बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यहाँ हुन सक्छ डुबान समस्या, के सरकार गम्भीर छ ?

शनिबार, १६ असार २०७५, १२ : ४९
शनिबार, १६ असार २०७५

काठमाडौँ । मनसुन सुरु भइसकेको छ ।

कृषिप्रधान देशमा यो सिजनमा पर्याप्त पानी पर्नु किसानहरूका लागि खुसीको कुरा हो । तर भारी मात्राको वर्षापछि हुने विपद्का कारण मानवीय क्षतिका साथै धनजनको समेत व्यापक क्षति हुने गरेको छ ।
पहाडमा पहिरो र तराईमा बाढीबाट हुने डुबानका कारण मानिसहरूले बर्सेनी सास्ती खेप्दै आइरहेका छन् । 

गृह मन्त्रालयको आँकडा अनुसार मनसुनपूर्व नै गत वैशाखदेखि हालसम्म झन्डै ७५ दिनको अवधिमा बाढीका कारण ८ जनाको मृत्यु, १ बेपत्ता र २ जना घाइते भएका छन् । 

यस्तै पहिरोका ५३ वटा घटना हुँदा १५ जनाको मृत्युभएको छ भने ५ बेपत्ता र १६ जना घाइते भएका छन् । 

जल तथा मौसम विज्ञान विभागले भर्खर मनसुन सुरु भएको बताएकाले झन्डै आगामी ३ महिना मनसुन अवधिमा हुने बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको समाना गर्नुपर्ने चुनौती छ । 

तराई क्षेत्रमा हरेक वर्ष बाढी र डुबानका कारण कैयौँले ज्यान गुमाउने गरेका छन् भने करोडौँ बराबरको क्षति हुने गरेको छ । 

पहाडबाट तराई झरेका नेपालका नदीका कारण तराईमा डुबानको समस्या छ भने अर्कोतिर भारतले एकतर्फी रूपमा बनाएका बाँधका कारण पनि तराई भूभागमा डुबानको समस्या छ । 

भारतले बनाएका विभिन्न बाँधका कारण विभिन्न नदीहरूबाट नेपालतर्फको भूभागमा बाढी छिर्दा हरेक वर्ष तराईका भूभागहरू डुबानमा पर्दै आए पनि यसको समाधान हुन सकेको छैन । 

यद्यपि यस वर्ष भने नेपाल भारतका संयुक्त प्रतिनिधि टोलीले यतिबेला मध्य तराईदेखि पूर्वी तराईका बढी डुबानका सम्भावित क्षेत्रमा अवलोकन गरिरहेको छ ।

मङ्गलबारदेखि सुरु भएको चार दिने स्थलगत अवलोकनपछि दुवै देशका प्रतिनिधिले आफ्ना सरकारलाई प्रतिवेदन बुझाउने छन् ।    

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष बाढी नियन्त्रणका लागि सरकारले पूर्वतयारी गरिसकेको बताएका छन् । 

उनले भारत भ्रमणका क्रममा पनि आफूले यसबारेमा कुरा गरेको बताउँदै अघिल्लो वर्ष जस्तो तराईमा डुबानको समस्या नहुने उल्लेख गरेका छन् । 

गत असार ४ गते संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए– ‘तराईको डुबानको समस्यालाई लिएर ८ दिनपछि २७ तारिखबाट डुबानको समस्या कसरी समाधान गर्ने भनेर संयुक्त टोली तराईमा जाँदैछ, त्यसले समस्या समाधान गर्ला भन्ने मैले अपेक्षा गरेको छु ।’

साथै प्रधानमन्त्री ओलीले त्यसअघिको एउटा कार्यक्रममा तराईमा अब डुवानको समस्या नहुने उल्लेख गरेका थिए  ।  

यस्तै, गत असार ४ गते प्रधानमन्त्री ओलीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको थियो । 

मनसुन शुरु हुनुपूर्व बसेको सो बैठकले प्राकृतिक विपत्तिको सामनाका लागि विभिन्न कार्ययोजना बनाएको छ । तर तराईका विभिन्न स्थानमा भारतले एकतर्फी रूपमा बनाएका बाँधका कारण बर्सेनि ठूलो क्षेत्र जलमग्न हुने गरेको छ । 

भारतले दशगजा क्षेत्रमा निर्माण गरेका तटबन्धका कारण ठूलो बाढी आउँदा नेपाली भूभागमा पानी पसेर डुबानको समस्या हुने गरेको छ । यी हुन् भारतले बनाएको बाँधका कारण डुबानमा पर्ने गरेका स्थानहरू :

सम्भावित डुबान क्षेत्र नम्बर १ : रौतहट 

रौतहटमा बैरगनिया तटबन्धका कारण हरेक वर्ष बाढीका कारण बस्ती जोखिममा पर्ने गरेको छ । गौर नगरपालिकाको दक्षिणतर्फ नेपाल भारत सीमाक्षेत्रमा भारतद्वारा २०३७ सालमा भारतले नेपालको सहमतिविना १५ किलोमिटर लामो १० देखि १२ फिट उचाइको तटबन्ध बनाएको थियो । यो तटबन्धबाट गौरसहित बन्जराहा, औरैया, बैरिया, पिपरा, पुरेनवा, सिरसियालगायतका स्थानलाई डुबानमा पार्दै आएको छ । 

यो बाँधका कारण यहाँका स्थानीय हरेक वर्ष बाढीको चपेटामा पर्दै आएका छन् । गत वर्ष भारततर्फको बाँध भाँचिएपछि आएको बाढीले डुबाउँदा धेरै घरमा क्षति पुगेको थियो । घरभित्र कम्मरसम्म पानी आउने गरी बाढीले जलमग्न भएको थियो । 

गौरका स्थानीय हरेन्द्रप्रसाद सिंहले घर, बाटो, खेतबारी मान्छे हिँड्न नसक्नेगरी पूरै जलमग्न भएको बताए । भारतले बाँधेको बाँध खुला गरेन भने डुबानको समस्या झेल्नुपर्ने स्थानीयले बताए । 

सम्भावित डुबान क्षेत्र नम्बर २ : सिरहा 

सिराहाको सदरमुकामदेखि ५ किलोमिटर दक्षिणपूर्व भारतको सीमाक्षेत्रमा भारततिरबाट दशगजा क्षेत्रमा टतबन्ध बनाइएको छ । भारतको बिहार मधुवनी जिल्लाको मतनाजेमा भारतले एकतर्फी रूपमा बनाएको तटबन्दका कारण हरेक वर्ष वर्षातको बेला नेपालतर्फ बाढी फर्काइदिन्छ र जसले नेपाली भूमिलाई ढुबानमा पार्दै आइरहेको छ । सिरहाको औरही गाउँपालिका पारी बनाइएको ३ किलोमिटर लम्बाइ २० फिट चौडाइको तटबन्धका कारण सिरहाका धेरै भूभागमा डुबान हुने गरेको छ । 

चारैतिर नदीले घेरेको सिरहाको औरही गाउँपालिकामा थोरै वर्षा हुँदा मात्र पनि जलमग्न हुनेगरेको स्थानीय सुरेश यादवले जानकारी दिए । गाउँमा पानी नपसे पनि चारैतिर जलमग्न हुने र आवतजावत पूर्ण ठप्प हुने उनले बताए । यो क्षेत्रमा मुख्य नदीका रूपमा गागन नदी रहेको छ वर्षायाममा यो नदीले स्थानीयलाई दुःख दिने गरेको छ । यस्तै स्थानीय सहजा नदीमा पनि बाढी आउने गर्छ । 

यस पटक सिरहामा हुने डुबानबाट उद्धार तथा राहतका लागि सम्पूर्ण तयारी गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । 

उनले स्थानीय विपद व्यवस्थापन समिति गठन गरिएको, कोषमा रकम व्यवस्थापनको काम गरेको र जोखिम न्यूनीकरणका लागि सुरक्षाकर्मी तथा कर्मचारीहरूले उद्धारको पूर्वअभ्यास गरेको जानकारी दिए । यस्तै उद्धारका लागि नेपाली सेनाले ड्रम जोडेर ४ वटा स्थानीय डुङ्गा बनाएको छ । यस्तै रबरबोट, डोरी, साबेल लगायतका आवश्यक सामग्री तयार पारिएको पनि उनले जानकारी दिए । 

सम्भावित डुबान क्षेत्र नम्बर ३ : बाँके (लक्ष्मणपुर बाँध) 

बाँकेमा हरेक वर्ष भारतले बनाएका बाँधका कारण ठूलो भूभाग डुबानमा पर्ने गरेको छ । 

बाँके हुँदै बग्ने पश्चिम राप्ती नदीमा नेपाल–भारत सीमा क्षेत्रनजिक भारतले बनाएको लक्ष्मणपुर बाँध र कलकलुवा तटबन्धका कारण नेपालका गाउँ डुबानमा पर्ने गरेका हुन् ।  २०३६ सालमा सुरु गरेर २०४१ सालमा भारतले एकलौटी रूपमा लक्ष्मणपुर बाँध बनाएको थियो । 

लक्ष्मणपुर बाँधसँगै जोडेर ०५६ मा भारतले २२ किलोमिटर लामो ४ मिटर अग्लो कलकलवा तटबन्धको निर्माण गर्दा नेपालसँग कुनै सम्झौता भएको थिएन । 

अहिले पनि यी बाँधका कारण समस्या सिर्जना भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले रातोपाटीलाई जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी केसीले भने– ‘यो बाँधका कारण बर्सेनी हाम्रो भूभागमा बाढीको चपेटामा पर्ने गरेको छ । यसबाट राप्ती सोनारी गाउँपालिका र डुडुवा गाउँपालिका बढी प्रभावित हुने गरेका छन् । यसको समाधानका लागि हामीले समकक्षी रूपमा छलफल त गरेका छौँ तर यो समस्या समाधान गर्नका लागि माथिल्लो स्तरबाट दुई देशबीच छलफल हुन आवश्यक छ ।’ उनले स्थानीय स्तरबाट गरेको छलफलको सुनुवाइ नहुने भन्दै माथिल्लो तहबाट समाधान खोज्नुपर्ने वा नेपालतर्फ पनि त्यस्तै बाँध बनाउनुपर्ने उल्लेख गरे । 

मनसुन सुरु भइसकेकाले बाढी र डुबानबाट हुने विपत व्यवस्थापनका लागि जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेर ११ क्लस्टरमा उद्दार समिति बनाइएको उनले बताए । 

यस्तै विपद व्यवस्थापनको जिम्मेवारी स्थानीय गाउँपालिका र नगरपालिकालाई दिइएको निश्चित फन्ड बनाउँन लगाएको उनले बताए । यस्तै बढी जोखिमयुक्त ठाउँ पहिचान गरेर सबै निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बाँकेका प्रजिअ केसीले जानकारी दिए । पश्चिम राप्ती नदीमा अहिले १ दशमलव ४ स्केलको पानीको सतह रहेको छ । ५ दशमलव ४ भन्दा माथि पानीको सतह बढेपछि खतराको घण्टी बज्ने गर्दछ । पानीको सतहका बारेमा एसएमएसबाट पनि जानकारी दिने गरिएको छ । 

के छ सरकारको तयारी ?

गत असार ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले बाढी, पहिरो, आगलागी, भूकम्प, महामारी जस्ता विपद्का घटनाबारे जनचेतना जगाउने,  घटनाहरूबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि सबै सरकारी निकायलाई आफ्नो काममा थप प्रभावकारी बनाउन निर्देशन दिने निर्णय गरेको थियो । 

बाढी पहिरो जस्ता विपद्का घटना घट्न सक्ने स्थानमा अत्यावश्यक उपभोग्य वस्तु, उपकरण, औजारहरू, डुङ्गा, औषधि आदिको पर्याप्त व्यवस्थासहित विपद्को पूर्वतयारी तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको थियो । यस्तै सरोकारवाला मन्त्रालय, प्रदेशस्तरका मन्त्रालय र स्थानीय सरकारले आपसमा समन्वय गरी विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्णय गरेको थियो ।  

पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी मोबाइल सेवा प्रदायकहरू नेपाल टेलिकम एनसेललगायत अन्य सेवा प्रदायक र सञ्चार माध्यमबाट जनसमक्ष पुर्याउने व्यवस्था सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिलाउने निर्णयसमेत गरेको छ । 

यस्तै प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले सबै प्रकृतिका विपद् पूर्वतयारीका लागि आश्यक सामग्री तथा औजार खरिद गरी विपद् व्यवस्थापनका कार्यलाई थप प्रभावकारी बनाउने र सोका लागि आवश्यक स्रोतसाधनको व्यवस्था मिलाउने समेत निर्णय गरेको छ । 

विपत व्यवस्थापनका लागि प्रदेशस्तरबाट समन्वय, पूर्वतयारी, खोज तथा उद्धार गर्ने योजना बनाइएको छ । 

यस्तै नेपाली सेनाले विपद्को समयमा हुने जनधनको क्षतिलाई मध्यनजर गर्दै तत्काल परिचालन हुन सक्ने गरी प्रदेश नं १ मा इटहरी, प्रदेश नं ४ पोखरा र कर्णाली प्रदेशको सुर्खेतमा हेलिकप्टरसहितको खोज उद्दार टोली तयारी अवस्थामा राख्ने निर्णयसमेत गरेको छ । 

सोहीअनुसार यसको तयारी गरिएको गृह मन्त्रालयका सहसचिव केदार न्यौपानले जानकारी दिए । प्रत्येक प्रदेशमा राहतका लागि एक एक खाद्य तथा आवश्यक सामग्रीको गोदाम राखिएको, स्वास्थ्यकर्मी, औषधि तथा सुरक्षाकर्मी आवश्यकता अनुसार तयारी अवस्थामा राखिएको जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप