केन्द्रीय संस्करण

अबको २५ वर्षसम्म जहाँजहाँ नागरिकको चाहाना, त्यहाँ नर्भिक पुग्छ : कार्यकारी निर्देशक राजेन्द्र सिंहसँगको अन्तरवार्ता

person access_timeअसार १४, २०७५ chat_bubble_outline0

काठमाडौँ । नर्भिक हस्पिटल चर्चित निजी हस्पिटलमध्येको एक हो । नर्भिकले स्वास्थ्य सेवा दिन थालेको २५ वर्ष भयो । अहिलेसम्ममा २२ लाख बिरामीले नर्भिकबाट सेवा लिइसकेका छन् । देशका नाम चलेका व्यक्तिहरूले पनि नर्भिकबाट स्वास्थ्य सेवा लिँदै आइरहेका छन् । अझ स्वास्थ्य क्षेत्रका धेरै व्यक्तिले नर्भिक सञ्चालन भएदेखि विदेशमा उपचार गर्न जाने बिरामीको सङ्ख्यामा कमी हुँदै आएको भन्दै आइरहेका छन् ।  यता सर्वसाधारण नागरिकले भने महँगो हस्पिटलका रूपमा नर्भिकको परिचय दिन्छन् । नर्भिक सञ्चालन भएको २५ वर्षे यात्रामा हस्पिटलको कतिको प्रभावकारी बन्यो, नागरिक माझ नर्भिक कतिको पुग्यो, नर्भिक साँच्चै महँगो हस्पिटल हो ? नर्भिक नागरिकप्रति कतिको उत्तरदायी बन्न सक्यो, नर्भिकको अबको यात्रा कसरी अगाडि बढ्लालगायत विषयमा हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र सिंहसँग अञ्जु तामाङले गरेको कुराकानी । 

नर्भिकमा दैनिक सेवा लिन आउनको सङ्ख्या कति छ ? 
दैनिक ८ देखि ९ सयले ओपीडी सेवा लिँदै आइरहेका छन् ।  हस्पिटल सञ्चालन भएदेखि अहिलेसम्म २० लाखले सेवा लिइसकेका छन् । वार्षिक ७० देखि ८० हजारले सेवा लिएका छन् ।

नर्भिक नागरिकप्रति उत्तरदायी हुन सक्यो कि सकेन ?  

नागरिकप्रति उत्तरदायी भएर नै यो समयसम्म यति धेरै नागरिकले सेवा लिएको हो भन्ने मलाई लाग्छ । हामी नागरिकप्रति उत्तरदायी नभएको भए अहिलेसम्म नर्भिक चर्चामा आउँदैन थियो । जनताका माग, विश्वास भएर नै सफलता प्राप्त गर्न सकेको हो भन्ने मलाई लाग्छ । नर्भिकको मुख्य उद्देश्य भनेको पेसेन्ट केयर कसरी गर्ने भन्ने कुरा हो । हामी बिरामीको हेरचाहलाई सबैभन्दा पहिलो प्राथमिकता दिन्छौँ । यो कारणले गर्दा पनि नर्भिक सबैको रोजाइमा परेको हो । आजभन्दा २५ वर्ष पहिला २० बेडबाट सुरु भएको यो अस्पताल नागरिकको मनमा बस्न सफल नभएको भए हामी यति धेरै नेपालीको उपचार गर्न सफल हुँदैन थियौँ । अहिलेसम्म हामीले सबै रोगका विभागहरू सञ्चालन गरेका छाँै । नागरिकको हामीप्रति विश्वास पनि बढेको छ । हाम्रो हस्पिटलमा नागरिक बार्डपत्र, कुन रोगको कति खर्च लाग्छ भन्ने कुराको बारेमा स्पष्ट रूपमा उल्लेख गरिएको छ । नर्भिकमा हस्पिटलमा बिरामी आएपछि परामर्सको पनि व्यवस्था रहेको छ । भर्ना गर्नुपर्ने अवस्था हो भने बिरामीलाई यो रोग लागेको छ, यस्तो उपचार गर्नुपर्छ भन्ने कुराको बारेमा बिरामीको आफन्तलाई जानकारी गराएर मात्रै हामीले उपचारलाई अगाडि बढाउने गरेका छाँै । 

हस्पिटल खुशीभन्दा पनि आपत् र दुःख परेको बेलामा आउने ठाउँ हो । यो बेलामा नागरिक बडापत्र हेर्न जाने कुरा हुँदैन । हामीले बिरामी र आफन्तलाई सहज होस् भन्नका लागि प्रतक्ष कुरा गर्ने गरेका छाँै ।

हाम्रो हस्पिटलको दोस्रो उद्देश्य भनेको समाज सेवा गर्ने हो । नागरिकलाई स्वास्थ्यप्रति सजक गराउनका लागि प्रत्येक वर्ष ५ वटा फ्रि हेल्थ क्याम्प सञ्चालन गर्दै आइरहेका छाँै । वर्षको ३ वटा क्याम्प सञ्चालन गर्ने हाम्रो योजनामा नै छ । नेपालको जाजारकोट जस्तो ठाउँमा पनि क्याम्प सञ्चालन गरीसकेका छाँै । हामीले क्याम्पमा स्वास्थ्य उपचार मात्रै होइन स्वस्थ्य रहनका लागि के गर्नुपर्छ भन्ने विषयमा नागरिकलाई जानकारी गराउने गरेका छाँै । यस्तै हरेक महिनाको दोस्रो शनिबार फ्री क्याम्प सञ्चालन गर्दै आइरहेका छाँै । 

नर्भिक पैसा हुनेहरूका लागि मात्रै हो भनिन्छ  नि ? 

त्यस्तो होइन, सबैको नजरमा हामी पर्न नसकेको भए यति छोटो समयमा यति धेरै नेपालीको सेवा गर्ने मौका मिल्दैन थियो होला सायद । नर्भिकमा देशका ठूला–ठूला व्यक्तिहरू स्वास्थ्य परीक्षणका लागि आउँछन् । जो हिजो स्वास्थ्य परीक्षणका लागि मात्रै बाहिर देश जाने चलन थियो । यो बाहिर उपचार गर्न जाने ट्रेन्डलाई पनि नर्भिकले केही कम गरेको हो कि भन्ने हामीलाई महसुस हुन्छ । केही दिन पहिला पूर्वराजाले पनि स्वास्थ्य परीक्षण गर्नुभएको थियो । हामीकहाँ सबै प्रकारको उपचार हुने भएका कारण भीआईपीहरूले पनि विश्वास गर्ने ठाउँ बनेको छ नर्भिक । अर्काे कुरा क्रिटिकल बिरामीलाई कसरी उपचार गर्ने भन्ने कुरा हाम्रो मुख्य लक्ष्यको भएको कारण त्यस्ता बिरामीहरू बढी मात्रामा आउने गर्छन् ।  यसको अर्थ ठूलाले मात्रै उपचार गर्ने हस्पिटल हो भन्ने होइन । हामीले हस्पिटल सञ्चालनको गर्नुको उद्देश्य भनेकै सबै नेपाली माझ पुग्नु हो । नर्भिकले धेरै बेवारिसे बिरामीहरूको पनि निःशुल्क उपचार गराएको छ । मलाई लाग्छ नर्भिकको स्वास्थ्य शुल्क महँगो छैन ।

नर्भिक सबैको रोजाइमा पर्न थालेको कति समय भयो ? 

अस्पताल सञ्चालन गरेको सुरुको अवस्थामा यस्तो समस्या थियो । नर्भिक निकै महँगो छ । यहाँ आर्थिक अवस्था सम्पन्न भएका व्यक्तिहरू मात्रै उपचारका लागि आउँछन् भन्ने कुरा थियो । सेवा लिनेमा पनि झण्डै त्यस्तै व्यक्तिहरू नै बढी आउने गरेका थिए । तर यो ७ वर्षदेखि यताको अवस्था हेर्ने हो भने सबै आर्थिक अवस्थाका नेपालीहरूले नर्भिकबाट स्वास्थ्य सेवा लिइरहेका छन् । नर्भिक हामी सबैको हो भन्ने उद्देश्यका साथ हामी निःशुल्क शिविर, निःशुल्क उपचार जस्ता कुराहरूलाई पनि प्राथमिकता दिएका कारण आज नर्भिक सबैको रोजाइमा पर्न सफल भएको छ ।  महँगो छ भन्ने कुरा त अझै पनि चलिरहेको छ । महँगो भएको अर्थमा भन्नुपर्दा कार्डियोलोजी विभागमा स्टेन हाल्नुपर्ने, कुनै ठूलो अप्रेसन गर्नुपर्यो भने महँगो नै हुन्छ । अरू सेवा अन्य हस्पिटलको जस्तै हो  । बेडको कुरा गर्नुहुन्छ भने एउटा जनरल वार्डको २१ सय बेड चार्ज रहेको छ । जुन अरूको जनरलवार्ड र हाम्रो जनरलवार्ड निकै फरक रहेको छ । एउटै वार्डमा बिरामी र बिरामीको एक आफन्त पनि बस्न मिल्छ । हस्पिटलमा भर्ना गरेपछि बिरामीलाई औषधि चाहिएको खण्डमा बिरामीको आफन्त कुद्नुपर्दैन सबै हस्पिटलले व्यवस्था गरिदिन्छ । सुपर डिलक्स बेडमा बस्ने हो भने ३५ हजारसम्म छन् । बिरामीको सबैभन्दा पहिलो चाहाना भनेको बेस्ट उपचार कहाँ हुन्छ भन्ने कुरा हो । हामीले त्यो काम पूरा गरेका छाँै । 

नेपाल सरकारले निजी स्वास्थ्य संस्थालाई लगाउँदै आएको १३ प्रतिशत भ्याट र ५ प्रतिशत कर पनि हटाइसकेको छ, नर्भिकको सेवा शुल्कमा अब केही कम हुन्छ कि ? 

यो त पक्कै हुन्छ । यो दुई कुरामा निजी स्वास्थ्य संस्थाले एउटा कुरा गर्नुपर्ने हो । नर्भिकले ५ प्रतिशत कर तिर्दै आइरहेको छ । दुवै कुरा सरकारले हटाएपछि पक्कै पनि स्वास्थ्य सेवा शुल्कमा केही कम हुन्छ नै । त्यो आउने साउनदेखि हुन्छ ।  

नर्भिकमा कस्ता बिरामी बढी आउँछन् ?

नर्भिकमा सबै प्रकारका सेवाहरू छन् । विशेषतः निकै क्रिटिकल अवस्थाका बिरामीहरू ल्याइन्छ । यस्तै ग्यास्ट्रो, कार्डिक, पर्मलोजी, अर्थाे, जनरल मिडिसिन र गाइनो लगायत ४, ५ वटा विभागमा बढी बिरामी आउने गरेका छन् । 

अहिले एक महिनासम्म अर्थाेपेडिकसम्बन्धी शिविर पनि सञ्चालन भइरहेको छ । हिप ट्रान्सप्लान्ट हामीले गर्दै आइरहेका छाँै । सस्तो शुल्कमा गर्न सक्छौँ भन्ने सन्देशका साथ नागरिकलाई जानकारी दिनका लागि शिविर सञ्चालन गरिएको हो । शिविरमा आएका बिरामीहरूको लिस्ट राख्ने र यदि हिप नै ट्रान्सप्लान्ट गर्नुपर्ने खालको बिरामी आउनुभएको भने सर्भसुलभ मुल्यमा ट्रान्सप्लान्ट गर्ने योजना बनाएका छाँै । यो  २५ वर्षमा लागिरहँदा हामीकहाँ डाइलासिस थिएन, त्यो अहिले सुरु गरिएको छ ।

नर्भिक नागरिकमा गएको २५ वर्षसम्ममा कस्ता चुनौतीहरू देख्नुभयो ? 

हस्पिटल आफैमा चुनौतीपूर्ण कुरा हो । यहाँ आउने भनेको असाध्य आपत—विपत परेका बेलामा आउने ठाउँ हो ।  जसलाई तत्काल सेवा दिएर निको पार्नुपर्ने ठाउँ भएको हुनाले चुनौती धेरै छन् । हाम्रो उद्देश्य सबैलाई निको पार्ने हो । तर हस्पिटलमा आएका धेरैजना मध्ये २ जना निको नहुन पनि सक्छन् । निको नभएको कुरामा कहिले कहीँ समस्याहरू पनि आउने गर्छन् । यसलाई हामीले सामान्य रूपमा लिनुपर्ने हुन्छ । अहिलेसम्म अस्पतालले ठूलो दुर्घटना व्यहोर्नु परेको छैन् । आफ्नो मान्छे तलमाथि भएपछि एकछिन नराम्रो त हुन्छ तर यहाँको सेवा र सुविधासँग मान्छे परिचित भएका कारण केही समयपछि उहाँहरू बुझ्ने अवस्थामा आउनुहुन्छ ।

देब्रे खुट्टाको अप्रेसन गर्नुपर्ने ठाउँमा दाहिने खुट्टाको गरिएको थियो नि ? 

त्यो भएकै हो तर के भएको थियो त्यहाँ भन्ने कुरामा हामी गएनाँै । पेसेन्ट पार्टीसँग डाक्टरले कुरा गर्दा जुन खुट्टामा समस्या देखियो त्यो एमआरआई स्टाइलमा छैन । दुईवटै खुट्टा हेर्छाैँ, हेर्दा जुनमा ठीक हुन्छ त्यही खुट्टामा अप्रेसन गर्छाैं भनेकै हो । अप्रेसन गरेकै हो तर पेसेन्ट पार्टीले दाहिने, देब्रे नभनेकै कारण समस्या भएको हो । अहिले पनि त्यो बिरामी फलोअपका लागि आइरहेको छ । यदि त्यो डाक्टर नराम्रो भएको भए पेसेन्ट पार्टीले त्यही डाक्टरले उपचार गर्नुपर्छ भन्नु नपर्ने नि ? त्यो डाक्टरलाई विश्वास गर्नुनपर्ने हो नि ? तर उहाँहरूले नै त्यही डाक्टरले उपचार गर्नुपर्छ भन्ने कुरा गर्नुभयो अहिले राम्रो भइरहेको छ । त्यो विषयमा अहिले पनि उपचार भइरहेको छ । 

निजी अस्पतालको सेवा प्रभावकारी बनाउका लागि के गर्नुपर्छ होला ? 

हाम्रो उद्देश्य भनेको कसरी सबै नागरिकको पहुँमा पुग्न सकिन्छ भन्ने नै हो । एक त निजी अस्पताल हो । निजी अस्पताललाई बचाउनका लागि सरकारले पनि सोच्न जरुरी छ । अहिले हामीसँग १०० बेड रहेको छ । २ सय बेडमा जाने तयारीमा छाँै । अबको २५ वर्षमा नागरिकको साथ पाएको खण्डमा नर्भिक देशभर हुने छ । नर्भिकको सेवा देशभर फैलिने छ । अहिले हामी यो सेवामा छैनाँै तर २५ वर्षपछि पक्कै जाने छाँै । जहाँ नागरिकको चाहाना हुन्छ त्यहाँ नर्भिक पुग्छ । 

१०० बेडको अनुमति लिएको नर्भिकले त्योभन्दा बढी नै बेड सञ्चालन ल्याएको भन्ने सुनिन्छ नि ? 

विभिन्न मिडियामा यो कुरा नआएको भने होइन, आएको हो । नेपाल सरकारले २०० सय बेडमा जानका लागि प्रोसेस चाल्नु भनेर हामीलाई लिखित अनुमति दिएको छ । त्यो आधारमा हामीले बेड राखेका हौँ । हामीले प्रत्येक महिनाको ७ गते नेपाल सरकारको स्वास्थ्य विभागमा रेकर्ड पठाउनुपर्ने हुन्छ । कुन कुन रोगको आए, कति ठीक भयो, कति ठीक भएन ? कतिले निःशुल्क उपचार गरे यो सबै कुराको रेकर्ड हामीले सरकारलाई पठाउनुपर्ने हुन्छ ।


 

अञ्जु तामाङ

अञ्जु तामाङ रातोपाटीका लागि  स्वास्थ्य बिटमा रिपोर्टिङ गर्छिन् ।   

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ