शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किसानको पीडा : भारतले किन छाड्दैन नहरमा पानी ?

आइतबार, १७ असार २०७५, १५ : ०८
आइतबार, १७ असार २०७५

पर्सा । भारतको तर्फबाट गण्डक नहरमा पानी आउँदा नेपालको खेतीकिसानी प्रभावित भएको छ । 

गण्डकको नहर भारतीय भूमि, पर्साको जानकी टोल हुँदै रौतहटको बागमतीसम्म पुगेको छ । तर गत साउन २७, २८ र २९ गते आएको बाढीले नहरमा पुर्याएको क्षति हालसम्म मर्मत सम्पन्न नहुँदा किसान मर्कामा परेका छन् । 

भारत र नेपाल दुवैतर्फ गण्डक नहरको मर्मत कार्य भइरहेको नारायणी सिंचाइ व्यवस्थापन डिभिजन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद साहले बताए । उनी भन्छन्, ‘भारतले पानी नदिएको होइन । गत वर्ष आएको बाढीका कारण नहरमा थुप्रै क्षति भएको छ । क्षति भएको ठाउँमा मर्मत भइरहेकोले पानी आउन ढिला भएको हो ।’

भारततिर १० भन्दा बढी ठाउँमा क्षति पुर्याएको छ । यही क्षतिका कारण गत गहुुँको सिजनमा पनि पानी दिएको थिएन । अहिले पनि मर्मत कार्य धमाधम भइरहेको भारतको रामनगरमा रहेका जल संसाधन विभागका प्रमुख शैलेन्द्र प्रसादले दाबी गरे । 

उनले रातोपाटीसँग फोनमा कुरा गर्दै भने, ‘आज पनि काम भइरहेको थियो तर पानी पर्न थालेपछि काम रोकिएको हो । मौसमले साथ दियो भने जुलाई १० तारिखभित्र पानी छाड्नेछौँ । यदि यस्तै पानी परिरह्यो भने नहरमा समयमा पानी छाड्न गाह्रो हुन्छ ।’

डिभिजन कार्यालयका प्रमुख साहले यदि नहर सञ्चालनमा आएन भने वैकल्पिक उपाय अपनाउने बताए । उनले भने, ‘मलाई विश्वास छ २५ देखि ३० गतेभित्रमा पानी आउँछ तर मौसम खराब भयो र ठेकेदारले काममा लापरवाही गरे भने ढिलो पनि हुनसक्छ । ढिलो भयो भने वैकल्पिक उपाय अपनाउनेछौँ ।’

किसानलाई मर्का परिरहेको कुरा आफूलाई पनि थाह भएको र अहिले त्यसको व्यवस्थापनमा लागेको बताउँदै उनले भारतीय पक्षलाई पनि काम छिटो सकियोस् र पानी छाड्न पाइयोस् भन्ने चाहना रहेको बताए ।
विहार सरकारले पनि त्यहाँका जल संसाधन विभागलाई छिटो मर्मत कार्य सकेर नेपाललाई पानी छाड्न निर्देशन दिएको प्रमुख साहले बताए । 

गण्डक सम्झौताअनुसार भारतले नेपालतर्फ आठ सय क्युसेक पानी छाड्नुपर्छ । तर केही वर्षयता मुस्किलले ५ सयदेखि ६ सय क्युसेक मात्रै पानी छाड्ने गरेको यहाँका किसान बताउँछन् । नहर दुई हजार छ सय क्युसेक क्षमताको रहेको छ । 

सन् १९७६ मा भारतले दुई चरणमा गण्डक नहर निर्माण सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गरेको थियो । पर्साको जानकी टोलबाट नेपाल प्रवेश गर्ने र रौतहटको बागमतीमा गएर मिसिने नहरलाई पूर्वी नहर भन्ने गरिन्छ । यो नहर ९५ किलोमिटर लामो छ । पर्सादेखि रौतहटसम्मको ३१ हजार ४ सय हेक्टर जग्गालाई सिञ्चित गर्ने लक्ष्य रहेको सम्झौतामा उल्लेख छ । तर भारतले पर्याप्त मात्रमा पानी नछाडेका कारण रौतहटसम्म समेत पानी नपुगेको किसानहरूले पीडा सुनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप