शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वैदिक दृष्टिकोणभित्र भौतिकवाद

आइतबार, १७ असार २०७५, १२ : २९
आइतबार, १७ असार २०७५

पृष्ठभूमि
‘माक्र्स विद्वानका पनि विद्वान, सिद्धान्तकारका पनि सिद्धान्तकार, वैज्ञानिकका पनि वैज्ञानिक, दार्शनिकका पनि दार्शनिक महान दार्शनिक थिए । उनले ईश्वरीय सत्तामाथि वैज्ञानिक नियमको आधारमा दार्शनिक हमला गरे । अणु परमाणु जस्ता पदार्थका ससाना एकाईदेखि सूर्य, चन्द्रमा तथा पृथ्वी जस्ता ठूला ठूला पिण्डको उत्पत्ति, विकास र विनाशको द्वन्द्वात्मक नियमको विषद् व्याख्या गरे माक्र्सले ।’ नेकपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री कर्णबहादुर थापाको जेठ १४, २०७५ मा रातोपाटीमा प्रकाशित लेखेमा ‘....विश्व ब्रह्माण्ड द्वन्द्वात्मक नियमले चलेको यथार्थ अघि सारे । जसले विश्वलाई दुई भागमा विभाजित गरिदियो, आध्यात्मवादी र भौतिकवादी ।’ 

भौतिकवादले इसाई आध्यात्मवादमाथि हमला ग¥यो । नास्तिकवादी सिद्धान्तले समाजमा जरा गाड्यो । युरोपमा इसाईपन्थलाई वर्तमान पुँजीवादी मात्रै नभई रुसी कम्युनिस्टवादीहरू पनि संरक्षण गर्न सक्रिय छन् । तथापि, युरोपियनहरूमा इसाईविरोधी चिन्तन हावी हुँदै गइराखेको छ । यसको कारण माक्र्सको द्वन्द्वात्मक भौतिवादको नियम चाहिँ हैन । बाइबलले धार्मिक आस्था निर्माणका जुन कारणहरू तेस्र्याएको छ; ती कारणहरू बौद्धिक जमातका लागि अपाच्य छन् । १५औँ शताब्दीतिर धर्मकै आडमा स्वर्गका टिकटहरू बेचिए; क्रुसेड र धार्मिक युद्धको नाममा लाखौँ निर्दाेषहरू मारिए; बिच हन्ट नामको एउटा अभियान १८औँ शताब्दीसम्म चल्योे । 

यसले समाजलाई आक्रान्त पारिराखेको थियो । यसपछि सुधारवादी समूहको नाममा ‘प्रोटेस्टेन्ट’ खडा भयो । सामाजिक कुप्रथाहरूमाथि प्रहार गरे पनि ‘शङ्का गर्नेहरू अनन्तको नर्कको फालिनेछन्’ भन्दै धार्मिक अन्धविश्वासभित्र मानवीय चेतनालाई कैद गरिदियो । यस्तो समुदायमा भौतिकवादी वा नास्तिकतावादी विचारले प्रभाव जमाउनु स्वभाविक थियो । विश्वमा सबैभन्दा बढी अनिश्वरवादीहरू अहिले युरोपमै छन् । 

यसकै आधारमा विश्व नै दुई विचारमा बाँडियो भन्नुको तुक छैन । किनभने पूर्वीय समाजमा भौतिकवादले प्रवेश त पायो तर आध्यात्मवाद विरुद्ध उभिन सकेन । माओकालीन् चीनमा सांस्कृतिक क्रान्तिका नाममा हजारौँ मानिसहरू मारिए; धार्मिक स्थलहरू सखाप पारिए तर सी जिनपिङसम्म आइपुग्दा, त्यही चीन कानुनतः बौद्ध, ताओ तथा कन्फ्युसियस धार्मिक मान्यतासँग विरोधाभाष राख्ने धार्मिक गतिविधिहरूमाथि नियन्त्रणको प्रयास गर्दैछ । बौद्ध धार्मिक विषय पठनपाठनका लागि बौद्ध विश्वविद्यालयहरू खोल्न थालेको छ । इसाई समूहहरूले जथाभावी खडा गरेका चर्च धमाधम ढाल्दैछ । नेपाल र भारतमा भौतिकवादी सिद्धान्तको कस्तो प्रभाव परेको छ, जगतसामु छर्लङ्ग छ । प्रधानमन्त्री संसदमा उभिएर ‘कार्ल माक्र्स नै ईश्वर हुन्’ भन्ने अनि प्रचण्ड चाहिँ काभ्रे पुगेर कुलपूजामा सहभागी हुँदै खैँजडी बजाउने ।

पूर्वीय दर्शनमा सङ्कीर्ण धार्मिक चिन्तन कम छ । हिन्दु तथा बौद्ध धर्मशास्त्र अध्ययन गर्नेहरूका लागि भौतिकवाद वा पदार्थवाद नौलो सिद्धान्त लाग्दैन । भौतिक पदार्थलाई सार्वभौम नमानिएको मात्रै हो । पदार्थ के हो ? भन्ने सवालमा बरु हिजाको भौतिकवादी दृष्टिकोण आज बदल्नुपर्ने अवस्था आएको छ । राजेन्द्र किराँतीले रातोपाटी मै ११ असार २०७५ मा लेखेका छन्, ‘प्रारम्भमा खास द्रव्यलाई मात्रै पदार्थ भनिन्थ्यो तर विद्युत, चुम्बकीय क्षेत्र, एक्सरे र रेडियो तरङ्ग आविष्कारपछि यसको व्यापक क्षेत्रलाई पदार्थ मानिएको छ ।’ 

वैदिक मान्यतामा, द्रव्य वा वस्तु वा पदार्थ भनिनका लागि तत्वमा क्रिया नभए पनि गुण चाहिँ हुनैपर्छ । यस हिसाबले पदार्थलाई मुख्यगरी दुई भागमा बाँडिएको छ– जड तथा चेतन । जड पदार्थ भनेको प्रकृति हो । चेतन पदार्थ भनेको आत्मा तथा परमात्मा । भौतिक विज्ञानले आत्मा तथा परमात्माको अस्तित्व अस्वीकार गरेको कारण यतिखेर प्रकृतिको मात्रै कुरो गरौँ । पृथ्वी, जल, अग्नि जस्ता दृश्य तत्व मात्रै नभई वायु, तरङग, दिक्, समय तथा विद्युत आदि अदृश्य तत्व तथा यिनको समायोजनबाट बनेका पिण्ड ग्रह तथा तारा नक्षत्रहरूलाई पदार्थको संज्ञा दिइएको छ । 

‘विभाजन गर्दै जाँदा एउटा अवस्था आउँछ, जहाँनेर पदार्थ अविभाज्य तथा अदृश्य बन्न पुग्छ । पदार्थको त्यही अविभाज्य तथा सूक्ष्मतम् एकाई परमाणु हो ।’ महर्षि कणादले सर्वप्रथम परमाणुसम्बन्धी यस्तो अवधारणा अघिसारे । परमाणुसम्बन्धी यस्तै धारणा भागवत पुराण स्कन्ध ३, अध्याय ११ मा उल्लेख गरिएको छ, ‘पृथ्वीआदि कार्यवर्गको जुन सूक्ष्मतम् अंश छ, जसलाई विभाजित गर्न सकिँदैन र जसको अन्य परमाणुसँग संयोजन पनि भएको छैन, त्यसलाई परमाणु भनिन्छ ।’ 

भागवत् पुराणको त्यही स्कन्ध र त्यही अध्यायमा अगाडि भनिएको छ, ‘दुईवटा परमाणु मिलेर एउटा अणु बन्छ । तीनवटा अणु मिलेर एउटा त्रसरेणु बन्छ । त्रसरेणुलाई हामी भ्mयालका कुनाकाप्चाबाट कोठाभित्र छिरिरहेको सूर्यको प्रकाशमा तैरिरहेका देख्न सक्छौँ ।’ परमाणुको पहिलो दृश्य रूप सम्भवतः यही त्रसरेणु हुनुपर्छ । यहाँनेर सवाल उठ्छ– माक्र्सवादी दर्शनअनुसार प्रलयकालको बेला परमाणु कुन

अवस्थामा रहेको हुन्छ ? 

ऋग्वेद मण्डल १० र सुक्त सङ्ख्या १२९ (नासदीय सूक्त) मा प्रलयावस्थाको यस्तो व्याख्या छ, ‘सबैतिर गहनतम् अँध्यारो मात्रै थियो । त्यसभित्र, एक ‘स्वधया’बाहेक अन्य कुनै पदार्थको अस्तित्व थिएन ।’ तात्पर्य के हो भने, त्यस समय परमाणुको समेत अवस्था अज्ञात रहन्छ । अगाडि भनिएको छ, ‘सर्वप्रथम, स्वधयाभित्र सृष्टि उत्पत्तिको कामना पैदा भयो । सृष्टिको मूलबीज यही थियो ।’ अनि, सृष्टि आरम्भको अवस्थाबारे ऋग्वेद मण्डल १० को सूक्त १९० ले भन्छ, ‘देदिप्यमान तपबाट प्रकृति र जीव प्रकट भए । गहन अँध्यारो सृष्टि रूपमा परिणत भयो । अणु सागरमा तरङ्ग फैलियो । अणुहरू संयोजन भएर पदार्थ निर्माण प्रारम्भ भयो ।’

‘स्वधया’को आधिभौतिक अर्थ ‘चेतन शक्ति’ निस्किन्छ, जो प्रलयावस्थामा पनि विद्यमान रहन्छ । सृष्टि उत्पत्तिको समयमा, यस चेतन शक्तिले गति प्रवाह गर्छ; जसलाई इच्छा भनिएको छ र एकबाट अनेक बन्ने प्रक्रिया सुरु हुन्छ, जसलाई हामी अणुहरूको प्रवाहको रूपमा बुभ्mन सक्छौँ । यहाँबाट समय र आकाशको अस्तित्व सुरु हुन्छ ।  यिनै अणुहरू तरङ्गित भएर एकआपसमा संयोजित हुन थाल्छन् । प्रलयावस्था तथा सृष्टि आरम्भबारे माक्र्सवादी दर्शनको अवधारणा के छ ? यो चासोको विषय हो ।  

वेदका मन्त्रहरूको आध्यात्मिक र आदिदैविक अर्थ पनि लाग्छ । त्यसकारण, आदिभौतिक अर्थ खोतल्दा जहाँ ‘स्वधया’ले ‘चेतन शक्ति’को अर्थ दिएको थियो, आध्यात्मिक तथा आदिदैविक अर्थ खोतल्दा त्यहीँ ‘स्वधया’ले ‘ईश्वर’ वा ‘ब्रह्म’ भन्ने अर्थ दिन्छ । भागवत गीता, अध्याय १५ ले यसलाई ‘ब्रह्माण्डका सम्पूर्ण क्रिया गर्ने शक्ति (ईश्वर)’ को रूपमा अझ विस्तृत व्याख्या दिएको छ । यस कोणबाट हेर्दाखेरी प्रलयावस्थामा ईश्वर बाहेक अन्य सबै पदार्थको अस्तित्व अज्ञात रहन्छ । ईश्वर तप (ऊर्जा) द्वारा दृश्य जगतको रचना आरम्भ गर्दछ । ऋग्वेदले खगोलीय पिण्डहरूलाई रज (धुलो) र तेज (ऊर्जा) का अनन्त पिण्ड सम्बोधन गरेको छ ।  

त्यसैगरी डा. भट्टराईले रातोपाटी डट कमको पाँचौँ वार्षिकोत्सव समारोहमा चार्वाक मत ‘यावज्जीवेत्सुखम् जिवेत्, ऋणम् कृत्वा घृतम् पिवेत् । भस्मीभूतस्य देहस्य पुनरागमनम् कुतः ।’ जतिञ्जेल बाँच्छौ, सुखमा बाँच । ऋण गरेर घीउ पिऊ । भश्मीभूत भएको शरीरको पुनरागम हुँदैन ।’ वाचन गरेर भौतिकवादी दर्शनको जग सनातन धर्म समाज नै रहेको अर्काे प्रमाण दिए । चार्वाक इतिहासकै पहिलो व्यक्ति हुन्, जसले ‘ईश्वर छैन’ भन्ने घोषणा गरे । 

चार्वाकले वेद पढ्ने पण्डितहरू धूर्त, ठग र निशाचर हुन् भन्ने आरोप लगाएका छन् । उनी आत्माको अस्तित्वलाई पनि स्वीकार गर्दैनन् र केवल भौतिक पदार्थको सत्तालाई मात्रै विश्वास गर्नुपर्ने धारणा राख्छन् । तर भौतिकवादी मतले जसरी युरोपियन इसाई समाजमा छोटो समयमै लोकप्रियता हासिल ग¥यो, त्यसरी भारतवर्षीय हिन्दु समाजमा यो लोकप्रिय हुन सकेन । पुराण, बौद्धशास्त्र तथा जैनशास्त्रमा सीमित हुनपुग्यो । तथापि कणाद र चार्वाक मतलाई एक ठाउँमा राखेर हेर्दा भौतिकवादी सिद्धान्तका जनक यिनै दुई जना रहेछन् भन्ने थाहा लाग्छ । तसर्थ, कम्युनिस्टवाद वा भौतिकवाद वा नास्तिकतावाद वा पदार्थवादका आदिगुरु पनि अरू कोही नभएर यिनै दुई जना हुन् भन्ने सत्यलाई विश्वका कम्युनिस्ट विद्वानहरूले स्वीकार गर्नुपर्छ । 

निष्कर्ष
१२औँ शताब्दीसम्म भारतवर्ष, विश्वकै सर्वाेत्कृष्ट शैक्षिक केन्द्र थियो । गणित, अर्थशास्त्र, आयुर्वेद, शस्त्रविद्या, दर्शन तथा भौतिक विज्ञान पढ्न चीन तथा युनानदेखिका मानिसहरू यहाँ आउने गर्दथे । १२औँ शताब्दीमा बख्तियार खिलजीको मुस्लिम फौजले, हिन्दु बौद्धको संयुक्त अध्ययन केन्द्र नालन्दामाथि आगजनी गरेपछि परम्परादेखि चलिआएको गुरुकुल पद्धति पतन हुन सुरु भयो । विश्वभर नाम कमाएका नालन्दा, विक्रमशीला तथा तक्षशीला इतिहासमै प्रथम सुव्यवस्थित शिक्षाकेन्द्र थिए भन्नुपर्ने अवस्था बन्यो । 

मुगल शासनको बेला मात्रै भारतवर्षभित्र २० करोडभन्दा बढी हिन्दु, बौद्ध तथा जैन धर्मावलम्बी मारिए । मन्दिरहरू तोडिए । अफगानिस्तान, पाकिस्तान तथा बङ्गलादेशको त धार्मिक रूपरङ्ग नै फेरियो । यसपछि, जे जति रह्यो; तीमध्ये केहिले मुस्लिमपन्थ स्वीकार गरे । केही भागेर हिन्दु शासकहरू रहेको क्षेत्रमा बसोबास गर्न थाले । अङ्ग्रेजले भारतमाथि साम्राज्य खडा गरेपछि त्यो पनि ध्वस्त भयो । वैदिक शास्त्रको ज्ञान कर्मकाण्डमा सीमित हुन पुग्यो । 

यो त्यही कालखण्ड थियो, जतिखेर फ्रान्समा समाजवादी आन्दोलन सुरु भयो । रोमन क्याथोलिक चर्चले आम जीवनमा थोपरेको अत्याचारविरुद्ध अन्य युरोपियन मुलुकहरूमा पनि धर्मनिरपेक्षतावादी अवधारणा प्रबल बनिसकेको थियो । ‘ईश्वर मरिसक्यो’ ‘धर्म अफिमको नशा हो ।’ लगायतका भौतिकवादी विचारहरूप्रति आम मानिस आकर्षित हुन थाले । माक्र्सवादी सिद्धान्त यसै सेरोफेरोमा ‘द्वन्द्वात्मक भौतिकवाद’को नयाँ नियमसहित देखाप¥यो । शास्त्र अध्ययनको परम्पराबाट हजारौँ वर्ष टाढिएर अङ्ग्रेजी शिक्षा पद्धतिमा रमाउन थालिसकेको हिन्दु समाजका लागि पनि ‘द्वन्द्वात्मक भौतिकवाद’को नियम आकर्षक त बन्यो तर युरोपले झैँ अँगालिएन । 

बाइबलका लागि भौतिकवाद, परमाणु, सृष्टिको उत्पत्ति, विकास तथा विनास र फेरि सृष्टि उत्पत्तिको सिद्धान्त अपाच्य तथा अधार्मिक हुनसक्ला; सनातनीका लागि शास्त्रसम्मत छ । किनभने ब्रह्माण्डका प्रत्येक कण कणमा ईश्वर छ भन्ने मान्यता अवैदिक हैन । कण कणमा रहेको त्यस ईश्वरलाई कुनै दिन विज्ञानले पदार्थ नै ठह¥याउँछ भने पनि यो वेदसम्मत नै हुनेछ किनभने प्रकृति सँगसँगै वेदको नजरमा ईश्वर र आत्मा पनि पदार्थ नै हुन् ।

दुःखको कुरो नै मान्नुपर्छ, डा. भट्टराई जस्ता विद्वान, भौतिकवादको समेत जननी रहेको हिन्दु धर्मविज्ञान विरुद्ध अभिव्यक्ति दिनुमै रुचि राख्छन् । द्वन्द्वात्मक भौतिकवादलाई नै अन्तिम सत्य ठान्छन् । जबकि, वेदादि शास्त्रहरूको गहन अध्ययनकै लागि यतिखेर जर्मनी तथा अमेरिका जस्ता मुलुकमा वैदिक फाउन्डेसन तथा संस्कृत भाषा अध्ययन केन्द्र खुलेका छन् । क्वान्टम फिजिक्सका अध्येताहरू, ‘जगत मिथ्या, ब्रह्म सत्य’ भन्दै वैदिक मान्यतामाथि किताब लेखिरहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अभिषेक जोशी
अभिषेक जोशी
लेखकबाट थप