बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘समर क्याम्प’ मा विद्यार्थीले देखाउँछन लोभलाग्दो क्षमता !

शुक्रबार, १५ असार २०७५, ११ : ४६
शुक्रबार, १५ असार २०७५

वृहस्पति विद्यासदन दस जोड दुईको भवन । भवनको पाँचौं तलामा ‘स्टेम ल्याब’ छ । ‘स्टेम ल्याब’ भनेको साइन्स, टेक्जोलोजी, इन्जिनियरिङ र म्याथम्याटिक्स प्रयोगशाला हो । प्रयोगशालाबाहिरपट्टि ‘इनोभेसन स्टेम समर क्याम्प’ मा विद्यार्थी रमाइरहेका देखिन्छन् ।

असार १० बाट सुरु क्याम्पलाई ‘फस्र्ट’ र ‘सेकेन्ड ब्याच’ मा छुट्ट्याइएको छ । ‘फस्र्ट ब्याच’ अन्तर्गत ६ र ७ कक्षामा अध्ययनरत विद्यार्थीले असार १० देखि १३ गतेसम्म ‘समर क्याम्प’ मा बिताए । ‘फस्र्ट ब्याच’ लाई समेत दुई समूहमा बाँडिएको थियो । पहिलो समूहले साढे आठदेखि साढे ११ बजेसम्म र दोस्रो समूहले १ देखि ४ बजेसम्म ‘समर क्याम्प’ को सदुपयोग गरे । 

फस्र्ट ब्याचका विद्यार्थीले पहिलो दिन रोबोर्ट बनाएका थिए । दोस्रो दिन इलेक्ट्रोनिक्ससम्बन्धी काम गरे । उनीहरूले चारै दिन उत्साहित भएर बिताए । 

असार १४ देखि ‘सेकेन्ड ब्याच’ को ‘क्याम्प’ सुरु भएको छ । ‘सेकेन्ड ब्याच’ मा ८, ९ र १० मा अध्ययनरत विद्यार्थी सहभागी छन् । पहिलो दिन काठको काम गरेका उनीहरूले काठबाट निर्मित फोटोफ्रेम बनाएका थिए । दोस्रो दिन केमिकल, इलेक्ट्रोनिक्स र चार्टलाई एकैठाउँ राखी सजाएर राख्न मिल्ने आकर्षक फ्रेम बनाउँदै छन् । तेस्रो दिन थ्रीडी प्रिन्टिङ र चौथो दिन इलेक्ट्रोनिक्ससम्बन्धी अभ्यास गर्नेछन् । इलेक्ट्रोनिक्सअन्तर्गत कोठा पस्दा आफैं बल्ने, बाहिरिँदा निभ्ने बत्ती बनाउनेछन् । 

असार १७ मा ‘समर क्याम्प’ सकिए पनि उनीहरूले असार १९ गते ड्रोन बनाएर उडाउँदै छन् । वृहस्पति विद्यासदनमा अध्ययनरत तर रुचि भएकालाई ‘प्लम्बिङ’ सम्बन्धी तालिम दिने गरिएको छ । 
विद्यार्थीले कक्षाकोठामा साइन्स, टेक्जोलोजी, इन्जिनियरिङ म्याथम्याटिक्स पढ्छन् । शिक्षकले पढाउँछन् । शिक्षकले पढाए पनि हो कि होइन भनेर विद्यार्थीले पत्याउने कुरा भएन । पत्याउने बनाउन अर्थात् शिक्षकले पढाएको विषय सही हो कि होइन भनेर थाहा पाउन समर क्याम्प आयोजना गरिएको मयाङ्क ढकाल बताउँछन् । 

विभिन्न विद्यालयले विभिन्न समयमा ‘क्याम्प’ आयोजना गर्दै आएका छन् । वृहस्पति विद्यासदनको नौदिने ‘समर क्याम्प’ मा सहभागी विद्यार्थीले ‘पर्सनल लाइफ’ मा ‘स्कील डेभलपमेन्ट’ कसरी गर्न सकिन्छ भनेर सिकेको वृहस्पति विद्यासदन स्टेम ल्याबमा कार्यरत राजेश श्रेष्ठले बताए । श्रेष्ठले थपे, ‘समर क्याम्पले विद्यालयबाट बाहिरिएपछि ‘करिअर डेभलप’ कसरी गर्न सकिन्छ भनेर सिकाउनुका साथै आफूभित्रको प्रतिभा चिन्ने अवसर पाइन्छ ।’

कक्षाकोठामा पढाइएको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न ‘समर क्याम्प’ ले सघाउ पुर्याउँदै आएको छ । सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न नौदिने समर क्याम्पले पुग्दैन । त्यसैले वृहस्पति विद्यासदनले ‘आफ्टर क्लास’ सुरु गरिसकेको छ । 

संवत् २०४१ म स्थापित वृहस्पति विद्यासदनले ‘प्रोग्रेस एजुकेसन’ लाई ‘फोकस’ गर्दै आएको छ । ‘यो भनेको लर्निङ बाई डुइङ हो,’ वृहस्पति विद्यासदन सञ्चार संयोजक डोल्मा लामाले थपिन्, ‘रटाएरमात्रै पढ्न आउँछ भन्ने होइन । पढ्दै सिक्ने हो । कि परेर जानिन्छ कि पढेर भन्ने नेपाली उखान प्रचलित छ । तर, परेर र पढेरभन्दा सिकेर जानिन्छ भन्ने मान्यता प्रभावकारी हुन्छ ।’ 

शिक्षिकासमेत रहेकी लामाले सुनाइन्, ‘एकातिर बिदाको सदुपयोग भयो, अर्कोतिर विद्यार्थीले प्रतिभा प्रदर्शन गर्न पाए ।

‘स्टेम ल्याब’ मा वृहस्पति विद्यासदनमा अध्ययनरत विद्यार्थीद्वारा निर्मित विभिन्न किसिमका सामग्री देख्न सकिन्छ । त्यसमध्ये आठ कक्षामा अध्ययनरत विद्यार्थीले बनाएका ‘ब्ल्याइन्ड गगल्स’ आकर्षण मानिन्छ । ल्याबमा ‘ब्ल्याइन्ड गगल्स’लगायत धेरै सामग्री देख्न सकिन्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप