मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी रियलले मेरो सन् २०१४ को विश्वकप फाइनल खेल्ने सपना चकनाचुर पारेको थियो : डि मारिया

मङ्गलबार, १२ असार २०७५, १३ : ५५
मङ्गलबार, १२ असार २०७५

एजेन्सी । एन्जेल डि मारियाले सन् २०१४ मा जर्मनीबिरुद्धको फाइनलमा रियल म्याड्रिडका कारण आफूले खेल्न नपाएको दाबी गरेका छन् ।

प्रतियोगिताको क्वाटरफाइनलमा घाइते भएका डि मारियाले प्रतियोगितामा पीडाका बीच पनि खेल्नका लागि इन्जेक्सन लिइरहेका थिए । तर, आफ्नो ‘सम्पत्ति’ माथि थप क्षति नहोस् भनेर रियलले आफूलाई विश्वकपमा थप खेलमा खेल्ने सपना चकनाचुर पारेको बताए ।

नाइजेरियाबिरुद्धको महत्वपूर्ण खेलअघि डि मारियाले आफ्नो टाली उपाधि नजिक पुगेर पनि बेन्चमा बसेर टुलुटुलु हेर्न बाध्य पारिएको खुलासा गरे ।

प्लेयर ट्रिब्युनसँग कुरा गर्दै उनले भने, ‘सन् २०१४ को विश्वकप फाइनलको बिहान ठीक ११ बजे ट्रेनरको टेबलमा बसेर इन्जेक्सन लिन तयार थिएँ । क्वटरफाइनलमा मेरो फिलाको मासु च्यातिएको थियो । तर, पेनकिलर लिए पछि म पीडा महसुस नगरी दौडिन सक्थेँ ।’

‘मैले मेरा प्रशिक्षकहरुलाई स्पष्ट भनेको थिएँ यति ममाथि थप जोखिम पर्छ भने पनि मलाई मतलब छैन । म मात्र खेल्न चाहन्छु । मैले खुट्टामा बरफ राखिरहँदा हाम्रो टोलीका डाक्टर ड्यानियल मार्टिनेज खाममा एउटा पत्र लिएर आए र भने – हेर, यो पत्र रियल म्याड्रिडबाट आएको छ ।’

‘के भनी रहनुभएको छ ?,’ मैले प्रश्न गरेँ, ‘उनीहरुका अनुसार तिमी खेल्न सक्ने स्थितिमा छैनौँ । त्यही भएर उनीहरुले हामीलाई तिमीलाई नखेलाउनु भनेर दबाब दिएका छन् ।’

‘मैले के भइरहेको छ भन्ने थाहा पाएँ । किनभने त्यतिबेला विश्वकपपछि रियलले हामेज रोड्रिग्वेज किन्ने चर्चा चलिरहेको थियो । मलाई थाहा थियो, उनका लागि स्थान बनाउन रियलले मलाई बेच्नेछ,’ उनले थपे, ‘उनी मात्र उनीहरुको सम्पत्तिमा थप क्षति नपुगोस् भन्ने चाहन्थे । यो फुटबलको व्यवसायलाई मानिसहरुले प्रायः देख्दैनन् । त्यसपछि मैले उक्त पत्र ड्यानियलसँग मागे र नखोली च्यातिदिएँ ।’

उक्त फाइनल खेल अर्जेन्टिनाले १–० ले हार्यो । 

विश्वकपपछि डि मारियालाई म्यान्चेस्टर युनाइटेडले खरिद गर्यो भने रोड्रिग्वेज बर्नेबाउ आइपुगे ।

३० वर्षीय खेलाडी युनाइटेडमा मात्र एक वर्ष टिके र पछिल्लो तीन वर्ष पेरिस सेन्ट जर्मेनबाट खेलिरहेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप