शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी तीन युवा जोबाट धेरै युवाले प्रेरणा लिन सक्छन्

बिहीबार, १४ असार २०७५, १० : ०८
बिहीबार, १४ असार २०७५

२०६४ सालमा एसएलसी दिएर रामेछापबाट काठमाडौँ फालहानेका दुई युवा अर्जुन चौहान र दुर्गाबहादुर श्रेष्ठ सहपाठी हुन् । सामान्य रहरले काठमाडौँ छिराएको थियो यी दुई कलिला मस्तिष्कलाई । रहर थियो मात्र गाडी चढ्ने र इँटाका अग्ला भवन हेर्ने । बाटामा गुडेका थुप्रै गाडीका लर्कोलाई हेरेर रमाउने अर्जुन बाटो क्रस गर्न भने निकै डराउँथे । गुडिरहेका गाडीका लर्कोहरूलाई छिचोलेर सडक पारि पुग्नु उनको लागि सामान्य थिएन । तिनै गाडी छिचोल्दै सडक पार गर्दैगर्दै कामको खोजीमा उनी धेरै ठाउँ चाहारे । 

अचानक एक दिन गणेश कार्कीले उनको जीवनको गोरेटो पहिल्याइदिए । हिमालयन जाभाका मेनेजर कार्कीले उनलाई ठमेलको हिमालयन जाभामा जागिर दिए । गाउँबाट भर्खरै झरेको सानो ठिटोलाई पर्यटकको भीडभाड हुने ठमेलमा कफी बनाउने र नेपाली अनि विदेशी ग्राहकलाई खुसी पार्नु चानचुने थिएन । कसैसँग बोल्न नडराउने अर्जुनले यो अवसरको राम्रैसँग सदुपयोग गरे । कफीको यात्रालाई उनले यहीँबाट सुरु गरे । उनको लगन र कफीप्रतिको प्रेमले कफी बनाउने मात्र होइन कि कफी प्रिजेन्टेसन सिकाउने वरिस्ता इन्चार्जको पोस्ट पनि पाए । कफी मेकरलाई ट्रेनिङ दिने वरिस्ता बने उनी । मनमोहन मेमोरियल कलेजबाट प्लस टु गरेका अर्जुनले काम गर्दै ब्याचलरसम्मको पढाइ पनि पूरा गरे । सँगै काठमाडौँ छिरेका साथी दुर्गा रेस्टुरेन्टमा काम गर्दथे । क्याफे र रेस्टुरेन्ट विल्कुलै फरक विषय हुन् । अर्जुन चाखिलो शैलीमा थप्छन्,  ‘कफी र फास्टफुड विल्कुल अलग चीज हुन्, यसको सर्भिङ तरिका फरक छ र उद्देश्य पनि फरक छ ।’ 

अर्जुनलाई कफीप्रतिको मोह बढ्नुमा अर्को कारण पनि छ । उनले पढेका र देखेका पनि छन्, कफी सपले धेरैलाई साहित्यकार बनाएको छ । पत्रकार नारायण वाग्लेको पल्पसा क्याफे आधाभन्दा बढी भाग कफी सपमै बसेर लेखिएको कृति हो । उनले त्यो क्षणलाई प्रत्यक्ष नियाल्ने मौका पाए । उनले वैज्ञानिक, राजनीतिज्ञ, प्रोफेसर, रिटायर्ड अफिसरदेखि धेरैलाई कफी सपमा रमाएको देखेका छन् । उनलाई लाग्छ, ‘कफी सप भनेको एक क्रिएटिभ प्लेस हो, साथै ‘रुल्स मेकिङ प्लेस’ पनि। जहाँ जस्ता व्यक्तिहरू पनि आउँछन् र कफीसँगै महत्वपूर्ण कार्य गर्दछन् ।’

कफीले इनर्जी प्रदान गर्दछ । यदि ‘प्रेमी प्रेमीका सँगै बसेर रक्सी पिउँछन् भने मम्मी घर जाम न भन्ने अवस्थामा पुग्छन् रे तर कफी पिएर बसेका छन् भने फेरि कहिले भेट्ने भन्दै छुटिन गाह्रो मान्छन् रे ।’ यो अर्जुनको अनुभवले देखेको रियालिटी हो । 

हिमालयन जाभामा काम गर्दैगर्दा उनले अमेरिका जाने अवसर पाए । १५ महिना अमेरिकामा उनले कफीबारे राम्रै ज्ञान हासिल गर्ने अवसर पाए । 

सामान्यतः मानिस अमेरिका छिरे पछि जसोतसो उतै सेटल हुन चाहन्छ तर अर्जुनको आफ्नै माटोमा केही गर्ने भावनाले नेपाल फिर्ता गरायो । आफ्नो घर सपार्न सकियो भने समाज, देश अनि विश्वलाई पनि सपार्न सकिने उनी बताउँछन् । पैसा कमाउनभन्दा पनि समाजका लागि केही गर्न जन्मिएका अर्जुनले अमेरिकाको झिलीमिलीलाई भन्दा स्वदेशी बासनालाई अँगालेका छन् । ‘जुन बासना स्वदेशी माटोमा छ, त्यो यो दुनियाँको कुनै पनि तत्वमा छैन’, उनी थप्छन् । अरूले बनाइदिएको ठाउँ, प्रविधि र संस्थालाई पच्छ्याउनु भन्दा आफैले केही नयाँ निर्माण गरेर स्वदेशी उत्पादन र देशलाई आर्थिक रूपमा माथि उठाउने अभियानमा अर्जुन र उनका साथीहरू छन् । 

अर्जुन र दुर्गाको अनुभवले प्यासनलाई सफलताको सूत्र मानेको छ । उनीहरू यो क्षेत्रमा आफूहरू सफल हुँदै गएको र आगामी दिनमा यसलाई स्वदेशमा मात्र होइन विदेशमा पनि फैलाउने लक्ष्यका साथ अघि बढिरहेका छन् । स्वदेशमा केही गर्न नसकेर भौतरिदै विदेशिने धेरै नेपाली युवाहरुको लागि गतिलो उदाहरण हुन् यी युवा ।

अर्जुनले सिकेको सफलताको सूत्र हो स्टिभ जब्सको ‘इम्प्लोई होइन इम्प्लोयर भएर मर्नु पर्छ’ । उनलाई यही सिद्धान्तले पिक गरेको थियो । इम्प्लोयर बन्नका लागि त केही काम सुरु गर्नु पर्यो र कसैलाई काम पनि दिनु पर्यो । दुर्गासँगको निकटताले उनीहरू स्कुल जीवनका मात्रै होइन, अब व्यावसायिक रूपमा पनि सँगै अघि बढौँ भन्ने विचार पलायो । दश वर्षको कफीको अनुभवलाई यसै क्षेत्रमा प्रयोग गर्ने अर्जुनको सोच र दश वर्ष रेस्टुरेन्टको अनुभवलाई प्रयोग गर्ने दुर्गाको सोचको मिलन भयो । यही अनुरूप दुर्गाले पनि कफीबारे तालिम लिएर यही क्षेत्रमा केही गर्ने दुवैको प्रतिबद्धताको सङ्गमस्थल बन्यो कफी सप । अतः दुईले क्याफे र रेस्टुरेन्टको आइडियालाई मर्ज गरे । सोही आइडियाले जन्मायो ‘हाइल्यान्ड विन्ज कफी’ ।

उनीहरूलाई साथ दिए अर्का साथी कुशल गिरीले । २०१४ मा दुर्गाबहादुर श्रेष्ठ, कुशल गिरी र अर्जुन चौहानले आफ्नो १० वर्षे अनुभवलाई एउटा कफी सपमा परिणत गर्ने निर्णय गरे । जसअनुसार भक्तपुरबाट ‘हाइल्यान्ड विन्ज कफी सप’बाट कफी बिजनेस सुरु गरे । 

हाइल्यान्ड विन्ज कफीको जन्म
हिमालयको देश नेपाल । नेपालका उच्च भेगमा उत्पादित कफी विश्व बजारमा निकै प्रख्यात छ । विश्वका टप टेन कफीमा नेपाली कफी पनि पर्ने भएर उनीहरूले नेपाली कफीको उच्चतम प्रयोग र अन्य कफीलाई पनि समावेश गरी हाइल्यान्ड कफीलाई अगाडि बढाउने योजना बनाए । कफी उच्च पहाडी भूभागमा फल्ने भएकाले कफीका दाना (विन्ज) लाई साथ लिएर ‘हाई ल्यान्ड विन्ज कफी’ नामकरण गरे । यो नामका लागि निकै दिमाग खियाएका छन् अर्जुन, कुशल र दुर्गाले । हुन त कफीका अनेकन प्रकारहरू हुन्छन् तर विश्व बजारमा हाई अल्टिच्युटका कफी निकै राम्रो मानिन्छ  । ‘द डे स्टार्ट फ्रम अ कप अफ कप’ भन्ने मन्त्र यी तीन युवाले लागू गराउन चाहे । कफीसँगै सुरुवात भएको दिन सफल रहन्छ रे । कफीले शरीरलाई इनर्जी प्रदान गर्ने भएकाले मानिस कफीसँगै समय विताउन चाहन्छ । कफीलाई अनेकन स्वाद र शैलीमा प्रस्तुत गर्न सकिन्छ । त्यसमा पनि नेपालका उच्च क्षेत्रमा उत्पादित कफीको महत्व नै फरक छ । नेपालमा उच्च पहाडी भेगको कफीमा विश्वमै उत्कृष्ट १० कफीभित्र पर्ने भएकाले यसैलाई विश्वसामु फैलाउने सोचको उपज हो हाइल्यान्ड विन्ज कफी । यी युवाले “हामी नेपाली, कफी नेपाली, हाम्रो गौरव, स्वदेशमै रोजगारी” यही सन्देश दिन खोजेका छन हाइल्यान्ड विन्ज कफी मार्फत । 

बिजनेस कन्सेप्ट

बिजनेस गर्न मुख्यतः दुई चीजमा ध्यान दिनुपर्ने अर्जुन र दुर्गाको बुझाइ छ । एक म्यानपावर र अर्को आउटलेट । त्यसमाथि अर्को महत्वपूर्ण पाटो हो क्वालिटि । उनीहरूले म्यानपावर उत्पादन र प्रयोगमा विशेष ध्यान दिएका छन् । आफूले उत्पादन गरेका म्यानपावरले भोलि यसै क्षेत्रमा स्थापित हुन सकून् भन्ने सोच उनीहरूको छ । भन्छन्, ‘आयआर्जनसँगै व्यावसायिक बन्न सीप विकासमा विशेष ध्यान दिन सकिएन भने यता न उताको भइन्छ ।’

यस्तो अवस्थालाई ध्यानमा राखी यी दुईले कफी सपसँगै कफी स्कुल पनि स्थापना गरे । नेपालकै पहिलो वरिस्ता स्कुलको स्थापना यी युवाले गरे जसले कफी प्रिजेन्टेसनबारे पूर्ण ज्ञान दिनुका साथै रोजगारीमा पूर्ण सहयोग गरेको छ । भन्छन् क्वालिटिमा कम्प्रोमाइज गर्न सकिन्न र हाम्रा ग्राहकको सन्तुष्टी भनेको हाम्रो सन्तुष्टी हो । बिजनेसमा सोचले मात्र हुँदैन र देखेकाले मात्र पनि नहुने अर्जुन बताउँछन् । देखेका र सोचेका सबै कुरालाई मर्ज गर्न सकियो भने मार्केटको डिमान्डलाई पूर्णता दिन सकिने उनको अनुभवले बताउँछ । मार्केटको डिमान्डले कफी सपलाई अझ एक्सप्लान्सन गर्न आत्मबल मिलेको छ । 
हाइल्यान्डलाई विस्तार गर्दै लैजाने सोचकै उपज काठमाडौँको बत्तिसपुतलीमा २०१५ मा अर्को आउटलेट खोले । त्यसलगत्तै पुल्चोक र भक्तपुरकै कफी सपलाई अझ राम्रोसँग विस्तार गरे । साथै हाल हाइल्यान्ड विन्ज कफीका आउटलेट भक्तपुर, काठमाडौँको बत्तिसपुतली, पाटन, पुल्चोक, बौद्धमा विस्तार भइसकेका छन् । बौद्ध र भक्तपुरमा क्विन्स क्याफेसँग सहकार्य गरेर अघि बढिरहेको छ हाइल्याड विन्ज । 

हाइल्यान्ड विन्ज वरिस्ता कफी स्कुल

कफी कल्चरलाई मध्यनजर गरी तीन युवाको कफी अनुभवलाई सेयर गर्ने उद्देश्यले जन्मिएको हो यो स्कुल । मानिसको जीवन अस्थायी छ, कतिबेला यो संसार छोड्नुपर्छ, थाहा नै हुँदैन तर ज्ञान स्थायी हुन्छ र यो अजम्बरी पनि हुन्छ । त्यसैले आफूले सिकेको ज्ञानलाई बाँड्न जरुरी ठानेर उनीहरूले कफी स्कुलको स्थापना गरे । यो स्कुलले कफी कल्चर, कफीका फाइदा र कफी बिजनेसका बारेमा सिकाउँछ । यस क्षेत्रमा रुचि भएका युवाहरूलाई स्किल डेभलपमेन्ट ट्रेनिङ दिनुका साथै रोजगारीको अवसर पनि प्रदान गर्ने लक्ष्यले कफी स्कुल स्थापना भएको हो । विदेश जानेमध्ये ३० प्रतिशत विद्यार्थी नै हुने हुँदा विद्यार्थीहरूले काम गर्दै पढ्नुपर्ने बाध्यता छ । विदेशमा विद्यार्थीले सजिलै काम पाउने स्थल भनेको कफी सप हो । त्यसैले कफी ज्ञान जरुरी जस्तै छ । यसैलाई मध्यनजर गरेर पाटनमा ‘हाइल्यान्ड विन्ज वरिस्ता कफी स्कुल’ स्थापना भयो । यहाँ विद्यार्थीलाई सर्टिफिकेट लेभल र एड्भान्स लेभलसम्मको ट्रेनिङ दिइन्छ । दुई हप्तामा यो कोर्स पूरा गर्न सकिन्छ । विद्यार्थीलाई १० दिन विज्ञहरूद्वारा प्रशिक्षित गराइन्छ भने ५ देखि १० दिनसम्म प्रयोगात्मक कार्यमा संलग्न गराइन्छ । यो समयमा विशेष गरेर कस्टमर केयरदेखि कफी सर्भ, कफी मेकिङ जस्ता कार्यमा प्रत्यक्ष सहभागी गराइन्छ । यो इन्टर्नसिप पिरियडमा विद्यार्थीलाई पूर्ण रूपमा तयार पारिन्छ । २ हप्तामा एउटा वरिस्ता तयार पार्न सकिने अर्जुन बताउँछन् । 

अर्जुन भन्छन्, ‘कफी स्कुलबाट तालिम प्राप्त विद्यार्थीमध्ये ९५ प्रतिशतले रोजगारी पाएका छन् । कति आफ्नै कफी सपमा रोजगार छन् भने कति अन्य ठाउँमा ।’

विदेश जान लागेका युवाका लागि उपयुक्त तालिम केन्द्र हो ‘हाइल्यान्ड विन्ज कफी स्कुल’ । ‘लर्न टु अर्न’ भन्ने नारालाई आत्मसाथ गर्दै स्थापना भएको यो स्कुलमा विशेषत विदेश पढ्न जाने धेरै विद्यार्थी आउँछन् । कफीलाई विशेष बनाउन कफीको प्रिजेन्टेसनमा ध्यान दिनु जरुरी हुन्छ । कफी बनाउने र त्यसलाई सर्भ गर्ने विशेष कला यस स्कुलले सिकाएको छ । यदि कोही कफी विजनेश गर्न चाहन्छ भने वरिस्ता ट्रेनिङ स्कुलबाट बिजनेस ट्रेनिङ प्रोग्राम (बीटीपी) कोर्स पनि गराइन्छ । 

नेपालमा कफी कल्चर
नेपालमा कफी कल्चरको विकास ह्वात्तै बढेको छ । युवा होस् वा वृद्ध सबै कफीमा रमाइरहेको देख्न सकिन्छ । विदेशमा कफी कल्चर व्यापक छ भने नेपालमा टी कल्चर उच्च छ । तर नेपाली वेस्टर्नाइज हुँदै गएको अवस्थामा कफी कल्चर यसरी बढेको छ कि सामान्य भेटघाटलाई पनि मानिस कफी मिट भन्ने गर्छन् । कतै भेट्न जाऊँ न भन्नुभन्दा कफी जाउँ न भन्नु सभ्य ठानिन्छ । अझ सहर बजारमा त यो कफी टल्क एउटा भाषाका रुपमा विकास भएको छ । सामान्य भेटघाटदेखि व्यावसायिक छलफल, सम्बन्ध विस्तारदेखि पारिवारिक भेटघाट, विद्यार्थीदेखि अफिसियल, दुःख विसाउने ठाउँदेखि  खुशी साट्ने स्थल र रिफ्रेसमेन्टको उपयुक्त स्थल हो कफी सप । एक कप कफीको रिलेसन ४० वर्षको हुने भनिन्छ । एक दिनसँगै बसेर कफी पिएको व्यक्ति ४० वर्षपछि भेट्दा पनि याद गर्न सक्ने क्षमता राख्छ रे । कफीमा रिलेसन मेन्टेन गर्ने शक्ति हुने विश्वास गरिन्छ ।

अर्जुन र उनका साथीले बजार नियाल्दा उनीहरूको कफी कन्फिडेन्स ८० प्रतिशत थियो भने मार्केट २० प्रतिशत । अर्जुन भन्छन्– ‘कफीबारे आफू र साथीहरू दक्ष भएकाले यो क्षेत्रमा कुनै डरविना हामफालेको हो ।’

कुशल, दुर्गा र अर्जुनले आफूले जानेको कफी कल्चर र यसका फाइदालाई थाहा नभएको वर्गलाई पनि जानकार गराउन लागि परेका छन् । 

हाइल्यान्ड विन्ज कफीलाई नेपाल र विदेशीमाझ लैजाने बाटोमा लागेका तीन युवाले कफी कल्चरलाई स्थापित गरेरै छाड्ने अठोट लिएका छन् । 

विशेषत नेपाली अर्गानिक कफीलाई विश्व बजारमा पु¥याउने ध्येय राखेका यी युवाको कथा केही पृथक् पक्कै छ । 

कफीमा पाइने क्याफिनले शरीरलाई ऊर्जा दिन्छ । उक्त रक्तचाप भएका व्यक्ति र बच्चाहरूका लागि भने कफी उचित मानिँदैन । तर युवा वर्गको लागि भने यो ऊर्जाशील पेयमा गनिन्छ । विदेशतिर भने क्याफिनलाई हटाएर डिक्याफमा परिणत गरी सबैले खान मिल्ने डिक्याफ कफी पनि पाइन्छ । नेपालमा भने यो कफी आएको छैन । 

नेपालमा टाइम क्यालेन्डरको विकास भएको पाइँदैन तर विदेशतिर भने मानिस टाइम क्यालेन्डरमा चल्छन् र उनीहरूले कफी टाइम पनि छुट्याएका हुन्छन् । नेपाल वेस्टर्नाइज हुँदै गएकाले कफी कल्चर विकास भएको र कतिले कफीका लागि टाइम छुट्याउने गरेको पनि पाइन्छ । 

समय यस्तो आइदिएको छ कि मानिसले कुनै पनि खानेकुरा खानुभन्दा पहिले क्यामेरामा कैद गरिदिन्छ । अर्जुन भन्छन्, ‘मानिसले अहिले कफी मुखमा भन्दा पहिले क्यामेरालाई खुवाउँछ ।’ हुन पनि हो कफीका पारखीले पहिले आफ्नो मोबाइल वा क्यामेरामा कफीको प्रस्तुतिलाई क्याप्चर गर्छन् अनि मात्र पिउँछन् । त्यसैले सहरी क्षेत्रमा यो लोकप्रिय छ । सोसल साइटमा पोस्ट भएपछि मात्र पिउने परिपाटीको पनि विकास भएको छ कफी कल्चर । 

कफी बिजनेसको भविष्य
हाइल्यान्ड विन्ज कफीलाई विश्वमा पुर्याउने लक्ष्य यी तीन युवा (अर्जुन, दुर्गा र कुशल)कोे छ । कफी फेसन पनि हो, जुन सहरी क्षेत्रमा बढी पाइन्छ । काठमाडौँ भ्यालीबाहेक देशका अन्य सहर पोखरा, नेपालगञ्ज, विराटनगर, बुटवल लगायतका ठाउँमा पनि विस्तार गर्ने लक्ष छ यो टोलीको । अर्जुनको टिमले भविष्यमा नेपालको कफीलाई अन्तर्राष्ट्रियकरण गर्नुका साथै विश्वका टप कफीहरूलाई भित्र्याउने योजना बनाएका छन् । विश्वकै टप कफीहरूलाई ब्लेन्ड गरेर छुट्टै टेस्ट दिने प्रयत्न गर्ने अर्जुन बताउँछन् । “म मेरो नेपाल र मेरो नेपाली” भन्ने नारालाई सार्थक बनाउने उनी बताउँछन् । सन् २०२५ सम्ममा ५ वटा देशमा हाइल्यान्ड विन्ज कफी पुर्याउने लक्ष्य यो टोलीको छ । हाइल्यान्ड विन्ज कफीमा विभिन्न समूहले सेयर लगानी पनि गरेका छन् । नेपालमा समूहद्वारा सेयर लगानी भएको यो कफी सपले भविष्यमा आफूलाई बलियो कफी सपका रूपमा स्थापित गर्ने विश्वास लिन सकिन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप