शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जुत्ता पालिस गर्न काठमाडौँ आएका सेवल राम यसरी बने नेता

सोमबार, १८ असार २०७५, ११ : ३०
सोमबार, १८ असार २०७५

एसके यादव

काठमाडौँ– ३२ वर्ष पहिले जुत्ता सिलाउने र पालिस गर्ने कामका लागि काठमाडौँ छिरेका २० वर्षीय सेवल रामलाई यो व्यस्त सहरमा आएर कुनै दिन नेता भइन्छ भन्ने लागेको थिएन ।

महोत्तरी सुन्दरपुरका सेवल राम ८ कक्षाको पढाइ छाडेर त्यसबेला घरको खर्च धान्नका लागि काठमाडौँ छिरेका थिए । 

उनकै गाउँका दुखा राम जो काठमाडौँमा घुमेर जुत्ताको मर्मत र पालिस गर्ने काम गर्थे, उनकै पछिपछि लागेर २०४३ सालतिर काठमाडौँ छिरेका थिए सेवल राम । त्यसबेला दुखा रामसँगै सेवल राम पनि चावहिल बरालिन्थे । 

दुखा रामको पछिपछि लागेर जुत्तामा पालिस गर्न सिकेका सेवल राम यसरी धेरै दिनसम्म घुम्न सकेनन् । 

घुम्दा घुम्दै थकाइ पनि लाग्ने । आम्दानी पनि नहुने भएपछि सेवल रामले १० दिन नपुग्दै दुखा रामलाई भने, ‘काका म यसरी हिँड्न सक्दिनँ । थकाइ पनि निकै लाग्छ । पैसो पनि हुँदैन ।’

चावहिलको गल्लीहरूमा डुल्न अभ्यस्त भइसकेका दुखा रामले पनि सेवल रामको पीडा राम्रैसँग अनुभव गरे । दुखा राम पनि पहिला पहिला यस्तै दुख झेलेका थिए तर त्यतिबेला उनीसँग विकल्प नभएको कारण हिँडेर नै आफ्नो पसल चलाएका थिए । 

सेवल राम भर्खरको केटो भएका कारणले उनलाई काठमाडौको गल्ली गल्ली हिँड्न गाह्रो थिएन । त्यसमा पनि त्यतिबेला अहिलेको जस्तो काठमाडांै थिएन । 

मधेस र मधेसीलाई हेर्ने दृष्टिकोण निकै फरक थियो । 

काठमाडौँ अहिलेको जस्तो सुविधा सम्पन्न पनि थिएन । आफ्नो अनुभव सुनाउँदै सेवल रामले भने, ‘१० दिनमै काका दुखा रामसँग हिम्ड्न छाडिदिएँ ।’

दुखा रामले नै बागबजार (शङ्करदेव कलेज भएको बाटो) मा महोत्तरीकै एकजना सैलुनवालालाई चिनेका थिए ।

उनी त्यही लगेर सेवल रामलाई लगेर राखिदिए ।

गाउँकै भएका कारणले सेवल रामले पनि सैलुनवालालाई राम्रोसँग चिन्थे । उनलाई अर्को दुखा राम काका भेटे जस्तै भयो ।

सैलुनवालाको सहयोगमा उनले बागबजारकै सडक पेटीमा जुत्ता पालिस गर्ने सामग्री लिएर बस्न थाले ।

सडकको पेटीमा बस्न थालेका सेवल रामसँग विस्तारै विस्तरै ग्राहकहरू जुट्दै गए । चिनजान हुँदै गयो । 

तर १० दिन मात्र दुखा रामसँग हिँडेको कारण काममा त्यति सफाइ पाएका थिएनन् ।

अर्थात त्यति राम्रो काम जानेका थिएनन् । उनलाई अलि अलि पालिस गर्न मात्र आउँथ्यो । 

विस्तारै त्यही पालिस गर्दै जुत्तालाई मर्मत पनि गर्न थाले । 

सेवल रामको सामुदायिक पेसा भए पनि यो पुर्खौली पेसा चाहिँ होइन । उनको घरमा जुत्ता पालिस गर्ने काम कसैले गरेका छैनन् । 

उनका बुबा अर्काको घर खेतमा काम गरेर घर व्यवहार चलाउँथे । हालसम्म पनि उनका घरमा कसैले यो काम थालेका छैनन् ।

किन छाडे घर ?

आठ कक्षा पढ्दै गरेका सेवल रामलाई के त्यस्तो पर्यो जो काठमाडौँको पेटीमा बस्न बाध्य बनायो । 

हामीले त्यो खोतल्ने प्रयास गर्यौं ।

उनी भन्छन्, ‘मलाई पढ्ने इच्छा एकदमै थियो । आमा बुबाले पनि पढ भन्नुभएको थियो । म नियमित स्कुल पनि जान्थेँ । तर एक दिन मेरो बुबालाई परालिस (मधेसतिर लकवा भन्छ) लाग्यो । घर व्यवहार चलाउने, छोराछोरीलाई हुर्काउने बुबा नै थाला परेपछि घरको सम्पूर्ण जिम्मेवारी मेरो काँधमा आयो ।’

उनले आफ्नो विगत सुनाउँदै भने, ‘त्यसपछि म स्कुल जान सकिनँ । श्रीमती, दुईजना भाइ, दुई जना बहिनीको हेरचाह र लालपालन गर्ने जिम्मेवारी मेरो काँधमा आइपुग्यो । आमा पनि हुनुहुन्थ्यो तर उहाँ त्यति बाहिर काम गर्न जानु हुन्थेन । हाम्रो अवस्था यस्तो थियो कि एक दिन काम नगरी खान पाउँदैनथ्यौं । म कहिले काहीँ अर्काको खेतमा काम गर्न जान्थे अथवा पाएका कामहरू गर्थे । त्यसबाट भएका आम्दानीले दुइटा भाइलाई पढाउँथे पनि आमाबुबाको हेरचाहमा पनि खर्च हुन्थ्यो ।’

यति भन्दै गर्दा सेवल रामको आँखा रसाएको थियो । उनी भन्छन्, ‘यसरी जीवन कति दिनसम्म चल्छ । यहाँ दुःख गरेर पनि केही भइरहेको छैन । अनि गाउँकै साथीहरूसँग म भारतको पञ्जाव भागेँ । सायद त्यतिबेला मेरो उमेर १० वर्षको मात्र थियो । पञ्जावमा ५ वर्षसम्म काम गरँे । त्यहाँबाट कमाएको पैसा पठाउँदा मेरो घर चल्थ्यो ।’

सेवल राम पञ्जावमै हुँदा उनको बुबाको मृत्यु भएको थियो । सेवल राम घर फर्के । बुबाको काजक्रिया सम्पन्न गरे । उनीमाथि झन् जिम्मेवारी थपियो । उनी भन्छन्, ‘एक दिन मेरै गाउँको दुखा काका काठमाडौँ आउन लाग्नु भएको थियो । मैले त्यो थाह पाएर आमा र श्रीमतीसँग सल्लाह गरेर काकासँग काठमाडाँै आएका थिए, त्यतिबेला सायद म २० वर्षको थिएँ ।’

६ कक्षामा पढिरहँदा सेवल रामको विवाह भएको थियो । विवाह कसरी भयो, के के भयो सेवल रामलाई अहिले केही सम्झना छैन । ‘आमा–बुबाको इच्छा भयो विवाह गरिदिनुभयो’, सेवा राम भन्छन् ।

फर्केन घर

दुखा काकासँग काठमाडौँ आएका सेवल राम कहिल्यै घर फर्केनन् । कहिले काहीँ पर्व तिहारमा आउ जाउ हुन्थ्यो, त्यति हो ।

बागबजारको सडक पेटीमा दुई महिनासम्म निकै गाह्रो भएको थियो । पछि पसल जम्दै गयो । 

त्यतिबेला उनी महिनाको १०–१२ हजार रुपियाँ कमाउँथे ।

काठमाडौँमा काम गर्न थालेपछि सेवल रामले एउटा छोरा जन्माए । त्यसपछि श्रीमती र छोरालाई काठमाडौँमै आफ्नै साथमा राख्न थाले । घरमा दुई भाइ, एकजना बहिनी र आमा थिए । 

उनीहरूलाई कहिल्यै कुनै अभाव हुन दिएनन् ।

कहिलेकाहीँ आमालाई पनि काठमाडौँ ल्याउँथे । 

भाइहरू पनि आउँथे ।

त्यतिबेला उनको कमाइ राम्रै थियो । 

अलि अलि जग्गा जमिन पनि जोड्यो । 

घर बनाउने सुरसार पनि गर्यो । 

राजनीतिको लत

जब उनी समाज सेवा र राजनीतिकमा प्रवेश गरे अनि उनको कमाइमा ब्रेक लाग्यो । 

हेर्दा हेर्दै सेवल राम काठमाडौँमा नेता भए । काठमाडौँमा आफ्नो पेसामा यति पपुलर भए कि २०५७ सालमा नेपाल छाला तथा जुत्ता मजदुर मञ्च गठन गरे । 

त्यसको एक वर्षपछि अर्थात् २०५८ सालमा राम कल्याण मञ्च गठन गरे ।

त्यसपछि सेवल रामप्रति धेरैको आकर्षण बढ्यो ।

अरूलाई परिआएको बेलामा सहयोग गर्ने, अरूको लागि बोलिदिने अर्थात काठमाडौँमा जुत्ता सिलाई काम गर्नेहरूको नेता भए उनी, अभिभावक भए उनी ।

त्यसपछि त बागबजारको पेटीमा रहेको उनको पसल हप्तौँ, महिनौँ दिनसम्म बन्द हुन थाल्यो । 

यस्तै संस्थाको काम गर्न हिँड्न थालेपछि उनको सम्पर्क तत्कालीन नेपाल सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहसँग भयो । 

सो पार्टीका कार्यकर्ता महेन्द्र आनन्दको साथमा गएर गजेन्द्रनारायण उनकै निवासमा गएर भेटेका थिए । 

गजेन्द्रनारायण सिंहसँग भेटेपछि उनी राजनीतिप्रति आकर्षित भएका थिए । 

मधेस र मधेसीप्रतिको विभेद, असमानताको विरोधमा सङ्घर्ष गर्ने भनी उनी नेपाल सद्भावना पार्टीमा आबद्ध भए । उनी भन्छन्, ‘राजनीतिक गुरु भन्नुहुन्छ भने महेन्द्र आनन्द मेरा गुरु हुनुहुन्छ र राजनीतिक आदर्श गजेन्द्रनारायण सिंह हुनुहुन्छ ।’

राजनीतिक र समाजसेवामा लागेपछि उनको कारोबार घट्यो । तर त्यतिबेलासम्म उनको समस्या टरिसकेको थियो । दुइटा भाइ पनि ठूला भइसकेका थिए । उनीहरू पनि कमाउन सुरु गरिसकेका थिए । दुवै भाइ वैदेशिक रोजगारमा गएका थिए ।

सेवल रामलाई राजनीतिप्रतिको लगाव देखेर उनका भाइ विन्देश्वर राम र सुरेन्द्र रामले दाइ सेवल रामलाई भनेका थिए रे, ‘दाइ तपाईं राजनीतिक गर्नुस्, हामी तपाईंलाई सहयोग गर्न तयार छौं ।’ 

तर सेवल राम राजनीतिक र समाजसेवामा लागे पनि उनले आफ्नो काम कहिल्यै छाडेनन् । अर्काको जुत्तामा निरन्तर पोलिस गरि नै रहे । अर्काको फाटेको जुत्ता निरन्तर सिलाई गरिरहे ।

राजनीतिक र समाज सेवामा सक्रिय सेवल रामले फुर्सदको समयमा पेटीको पसल खोलिहाल्थे । उनको पसल एउटा झोलामा मात्र सीमित छ । एउटा केही औछ्याउने आछ्यायो । त्यसमा केही सामग्री राखेर पसल चलायो ।

फुर्सदमा भएको बेला खोले पनि महिनाको १०–१५ हजार अहिले पनि कमाउँछन् उनी ।

०५९–६० तिर नेपाल छाला तथा जुत्ता मदुर मञ्चको तर्फबाट भृकुटी मण्डपमा एउटा बृहत कार्यक्रम गरेका थिए सेवल रामले । सो कार्यक्रममा गजेन्द्रनारायण सिंहलाई प्रमुख अतिथि बनाएका थिए । ती सम्पूर्ण कार्यक्रमको खर्च सेवल रामले एक्लै जुटाएका थिए । उनी भन्छन्, राजनीतिक गतिविधि र विभिन्न सामाजिक काममा म यति हिँड्छु आउ जाउ गर्छु, आजसम्म कसैको एक पैसा पनि लिएको छैन । चाहिएको बेलामा पार्टीलाई कार्यकर्ता जुटाइदिन्छु त्यसमा लागेको खर्च पनि आफै व्यहोर्छु ।’

२०४६ सालदेखि निरन्तर आन्दोलनमा लागेका सेवल राम मधेस आन्दोलन, जनआन्दोलन २ मा पनि सक्रिय भएर काम गरेका थिए । पार्टीले जहाँ जुन मोर्चामा खटाइदिन्थे त्यहाँ पुगिहाल्थे सेवल राम । मधेस होस् या काठमाडौँको कुनै गल्ली जहाँ पनि सेवल राम पुग्थे ।

आन्दोलन र सक्रियताले सेवल राम मधेसका नेता भए । उनलाई नेपाल सद्भावना पार्टीमा सबैले चिन्न थाले । सबैले आदर गर्न थाले ।

नेपाल सद्भावना पार्टीको वीरगञ्ज महाधिवेशनबाट सेवल रामलाई दलित मञ्चको अध्यक्ष बनाएको थियो । उनी पोलिटिक्समा झन सक्रिय भए ।

एक दिन उनका श्रीमतीले भनिन्, तपाईंले काम धन्दा गर्न पनि छाड्नु भयो । खाली अरूको कामका लागि कुदिरहनुहुन्छ, यसरी कसरी चल्छ जीवन ।’

त्यसपछि सेवल रामले आफ्ना श्रीमतीलाई भने, हेर बरु म तिमीलाई छाड्न सक्छु तर म राजनीतिक र संस्था छाड्न सक्दिनँ । मलाई अरूको दुःखमा सहयोग गर्न आनन्द आउँछ, साथीहरूलाई यति त महसुस भएको छ, कमसे कम काठमाडौँमा कोही त आफ्नो छ । मलाई अब कमाउनु छैन, छोरा छोरी हुकिसके । खाने पुग्ने गरी कमाइ नै रहेको छु । छोरा छोरीलाई पढाइ नै रहेको छु, अरू मलाई के चाहियो ?’

त्यसपछि उनकी श्रीमतीले पनि आजसम्म कहिल्यै त्यो कुरा उठाइनन् ।

उनका पनि दुइटा छोरा छन् एउटी छोरी छिन् । 

जेठो छेरा बीएडसम्म पढेर उदयपुरको एउटा निजी बैङ्कमा काम गरिरहेका छन् भने कान्छो ११ कक्षामा दाइसँग बसेर पढिरहेका छन् । छोरीको बिहे भइसकेको छ । 

सेवल रामलाई गुजारा गर्ने अब समस्या छैन । आफूलाई चाहिने जति जुत्ता पालिस गरेर कमाई हाल्छन् । त्यही कमाइबाट घर व्यवहार चलाउनुको साथै आइपरेको बेला साथी भाइलाई पनि सहयोग गर्छ ।

अहिले उनी राजपा नेपालका केन्द्रीय सदस्य हुन् । वीरगञ्ज महाधिवेशनबाट पार्टी विभाजन हुँदा उनी श्यामसुन्दर गुप्ताको पक्षमा लागेका थिए । पछि अनिलकुमार झाले सङ्घीय सद्भावना पार्टी बनाउँदा उनी त्यतातिर लागेका थिए । 

उनी मात्र होइन, आफूसँग भएका सबै साथी भाइलाई लिएर पत्रकार सम्मेलन गरी अनिल झाको पार्टीमा प्रवेश गरेका थिए । 

२०७० सालको दोस्रो संविधानसभा चुनावमा उनी चुनाव लड्नका लागि टिकट माग गरेका थिए तर पार्टीले उनलाई टिकट नदिएर समानुपातिकमा नाम राखेको थियो । तर एउटै सिट आउँदा सेवल रामसम्म पुग्न सकेन ।

यस पटकको प्रतिनिधिसभा चुनावमा पनि राजपा नेपालसँग टिकट नै मागेका थिए तर उनलाई टिकट नदिएर दलित कोटामा समानुपातिक उम्मेदवार बनायो । तर यस पटक पनि उनी समानुपातिक सांसद बन्न सकेनन् ।

तैपनि दुखी छैनन् सेवल राम । उनी भन्छन्, मैले टिकट नपाउनुमा पक्कै पनि ममा केही कमी रहेको होला, त्यही भएर मलाई दिइएन । म अझै पार्टीमै सक्रिय छु । एक दिन न एक दिन पार्टीले पक्कै पनि विश्वास गर्नेछ ।’

उनले हालसम्म दुई सयभन्दा बढी चेला (काम सिकाएको) बनाएको होलान् । ती सबै कहाँबाट कहाँ पुगिसके । कोहीले पसल बनाइसके, कोहीले सो रुम खोलिसके त कोही ठूलै मान्छे भए तर सेवल राम ३२ वर्षदेखि जहाँको त्यहीँ छन्, त्यही फुटपाथमा ।

सेवल राम भन्छन्, त्यसमा पनि मलाई दुःख छैन । साथीभाइ प्रगति गर्छन्, त्योभन्दा खुशीको कुरा मेरा लागि केही छैन । जसलाई मैले काम सिकाएँ । जसलाई मैले काठमाडौँ देखाएँ आज उसले प्रगति गरेका छन् भने म निकै खुशी छु । म पनि जहाँ छु जे अवस्थामा छु एकदम ठीक छु ।’

बागबजारमा उनको परिचय अहिले फेरिएको छ । पहिला पहिला जुत्ता पालिस गर्नेको रूपमा चिनिन्थे भने अहिले उनलाई मधेसी नेताका रूमपा चिन्न थालेका छन् । बागबजारमा छिर्दा उनलाई देशको राजनीतिक समाचार सोध्छन् व्यपारीहरू (पसले) उनले पनि जानेका बुझेका कुरा भन्दिन्छन् ।

कहिलेकाहीँ त जुत्तामा पालिस गराउन आउने व्यक्ति पनि सेवल रामसँग कुरा गर्दा छक्क पर्छन् । ग्राहकले आफै भन्छन्, ‘तपाईं नेता हो ।’

उनी भन्छन्, म राजनीतिकमा आफ्ना लागि भन्दा आफ्नो सामुदायका लागि लागेको छु । दलितको उत्थान होस् भनी चाहेको छु । ३३ प्रतिशत महिलाको कोटा छुट्याएको छ । त्यसमा दलित मधेसी महिलालाई किन लिँदैन । दलितका लागि कोटा छुट्याइएको छ, त्यसमा मधेसी दलितलाई किन लिँदैन ? यसको लडाइँ म लडिरहेको छु । म पार्टीमा पनि दलितका लागि नै कुरा गर्छु । मधेसी दलित र दलित महिलाले पनि समान अधिकार पाउनुपर्छ भन्ने मेरो चाहना हो ।’

उनी भन्छन्, अर्को कुरा, जुत्ता पालिस गर्ने र सिउने प्रायः सबै सडक पेटीमा नै बस्छन्, जहाँ मान्छेको चहल पहल हुन्छन् । त्यहाँ गएर बसेका हुन्छन् तर बेला बेलामा नगरपालिकाले दुःख दिइरहेका हुन्छन् ।

कहिले समान उठाएर लगिदिन्छन् त कहिले मान्छे समातेर लगिदिन्छन् अनि मैले भनसुन गरेर छुटाउनु पर्छ । फुटपाथमा काम गर्नेलाई विस्थापित होइन, व्यवस्थापन गर्नुपर्छ भन्ने मेरा चाहना हो ।’        
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप