केन्द्रीय संस्करण

राष्ट्र, राज्य र साम्राज्य

person access_timeअसार १९, २०७५ chat_bubble_outline0

राष्ट्र : ल्याटिन भाषाको नेसियोबाट नेसन (राष्ट्र) शब्दको व्युत्पत्ति भएको मानिदै आएको छ । यसको अर्थ जन्मको आधार वा उम्रिएको भन्ने हुन्छ । अर्थात स्मिथ र लोरिङ व्यरिङ्टनको अनुसार राष्ट्र भनेको कुनै निश्चित ऐतिहासिक नामसहितको भूखण्डभित्र बसोबास गर्ने निश्चित सामूहिक नामधारी जाति वा मानव समुदाय नै राष्ट्र हो । यता स्टालिनले ः कुनै पनि निश्चित भूगोलभित्रको साझा इतिहास, साझा अर्थतन्त्र, साझा भाषा र साझा मनोविज्ञानको केन्द्रीकृत  वा सग्लो रूपलाई राष्ट्र वा जाति भनेर परिभाषित गर्नुभएको छ । मानव समाज विकासको ऐतिहासिक प्रक्रियामा राष्ट्रहरूको निर्माणपछि मात्रै राज्यको अवधारणा विकास भएको देखिन्छ ।

राज्यः मानव उत्पत्तिको प्रारम्भमा वर्गविहीन समाज थियो । त्यतिखेर सम्पूर्ण प्राकृतिक स्रोतसाधनहरू साझा थिए । तेरो मेरो, धनी गरिब र हेँला होचो थिएन । यसलाई आदिम साम्यवाद भनिन्थ्यो । मानव विकासक्रमसँगै निश्चित भूगोलभित्र विभिन्न राष्ट्रहरू विकास हुँदै जाँदा स्वार्थ र अन्तरविरोधहरू  टकराउन थाल्यो । अर्थात मानव समाजको चरित्र वर्गीय हुनपुग्यो  । यही पृष्ठभूमिमा एउटा वर्गले अर्को वर्गमाथि शासन, दमन र नियन्त्रण गर्ने शक्तिशाली राजकीय निकाय अनिवार्य हुनगयो । मूलतः राजनीतिक, आर्थिक, सांस्कृतिक तथा प्रशासनिक वर्गीय अङ्ग नै राज्य हो । 
वास्तवमा राष्ट्रहरूको विकासक्रमको पराकाष्ठमा नै राज्यको उत्पत्ति भएको देखिन्छ । यसलाई ल्याटिन भाषाको स्टाटस भन्ने पदावलीको विकसित रूप मानिन्छ । यो तात्कालीन समाजको चरित्र, शासकीय सङ्गठनहरूको स्वरूप, संरचना र हैसियत जनाउने समग्र संस्थाको नाम हो । म्याकियावेलीले शासन व्यवस्था चलाउने समग्र साङ्गठानिक संरचनालाई ‘द स्टेट’ भनेका थिए । यसबाट राज्य शब्दको प्रयोग हुँदै आएको देखिन्छ । राज्य सार्वभौमसत्ता सम्पन्न र शक्तिशाली अङ्ग पनि हो ।

साम्राज्यःल्याटिन भाषाको इम्पेरियमबाट इम्पेरियलिजम भएको हो । यसको अर्थ सर्वोच्च शक्ति भन्ने हुन्छ । मूलतः वर्गसमाजको स्थापना पछि कुनै न कुनै रूपको हस्तक्षेप कायम हुँदै आएको छ । युरोपमा आएको औद्योगिक क्रान्ति पछि आधुनिक साम्राज्यवाद हावी भएको देखिन्छ । शक्तिशाली राज्यले कमजोर राज्यहरूमाथि वा शक्तिशाली शासकले अन्य दुर्बल शासकहरू माथि बलपूर्वक र अन्यायपूर्ण ढङ्गले प्रभुत्व जमाउने हेपाहा पद्धति नै साम्राज्यवाद हो । अर्थात आफ्नो राज्यको सबैखाले प्रभाव र नियन्त्रण विस्तार गर्ने हैकमवाद नै साम्राज्यवाद हो । कुनै पनि सार्वभौम राज्यमाथि उसको  इच्छा विपरीत सम्पूर्ण दमन, नियन्त्रण र शासन गर्नु साम्राज्यवाद हो । यो मानवता, न्याय र विवेकभन्दा पनि शक्ति, स्वार्थ र दम्भमा आधारित हुन्छ । वास्तवमा साम्राज्यवाद भनेको गैरन्यायिक, अमानवीय तथा अराजक शासन प्रणाली हो ।
विशेषताः मूलतः माक्र्सवादले अर्थराजनीतिलाई साम्राज्यवाद हावी हुनुको मूल कारण मान्दछ । अर्थात यो राजनीतिक, आर्थिक, सामरिक, सांस्कृति, सामजिक तथा धार्मिक स्वार्थको रणनीतिद्वारा निर्देशित हुन्छ । यसैलाई जोड दिँदै लेनिनले भनेका छन् कि साम्राज्यवाद भनेको एकाधिकार पुँजीवाद नै हो । उहाँले साम्राज्यवादका विभिन्न पाँच चरणहरूको विशेषता खुट्याउनुभयो । यसमा उत्पादन तथा पुँजीको अति केन्द्रीकरण, बैङ्कको केन्द्रीकरण, उद्योगमाथिको पुँजीपतिहरूको एकाधिकार, पुँजीको निर्यात र पुँजीवादी राष्ट्रहरूबीचमा भूमण्डलीय बाँडफाँड पर्दछ । आजको भूमण्डलीकरण, उदारीकरण र निजीकरण साम्राज्यवादी अर्थतन्त्रको असली चरित्रहरू हुन् । त्यति मात्र होइन विश्वका ठूलाठूला युद्धहरू पनि यही साम्राज्यवादी स्वार्थकै प्रतिनिधि घटनाहरू हुन् । विशेष गरेर यसको चरित्र विस्तारवादी हुन्छ । यसले आधारभूतरूपमै आफ्नो प्रभाव, पकड र नियन्त्रण विस्तार गर्नुपर्ने हुन्छ । यसैगरी यसले शोषण र स्रोतसाधनहरूको दोहन गर्दछ । यसले आफ्नो राज्यको शक्ति र प्रभाव विस्तार मात्र गर्दछ । यो गैरन्यायिक हुन्छ ।
स्वरूपःवास्तवमा साम्राज्यवादको विभिन्न रणनीतिक रूपहरू छन् । यीमध्ये पराधीन वा परतन्त्र एउटा रूप हो । यसमा शक्तिशाली राज्यले सैन्य हस्तक्षेपद्वारा विजय प्राप्त गरी पूर्ण नियन्त्रण गर्दछ । उदाहरणका लागि बेलायतबाट स्वतन्त्र हुनु पूर्वभारत, श्रीलङ्का र बर्मालाई लिन सकिन्छ । यसैगरी कमजोर राज्यले शक्तिशाली राज्यसँग सम्झौता गरी आफ्नो राज्यको सुरक्षा गर्ने पद्धतिलाई संरक्षित राज्य भनिन्छ । उदाहरणका लागि भुटान भारतद्वारा संरक्षित राज्य हो । त्यस्तै पट्टा वा लिज पनि साम्राज्यवादी रूप हो । यसमा धनी वा शक्तिशाली राज्यले कमजोर राज्यको खास भूभागलाई निश्चित समयसम्मको लागि सम्झौतामार्फत् खरिद गरेर आफ्नो प्रभाव कायम राख्दछ । हङ्कङ र मकाउ यसको उदाहरणहरू हुन् जुन अहिले स्वतन्त्र भइसकेको छ । 
त्यस्तै गरी उपनिवेश पनि साम्राज्यवादको एउटा रूप हो । यो पराधीन राज्यसँग मिल्दोजुल्दो देखिन्छ । यसमा ठूला राज्यले कुनै पनि मुलुकको पूरै भूभाग या कुनै निश्चित क्षेत्रमा आफ्नो औपनिवेशिक हस्तक्षेप कायम गर्दछ । पन्ध्रौँ शताब्दीबाट प्रारम्भ भएको उपनिवेशवादी लहर बीसौं शताब्दीको अन्त्यसम्म आउँदा अधिकांश मुलुकहरू स्वतन्त्र भइसकेका छन् । यसमा बेलायत, फ्रान्स, स्पेन, पोर्चुगल र हल्यान्ड अग्रपङ्क्तिमा थियो । यसैगरी साम्राज्यवादको अर्को रूप भनेको प्रभाव क्षेत्र पनि हो । यसमा कमजोर राज्यलाई पूरै अधिनस्त नबनाई खास सम्झौता मार्फत कुनै पनि रणनीतिक क्षेत्रलाई आफ्नो प्रभावमा राख्ने नीति पर्दछ । उदाहरणका लागि बीसौं शदीको प्रारम्भमा इरानको तेल क्षेत्रलाई रुस र बेलायतले आआफ्नो प्रभाव क्षेत्र बनाएका थिए । 
यता साम्राज्यवादको अर्को नयाँ रूप भनेको नवउपनिवेशवाद हो । यो साम्राज्यवादको विकसित घुमाउरो र छद्म रणनीति हो । यसमा शक्ति राष्ट्रहरू प्रत्यक्षरूपमा शासन गर्न आउँदैन । उनीहरू सम्बन्धित मुलुककै सबैभन्दा विश्वासिलो, लोकप्रिय र ठूलो दल वा कारिन्दा मार्फत आफ्नो औपनिवेशिक स्वार्थहरू पूरा गर्ने गर्दछ । यसलाई नवउपनिवेशवाद भनिन्छ । यो साम्राज्यवादको पछिल्लो छद्म रूप हो ।
 

साम्राज्यवाद र उपनिवेशवादः साधरणतय साम्राज्यवाद र उपनिवेशवाद पर्यायवाची शब्द हुन् । यो शक्तिशाली राज्यले कमजोरहरूलाई कुनै न कुनै रूपको शोषण, हस्तक्षेप र नियन्त्रण कायम गर्ने तरिका हो । तर विशिष्टरूपमा भन्नुपर्दा साम्राज्यवाद र उपनिवेशवादमा भिन्नता रहेको छ । मूलतः साम्राज्यवादमा शासन व्यवस्थादेखि सबैखाले नीति नियमहरूमा सम्पूर्णरूपमा नियन्त्रण कायम गरिन्छ । यता उपनिवेशवादमा सम्बन्धित मुलुकको केही मौलिक पक्षहरूमा स्वतन्त्रता हुन्छ । साम्राज्यवादमा त्यहाँका जनतालाई आफ्नै राजनीतिक, आर्थिक, धार्मिक, सभ्यता र  संस्कृति स्वीकार गर्न बाध्य पारिन्छ । उपनिवेशवादमा कतिपय मौलिक सवालहरूमा छुट दिइन्छ । यसैगरी साम्राज्यवादमा राज्य पूर्णरूपमा विलयको अवस्थामा हुन्छ भने उपनिवेशमा राष्ट्र र राष्ट्रियता विकास हुने सम्भावना रहन्छ । 
यद्यपि दुवै रूपहरूमा सार्वभौमसत्ता हनन् भएको हुन्छ । दोस्रो विश्वयुद्धपछि  पुरानो उपनिवेशबाट धेरै मुलुकहरू उन्मुक्त भए पनि नयाँ उपनिवेशवादी रणनीतिबाट उनीहरू आज पनि प्रताडित छन् । नवउपनिवेशमा प्रत्यक्षरूपमा राजनीतिक, आर्थिक तथा सैन्य नियन्त्रण हुँदैन । तर घुमाउरो तरिकाले आर्थिक, धार्मिक तथा सांस्कृतिक हस्तक्षेप कायम गरिएको हुन्छ । यो पूर्वाधार विकास र लोकप्रिय कार्यक्रमहरूको कमलो भावनारूपी आवरणमा आउने गर्दछ । अर्को भाषामा यो विश्व बजार कब्जा गर्ने नयाँ रणनीतिक सिलसिला पनि हो । यस्तो रणनीतिक रूपलाई साधरण जनताले पहिचान गर्न सक्दैनन् । अर्थात् जनता भ्रम र द्विविधामा फसेको हुन्छन् । यही अन्यौलताको कमलो र सजिलो परिवेशमा उनीहरूको नवऔपनिवेशिक नीति सफल भएको देखिन्छ । हस्तक्षेपको यही घुमाउरो नीतिलाई नवउपनिवेशवाद भनिन्छ ।

निष्कर्षः मानव समाज विकासको ऐतिहासिक प्रक्रियामा विभिन्न राष्ट्रहरू निर्माण भयो । यही राष्ट्रहरूको विकाससँगै वर्ग समाजको स्थापना भयो । यो वर्गीय स्वार्थ र अन्तरविरोधपूर्ण थियो । यही धरातलमा एउटा वर्गले अर्को वर्गमाथि शासन, दमन र नियन्त्रण गर्नुपर्ने ऐतिहासिक आवश्यकता हुनगयो । यसका लागि शक्तिशाली सङ्गठन अनिवार्य भयो । यही प्रक्रियामा राष्ट्र–राज्यको अवधारणा विकास भयो ।
 यता विज्ञान र प्रविधिको अभूतपूर्व विकाससँगै सबैको स्वार्थ र अन्तरविरोधहरू नाटकीय रूपमा बढ्नगयो । विश्वमा औद्योगिक क्रान्ति भयो । यसले विश्वव्यापी रूपमा राजनीतिक, सामरिक, आर्थिक, धार्मिक तथा सांस्कृति प्रभुत्व र नियन्त्रणलाई अनिवार्य बनायो । एकाधिकारवादी दलाल पुँजी विस्तारका लागि साम्राज्यवादी रणनीति इतिहासको अपरिहार्य आवश्यकता हुनपुग्यो । यही स्वार्थमा ठूलाठूला युद्धहरू भए । दोस्रो विश्वयुद्धपछि धेरै मुलुकहरू स्वतन्त्र भए पनि उनीहरू नवउपनिवेशवादी रणनीतिको सिकार भए । आज भौतिक पूर्वाधार विकास र लोकप्रिय नारा र कार्यक्रमहरूको आवरणमा साम्राज्यवादले आफ्नो रणनीतिक स्वार्थ पूरा गरिरहेको देखिन्छ । साम्राज्यवादको यही छद्म रणनीतिक अवतारलाई नवउपनिवेशवाद भनिन्छ ।
  

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ