शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शिवम् सिमेन्ट आईपीओ जारी गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग

सोमबार, १८ असार २०७५, १५ : ४६
सोमबार, १८ असार २०७५

काठमाडौँ– धितोपत्र बोर्डले शिवम् सिमेन्टलाई आईपीयो जारी गर्न स्वीकृति प्रदान गरेको छ । यसरी आईपीयो जारी गर्न स्वीकृति पाउने शिवम् नेपालको पहिलो सिमेन्ट उद्योग बनेको छ । शिवम्ले स्थानीयका लागि प्रतिकित्ता तीन सय र सर्वसाधारणका लागि प्रतिकित्ता चार सय रुपियाँका दरले आईपीओ खुलाउने भएको छ । 

शिवम्ले स्थानीयका लागि दुई प्रतिशत तथा सर्वसाधारणका लागि दश प्रतिशत गरी जारी पुँजीको १२ प्रतिशत आईपीओको अनुमति पाएको हो । यसअनुसार आठ लाख ८० हजार कित्ता स्थानीयका लागि र ४४ लाख कित्ता सर्वसाधारणका लागि प्राथमिक सेयर जारी हुनेछ ।

शिवम्ले आईपीओ जारी गर्दैगर्दा उसको वित्तीय अवस्था सबल रहेको पुष्टि गर्छ । कम्पनीको वित्तीय अवस्था र आगामी दिनमा आर्जन गर्ने प्रतिफललाई हेर्ने हो भने पनि लगानीकर्ताको लागि यो उपयुक्त थलो देखिन्छ ।  

लगानीमा ठूलो रकम खर्चेको कम्पनीले आईपीओ मार्फत आफूलाई अझै मजबुद बनाउने विश्वास गर्न सकिन्छ । आफ्नो वित्तीय अवस्थालाई मजबुत बनाउँदै लगेको शिवम् सिमेन्टमा लगानी गर्ने लगानीकर्ताले प्रतिफलबाट नाफा लिन सक्नेछन् र यसको सेयर मूल्यबाट पनि प्रशस्त नाफा कमाउन सक्ने ठाउँ देखिन्छ ।

शिवम्ले अन्तर्राष्ट्रिय क्रेडिट दर्जा एजेन्सी (इक्रा)बाट मजबुत आईपीओ रेटिङ ‘३ प्लस’ पनि प्राप्त गरिसकेको छ । ‘गुणस्तरको पहिचान हो शिवम् सिमेन्ट’ र ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ भन्ने नारामा अडिग रहँदै आएको कम्पनीले आफ्ना उत्पादनलाई देशमा मात्र नभई भारतमा पनि बिक्री वितरण गर्न सक्ने क्षमता वृद्धि गरेको छ ।

कम्पनी
२०६० सालमा प्राइभेट कम्पनीको रूपमा हेटौँडामा स्थापना भएको शिवम् सिमेन्ट २०६७ पछि भने व्यावसायिक उत्पादनमा सक्रिय बनेको हो । उत्पादनको सुरुवातमा प्रतिदिन ७ सय टन सिमेन्ट र १२ सय  टन क्लिङ्कर उत्पादन गरेको उद्योग २०७२ सालमा आएर पब्लिक कम्पनीमा परिणत भयो । 

०७२–७३ मा आएर शिवम्ले २३ सय टन सिमेन्ट उत्पादन गर्न थाल्यो र हाल आएर प्रतिदिन तीन हजार टन सिमेन्ट र १९ सय टन क्लिङ्कर उत्पादन गर्ने क्षमता वृद्धि गरेको छ । शिवम् सिमेन्टमा ६ वटा कम्पनीहरु लक्की ग्रुप, सारदा ग्रुप, जेबी मारु ग्रुप, एचआर गोयल ग्रुप, देवेनरा ग्रुप र भिमसरिया ग्रुपको संयुक्त लगानी छ । 

सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रकुमार गोयल छन् भने बोर्ड अफ डाइरेक्टरहरूमा रोहित गुप्ता, सन्दीपकुमार सारदा, अमित मोर र रघुनन्दन मारु छन् । भारतीय गुणस्तर चिन्ह बीआईएस प्रमाणपत्र प्राप्त गर्न सफल सिमेन्ट हो शिवम् सिमेन्ट ।

साथै नेपालमै उत्कृष्ट सिमेन्टको प्रमाणपत्र (आईएसओ) पनि प्राप्त गर्न सफल भएको छ । भारतीय गुणस्तर चिन्ह बीआईएस प्रमाणपत्र प्राप्त गरेपश्चात यो कम्पनीले आफ्नो उत्पादन विदेश निर्यात गर्न पनि सक्षम भएको हो । शिवम्ले भारत निर्यात गर्न योग्य सिमेन्ट उद्योगका रूपमा आफूलाई स्थापित गरिसकेको छ । 

होङ्सी शिवम् सिमेन्टमा लगानी

चाइनाको प्रख्यात सिमेन्ट उत्पादक कम्पनी होङ्सीलाई नेपालमा भित्र्याउन सफल शिवम् सिमेन्टले आफ्नो २६ दशमलव ४ प्रतिशत अर्थात ३ अर्ब ३६ करोड सेयर होङ्सीमा लगानी गरेको छ । नवलपरासीमा सञ्चालित होङ्सीमा अन्य सहायक कम्पनीमार्फत शिवम्ले संयुक्त लगानी गरेको हो ।

होङ्सीले प्रतिदिन ६ हजार टन सिमेन्ट उत्पादनको क्षमता राख्छ । ठूलो लगानीमा सञ्चालित होङ्सीको प्रतिफल आउन भने ३–४ वर्ष अझै लाग्नेछ । शिवम्को होङ्सीमा ठूलो लगानी रहेकाले भविष्यमा कम्पनीको नाफा वृद्धि राम्रो हुने सङ्केत देखिन्छ । त्यसैगरी सहायक लगानीलाई पनि कम्पनीले बढावा दिएको देखिन्छ । 

कम्पनीको वित्तीय अवस्था

कम्पनी स्थापनाकालदेखि हालसम्मको वित्तीय अवस्थालाई हेर्दा हाल कम्पनी आर्थिक रूपमा सबल देखिएको छ । हाल कम्पनीको सेयर पुँजी ३८७.२० करोड अर्थात ३ अर्ब ८७ करोड रहेको छ । आईपीओ जारी गरेपछिको कम्पनीको पुँजी ४ अर्ब ४० करोड पुग्नेछ ।

चैत मसान्तसम्म कम्पनीको जगेडा कोष २१६.४८ करोड अर्थात् २ अर्ब १६ करोड ४८ लाख रहेको छ । आईपीओपछि यसमा १ अर्ब ४९ करोड रुपियाँ थपिई ३ अर्ब ६५ करोड ४८ लाखको जगेडा कोष खडा हुनेछ । यसले कम्नीलाई मजबुत बनाउनेछ ।

आर्थिक वर्ष २०७१–७२ मा ३८७.३२ करोर अर्थात ३ अर्ब ८७ करोड रुपियाँको उत्पादन बिक्री गरेको शिवम्ले चालु आर्थिक वर्षको चैतसम्म यो बढेर ७१०.९४ करोड अर्थात ७ अर्ब १० करोडभन्दा माथि पुगेको छ । तेस्रो त्रैमासको वित्तीय रिपोर्टलाई हेर्दा यो आर्थिक वर्षको अन्त्यसम्ममा उत्पादन बिक्री बढेर १० अर्ब रुपियाँ पुग्ने देखिन्छ । 

त्यसैगरी ७१–७२ मा ४१ करोड ५३ लाख रुपियाँ खुद नाफा आर्जन गरेको कम्पनीले यो आव २०७४–७५ को चैतसम्म ९३ करोड ६७ लाख रुपियाँ खुद नाफा पुर्याएको छ । यो वृद्धिले शिवम्को नाफामा उल्लेख्य सुधार देखिन्छ ।

यो आर्थिक वर्षको अन्त्यसम्म  कम्पनीको खुद नाफामा पनि उल्लेख्य वृद्धि हुने देखिन्छ । प्रतिसेयर नेटवर्थको अवस्थालाई हेर्दा चैत मसान्तसम्म १ सय ५५ रुपियाँ ९१ पैसा छ । आईपीओको प्रिमियम थपिएपछि यो पनि बढ्नेछ ।

विगत तीन आर्थिक वर्षमा बर्सेनि उसले १० दशमलव ५३ प्रतिशतले नगद लाभांश दिँदै आएको छ । शिवम् सिमेन्टको आर्थिक वर्ष ७२–७३ मा वार्षिक प्रतिसेयर आम्दानी ३८ रुपियाँ ८९ पैसा रहेको थियो ०७४–७५ को तेस्रो त्रैमाससम्म आउँदा ३२ रुपियाँ २५ पैसामा रहेको छ । पुँजी बढ्दा सेयर आम्दानी घट्ने गर्दछ ।

साथै शिवम् सिमेन्टले होङशी शिवम् सिमेन्ट उद्योगमा ठुलो लगानी गरेको देखिएकोले भविष्यमा उक्त होङशी शिवम् सिमेन्ट उद्योगबाट समेत लाभाँसको रुपमा थप राम्रो आम्दानी प्राप्त हुन सक्ने सम्भावना देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप