केन्द्रीय संस्करण

काङ्ग्रेसको हेटौँडा भेलाको सङ्केत

person access_timeअसार १९, २०७५ chat_bubble_outline2

काङ्ग्रेस जिल्ला सभापतिहरूको भेला भरखरै हेटौँडामा सम्पन्न भएको छ । उक्त भेलाले गत साल सम्पन्न निर्वाचनमा भएको काङ्ग्रेसको लज्जास्पद हारलाई सबैभन्दा माथिल्लो तहका नेताहरूको अकर्मण्यता र दुई ठूला दलको आपसी मेलमिलापको नतिजा हो भनेर निष्कर्ष निकाल्यो । यो निष्कर्षले नेपालको सबैभन्दा जेठो पार्टी र आफूलाई लोकतन्त्रको मसिहा ठान्ने दलको वास्तविक हविगत प्रष्ट भएको छ । संस्थापन पक्ष र गैरसंस्थापन भनेर नामकरण गरी दुई अलग–अलग फ्र्याक्सन बनाई पक्ष–विपक्षमा जसरी सत्तोसराप गरियो, त्यसले काङ्ग्रेसका उही सतहत्तर जिल्ला ७७ सङ्ख्याकै सभापतिहरू र केन्द्रका एकाध नेताहरूको अझैसम्म पनि परम्परागत रूपमा रहेको मनोवृत्ति र वक्तव्यबाजीले गर्दा काङ्ग्रेसीजनमा आस्था राख्ने जनताहरूको मन कँुडिएको छ । जिल्लामा काङ्ग्रेसका गैरसंस्थापन पक्षहरूले सो भेलालाई कतिसम्म आफू अनुकूल परिस्थिति पाए, त्यो त उनीहरू आफैले समीक्षा गर्लान् तर हरेक क्षेत्रमा अल्पमतमा परिरहेका सभापति देउवाले भने राहतको अनुभव गरेका हामी देख्न सक्छौँ । सो गुटबन्दीबाट प्रेरित भेलाले काङ्ग्रेसको इतिवृत्तमा कस्तो प्रभाव पार्ला । त्यो अहिल्यै अड्कलबाजी गर्नु हतार हुन सक्छ । तर भेलामा प्रस्तुत भएका विषय वस्तुहरूलाई अध्ययन गर्ने हो भने हामी यो पाउन सक्छौँ । भेलाले झिनामसिना मुद्दाहरू सोरसार गरी मेनोफेस्ट्रोमा हलुका र तुक कम भएका तर्कहरूको सँगालोको २१ बुँदे दस्तावेज जारी गरे । योन भेलाले पार्टीलाई सैद्धान्तिक रूपमा स्पष्ट मार्ग निर्देशन गर्छ कि भन्ने जन अपेक्षालाई सम्बोधन गर्न सकेन । चोर औँलो अरूतिर ठड्याउने र आरोप र प्रत्यारोपले रङ्गिएको सो दस्तावेज अध्ययन गर्दा देखिएको पाराले लाग्छ– काङ्ग्रेस अझै सुध्रिने वाला छैन । आपसी कलह, विमेल र घरझगडाको नतिजाले पल्लो किनारमा हुत्याएको काङ्ग्रेसमा अब “तेरो गल्ती र मेरो गल्ती” जुन औँला ठड्याउने रोग लागेको छ त्यसैले राष्ट्रिय राजनीतिमा हालिमुहाली गरेको दशकौँ पुरानो वृत्तान्तको नेपाली काङ्ग्रेसले राणा शासन ढाल्नका लागि खेलेको नेतृत्वदायी भूमिका, प्रजातन्त्र ल्याउन खेलेको समन्वयात्मक भूमिका र गणतन्त्र स्थापनका लागि निर्वाह गरेको अभिभावकीय भूमिकाहरू हाल आएर शून्यमा परिणत भएको छ । नेपाली काङ्ग्रेसले अङ्गीकार गर्ने गरेको गतिशीलता, प्रभावकारिता र समसामयिक राजनीतिक प्रतिस्पर्धाको आदर्शवादी वचन केवल नारामा मात्रै सीमित हुन पुगेको देख्न सकिन्छ । 

इतिहास अध्ययन गर्ने हो भने काङ्गे्रसको नेतृत्वमा सक्षम व्यक्तिहरूको उपस्थिति थिए । पार्टी सञ्चालनमा दुरगामी सोच, सहज कार्याकर्ता पहुँच तथा अन्तर दलीय लोकतान्त्रिक व्यवहार तथा कार्यकर्ताहरूप्रति अपार प्रेमभाव थियो । अरूभन्दा फरक पोजेटिभ डिस्क्रिमिनेसनले गर्दा कार्यकर्ताहरू र शुभचिन्तकमा अपनत्व थियो पार्टीमा तर जब हालको पुस्ताका काङ्ग्रेसीजनमा सुख सयल र भोग विलासको गति उम्दा गतिमा चढ्यो । व्यक्तिगत लाभ र गुटबन्दीमा ताली बजाउनेहरूलाई भन्दा अन्यलाई नेतृत्व तहमा रहेका नेताजीहरूले मान्छे नै गन्न छोडे । 

नेपाली जनताले बीपी कोइरालाको विद्वता बिर्सेका छैनन् । पार्टी सञ्चालन गर्ने कार्यकुशलता, पहिलो जनआन्दोलन पश्चात् भएको आम निर्वाचन, जहाँ काङ्ग्रेसीलाई नेपाली जनताहरूले बहुमतले अनुमोदन गरेका थिए । त्यत्रो ऐतिहासिक जनआन्दोलनका कमान्डर तथा सारा जनताले लौहपुरुष ठानेका गणेशमान सिंहले देखाएको बहादुरी, साहस, त्याग र बलिदानको कारण राष्ट्रमा एकछत्र विश्वासिलो बनिरहेको दलमा जब गणेशमान रुँदै बाहिर जानुप¥यो । कृष्णप्रसाद भट्टराईमाथि अनेक षडयन्त्र गरी निष्काशन गरियो तत्पश्चात् सारा जनातहरूमा यो भान परिसकेको थियो । अब काङ्ग्रेसको विकल्प खोज्ने बेला भइसकेको छ । तब त जनताले परिवर्तन चाहे र कम्यनिस्टहरूलाई विश्वास गरे । फलतः मनमोहन अधिकारीको सरकार बन्यो र सो समयमा अनुभवी एवम् पाका अधिकारीले छोटो समयमा सरकार सञ्चालन गरेको नजिरलाई अहिले पनि कम्युनिस्टहरूले एक रिफरेन्सको रूपमा लिने गर्दछन् । त्यसपछि तत्कालीन माओवादी, जो भरखरै शान्ति प्रक्रियामा आएको थियो र गरिब, निमुखा, सोझा सादा सबैले आशा भरोषा गरेको कारण माओवादीले प्रथम संविधानसभा चुनाव जित्न सफल भए भने त्यसपछि भएको दोस्रो संविधानसभाको निर्वाचनभन्दा बाहेक अरू समय नेपाली जनताहरूले काङ्ग्रेसलाई स्वीकारेनन् । सदनमा जहिले पनि ठूलो–ठूलो कुरा गर्ने र सरकारभन्दा अलग बस्नै नसक्ने परिपाटीले गाँजेको हुनाले नेतृत्वगणमा सोही मात्र ध्याउन्न रहिरह्यो । चार तारा र रूखको इतिहासलाई बिर्सेर कहिले हसिया हथौडा त कहिले गाईमा स्वस्तिक चिन्ह लाउनुपर्ने बाध्यात्मक उर्दी कार्यकर्तासम्मले त मान्ने भए तर जनताहरूलाई सो ह्विप लगाएकोमा जनताहरूले किन टेर्थे त्यस्ता आदेश । त्यही भएर निर्वाचनमा जनताले लोक्पा खुवाइदिए ।  केन्द्रीकृत निर्णय प्रकृया र आदेश, बडो मुस्किलले जिल्ला तहसम्म मात्र देखिने राजनीतिक संरचना र हैकमवादी सोचले गर्दा जिल्लाभन्दा तल्लो तहमा हाल कार्यकर्ताविहीन हुँदैछ नेपाली काङ्ग्रेस । गत साल सम्पन्न चुनावपछि त केही बचेखुँचेका कार्यकर्ताहरू तितरवितर भएका छन् । गाउँघरमा केही कम्युनिस्ट पार्टीको सिन्धुर लगाइसकेका छन् भने केही अब के गरौँ र कसो गरौँ भन्ने दोधारे मानसिकतामा रहेको हामी देख्न सक्छौँ । वास्तवमा नेपाली काङ्ग्रेसको तहगत संरचना हेर्ने हो भने जुन स्थानीय तहमा अत्यन्तै कमजोर उपस्थिति देख्न सकिन्छ । हुने खानेहरूको दल भनेर गुथाएको उमा हालसम्म पनि हो कि भन्ने छनक हामी देख्न सक्छौँ ।

विधानतः काङ्ग्रेसहरूले गर्नुपर्ने महासमिति बैठक गुट र उपगुटकै कारण जस र अपजस कसले लिने भन्ने विषयको त्रास मनोविज्ञानले डेरा जमायो । राम्रा विचारका युवा नेतृत्वगणलाई नजर अन्दाज गरी र कम्युनिस्ट सरकारलाई कटाक्ष मात्र गरेर आफ्नो खस्केको साख माथी उठाउन सक्तैन ।

अधिकांश जिल्ला सभापतिहरू उच्च वर्गीय समुदायबाट प्रतिनिधित्व जनाउने र राजनैतिक पृष्ठभुमी अध्ययन गर्ने हो भने कम्युनिष्टहरूले जस्तो घामपानी खेपेका कमै देखिन्छ । उच्च वर्गीय पारिवारिक पृष्ठभूमिबाट पदार्पण भएकाले पनि हुन सक्छ बहुसङ्ख्यक निम्न वर्गीय समुदायहरूलाई समेट्न वा पूर्णरूपमा सम्बोधन गर्न नसकिएको देखिन्छ । जिल्ला तथा स्थानीय तहमा बलियो साङ्गठानिक संरचना नहुनु तर केन्द्रीय तहमा सधँै सरकारमा नै बलियो पकड जमाइरहनु र स्थानीय भोटरले आफूले अमूल्य मत दिई विजय गराई सिंहदरबार वा बानेश्वर दरबार पठाएका नेतृत्वहरूसँगको पहँुच नभएको कारण जनता तथा कार्यकर्ताहरूको मन कुँडिएको छ । राष्ट्रिय स्वार्थमा एक ढिक्का भई एकताबद्ध रूपमा काम गर्नुभन्दा पनि बूढानीलकण्ठ र बानियाँटार टिम बनाई गुटको राजनीति गर्दाको हविगत अहिले काङ्ग्रेसले भोगिरहेको छ । इतिहास बोकेको, राष्ट्रको ठूल्ठूला परिवर्तनको नेतृत्व गरिसकेको पार्टी अहिले आपसी असमझदारी, एकले अर्कालाई स्वीकार्न नसक्ने प्रवृति, जँुगाको लडाइँ, मपाइँत्व, मिचाहा प्रवृत्ति तथा बढप्पन नै काङ्ग्रेस पतनको एक प्रमुख कारण भएको कुरा स्पष्ट छ । नेपाली राजनीतिमा सबैभन्दा बढी पढेलेखेका नेताहरू भएको दल जहाँ विद्यावारिधि गरेका डाक्टर साहेवहरूको लर्को नै छ । तर त्यति हुँदाहुँदै पनि आफ्नो विद्वता सही रूपमा भजाउन नसक्दा नेपाली काङ्ग्रेस हाल इतिहासकै एक कठिनतम अवस्थामा पुगेको छ । बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, वर्तमानका प्रखर तथा उदयीमान प्रदीप गिरी, गगन थापा, विश्व प्रकाश शर्मा, प्रदीप पौडेल जस्ता नेताहरू भएका यस दलमा ती होनहार नेताहरू सधैँ पाखा लगाइए । “कपाल सेतो र दाँत नफुस्की उनीहरू प्रौढ हुन्नन् । त्यस्ता आलाकाँचाका कुरा के सुन्नु र ?” भन्ने दरिद्र मानसिकताको पराकाष्ठ हामी नेपाली काङ्ग्रेसमा देख्न सक्छौँ । 

काङ्ग्रेसका एकजना केन्द्रीय सदस्यले “नेपाली काङ्ग्रेसबाहेक अन्य पार्टीहरूलाई मेन्सन् गरिदिँदा हुन्छ, हामी फरक पार्टी हौँ” भनेका थिए तर ठीक विपरीत भयो । बागीको सबैभन्दा ठूलो असर नेपाली काङ्ग्रेसले भोग्यो । 

पहिलो संविधान सभाको निर्वाचनमा रौतहट र काठमाडौँ दुवै ठाउँबाट पराजित तत्कालीन एमालेका महासचिवले निर्वाचनमा हारेकै दिन नैतिकताको आधारमा राजीनामा घोषणा गरेकाले के सिद्ध गर्दछ भने कम्युनिस्टहरूमा नैतिकता प्रबल छ तर पहिलोबाट लज्जास्पद तेस्रो पार्टीमा पुगेको नेपाली काङ्ग्रेसले किन र कसरी त्यस्तो भयो भनेर समीक्षा गर्न पनि ७ महिना लगायो । साताँै महिनामा गरेको समीक्षा पनि ‘नाच्न नजान्ने आँगन टेडो’ जस्तो अतार्किक निष्कर्ष निकाल्यो । त्यसबाट पनि कार्यकर्ता सन्तुष्ट छैनन् । 

विधानतः काङ्ग्रेसहरूले गर्नुपर्ने महासमिति बैठक गुट र उपगुटकै कारण जस र अपजस कसले लिने भन्ने विषयको त्रास मनोविज्ञानले डेरा जमायो । राम्रा विचारका युवा नेतृत्वगणलाई नजर अन्दाज गरी र कम्युनिस्ट सरकारलाई कटाक्ष मात्र गरेर आफ्नो खस्केको साख माथी उठाउन सक्तैन । केही दिन अगाडि सदनमा “भारत भ्रमणमा जाँदा किन सीमाको कुरा उठेन ? किन नाकाबन्दीको कुरा उठेन ? किन चाइन भ्रमणमा लिपुलेकको विषयमा कुरा उठेन ? काठमाडौँका सडक समयमै निर्माण हुन किन सकेन ?” भनेर काङ्ग्रेसका डाक्टरी नेताहरूले फलाकेका शब्दहरू सुनियो । तर १०० दिन अगाडिसम्म पनि उनीहरू नै सरकार प्रमुखको रूपमा हुँदा चाहिँ किन चुँसम्म गर्न सकेनन् ? त्यस्ता थोत्रे कुतर्कले सधैँ राजनीति चल्छ होला ? यो सत्य हो कि, काठमाडाँैका सडक समयमै निर्माण हुन नसक्दा जनताहरूले दुःख पाएका छन् । तर नुवाकोटबाट विजयी एकजना डाक्टरी नेता जो २० वर्षदेखि सत्ताको प्रमुख पदको वरिपरि नै घुमिरहेका छन्, तिनले सडकको खाल्डाखुल्डीको कुरा उठाएको कुरा सुन्दा लाग्छ, उनलाई बालाजु बाइपास भन्दा पारि त्रिशूली जाने बाटोमा बसी त्यो शब्द पुन बोले हुन्थ्यो । बालाजुबाट ककनी पुग्ने २२ किमिको सडक बसबाट पुग्न २ घण्टाभन्दा बढी समय लाग्छ । जहाँको जनप्रतिनिधि उनै ठूला नेता हुन् । नेकपा नेतृत्वको सरकारलाई सय दिन पनि नबित्दै यो भएन, त्यो भएन भन्ने कुरा सुन्दा लाग्छ, यो सबै सत्ता बाहिर हुँदाको छटपटी हो । काङ्ग्रेसको यो प्रवृत्ति र विचलनले के देखाउँछ भने काङ्ग्रेस अबको स्थायी प्रतिपक्ष हो र यो लामो समयसम्म प्रतिपक्षमा नै रहन्छ ।
 

कमेन्ट

  1. July 3, 2018, 1:09 p.m. Maki Gurung

    Heights of plagiarism! Please refer - https://www.kantipurdaily.com/opinion/2018/06/27/153006418683041140.html

  2. July 3, 2018, 10:59 a.m. अनुप पाण्डे

    कृपया १३ असार कान्तिपुर दैनिकमा प्रकाशित यस लेख पढनुस् अनि तिलकको यो लेख । आफै निष्कर्श निकाल्नुस् । https://www.kantipurdaily.com/opinion/2018/06/27/153006418683041140.html

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ