बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा अमुल दूध आउँदैन : कृषि मन्त्री खनाल

बुधबार, १३ असार २०७५, १४ : ००
बुधबार, १३ असार २०७५

काठमाडौँ– कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले भारतीय कम्पनीको अमुल दूध नेपालमा भित्रिनुपर्ने कुनै आवश्यकता नरहेको बताएका छन् ।

‘बाहिर प्रचारमा अमुल भित्र्याउन खोजेको भनिएको छ । तर अमुल दूध भित्र्याउनेबारे कुनै छलफल भएको छैन । नेपालमा अहिले अमुल दूध आवश्यक छैन’, खनालले रातोपाटीलाई दिएको अन्तरवार्तामा भनेका छन् । उनको विस्तृत अन्तरवार्ता बिहीबार रातोपाटीमा प्रकाशित हुनेछ ।

उनले नेपालमा अहिले अमुल भित्र्याउनुपर्ने आवश्यकता हो कि होइन त भन्ने कुरा मुख्य रहेको खनालले बताए । तर आवश्यक परेमा वा समय सन्दर्भमा कुरा गरेर नेपालमा अमुल दूध भित्र्याउनै नहुने भन्ने नीति पनि नरहेको मन्त्री खनालको भनाइ छ ।

‘नेपालमा भएको दूध र फ्याक्ट्रीलाई व्यवस्थापन गर्ने साथै केही नयाँ आधुनिक फ्याक्ट्रीहरूको बारेमा सरकारले राम्रो गरी सोच्यो भने आफ्नो मन्त्रालय कार्यान्वयन गर्न सक्षम छ । त्यसो भयो भने अमुल दूध नेपालमा भित्र्याउनु पर्दैन’, मन्त्री खनालले भने, ‘अमुल कम्पनीसँग कुनै छलफल भएको छैन । अहिले  नेपालमा अमुल भित्रिने कुनै सम्भावना पनि छैन ।’

साथै मन्त्री खनालले दूध र दुग्धजन्य पदार्थमा  हुने मिसावटको नियन्त्रणका लागि प्रचलित खाद्य ऐनको प्रभावकारी कार्यान्वयन गरिने बताए । ‘अनुगमनका क्रममा केही कम्पनीका दूधमा कोलिफम र सोडा देखिए पनि बाहिर प्रचारमा आए जस्तो नेपालको दुध खान लायकै नभएको भन्ने हल्ला पनि गलत हो’, तर जुन मापदण्ड पूरा गर्नुपर्ने थियो, त्यो गरिएको पनि छैन’ मन्त्री खनालले भने ।

उनले तालाबन्दी भएको दूध कम्पनी दोषी पाइए बन्द गरिने बताए ।

‘ल्याब टेस्टबाट आएको कुरा हामीले जस्ताको तस्तै बाहिर दिएका छौँ । मापदण्ड पूरा नभएका दूध कम्पनी केहीमा तालाबन्दी गरेका छौँ । अनुगमनका क्रममा पाउडर धेरै भेटियो । जसले गर्दा कृषकको दूध बिक्री नभएका पाइयो । अनुगमन पछि टेस्ट गर्नका लागि पठाइएको र रिपोर्टमा पाउडरको डेट एक्सपाएर पाइयो भने तालाबन्दी भएका दूध कम्पनी खोलिँदैन’, मन्त्री खनालले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप