मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

यी ट्रम्प भक्त : गर्छन् हरेक दिन अमेरिकी राष्ट्रपतिको पूजा, मन्दिर बनाउने योजना

शनिबार, १६ असार २०७५, १० : ०६
शनिबार, १६ असार २०७५

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अमेरिकी समर्थकहरुले उनलाई आदर्श मान्छन् । तर, पूजा नै भने गर्दैनन् ।

तर, हजारौँ किलोमिटर टाढा भारतमा भने एक व्यक्तिले पछिल्लो तीन वर्षदेखि ट्रम्पलाई भगवान मान्दै पूजा गर्दै आइरहेका छन् ।

३१ वर्षीय वुसा कृष्णा तेलङ्गाना राज्यको कोने गाउँका वासिन्दा हुन् । उनी दैनिक अमेरिकी राष्ट्रपति ट्रम्पको फोटोमा पूजा गर्ने गरेका छन् ।

ट्रम्पको फोटोमा अन्य देवताहरुलाई जस्तै अबिर–अक्षता देखि फुलफूलसम्म उनले हरेक दिन चढाउने गर्छन् । अब ट्रम्पको मन्दिर बनाउने उनको योजना छ ।

उनले वास्तवमा कहिलेदेखि ट्रम्पको पूजा गर्न थाले भने यकिन नभए पनि नाइन न्युज च्यानलका अनुसार उनले ट्रम्पले राष्ट्रपति पदमा उम्मेदवारी घोषणा गरेसँगै पछिल्लो तीन वर्षदेखि यो गर्दै आएका छन् ।

यद्यपि, हिन्दुस्तान टाइम्सले भने गत फेब्रुअरीमा तेलङ्गानाका सफ्टवेयर इन्जिनियरलाई अमेरिकी नेभीका पूर्व सैनिकले हत्या गरे पश्चात उनले ट्रम्पको पूजा गर्न चालेका हुन् ।

‘त्यो घटनाले मलाई निकै दुःखी तुल्यायो । मलाई लाग्यो अमेरिकी राष्ट्रपतिलाई हामीले माया र सदभाव देखायौँ भने उनले भारतीयहरुको महानतालाई बुझ्ने छन्,’ कृष्णाले भने, ‘त्यही भएर मैले ट्रम्पको पूजा गर्न थालेँ । मलाई आशा छ मेरो प्राथना एक दिन उनीसम्म पुग्नेछ ।’

उनको गाउँका अन्य मानिसहरु भने उनको यो हर्कतलाई पागलपन ठान्छन् । कथित रुपमा उनको यो हर्कतबाट आजित भएर उनको आमाबाबु समेत घर छाडेर आफन्तकोमा बस्न थालेका छन् ।

स्थानीयले उनलाई मनोचिकित्सककोमा उपचारको सल्लाह दिने गरे पनि उनले कसैको सल्लाह सुन्ने गरेका छैनन् ।

‘मैले उनीहरुलाई भनेको छु, मलाई केही मानसिक उपचार चाहिँदैन । उनीहरुलाई मन छ भने उनीहरु गए हुन्छ । मेरो लागि ट्रम्प भगवान हुन् । मलाई अरुले के भन्छ भन्ने कुराले केही असर गर्दैन,’ नाइनन्युजसँग कुरा गर्दै उनले भने, ‘अब मेरो योजना भनेको ६ महिनाभित्र ट्रम्पको मन्दिर बनाउने हो ।’

‘मलाई यति मात्र थाहा छ कि विश्वकै उनी अजय र शक्तिशाली नेता हुन् । उनको ‘बोल्ड’ प्रस्तुती मलाई मन पर्छ । एक पटक वर्ल्ड रेस्लिङ फेडरेशनमा भाग पनि लिएका थिए उनले । मलाई लाग्छ उनी शक्तिशाली हुनुपर्छ,’ उनको भनाई छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप