शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजस्व लक्ष्य नभेट्टाउँदा बजेट घाटा साढे २ खर्ब, आगामी वर्षको बजेटलाई चुनौती

बुधबार, १३ असार २०७५, १४ : ४५
बुधबार, १३ असार २०७५

काठमाडौं–बजेट घाटा झण्डै साढे २ खर्ब रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्ष (२०७४-७५) सकिन अब केही दिन मात्र बाँकी रहँदा बजेट घाटा २ खर्ब ४८ अर्ब ३३ करोड ५ लाख रुपैयाँ पुगेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ 

सरकारको आय (आम्दानी) भन्दा व्यय (खर्च) बढी भएपछि बजेट घाटा हुन्छ ।

अहिलेको बजेट घाटाले आगामी वर्षको बजेट कार्यान्वयनको शुरुमै कोषको अभाव हुन सक्ने अर्थविद डा.चन्द्रमणी अधिकारी बताउँछन् । 

एकातिर कोषको कमी हुने र अर्कोतिर पूर्वाधार निर्माणका लागि साधनको कमी हुन सक्ने उनको तर्क छ । 

अहिले सरकारले तल्लो तहमा अनुदान र राजस्व बाँडफाँड गर्ने भनेको छ त्यसमा पनि चूनौती हुन सक्ने भएकाले बैलैमा राजस्वको लक्ष्य सरकारले भेट्टाउँनु पर्ने डा. अधिकारीको भनाई छ । 

 सरकारले झण्डै साढे सात खर्ब राजस्व उठाउँने लक्ष्य लिएपनि मंगलबार (असार १२) गतेसम्म ६ खर्ब ४५ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । 

अबको १७÷१८ दिनमा सरकारको राजस्व संकलनको लक्ष्य भेट्टाउन मूस्किल देखिन्छ । 

तर, यता अर्थमन्त्रालय अन्तिममा आएर राजस्व बढ्ने भएकाले लक्ष्य भेटाउन कठिन नहुँने बताउँदै आएको छ । 

अहिलेसम्म सरकारले लक्ष्यको ८८.४० प्रतिशत राजस्व उठाएको हो । सरकारको आम्दानी भनेको राजस्व, गत वर्षको नगद मौज्दात, विदेशी दाताले दिने अनुदान हो । 

यस्तै सरकारले असार लागे यता ३० अर्ब ५९ करोड ३७ लाख रुपैयाँ बजेट खर्च गरेको छ । 

यो असार २ गतेदेखि १२ गतेसम्मको खर्च विवरण हो ।  

चालु वर्ष कुल बजेटको ६९.८८ प्रतिशत (८ खर्ब ९३ अर्ब रुपैयाँ) खर्च भएको  छ । 

जसमा पूँजीगत खर्च ५१.५८ प्रतिशत गरेको छ भने चालु खर्च ७९.२८ प्रतिशत रहेको छ । 

असार ११ गतेमात्रै ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ खर्च गरेको हो ।

आर्थिक वर्षको अन्त्यमा आएर खर्च गर्ने परम्पराले यस वर्ष पनि निरन्तरता पाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप