शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्गीतको कमाइ ७ वर्षमा एक करोड

बुधबार, १३ असार २०७५, ११ : ०१
बुधबार, १३ असार २०७५

‘गीत सङ्गीतको लगानी बालुवामा पानी हो । गीत सङ्गीत लागेर के गर्नु । आम्दानी नै छैन’ अधिकांश पुराना गायक, गायिका तथा सङ्गीतकर्मीको मुखमै झुन्डिएका शब्द हुन् यी । नयाँ पुस्ताका केही कलाकारले पनि यो शब्द उच्चारण गर्ने गरेका छन् । साङ्गीतिक क्षेत्रको केही अगाडिको परिवेशलाई हेरेर तयार गरिएको यी शब्द वर्तमान समयमा मेल नखाने बताउँछिन् उनी । ‘राम्रो आम्दानी गर्न सकिन्छ’, उनले भनिन्, ‘सङ्गीतमा अहिले दाम, नाम र इज्जत सबैथोक छ ।’ उनी अर्थात् गायिका साहिमा श्रेष्ठ ।

उनले साङ्गीतिक यात्राले भर्खर ७ वर्ष टेकेको छ । तर नाम र चर्चा भने उनको दशकौँ बिताएका कलाकारको भन्दा कम छैन । धेरैजसो साङ्गीतिक अवार्डसमेत उनले कब्जा गरेकी छन् । नाम र इज्जत भरपुर हासिल गरेकी यी गायिकाले दाम भने कति कमाइन् त ? ‘अहिलेसम्म सङ्गीतिक कर्मबाट एक करोडभन्दा बढी कमाएँ होला’, उनले भनिन्– ‘सङ्गीतको कमाइ केही यसकै लागि खर्च हुन्छ । त्यसैले बचत भने धेरै गर्न सकेकी छैन ।’

करिब आधा दर्जन एल्बम सार्वजनिक गरेकी उनले वर्षिक आम्दानी यति भनेर भन्न सक्दिनन् । ‘वर्षको आम्दानी कति भन्ने हिसाब गर्ने गरेको छैन ।’ उनले भनिन्– ‘धेरै कमाउने गरेकी छु । खर्च पनि छ ।’ थपिन्– ‘कसैलाई विवरण दिनुपर्ने भए हिसाब राख्थेँ होला ।’ विभिन्न कार्यक्रममा जाँदा यातायात, पहिरन, मोबाइल, मेकअप लगायतमा उनको आम्दानी आधा त सकिन्छ होला । पछिल्लो समय साहिमा ‘राइफल सिरानी’ गीतबाट चर्चामा छिन् । अहिले काले दाइ चलचित्रको यो गीतबाट पनि उनले सकारात्मक प्रतिक्रियासमेत पाइरहेकी छन् । दीपक शर्माको सङ्गीत, धु्रव विश्व र उनकै स्वर रहेको यो गीतमा सुमन बैरागीको शब्द छ ।

तीज गीतलाई तीन लाख
पछिल्लो समय स्टेज कार्यक्रममा व्यस्त रहने गायिकामध्येकी एक हुन् उनी । मेला, महोत्सवदेखि विभिन्न साङ्गीतिक टुरसम्ममा उनको उपस्थिति देख्न सकिन्छ । गत वैशाखदेखि यता भने उनी केही फुर्सदिलो भएकी छन् । मेला महोत्सवमा आएको कमीले उनी फुर्सदिली बनेकी हुन् । यो फुर्सदको मौका छोपेर उनले तीज गीतको तयारी थालेकी छन् । वैशाखदेखि लागिपरेकी उनले असार अत्यसम्म तीज गीत ल्याउने जमर्काे गरेकी छन् । ‘मैले पहिले आधुनिक प्याटनमा लोक मिश्रित तीज गीत ल्याएको थिए’, उनले भनिन्, ‘अहिले एकदमै टिपिकल्ली नेपाली शैलीमा ल्याउँदैछु ।’ केही एक्लै र केही अन्य गायक गायिकासँगको सहकार्यमा यस अगाडि तीज गीत बजारमा ल्याएकी उनले यस पटक अघिल्लो गीतमा पुस्ताको भाखा ‘बरिलै’ टिपेकी छन् रे । यस अगाडिको सबै तीज गीत दर्शकले मन पराएको बताउने उनी अहिलेको पनि दर्शकले रुचाउने सुनाउँछिन् । ‘तीजको गीतमा केही फाइदा छैन । गीत भयो भने कार्यक्रमको अफर आउँछ । कार्यक्रम भयो भने आम्दानी हुन्छ’, उनले थपिन्– ‘तीजको गीत फाइदा र बेफाइदा भन्दा पनि आफ्नो कलासंस्कृति जगेर्नाको हिसाबले पनि नियमित बनाउने गरेकी हुँ ।’ तीज गीतका लागि रेकर्डिङदेखि भिडियो निर्माण र प्रचार प्रसारसम्मलाई तीन लाख खर्च उनले छुट्याएकी छन् ।

सेयरमा २० लाख 
वर्षाद सकिएपछिको महिना हो असोज । मेला, महोत्सवको मौसम असोजबाट सुरु हुने गर्दछ । यो सिजमा नजिक भए एकै दिनमा २ वा ३ र टाढा भए १ स्थानको साङ्गीतिक कार्यक्रम उनले भ्याउने गरेकी छन् । यसरी आयोजना हुने मेला महोत्सवमा आम्दानी पनि राम्रो हुने गर्छ । ‘गायक गायिकाले कमाउने भनेकै मेला महोत्सवबाट हो’ उनले भनिन्– ‘आम्दानीको हरहिसाब खासै राख्ने गरेकी छैन । तर आफूलाई पुग्छ । महोत्सवको आम्दानीले उनले हिँडडुल गर्न सजिलो होस् भनेर आफ्ना लागि स्कुटी लिएकी छन् । अन्य खर्चबाट पनि यसैबाट चल्छ उनको । बचेको रकम बिजेनसमा समेत लगाएकी । ३ वर्षदेखि नियमित सेयरको कारबार गर्दै आइरहेकी उनले दाइमार्फत यो कारोबार गर्ने गरेकी छन् । ‘अहिलेसम्म २० लाख जति सेयरमा लगानी गरेकी छु । थोरै थोरै गरेर यति पुर्याकी हुँ’, उनी सुनाउँछिन् ।

विदेशबाट वार्षिक ७ लाख 
पाश्र्व गायनमा पनि उनको राम्रो आम्दानी छ । कम्तीमा एक गीतको दश हजार उनले लिने गरेकी छन् । महिना ३, ४ वटासम्म यस्ता गीत गाउँछिन् उनी । पाश्र्व गायनबाटै उनको वार्षिक ३, ४ लाखसम्म आम्दानी हुने गर्दछ । रकमको अलवा चलचित्र बनाउने राम्रो ब्यानर पर्यो भने चर्चा पनि हुन्छ । रोयल्टी त पनि छँदैछ । देश विदेशको स्टेजमा पनि यही गीत सुनाएर राम्रो आम्दानी गर्न सकिन्छ । विदेश कार्यक्रममा पनि व्यस्त रहने उनी कहिले काहीँ पुरानो ठाउँमा पनि जान समस्या पर्ने बताउँछिन् । कहिलेकाहीँ गइसकेको ठाउँमा पनि भिसा लाग्दैन रे । यसलाई उनी समय र भाग्य ठान्दछिन् । जे भए पनि छोटो समयमा उनले १५ देश टेकेकी छन् । वर्षमा भएन भने पनि उनी ५, ६ विदेशी कार्यक्रम भ्याउँछिन् । विदेशका कार्यक्रमबाट वार्षिक कम्तीमा ६, ७ लाख कमाउँछु । धेरै विदेश कार्यक्रम जानेले गायक गायिकाले यसको दोब्बरसम्म कमाउने उनी सुनाउँछिन् । 

दामको अभाव भएन
तीज गीत, पाश्र्व गायनको अलवा उनी आफ्नै एल्बम पनि बेला बेलामा ल्याउने गर्दछिन् । मौसमे गीतमा पनि उनको स्वर रहने गरेको छ । ‘राम्रो आम्दानी भए पनि मौसमे गीतको के भर भो र ? त्यसैले एल्बम पनि गर्ने गरेकी हुँ ।’ उनले भन्ने गरेकी छन्– ‘सङ्गीतमा लागेर आर्थिक दुःख कहिलै भोग्नु परेन ।’ सङ्गीतमा पाइला बढाएदेखि नै उनको राम्रो आम्दानी भइरहेको छ । ‘सङ्गीतमा लाग्दाको सुरुका दिन केही नजानेको भएकाले सिक्दा, बुझ्दा केही दुःख भयो होला’, उनले विगत सम्झिइन्, ‘स्ट्रगल थोरै गर्नु पर्यो । सुरुदेखि नै काम र दामको अभाव भने कहिलै भएन ।’

सधैँ कहाँ चल्छ र ?
सङ्गीतमा लागेर जति नै काम पाए पनि चित्त नबुझाउने धेरै छन् । तीमध्येमा पर्छिन् उनी पनि । अझै धेरै काम गर्नुपर्छ । धेरै कमाउनुपर्छ भन्ने उनलाई लागिरहन्छ । यसरी जीवन नचल्ने उनको अर्काे निष्कर्ष हो । केही न केही अन्य काम गर्नुपर्छ भन्ने उनले सोचे बनाएकी छन् । अहिले साङ्गीतिक कर्ममा बिजी भए पनि सधँै बिजी भइनरहने उनको अर्काे बुझाइछ । बिजी हुन छाडेपछि के गर्ने उनको मनभित्र चिन्ता लुकेको छ । ‘हामीभन्दा अगाडि अरू हुनुहुन्थ्यो । उहाँहरूलाई हामीले फुर्सदिलो बनायौँ । नयाँ आए पनि हामी फुर्सदमा हुनेछौँ’ उनी अगाडि थप्छिन्– ‘सधैँभरी सबै चल्छन् भन्ने छैन । मलाई लाग्छ, यसरी जीवन चल्दैन ।’

अहिलै बिहे 
सङ्गीतको कमाइबाट उनले सबै परिवारका लागि केही न केही गरेकी छन् । हुन त उनको परिवारमा सबै सम्पन्न छन् । ‘तिम्रा लागि हामीले केही गर्नुपर्छ’, परिवारका सदस्यले उनलाई भन्ने गरेका छन्– ‘तिमीले राम्रो गरिरहेकी छौ । यसैमा हामी खुसी छाँै ।’ के गरिस् । आम्दानी खोई भनेर उनलाई सोध्ने अहिलेसम्म कोही छैन । सानैमा बुबा गुमाएकी उनको आमालाई विदेशका विभिन्न सहर घुमाउने इच्छा छ । जसको सुरुवात उनले केही अगाडि थाइल्यान्डबाट गरेकी छन् । ‘आमालाई तीर्थ व्रत घुमाउने काम दाइ दिदीले गर्नुभयो’– उनले भनिन्– ‘मेरो इच्छा राम्रा सहरले भरिएको देश घुमाउने छ ।’ आफ्ना लागि पनि उनले केही सोचेकी छन् । घर, गाडी सबै थोक होस् भन्ने उनको चाहना हो । जीवनमा केही छैन भन्न नपरोस् भन्ने खालको प्रगति गर्ने सोच बनाएकी उनी  अहिलेसम्म सिङ्गल छिन् । विवाह गर्ने उमेर भएन र ? ‘अहिले विवाह गर्ने सोच छैन । सरप्राइज दिने विचारमा छु ।’ उनले छिट्टै जवाफ फर्काइन् । अहिलेसम्म प्रेमको अनुभव नभएको बताउने उनी आफ्नो श्रीमान् कला क्षेत्र वा बाहिरको जो पनि हुन सक्ने सुनाउँछिन् । गीत सङ्गीतमा केही वर्ष विताएकाले यो क्षेत्रप्रति लामो गुनासो गर्ने गरेको बेलाबेलामा सुन्न पाइन्छ । तर अहिलेसम्म साङ्गीतिक क्षेत्र र सङ्गीतकर्मीप्रति उनको केही दुखेको भेटिएन । किन ? ‘यो क्षेत्रमा रहेको सबैबाट मैले सपोर्ट र माया पाएकी छु । सङ्गीतको सुरुवातको समयदेखि अहिलेसम्म कसैले नराम्रो गर्नु भएन । मिडियाबाट पनि  धेरै सपोट पाए’, उनले खुसी हँुदै भनिन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप