्थ परीक्षा र प्राप्ताङ्क या त नतिजामा विद्यार्थीको लगनका साथमा अन्य मनोवैज्ञानिक वातावरणले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । मिहिनेत नगरी नतिजा खोज्ने र चिट सारेर, चोरेर आपूm महान बन्ने गलत सोचलाई अवश्य हतोत्साहित गर्नुपर्छ तर कुनै पनि तबरले परीक्षार्थीमा अभद्र व्यवहार हुनुले त्यो सीमित परीक्षाको समय त सकिन्छ नै व्यक्तिगत नैतिकतामा आँच आउँदो रहेछ ।

बोधगम्यता र मनोविज्ञान
वास्तवमा अभिभावक वा आफन्तले आफ्ना छोराछोरीले यस्तो नतिजा ल्याइस भनी गाली नगरौँ । धन्यवाद तथा बधाइ दिऔँ । तिनको हौसलामा थप ऊर्जा मिलोस् । राम्रै नतिजा ल्याउनेहरू पनि माथि गएर लड्ने गरेका दुःखद् कुराप्रति सचेत गराऔँ । पढाइको विषय मात्र सबै कुरा होइन मान्छे बनेर हिँड्न सिकाऔँ । यो उमेर भनेको भविष्यका रेखा कोर्ने र लक्ष्य निर्माणको ढलमले सोचमा के गरौँ कसो गरौँ भन्ने सोचमा हुर्कने उमेर हो । यसर्थ बालमनोविज्ञानमा जटिल हुने नकारात्मक कुराले तिनको जीवनमा नैरास्यता हुने गरी गरिने कुनै पनि व्यवहार र वचनले तिनको चाहनामा चोट नपु¥याउनुमा बुद्धिमानी होला नै । भर्खरै किशोरावस्थामा प्रवेश गरेका १५–१६ वर्षको जोसमा नतिजाको विषयमा धन्यवाद दिएर आगामी लक्ष्य कोर्ने बाटोमा सक्दो सहयोग गरौँ । तिनमा जीवनको परिवर्तन र सफलताको दोहोरो विरोधाभाषले प्रभाव पारेको हुन्छ । शारीरिक परिवर्तनसँग नेतृत्वगत चाहना र भविष्यप्रतिको चिन्ताले सताइरहेको हुन्छ । यस्तो अवस्थामा अग्रजको सहायताबाटै तिनले आगामी लक्ष्यबोध गरून् । कुन सङ्काय पढे के हुन्छ, कसरी पढे राम्रो हुन्छ भन्ने जस्ता सल्लाहमा उचित सहयोग गरौँ । यसर्थ नतिजा जे–जस्तो भयो, त्यसमा खुसी भएर आगामी पढाइको महŒवलाई बुझ्नु आवश्यक हुन्छ । नतिजाले मान्छेको गुण विकास र भोलिको भविष्यलाई मद्दत पु¥याओस् । जीवन र जगत्को नैतिक ज्ञानको अभावका कारण आजभोलि विश्वव्यापीकृत भौतिक ज्ञानले तिनलाई पूर्णता दिन नसकेको देखिन्छ । यसर्थ व्यावहारिक ज्ञानका कुरा, दैनिक जीवन जिउने सहज तरिकाको विषयमा अग्रजले सहायता दिनु बुद्धिमानी कर्म हुन्छ । अनुत्तीर्ण भएका विद्यार्थीलाई आफ्ना कमीकमजोरी सुधारेर पुनः मिहिनेत गर्न उत्प्रेरित गर्नुपर्ने देखिन्छ । यो ग्रेडिङ पद्धति अल्छीको ओखती अवश्य होइन । 

आजको विश्वसँग परिचित बन्नु सबैको आवश्यकता हो । धेरै निजी शिक्षण संस्थाले विद्यार्थीलाई विभिन्न खाले बहानामा ब्रह्मलुट गर्ने र सामुदायक शिक्षण संस्था अव्यवस्थित भएका कारण धेरै सर्वसाधारणले आर्थिक, मनोवैज्ञानिक जटिलता बेहोर्नुपरेको देखिन्छ । आजका पुस्ताले भोग्नुपरेका हरेक अप्ठ्यारामा पैसाको बिटोले प्रहार गरेको छ । हाम्रो देशमा शिक्षाले राजनीति चल्नुपर्नेमा राजनीतिद्वारा शिक्षा कुण्ठित छ । स्वदेशमै केही गर्नुपर्ने सोच आजका पुस्तामा नहुनु अग्रज पुस्ताको गलत सिकाइको परिणाम हो । हुन त देशले युवाको क्षमतालाई देशमै स्थान दिन नसक्नु पनि हो । हरेक शिक्षित र सक्षम नेपाली जनशक्ति अमेरिका, अस्टे«लिया जस्ता मुलुकतिर पलायन हुने गरेका तीता पीडा छन् । मुलुकमा बौद्धिक प्राज्ञिक वर्गको सम्मान गर्ने वातावरणको स्थापना गर्न पनि अब स्वदेशमै बसेर केही गर्ने सोचको विकासप्रति आजका पुस्तालाई प्रोत्साहन गरौँ । मैले एउटा कक्षाका करिब ३५ जना विद्यार्थीलाई सोधेँ, ‘तिम्रो भविष्यको योजना के छ ?’ करिब ७० प्रतिशत विद्यार्थीको चाहना विदेश जानेमै गएर ठोकियो । मूलतः सहरी परिवेशमा विदेशिने चाहना बढी रहेको देखिन्छ । आजका पुस्तालाई स्वदेशका सम्भावनाका विषय सबै निबन्ध लेख्न र कथा पढ्नका लागि मात्रै रुचिकर बन्न थालेको बुझिन्छ । तर हाम्रो देशमा पर्यटन विकासले गति लिएकै छैन । अत्याधुनिक विकासमा युवाको सञ्जाल बनेकै छैन । साँच्चै बौद्धिक विशेषज्ञको टोलीले विकास र रोजगारका सम्भाव्यतामा सोचेर लागिपरेको अवस्थै छैन । विभिन्न अत्याधुनिक खेती, कृषि विकास तथा अन्य लघु उद्योगको सोचले बाटो पाएकै छैन । हामीले खाली अर्काले बनाएको सुन्दर विकसित क्षेत्रतिरको आकर्षण बढाएका छौँ । नकारात्मक संस्कृतिलाई भिœयाएका छौँ । आफ्नै कला, संस्कृति, परम्परालाई रुढीवादी भनेका छौँ तर विश्लेषण गरेर केलाएका छैनौँ । एउटा विदेशी नेपालमा आउँदा यहाँको सुन्दरता, संस्कृतिमा रमाउन खोज्छ, विश्लेषण गर्छ । आनन्दको अनुभूति गर्छ । हामी ठूला बिल्डिङतिर लम्किरहँदा तिनले चोयाको सामग्रीलाई मन पराइरहेका छन् । यसर्थ आजका पुस्तालाई नयाँ भविष्यलाई केलाएर मुलुकमै केही विकासका कार्य गर्ने, आफ्नै देशलाई सुन्दर र विकसित तुल्याउने सोचलाई विकास गर्दै अघि बढ्नेतर्पm अभिप्रेरित गरौँ । आजको पुस्तालाई अब वैज्ञानिक, व्यावहारिक, देशप्रेमी, प्राविधिक तथा अत्याधुनिक विकाससँगै आफ्नो मौलिकता जोगाउने बाटोबाट हिँड्न सम्बन्धित सबैले आग्रह गरौँ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ