नेपालमा १,२१३ प्रजातिका झ्याउ : स्वास्थ्य, वातावरण, व्यावसायिक रूपमा उपयोगी

person access_timeअसार ३०, २०७४ chat_bubble_outline1
फोटो : गुगलबाट

झ्याउ । ढुसी र लेउ प्रजातिका वनस्पति मिलेर बनेको झ्याउ स्वास्थ्यका लागि उपयोगी मानिन्छ । यसलाई चिया बनाएर पिउँदा टन्सिल र रुघाखोकी निको हुन्छ । मलहम बनाएर औषधिका रूपमा प्रयोग गर्न सकिन्छ । त्यतिमात्रै होइन, वातावरणीय र व्यावसायिक रूपमा समेत झ्याउ त्यत्तिकै महत्वपूर्ण मानिन्छ । 
चेप्टे झ्याउको जुस बनाएर खाएमा जन्डिस निको पार्न सकिन्छ । यसलाई पिसेर आगोले पोलेको र हातखुट्टा फुटेको ठाउँमा लगाउँदा तुरुन्त निको हुन्छ । यस्तो अभ्यास नेपालमा पहिल्यैदेखि भइरहेको छ ।


झ्याउको उपयोगिताबारे नेपाली अनभिज्ञ छन् । ‘चीनमा भुत्लेझ्याउ सुकाएर चिया खाने गरिन्छ । त्यस्तो चिया खाएमा रुघाखोकी र टन्सिल निको पार्न सकिन्छ । नेपालमा पनि भुत्लेझ्याउ पाइन्छन् । हामीले पनि त्यसो गर्न सकिन्छ,’ झ्याउमा विद्यावारिधि गरेकी प्रा.डा. निर्मला प्रधानले सुनाइन्, ‘सबैजसो झ्याउलाई खरानी बनाई मह र तेल मिलाएर मलहमका रूपमा प्रयोग गरे छालारोग निको हुन्छ ।’ उनले भुत्लेच्याउ सुकाएर चिनी नहाली ‘ब्ल्याक टी’ पिउँदा टर्रो लागेको बताइन् । भुत्लेझ्याउको चिया पिउँदा ‘साइड इफेक्ट’ नभएको उनले सुनाइन् । 


झ्याउ भनेको फूल नलाग्ने वनस्पति हो । झ्याउमा पात र काण्ड हुन्छ तर जरा हुँदैन । यसले कार्बनडाइअक्साइड लिन्छ र अक्सिजन फाल्छ । उसले फालेको अक्सिजनले वातावरण स्वच्छ बनाउँछ । पानीमा पाइने झ्याउले पनि कार्बनडाइअक्साइड लिन्छ अक्सिजन फाल्छ । उसले फाल्ने अक्सिजनले पानीमा पाइने जीवलाई फाइदा पुर्याउँछ । 


झ्याउको फेदमा कतिपय कीराले आश्रय लिन्छन् । यसका वीजाणु चराले खान्छन् । फ्याउ मुसाले गुँड बनाउन प्रयोग गर्छ । प्राकृतिक विज्ञान संग्रहालय प्राध्यापक प्रधानले भनिन्, ‘हिमालमा पाइने मिर्ग, फ्याउ मुसा र चराले खाना अभावमा झ्याउ खाने गर्छन् । मुसा र चराले जाडो छल्न यसकै गुँड बनाउने गर्छन् ।’ 


जलवायु परिवर्तनको सूचकका रूपमा समेत चिनिने झ्याउले वातावरणमा के÷कस्ता धातु छन् भनेर संकेत गर्छ । यसलाई धूलो बनाएर खेतबारीमा हाले उर्वरा शक्ति बढ्छ । हिजोआज नर्सरीमा पनि प्रयोग गरिन्छ । नेपालमा मात्रै पाइने खाल्डेझ्याउ सालिन्दा उम्रन्छ/मर्छ/उम्रन्छ । कार्बन हुनाले यसलाई फ्युलका रूपमा बाल्न सकिन्छ । २५ वर्षदेखि झ्याउमा अध्ययन अनुसन्धान गर्दै आएकी उनले भनिन्, ‘नेपालमा प्रयोग नगरिए पनि आयरल्यान्ड, स्कटल्यान्डतिर फ्युल निकालिन्छ ।’ खाल्डेझ्याउ पिसेर कीराले टोकेकोमा प्रयोग गर्न सकिन्छ । 


झ्याउलाई व्यावसायिक रूपमा प्रयोग गरिएको छ । चप्पल मुलायम बनाउन, जुत्ताको सोलमा झ्याउ प्रयोग गरिन्छ । यसैगरी, कुसन बनाउन र बोनासाइ (रूखलाई सानो भाँडामा सजाएर राख्न) मा पनि यसको प्रयोग गरिन्छ । रूखमा पाइने पराश्रय झ्याउ लामालामाखालका हुन्छन् । यो ‘प्याकिङ मेटेरियल्स’ मा प्रयोग गरिन्छ ।
हिजोआज नेपालमा झ्याउ बगैंचा (मस गार्डेन) बनाउन थालिएका छन् । सजावटका लागि एक्वारियममा पनि झ्याउ राख्ने गरिन्छ । ह्याङगिङ बास्केटमा पनि यसको प्रयोग हुँदै आएको छ । बिरयानी, कबाब र मासु स्वादिस्ट बनाउन झ्याउ मिसाउने गरिन्छ । विशेषतः लिम्बू समुदायले मासु स्वादिस्ट बनाउन झ्याउ प्रयोग गर्छन् । २०४० देखि प्राकृतिक विज्ञान संग्रहालयमा कार्यरत प्रा.डा. निर्मला प्रधानका अनुसार लिम्बू समुदायले प्रयोग गर्ने लाइकेन्स हो । लाइकेन्सलाई पनि झ्याउ भनिन्छ । लिम्बू समुदायले लाइकेन्सलाई ‘याङ्बेन’ भन्छन् । जुन खरानी÷खरानी र कैलो÷कैलो रङको हुन्छ । हेर्दा चाम्रो देखिन्छ । मासु स्वादिलो बनाउन याङ्बेन मिसाइन्छ ।


झ्याउको प्रत्यक्ष तथा अप्रत्यक्ष फाइदाबारे खनिखोस्री साध्य छैन । यो सेपिलो ठाउँमा उम्रिने हुनाले माटो समाउँछ । यसले सानोतिनो भूक्षय रोक्छ । झ्याउ खुला चट्टानमा पनि उम्रिने भएकाले उम्रिन्छ÷मर्छ । मरेपछि धूलोजस्तो बन्छ । अर्को वर्ष फेरि नयाँ झ्याउ उम्रिन्छ । त्यसो हुँदा सुख्खा ठाउँमा माटो ‘फर्मेसन’ गर्छ । 


संसारभरि २० हजार प्रजातिका झ्याउ पाइन्छन् । संवत् १९९० मा डा. रामप्रसाद चौधरीलगायतद्वारा तयार पारिएको तथ्यांकअनुसार नेपालमा ८५४ प्रजातिका झ्याउ पाइन्छन् । झापाको केचनाकलनदेखि ५,००० मिटर उचाइसम्मको आफ्नो अध्ययन भ्रमणले नेपालमा १ हजार २ सय १३ प्रजातिका झ्याउ पाइने प्रा.डा. प्रधानले दाबी गरिन् । उनले बेलायतको संग्रहालयमा १८औं शताब्दीदेखि संकलित झ्याउबारे चार महिना अध्ययन गरेकी थिइन् । उनले दुःखेसो पोखिन्, ‘विदेशमा झ्याउको महत्व र अध्ययनलाई प्राथमिकता दिइएको छ । नेपालमा यसबारे अध्ययन अनुसन्धान गर्ने नगन्य छन् । सरकारले झ्याउको ईआईए (इन्भायरोमेन्ट, इम्प्याक्ट, एसेसमेन्ट) महत्वलाई दृष्टिगत गर्दै अध्ययन अनुसन्धान गरी मानिसका दैनिक, व्यावहारिक र व्यावसायिक जीवनमा प्रयोग गर्न÷गराउन सके नेपालीले यसबाटै प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा लाभान्वित हुन सक्छन् ।’
 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

  1. July 14, 2017, 2:54 p.m. प्रेम आचार्य

    The number of parliament members and the number of JHYAU is seeing about the same.

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ