शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीको किनारमा एकैदिन दुई ‘मर्डर’ !

बुधबार, १३ असार २०७५, १३ : १७
बुधबार, १३ असार २०७५

काठमाडौं–गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा कुनै पनि कमी आउन नदिने दावी गरिरहेका बेला राजधानीमा एकैदिन दुई जनाको हत्या भएको छ । 

गृहमन्त्री थापाले शान्ति सुरक्षामा कडाई गरिएको दाबी गरिरहँदा मंगलबार राती सिंहदरवार नजिकै एक युवती र एक युवाको हत्या भएको हो । 

बुधबार बिहान ६ बजे प्रहरीले काठमाडौं र ललितपुर जोड्ने टेकुको कालो पुलमुनी एक युवतीको शव फेला पार्यो । अन्दाजी २५ वर्षकी मंगोलियन युवतीको शव प्रहरीले टेकुको कालोपुल मुनीबाट बरामद गर्यो । 

अन्दाजी ५ फिट ३ इञ्च उचाईकी युवतीले खरानी रंगको हाफ सर्ट र कालो रंगको पाइण्ट लगाएकी छिन् । युवतीको बायाँ हातको नाडीमा निलो मसीले आईएलयु लेखिएको छ । युवतीको निधार र टाउकोमा चोट लागेको छ । शवको प्रकृति हेर्दा हत्या गरेर बागमती नदि किनारमा फालेको सहजै बुझ्न सकिन्छ । 

नाङ्गो अवस्थामा भेटियो पुरुषको शव

बुधबार बिहानै प्रहरीले गोकर्णेश्वरको अत्तरखेलबाट पनि एउटा शव बरामद गरेको छ । अन्दाजी ३२ वर्षका एक पुरुषको शव प्रहरीले अत्तरखेलस्थित बागमती नदि किनारबाट बरामद गरेको हो । शवको प्रकृति हेर्दा युवकको हत्या भएको बुझ्न सकिन्छ ।

अन्दाजी ५ फिट ३ इञ्च उचाई भएका पुरुषको टाउकोबाट रगत बगेको छ । घटनास्थलमा फलामको पाइपसमेत भेटिएकाले त्यही पाइपले हिर्काएर हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । पातलो शरीर, लामो कपाल, जुंगा र दाह्री पालेका युवाको शव नाङ्गो अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

प्रहरीले हालसम्म पनि हत्या गरिएका यी दुई युवतीको र युवाको पहिचान नभएको बताएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहका अनुसार हत्या गरिएका पुरुष मानसिक अवस्था ठीक नभएको व्यक्ति हुन् । मागी खाने यी पुरुषमाथि कसले किन आक्रमण गर्यो भन्ने खोजी भइरहेको उनले बताए । 

त्यसैगरी युवतीको शव पनि बागमती नदि किनारमा भेटिएकाले कतै लागूपदार्थ तथा मादकपदार्थ सेवन गर्नेले हत्या गरेको त होइन भनेर छानबिन भइरहेको प्रहरीले बताएको छ । 

एकैदिन दुई जनाको हत्या भएपछि यी घटनाले प्रहरीलाई पनि चिन्तित बनाएको एसएसपी सिंहले बताए । रातको समयमा घटना भएकाले रातको सुरक्षामा अझै कडाई गरिने सिंहले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप