केन्द्रीय संस्करण

के हो द्वन्द्वात्मक भौतिकवाद ?

person explore access_timeअसार ११, २०७५ chat_bubble_outline0

परिभाषाः

द्वन्द्ववादी मान्यताअनुसार जीवन र जगतमा हुने सबै वस्तु, घटना र घटना प्रक्रियाहरूको उत्पत्ति, विकास र परिवर्तनको मूल कारण नै भौतिक तत्वको द्वन्द्वात्मक गतिमा निर्भर हुन्छ । संसारका सबै जैविक–अजैविक वस्तु, घटना, घटना प्रक्रिया, सङ्घर्ष र आन्दोलनहरू निरन्तर गति र परिवर्तनको प्रक्रियामा हुने गर्छ । यही सार्वभौम पद्धतिलाई नै द्वन्द्वात्मक भौतिकवाद भनिन्छ । अर्थात वस्तु वा समाज परिवर्तन निरन्तर ऐतिहासिक प्रक्रियाको रूपमा हुने गर्दछ । त्यसैले यसलाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद पनि भनिन्छ ।

द्वन्द्व र द्वन्द्वात्मकताः
कुनै पनि वस्तु, घटना र घटना प्रक्रियामा अन्तरनिहीत अन्तरविरोध वा विरोधाभाष नै द्वन्द्व हो । अर्थात मजदुर र मालिक अनि शासक र शासितबीचको अन्तरविरोध नै द्वन्द्व हो । यसैगरी पदार्थको गति तथा क्रिया र सम्बन्धमा हुने दुई विपरीत पक्षहरूबीचको अन्तरविरोधपूर्ण एकत्व नै द्वन्द्वात्मकता हो । यही अन्तरविरोधले नै  कुनै पनि वस्तु वा समाजको अस्तित्व जीवित रहन्छ । यसलाई द्वन्द्वात्मकता भनिन्छ । संसारमा भएका सबै वस्तु, घटना र घटना प्रक्रियाहरू गतिशील, अन्तरविरोधपूर्ण, विरोधाभाषपूर्ण र प्रतिपक्षपूर्ण रहने सार्वभौम दृष्टिकोण वा विश्लेषण पद्धति नै द्वन्द्ववाद हो ।

वास्तवमा कुनै पनि वस्तु वा समाज अन्तर्गत गतिमा गतिशीलता र स्थिरता, क्रियामा क्रिया र प्रतिक्रिया र सम्बन्धमा शत्रुता र मित्रता जस्ता दुई पक्षबीच जुन एकत्व हुन्छ, त्यो नै द्वन्द्वात्मकता हो । यस्ता अन्तरविरोधी पक्षहरूको सङ्घर्षपूर्ण एकत्वमा नै कुनै पनि वस्तु वा समाजको अस्तित्व कायम हुन्छ । अर्थात् द्वन्द्वात्मकता भनेको वस्तु वा समाजलाई जीवन्त राख्ने जीवन रेखा हो । यसमा एङ्गेल्सले अझ प्रष्ट पार्दै भन्नु भएको छ कि द्वन्द्ववाद भनेको सार्वभौम अन्तरसम्बन्धहरूको विज्ञान हो । यस्तै लेनिनले यसलाई विपरीत तत्वहरूको एकताको सिद्धान्त भनेर व्याख्या गर्नुभयो । यसैगरी माओले वस्तुहरूको अस्तित्व र विकासको नियमलाई द्वन्द्ववाद भनेर परिभाषित गर्नुभयो । त्यसैले साँचो अर्थमा वस्तु वा समाजमा अन्तरनिहित अन्तरविरोध भनेको द्वन्द्व हो भने यिनीहरू बीचको विपरीत पक्षहरूबीचको टकराव नै द्वन्द्वात्मकता हो । यही टकरावकै नियम बमोजिम वस्तु वा समाजको विकास वा रूपान्तरण हुनेगर्दछ । 
पदार्थः

पदार्थ वा भौतिक तत्वलाई प्रधान ठान्ने पद्धति नै द्वन्द्वात्मक भौतिकवाद हो । पदार्थको परिभाषा व्यापक रहेको छ । पदार्थ भनेको ज्ञानेन्द्रीयमार्फत हाम्रो जानकारीमा आउने वस्तुहरू हुन्, जुन तत्वबाट बनेका छन् । यसैलाई नै पदार्थ भनिन्छ । एङ्गेल्सको भाषामा पदार्थ भनेको सम्पूर्ण भौतिक वस्तुहरूको कुल योग हो । लेनिनले यसलाई चेतनाभन्दा बाहिर स्वतन्त्ररूपमा अस्तित्वमा रही मानव मस्तिष्कमा प्रतिविम्बित, चित्रित एवम् अनुभूत हुने वस्तुगत वास्तविकतालाई बुझाउने दार्शनिक भाव भनेका छन् । अर्को भाषामा देख्न वा छाम्न सकिने वस्तु, समाज वा घटना प्रक्रियालाई नै पदार्थ भनिन्छ ।

पदार्थको क्षेत्रः

 प्रारम्भमा खास द्रव्यलाई मात्र पदार्थ भनिन्थ्यो तर विद्युत, चुम्बकीय क्षेत्र, एक्सरे र रेडियो तरङ्गको आविष्कारपछि यसको व्यापक क्षेत्रलाई पदार्थ मानिएकोछ । द्रव्य र क्षेत्र पदार्थको दुई विपरीत पक्षहरू हुन्, जसको अन्तरक्रियाबाट असङ्ख्य घटना प्रक्रियाहरूको अस्तित्व निर्धारण हुन्छ । पदार्थको क्षेत्र व्यापक रहेको छ । जीवन र जगतमा जताततै पाइने साथै हाम्रो व्यावहारिक जीवनको सम्पर्कमा आइरहने वस्तु नै वास्तवमा पदार्थ हो । ठोस, तरल र ग्यासनै पदार्थका रूपहरू हुन् । इलेक्ट्रोन, क्वान्टम र प्रोटोनहरूको आविष्कार पछि पदार्थ भनेको प्रत्यक्ष देखिने वा बोध हुने बृहत् वस्तुजगतमा मात्र सीमित छैन । योभन्दा फरक अयान्त्रिक नियमहरूबाट सञ्चालित सूक्ष्म जगत पनि पदार्थ नै हो । यो हाम्रो वरिपरिदेखि अबौँ प्रकाशवर्ष टाढासम्म फैलिएको छ ।

पदार्थको गतिः

सार्वभौमतः पदार्थ भनेको गतिशील हुन्छ । पदार्थमा अन्तरनिहित यही गतिलाई नै परिवर्तन भनिन्छ । अर्थात कुनै पनि वस्तु वा घटना एक अवस्थाबाट अर्को अवस्थामा रूपान्तरण वा एउटा स्थानबाट अर्को ठाउँमा स्थानान्तरण हुने प्रक्रिया नै वास्तवमा गति हो । गति भनेको नै वस्तु वा समाजको अस्तित्व रक्षा गर्दै विकास र रूपान्तरण पद्धति हो । पदार्थको मुख्य गुण नै गति हो, जसले वस्तुलाई जीवित मात्र राख्दैन विकास एवम् रूपान्तरण गर्दछ । प्रकृति, जीवन, समाज र चिन्तनको हरक्षेत्रमा घट्ने समस्त घटनाहरूको ऐतिहासिक प्रक्रिया नै गति हो । यसलाई परिवर्तन र गतिशीलताको नियम पनि भनिन्छ । मूलतः संसारमा गति विनाको पदार्थ र पदार्थ विनाको गति हुनसक्दैन ।

गतिको रूपः
हरेक भौतिक पदार्थ गतिशील हुन्छ । गति पदार्थको सार्वभौम चरित्र हो । यही भौतिक पदार्थको गतिको पनि विभिन्न रूपहरू रहेको छ । विशेष गरेर यान्त्रिक गति, भौतिक गति, रासायनिक गति, जैविक गति र सामाजिक गतिहरू यसका रूपहरू हुन् । पिण्डलाई एउटा स्थानबाट अर्को ठाउँमा स्थानान्तरण गरिने पद्धति नै यान्त्रिक गति हो । यसैगरी पदार्थको ठोस, तरल र ग्यास पिण्डहरूको परमाणुको गति, तापको गति, विद्युतको गति, चुम्बकको गति अन्तर आणविक गति र नाभिकीय गतिसम्बन्धी सम्पूर्ण प्रक्रिया नै भौतिक गतिभित्र पर्दछ । त्यस्तै रासायनिक अणुहरूको संयोजन र वियोजनको गतिलाई रासायनिक गति भनिन्छ । 

त्यसैगरी समग्र जैविक अङ्गहरूमा चल्ने गतिलाई जैविक गति भनिन्छ । यता समाजमा हुने सम्पूर्ण ऐतिहासिक प्रक्रियाहरू सामाजिक गतिभित्र पर्छ । मानव समाज विकास र रूपान्तरणको गति नै सामाजिक गति हो । वस्तुगत समाजको यही साश्वत गतिकै कारण ठूलाठूला परिवर्तनहरू सम्भव हुँदैआएको इतिहास साछी छ । भौतिक वस्तुहरू गतिवान हुन आवश्यक निश्चित स्थान वा क्षेत्रलाई ओगट्ने सार्वभौमिक स्वभावलाई बुझाउने दार्शनिक अवधारणा नै दिक वा स्थान हो । त्यस्तै सबै वस्तु र घटना प्रक्रियाहरू निश्चित अवधिसम्म अस्तित्वमा रहने र लोप हुने क्रमलाई व्यक्त गर्ने दार्शनिक अवधारणा नै काल वा समय हो । यसकारण दिक् र काल गतिको महत्वपूर्ण रूप हो । यसरी पदार्थका रूपहरूको खासखास क्षेत्रमा निर्णायक भूमिका देखिन्छ ।

चेतनाः

भौतिकवादी दर्शनमा वस्तु प्रधान हुन्छ भने चेतना सहायक हुन्छ । माक्र्सको अनुसार जीवनले चेतना निर्धारण गर्दछ । वस्तुले चेतना निर्माण गर्दछ । चेतना भनेको सचेत अस्तित्व मात्र हो । अर्थात मानव मस्तिष्कको क्रियाको विशिष्ट गुण नै चेतना हो । यता मस्तिष्कद्वारा भौतिक वास्तविकताको प्रतिविम्ब उतार्ने कार्य चेतनाले गर्दछ । पदार्थको उपज एवम् पदार्थको गतिको सामाजिक रूपको एक विशिष्ट अभिव्यक्ति नै चेतना हो । यसको अन्तरवस्तुको निर्धारण भौतिक परिवेशद्वारा हुन्छ । चेतनाको मूल आधार भनेको भौतिक श्रम र व्यवहार हो । यसैगरी जैविक विकास र सामाजिक विकास यसको मुख्य आधारहरू हुन् । अर्को भाषामा तमाम वस्तु र समाजको चरित्र अनुरूप नै चेतना निर्धारण हुनेगर्दछ । यो भौतिक वस्तु र चेतनासम्बन्धी द्वन्द्ववाद हो ।

चेतनाको सारतत्वः

यसको उत्पत्ति श्रम वा सामूहिक क्रियाकलापहरूबाट हुन्छ । यो वास्तवमा सामाजिक क्रियाकलाप अन्तर्गत निर्माण हुने भएकाले यसको चरित्र सामाजिक हुन्छ । यसको अस्तित्वको मूल आधार नै समाज हो । भौतिक अस्तित्वको प्रतिविम्ब नै चेतना हो । मानिसको भौतिक अस्तित्व भनेको उसको सामाजिक जीवन प्रक्रिया भएकाले यो हाम्रो सामाजिक जीवनसँग गाँसिएको हुन्छ । अझ वर्गीय भौतिक समाजमा चेतना पनि वर्गीय हुन्छ । यसको निर्माणमा इतिहासको ठूलो योगदान रहेको छ । चेतनाको चरित्र सामाजिक हुन्छ, जसले गर्दा यसको निर्माणमा शिक्षा, सूचना र सञ्चार माध्यमहरूको समेत महत्वपूर्ण भूमिका हुन्छ । 
निष्कर्षः

संसारका सबै वस्तु र घटनाहरू गतिशील हुन्छ । कुनै पनि वस्तुमा रहेको द्वन्द्वात्मक गतिद्वारा नै विकास वा रूपान्तरण सम्भव हुँदैआएको छ । यो जीवन र जगतलाई बुझ्ने भौतिकवादी मान्यता हो । वस्तुमा अन्तरनिहित आन्तरिक सङ्घर्ष नै द्वन्द्व हो । यता वस्तुभित्रको विपरीत पक्षहरू बीचको एकत्व नै द्वन्द्वात्मकता हो । वस्तुको यही चरित्रको कारण परिवर्तन सम्भव हुन्छ । मानव समाजमा पनि मजदुर र मालिक साथै शासक र शासितहरूबीच अन्तरविरोध हुन्छ । दुवै पक्षबीचको सङ्घर्षपूर्ण एकत्वमा मजदुर र मालिक र शासक र शासितहरू अस्तित्वमा रहन्छन् । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी मान्यता अनुरूप नै वस्तु वा समाजको विकास र रूपान्तरण हुँदै आएको छ । यो ऐतिहासिक रूपमा निरन्तर विकास भइरहने निरन्तर प्रक्रिया हो । यही भौतिकवादी प्रस्थापना अनुरूप संसारमा तानाशाही शासनहरू ढलेको छ भने जनताको न्यायपूर्ण राज्य व्यवस्थाहरू स्थापना भएको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ